
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा कार्यरत कर्मचारीहरुले एनसेलको शेयर बिक्रीको विषयलाई लिएर भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । एनसेल कर्मचारी ट्रेड युनियनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजी प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनले कम्पनीको शेयर खरिद बिक्री हुनु भनेको एक सामान्य प्रक्रिया भएको बताउँदै कम्पनीकै व्यवसायिक छविमाथि आँच आउने गरि भएकारगरिएका प्रचारबाजी प्रति सजग रहन एनसेलका ग्राहक, व्यवसायिक साझेदार तथा आम नेपाली जनतासमक्ष अपिल गरेको छ ।
‘एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्री प्रक्रिया सम्बन्धी विषयमा नेपालको व्यवसायिक वातावरणलाईनै हतोत्साही गर्ने कुन्ठित मनसायले ओतप्रोत भई केहि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजी प्रति एनसेल आजियाटा लिमिटेडमा क्रियाशील रहेको यस एनसेल कर्मचारी ट्रेड युनियनको गम्भिर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
