विकासन्युज

मनको घाउको उपचार कहाँ गर्ने ?

काठमाडाैं । पूर्वी पहाडको एक गाउँकी एक किशोरी आजभन्दा २० वर्ष पहिले १४ वर्षकी थिइन् । उनको गाउँमा एउटा योजनाको काम चलिरहेको थियो । उक्त योजनाको काम गर्न एकजना ओभरसियर शहरबाट गाउँ गए । उनी तिनै किशोरीको घरमा बस्ने भए । दिउँसो योजनाको काम गर्ने र राति किशोरीकै घरमा खाने बस्ने । ति किशोरीले ओभरसियरलाई खाना पकाउने र खुवाउने गर्थिन् । एउटै घरमा बस्न थालेपछि उनीहरूको बोलचाल पनि बाक्लिँदै गयो । घुलमिल हुँदै जाँदा किशोरी भन्दा २० वर्ष बढी उमेरका ओभरसियरले तिनलाई गलत नजरले हेर्न थाले । तर, उनको गलत नजरका बारेमा किशोरीले चाल पाइनन् । ओभरसियरले कहिले खानेकुरा ल्याइदिने, कहिले केही दिएर किशोरीलाई फकाइ फुलाई गर्न थाले । घरमा कोही नभएको मौकामा उनले किशोरीलाई आफ्नो कोठामा बोलाउन थाले । किशोरी पनि ओभरसियरले बोलाएको ठाउँमा जान थालिन् । यो क्रम वर्षौ चल्यो । किशोरीको परिवारलार्ई यो बारे केही थाहा थिएन । घरमा जब थाहा भयो तब उनको पेटमा ९ महिनाको गर्भ बसिकेको थियो । किशोरीको पेट देखिएपछि वरपर छरछिमेकीले पनि थाहा पाए । सबैले सोधखोज गर्न थाले । उनले ओभरसियरसँगको सम्बन्धबारे सुनाइन् । सबै गाउँले मिलेर ओभरसियरसँग ति किशोरीलाई जिम्मा लगाइदिए । त्यसपछि उनीहरूले गाउँमा अर्कै कोठा खोजेर बस्न थाले । किशोरीले छोरी जन्माइन् । सुरुमा ति ओभरसियरले पनि उनको र छोरीको हेरचाह गरे । तर, बिस्तारै उनले गर्ने बानी व्यवहारमा परिवर्तन आयो । उनले श्रीमानसँग आफूलाई घरमा लैजान र परिवारसँग चिनजान गराउन कर गरिन् । तर, उनले भोलि भोलि भन्दै टारिरहे । किशोरीको जिद्दीले उनले मन नलागे पनि घर लिएर गएर गए । घरमा पुग्दा ओभरसियरका श्रीमती, छोरा र छोरी भएको थाहा भयो । घरमा किशोरीमाथि सुरु भयो मानसिक र शारीरिक तनाव । ओभरसियर र उनका जेठी श्रीमती छोराछोरी मिलेर उनलाई पिट्न थाले । उनलाई घरमा न राम्रोसँग बस्न दिए न त खान नै । किशोरीको माइत जाने अवस्था पनि थिएन । घरमा पनि बस्न मिल्ने अवस्था नभएपछि उनी विक्षिप्त भइन् । जाने ठाउँ कतै नभएपछि उनी सडकमा पुगिन् । घरमा मात्र हैन उनलाई सडकमा पनि उस्तै भयो । घरभित्रै सुरक्षित नभएकी उनी सडकमा सुरक्षित हुने कुरै थिएन । पाटीमा सुत्दा, बाटोमा हिँड्दा पनि पागल भन्दै कुटपिट हुन थाल्यो । यतिसम्म कि सडकमा अर्धचेतन अवस्थामा हुँदासमेत उनी पुरुषको गिद्धे नजरबाट टाढा रहन सकिनन् । उनी सडकमै फेरि गर्भवती भइन् । पेट बोक्दै सडकमा हिँडेकी ति महिलालाई काठमाडौंमा रहेको एक संस्थाले उद्धार ग¥यो । अहिले उनी छोरीसँग काठमाडौंकै एक सेल्टरहाउसमा छिन् । उनलाई सडकबाट ल्याएर मानसिक, शारीरिक उपचार गर्दा उनको अवस्था सुधार भएको छ । ३० वर्षकी उनी अहिले छोरीसँगै सेल्टरहाउसमा जीविकोपार्जनका लागि सिप सिकिरहेकी छिन् । शुक्रबार ललितपुरमा भएको ‘मानसिक स्वास्थ्य र महिला हिंसा’ विषय कार्यक्रममा कोशिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले सुनाएको घटना हो यो । उनले घरेलु हिंसा नै मानसिक रोगको कारण भएको बताए । ति महिलाको उदाहरण दिँदै देवकोटाले यस्ता महिला खोज्दै जाने हो भने अहिले पनि सडकमा थुप्रै भेटिने बताए । पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको छ । नेपालमा १० व्यक्तिमध्ये एक जनालाई कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्या देखा पर्ने गरेको तथ्यांकले देखाउँछ । तर, उनीहरूको उपचारका लागि भने सरकारले गतिलो कदम नचलोको विज्ञहरू बताउँछन् । कोशिस नेपालका कार्यकारी निर्देशक देवकोटा भन्छन्– ‘जसरी शरीरमा घाउ लाग्छ, त्यसैगरी मनमा पनि चोट लाग्छ, घाउ हुन्छ । तर, शरीरको घाउको उपचार गर्ने ठाउँ भए पनि मनको घाउको उपचार गर्ने ठाउँ छैन ।’ मनोरोग विशेषत्र अविन्द्र भुसाल नेपाली समाजमा हरेक व्यक्तिलाई कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्या हुने गरेको बताउँछन् । उनि भन्छन्, ‘पारिवारिक समस्या र सामाजिक अपहेलनाकै कारण धेरैलाई यस्तो समस्या हुन्छ । तर, उपचार गर्न आउँदा शारीरिक समस्या लिएर आउँछन्, चेकजाँच गर्दा मानसिक समस्या देखिन्छ ।’ अहिले पनि मानसिक स्वास्थ्यको विषयमा मान्छे खुलेर बोल्न डराउने उनको भनाइ छ । ‘मलाई तनाव भइरहन्छ, खान मन लाग्दैन, मन दुखिरहन्छ किन होला ? भनेर आउने पनि छन्,’ उनी भन्छन्, ‘कोही भने पेट दुख्यो, छाती दुख्यो भनेर आउँछन् । तर, उनीहरूमा काउन्सिलिङ गर्दै जाँदा भयानक मानसिक समस्या देखिन्छ ।’ नेपालमा मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यभन्दा पृथकरूपमा हेरिन्छ जबकि नेपालको कुल जनसङ्ख्याको २५ प्रतिशतलाई कुनै न कुनै किसिमको मनोसामाजिक समस्या भई विभिन्न अस्पतालमा उपचारका लागि आउने गरेको तथ्यांकमा देखिन्छ । स्वास्थ्य पत्रकार कल्पना आचार्य जति शारीरिक स्वास्थ्य सम्बन्धमा मिडियामा बहस हुन्छ त्यति मानसिक स्वास्थयका विषयमा बहस हुन नसकेको बताउँछिन् । ‘यो विषयमा खुलेर कुरा गर्न नसक्नु र अर्को मानसिक समस्या भए कहाँ जाने भनेर थाहा नहुनुले पनि यस्ता विषय सञ्चारमाध्याममा आउन सकेका छैनन्,’ उनले भनिन् महिला हिंसा नै मानसिक समस्याको कारक नेपालमा सबैभन्दी बढी महिलामाथि हिंसा हुन्छ । त्यसमा पनि सबैभन्दा बढी घरेलु हिंसा हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । आफ्नै बुवा, काका, मामा, दाइ, भाइ र चिनजानका आफन्तबाटै महिलामाथि हिंसा हुन्छ । त्यही हिंसाले मानिसक समस्या निम्तिने विज्ञ बताउँछन् । मनोचिकित्सक भुसाल भन्छन्, ‘मान्छेको मन विभिन्न कारणले दुख्छ, ठ्याक्कै यही कारणले पीडा हुन्छ भन्न सकिँदैन । तर, महिलामा देखिने मानसिक समस्याको कारण हिंसा नै हो ।’ मानसिक समस्यामा सामाजिक लाञ्छना अझ बढी हुन्छ । सामान्य समस्या भएकाहरू प्रायः अस्पताल पुग्दैनन् । औषधि चलाउ नै पर्ने खालका बिरामी मात्र स्वास्थ्य संस्था पुग्ने गरेको मनोचिकित्सकहरू बताउँछन् । विज्ञहरूका अनुसार हरेक चारमा एक बिरामी मानसिक स्वास्थ्य समस्या लिएर अस्पताल जाने गर्छन् । करिब ८० प्रतिशत यस्ता बिरामीले रोग पहिचान हुन नसकेका कारण उपचार पाउन नसकेको, २३ प्रतिशत बिरामीलाई घरकै मान्छेले ठीक भैहाल्छ नि भनेर उपचारमा नलैजाने गरेको अवस्था छ  । फलस्वरूप समयमै उपचार नपाइ रोग जटिल बन्दै जाने गरेको छ । नेपालमा शारीरिक स्वास्थ्य जाँच गराउने सयौं अस्पताल हुँदा मानसिक स्वास्थ्य जाँच गराउने अस्पताल न्यून छन् । काठमाडौँ उपत्यकाभित्र पनि शारीरिक जाँच गर्ने सयौं अस्पताल हुँदा मानसिक स्वास्थ्यका लागि पाटन अस्पतालमात्र छ । मानसिक स्वास्थ्यका लागि एक त अस्पताल नै छैन, भएको अस्पतालमा जाँदा पनि मान्छेलाई हेर्ने दृष्टिकोण नै फरक हुने पत्रकार आचार्यले बताइन् । संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । जनस्वास्थ्य सेवा ऐन–२०७५ ले मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यका रूपमा मान्यता दिई राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना (२०२० देखि २०२६) बनाई कार्यान्वयनमा ल्याएको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकमाझ सर्वसुलभ बनाउनु राज्यको अनिवार्य दायित्व हो । तर, यसका लागि बनेका नीति तथा कानुनको कार्यान्वयन पक्ष निकै कमजोर छ । मानसिक स्वास्थ्यको बारेमा आवाज उठाउँदै आएका मातृका देवकोटा पछिल्लो समय चिकित्सकिए सेवा राम्रो भएपनि । मनोपरामर्शदाताको दरबन्दी नभएको बताउँछन् ।

‘नेपालगञ्ज वाकाथन’ सुरु

बाँके । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो । उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास छ । सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ । वाकाथनको व्यवस्थापन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा भइरहेको छ । वाकाथन नेपालगञ्जको गण विपीचोक हुँदै धम्बोझी चोकमा पुगेर समापन हुने छ ।

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था संकटमा

महोत्तरी । महोत्तरीको बर्दिबास नगर क्षेत्रका ६ हजार बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आर्थिक संकटमा फस्दै गएको छ । धेरै पानी खपत गर्ने उपभोक्ताले बक्यौता महसुल नबुझाउँदा संस्था आर्थिक संकटमा फस्दै गएको हो । संस्थाको विगत बक्यौता चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्म २ करोड १४ लाख रुपैयाँ नाघेको छ । संस्थाको अभिलेखअनुसार ५० हजारभन्दा बढी बक्यौता राख्ने उपभोक्ता झण्डै सयको हाराहारीमा पुगेका कोषाध्यक्ष भोजप्रसाद फुँयाल बताउँछन् । यसरी खानेपानी महसुल तिर्न अटेर गर्ने गृहस्थभन्दा कारोबारी संस्था र व्यापारिक घरानाका उपभोक्ता धेरै रहेका फँुयालले बताए । ‘संस्थामा १२ वर्षदेखि महसुल नबुझाउने पनि रहेछन्,’ कोषाध्यक्ष फुँयाल भन्छन्, ‘आर्थिकरूपले विपन्न देखिनेले बरु समयमै तिरेका छन्, हुनेखानेले महसुल बुझाउने काममा अटेर देखिएको छ ।’ यसरी धेरै बक्यौता महसुल राख्नेमा सातवटा गैरसरकारी संस्था, ६ वटा चलेका ठूला होटल, दुईवटा निजी तवरले सञ्चालित अस्पताल, दुईवटा सरकारी कार्यालय, दुईवटा विद्यालय र सम्पन्न घरानाका गनिने व्यापारी रहेका उनी बताउँछन् । नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै गत वैशाखदेखि नै बक्यौता महसुल बुझाउन ताकेता गरिए पनि अपेक्षित असुली हुन नसकेको संस्थाका पदाधिकारी बताउँछन् । पछिल्लो चरणमा कार्यालय व्यवस्थापनले महसुल नबुझाउने उपभोक्ताको धारा काट्नेसम्मका कारबाही सुरु गरिएको छ । केही उद्योगले त पानी चोरेर आफ्ना धन्दा सञ्चालन गरेकासमेत पाइएको समितिले जनाएको छ । पानी संकलन, भण्डारण, पाइप व्यवस्थापन, पानी वितरण र कार्यालय व्यवस्थापनमा मासिक १२ लाख रुपैयाँ बढी खर्च हुन्छ । अहिले रकम अभावले समयमा सरसफाइका काम हुन नसकेर केही पानीट्यांकी उपयोगमा आउन नसकेका र विष्ट टोलमुनिको पानीट्यांकीमा विद्युतीकरण गर्न नसकिँदा सेवा प्रवाह बढी खर्चिलो भएको संस्थाका अध्यक्ष भुलनसेन ठकुरी बताउँछन् । ‘पानीट्यांकीमा विद्युत् पुर्याउन ४० लाख रुपैयाँ खर्च हुने अनुमान छ, रकम अभावमा विद्युतीकरण गर्न नसक्दा डिजलपम्पबाट पानी तानिँदा प्रतिमहिना ६ लाख बढी खर्च हुँदैछ,’ अध्यक्ष ठकुरी भन्छन्, ‘पुरानो बक्यौता नआउँदा संस्था आर्थिक संकट बेहोर्दैछ ।’ रकमकै अभावमा विद्युतीकरण हुन सकेको छैन । ६ हजार उपभोक्ता छन् । यी उपभोक्तालाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउनु मुख्य जिम्मेवारी रहेको संस्था आर्थिक संकटमा फस्दा गर्नुपर्ने काम प्रभावित हुँदै आएका छन् । आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै संस्थाको कार्यसमितिले बक्यौता महसुल नबुझाउनेको धारा काट्ने निर्णय गरेको अध्यक्ष ठकुरीले पुष्टि गरे । ‘हामी निर्वाचित भएर काम थालेसँगै गत वैशाखमै बक्यौता बुझाउन लिखित ताकेता गरेका छौँ, यसको सुनुवाइ नभएपछि अब धारा काट्ने निर्णय गर्न बाध्य भइयो,’ अध्यक्ष ठकुरी भन्छन्, ‘यसै क्रममा मिटर चुँडाएर पानी चोरी गर्ने उद्योगविरुद्ध पनि कारबाही गरिन्छ ।’ प्रत्येक तीन÷तीन वर्षमा नयाँ कार्यसमितिको निर्वाचन हुने संस्थामा यसअघिका समितिको कार्यकालका बक्यौता महसुल असुली टाउको दुखाइ बनेको ठकुरी बताउँछन् । खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम महसुल मासिक ८० रुपैयाँ लिन्छ । यसवापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन् । खपत बढे महसुल पनि बढ्दै जान्छ । विगत बक्यौता महसुल असुलउपर गर्न र धारा छेडछाड गर्नेविरुद्ध कारबाही हुने संस्थाका पदाधिकारीले बताउँदै आएका छन् । ‘हामीले पर्याप्त जनाउ र समय दिन पर्छ, त्यो हामीले गर्दै आएका छौँ, अब कारबाहीको चरण थालिन्छ, कोही कसैको अनुहार हेर्ने प्रश्न नै आउँदैन,’ अध्यक्ष ठकुरी भन्छन्, ‘संस्थासँगको अटेर सह्य हुँदैन ।’ संस्थाबाट पाउने सहुलियत सबैले पाउने ठकुरीको भनाइ छ । यसपालि दसैँ, दीपावली र छठपर्व पारेर गत कात्तिक महिनाको महसुल छुट दिइएर बोनसको लाभ दिइएको बताउँदै ठकुरीले न्यूनतम शुल्क लाग्ने १० हजार लिटरको सिलिङ्लाई १५ हजार लिटरमा पुर्याउने प्रयत्न गरिएको जानकारी दिए । ‘संस्था र समिति उपभोक्ता हितप्रति समर्पित छन्,’ ठकुरी अपिल गर्दै भन्छन्, ‘सबैले समयमै महसुल बुझाएर संस्था र समितिलाई सहयोग गर्नुहोस् ।’ रासस

जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए । तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए । चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरिया’का बिरामीको सङ्ख्या बढेका छन् । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन् । लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीमा प्रमुख कमल रावतले बताए । रासस

फुङ्लिङमा आगलागीबाट ५ लाखको क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा घर जलेर नष्ट भएको छ भने ५ लाख रुपैयाँबराबरको क्षति भएको छ । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा ५ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

२० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट, किन धमाधम बाहिरिँदै छन् नेपाल रिका संस्थापक ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले नेपाल रिमा भएको आफ्नो कूल स्वामित्वको केही प्रतिशत सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको स्रोतले बताएको छ । स्रोतका अनुसार कम्पनीले २० लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो । ‘क्यास फ्लो मिलाउन सेयर बिक्री गर्न लागिएको हो, कम्पनीसँग नेपाल रिइन्स्योरेन्सको ४०/५० लाख कित्ता सेयर छ, एउटै ठाउँमा धेरै सेयर राखेर प्रयोग हुँदैन, त्यसैले लगानी विविधिकरण गर्न खोजेको हो,’ कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले भने, ‘अन्य कुन क्षेत्रमा लगानी गर्ने भनेर एकिन निर्णय भएको छैन तर लगानी एउटै ठाउँमा धेरै भएकाले त्यो बेचेर अन्य क्षेत्रमा लगानी गर्न खोजिएको हो ।’ उनका अनुसार जुन क्षेत्रबाट लगानीको अवसर आउँछ सोही क्षेत्रमा लगानी गर्ने योजना कम्पनीकाे छ । २० लाख कित्ता सेयर बिक्री गर्न स्वीकृतिका लागि पुनर्बीमा कम्पनीमा पत्र पठाएको कम्पनी सचिव न्यौपानेले बताए । नेपाल रिइन्स्योरेन्स स्रोतका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सेयर बिक्रीका लागि स्वीकृति दिइसकेको छ । साथै, नेपाल बीमा प्राधिकरणले समेत अनुमति दिएको स्रोतको भनाइ छ । अब कम्पनीले अर्काे साताभित्र उक्त सेयर बिक्रीका लागि सूचना आह्वान गर्नेछ । कम्पनीको बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । नेपाल रिइन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदनका अनुसार साविक हिमालयन जनरलको १८ लाख ८५ हजार १६५ कित्ता र साविक एभरेष्ट इन्स्योरेन्सको १८ लाख ८५ हजार १६५ कित्ता सेयर गरी कूल ३७ लाख ७० हजार ३३१ कित्ता सेयर स्वामित्व छ । रिइन्स्योरेन्सले बोनस सेयर वितरण गरेको हुँदा उक्त सेयर संख्या वृद्धि भएको हुन सक्छ । बिहीबार मात्रै रिइन्स्योरेन्सबाट नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले सेयर बिक्री गरेका थिए । नेपाल इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता सेयर र विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्री गरेको हो । यस्तै, प्रभु इन्स्योरेन्सले पनि १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बोलकबोल मार्फत् बिक्रीमा राखेको छ । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिका लागि सेयर बिक्री गर्न लागेका हुन् । रिइन्स्योरेन्सको सेयर बिक्री गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स चौथों कम्पनी हो ।

एनसेलको बदनाम गर्न खोजिएको भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न कर्मचारी संगठनको माग

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा कार्यरत कर्मचारीहरुले एनसेलको शेयर बिक्रीको विषयलाई लिएर भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । एनसेल कर्मचारी ट्रेड युनियनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजी प्रति ध्यानाकर्षण भएको जनाएको छ । युनियनले कम्पनीको शेयर खरिद बिक्री हुनु भनेको एक सामान्य प्रक्रिया भएको बताउँदै कम्पनीकै व्यवसायिक छविमाथि आँच आउने गरि भएकारगरिएका प्रचारबाजी प्रति सजग रहन एनसेलका ग्राहक, व्यवसायिक साझेदार तथा आम नेपाली जनतासमक्ष अपिल गरेको छ । ‘एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्री प्रक्रिया सम्बन्धी विषयमा नेपालको व्यवसायिक वातावरणलाईनै हतोत्साही गर्ने कुन्ठित मनसायले ओतप्रोत भई केहि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजी प्रति एनसेल आजियाटा लिमिटेडमा क्रियाशील रहेको यस एनसेल कर्मचारी ट्रेड युनियनको गम्भिर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

मौद्रिक नीतिको समीक्षाले माघ महिनासम्म कर्जाको ब्याजदर घटाउँछः उपाध्यक्ष कोईराला

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका विषयमा प्रतिक्रिया दिँदै उपाध्यक्ष कोईरालाले यस्तो बताएका हुन् । उनले घरजग्गा कर्जा र सेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैंकहरुले पनि विस्तारै कर्जा प्रवाह बढ्ने बताए । उनले मौद्रिक नीतिको समीक्षाले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिएको दावी गरे । मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरुलाई दबाब सिर्जना भएको बताउँदै उपाध्यक्ष कोईरालाले बैंकहरुको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिएको बताए । ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको आएको छ । मौद्रिक नीति मार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउन दबाब पर्छ । त्यसले कर्जाको ब्याजदरमा पनि घट्दै जान्छ । त्यसले ऋणीहरुलाई पनि सहुलियत हुने अवस्था आउँछ । बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजान्छन् । बैंकहरुले हेरक महिनामा ब्याजदर परिवर्तन गर्न पाउने नयाँ नियमले सहज गराएको छ । त्यसले बेस रेट घट्छ । माघमा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्ने देखिन्छ ।’ उनले भने ।