
काठमाडाैं । पूर्वी पहाडको एक गाउँकी एक किशोरी आजभन्दा २० वर्ष पहिले १४ वर्षकी थिइन् । उनको गाउँमा एउटा योजनाको काम चलिरहेको थियो । उक्त योजनाको काम गर्न एकजना ओभरसियर शहरबाट गाउँ गए । उनी तिनै किशोरीको घरमा बस्ने भए । दिउँसो योजनाको काम गर्ने र राति किशोरीकै घरमा खाने बस्ने । ति किशोरीले ओभरसियरलाई खाना पकाउने र खुवाउने गर्थिन् । एउटै घरमा बस्न थालेपछि उनीहरूको बोलचाल पनि बाक्लिँदै गयो ।
घुलमिल हुँदै जाँदा किशोरी भन्दा २० वर्ष बढी उमेरका ओभरसियरले तिनलाई गलत नजरले हेर्न थाले । तर, उनको गलत नजरका बारेमा किशोरीले चाल पाइनन् । ओभरसियरले कहिले खानेकुरा ल्याइदिने, कहिले केही दिएर किशोरीलाई फकाइ फुलाई गर्न थाले । घरमा कोही नभएको मौकामा उनले किशोरीलाई आफ्नो कोठामा बोलाउन थाले । किशोरी पनि ओभरसियरले बोलाएको ठाउँमा जान थालिन् ।
यो क्रम वर्षौ चल्यो । किशोरीको परिवारलार्ई यो बारे केही थाहा थिएन । घरमा जब थाहा भयो तब उनको पेटमा ९ महिनाको गर्भ बसिकेको थियो । किशोरीको पेट देखिएपछि वरपर छरछिमेकीले पनि थाहा पाए । सबैले सोधखोज गर्न थाले । उनले ओभरसियरसँगको सम्बन्धबारे सुनाइन् । सबै गाउँले मिलेर ओभरसियरसँग ति किशोरीलाई जिम्मा लगाइदिए ।
त्यसपछि उनीहरूले गाउँमा अर्कै कोठा खोजेर बस्न थाले । किशोरीले छोरी जन्माइन् । सुरुमा ति ओभरसियरले पनि उनको र छोरीको हेरचाह गरे । तर, बिस्तारै उनले गर्ने बानी व्यवहारमा परिवर्तन आयो । उनले श्रीमानसँग आफूलाई घरमा लैजान र परिवारसँग चिनजान गराउन कर गरिन् । तर, उनले भोलि भोलि भन्दै टारिरहे । किशोरीको जिद्दीले उनले मन नलागे पनि घर लिएर गएर गए । घरमा पुग्दा ओभरसियरका श्रीमती, छोरा र छोरी भएको थाहा भयो ।
घरमा किशोरीमाथि सुरु भयो मानसिक र शारीरिक तनाव । ओभरसियर र उनका जेठी श्रीमती छोराछोरी मिलेर उनलाई पिट्न थाले । उनलाई घरमा न राम्रोसँग बस्न दिए न त खान नै । किशोरीको माइत जाने अवस्था पनि थिएन । घरमा पनि बस्न मिल्ने अवस्था नभएपछि उनी विक्षिप्त भइन् । जाने ठाउँ कतै नभएपछि उनी सडकमा पुगिन् ।
घरमा मात्र हैन उनलाई सडकमा पनि उस्तै भयो । घरभित्रै सुरक्षित नभएकी उनी सडकमा सुरक्षित हुने कुरै थिएन । पाटीमा सुत्दा, बाटोमा हिँड्दा पनि पागल भन्दै कुटपिट हुन थाल्यो । यतिसम्म कि सडकमा अर्धचेतन अवस्थामा हुँदासमेत उनी पुरुषको गिद्धे नजरबाट टाढा रहन सकिनन् । उनी सडकमै फेरि गर्भवती भइन् । पेट बोक्दै सडकमा हिँडेकी ति महिलालाई काठमाडौंमा रहेको एक संस्थाले उद्धार ग¥यो । अहिले उनी छोरीसँग काठमाडौंकै एक सेल्टरहाउसमा छिन् । उनलाई सडकबाट ल्याएर मानसिक, शारीरिक उपचार गर्दा उनको अवस्था सुधार भएको छ । ३० वर्षकी उनी अहिले छोरीसँगै सेल्टरहाउसमा जीविकोपार्जनका लागि सिप सिकिरहेकी छिन् ।
शुक्रबार ललितपुरमा भएको ‘मानसिक स्वास्थ्य र महिला हिंसा’ विषय कार्यक्रममा कोशिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले सुनाएको घटना हो यो । उनले घरेलु हिंसा नै मानसिक रोगको कारण भएको बताए । ति महिलाको उदाहरण दिँदै देवकोटाले यस्ता महिला खोज्दै जाने हो भने अहिले पनि सडकमा थुप्रै भेटिने बताए ।
पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको छ । नेपालमा १० व्यक्तिमध्ये एक जनालाई कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्या देखा पर्ने गरेको तथ्यांकले देखाउँछ । तर, उनीहरूको उपचारका लागि भने सरकारले गतिलो कदम नचलोको विज्ञहरू बताउँछन् । कोशिस नेपालका कार्यकारी निर्देशक देवकोटा भन्छन्– ‘जसरी शरीरमा घाउ लाग्छ, त्यसैगरी मनमा पनि चोट लाग्छ, घाउ हुन्छ । तर, शरीरको घाउको उपचार गर्ने ठाउँ भए पनि मनको घाउको उपचार गर्ने ठाउँ छैन ।’
मनोरोग विशेषत्र अविन्द्र भुसाल नेपाली समाजमा हरेक व्यक्तिलाई कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्या हुने गरेको बताउँछन् । उनि भन्छन्, ‘पारिवारिक समस्या र सामाजिक अपहेलनाकै कारण धेरैलाई यस्तो समस्या हुन्छ । तर, उपचार गर्न आउँदा शारीरिक समस्या लिएर आउँछन्, चेकजाँच गर्दा मानसिक समस्या देखिन्छ ।’
अहिले पनि मानसिक स्वास्थ्यको विषयमा मान्छे खुलेर बोल्न डराउने उनको भनाइ छ । ‘मलाई तनाव भइरहन्छ, खान मन लाग्दैन, मन दुखिरहन्छ किन होला ? भनेर आउने पनि छन्,’ उनी भन्छन्, ‘कोही भने पेट दुख्यो, छाती दुख्यो भनेर आउँछन् । तर, उनीहरूमा काउन्सिलिङ गर्दै जाँदा भयानक मानसिक समस्या देखिन्छ ।’
नेपालमा मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यभन्दा पृथकरूपमा हेरिन्छ जबकि नेपालको कुल जनसङ्ख्याको २५ प्रतिशतलाई कुनै न कुनै किसिमको मनोसामाजिक समस्या भई विभिन्न अस्पतालमा उपचारका लागि आउने गरेको तथ्यांकमा देखिन्छ ।
स्वास्थ्य पत्रकार कल्पना आचार्य जति शारीरिक स्वास्थ्य सम्बन्धमा मिडियामा बहस हुन्छ त्यति मानसिक स्वास्थयका विषयमा बहस हुन नसकेको बताउँछिन् । ‘यो विषयमा खुलेर कुरा गर्न नसक्नु र अर्को मानसिक समस्या भए कहाँ जाने भनेर थाहा नहुनुले पनि यस्ता विषय सञ्चारमाध्याममा आउन सकेका छैनन्,’ उनले भनिन्
महिला हिंसा नै मानसिक समस्याको कारक
नेपालमा सबैभन्दी बढी महिलामाथि हिंसा हुन्छ । त्यसमा पनि सबैभन्दा बढी घरेलु हिंसा हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । आफ्नै बुवा, काका, मामा, दाइ, भाइ र चिनजानका आफन्तबाटै महिलामाथि हिंसा हुन्छ । त्यही हिंसाले मानिसक समस्या निम्तिने विज्ञ बताउँछन् ।
मनोचिकित्सक भुसाल भन्छन्, ‘मान्छेको मन विभिन्न कारणले दुख्छ, ठ्याक्कै यही कारणले पीडा हुन्छ भन्न सकिँदैन । तर, महिलामा देखिने मानसिक समस्याको कारण हिंसा नै हो ।’
मानसिक समस्यामा सामाजिक लाञ्छना अझ बढी हुन्छ । सामान्य समस्या भएकाहरू प्रायः अस्पताल पुग्दैनन् । औषधि चलाउ नै पर्ने खालका बिरामी मात्र स्वास्थ्य संस्था पुग्ने गरेको मनोचिकित्सकहरू बताउँछन् ।
विज्ञहरूका अनुसार हरेक चारमा एक बिरामी मानसिक स्वास्थ्य समस्या लिएर अस्पताल जाने गर्छन् । करिब ८० प्रतिशत यस्ता बिरामीले रोग पहिचान हुन नसकेका कारण उपचार पाउन नसकेको, २३ प्रतिशत बिरामीलाई घरकै मान्छेले ठीक भैहाल्छ नि भनेर उपचारमा नलैजाने गरेको अवस्था छ । फलस्वरूप समयमै उपचार नपाइ रोग जटिल बन्दै जाने गरेको छ ।
नेपालमा शारीरिक स्वास्थ्य जाँच गराउने सयौं अस्पताल हुँदा मानसिक स्वास्थ्य जाँच गराउने अस्पताल न्यून छन् । काठमाडौँ उपत्यकाभित्र पनि शारीरिक जाँच गर्ने सयौं अस्पताल हुँदा मानसिक स्वास्थ्यका लागि पाटन अस्पतालमात्र छ । मानसिक स्वास्थ्यका लागि एक त अस्पताल नै छैन, भएको अस्पतालमा जाँदा पनि मान्छेलाई हेर्ने दृष्टिकोण नै फरक हुने पत्रकार आचार्यले बताइन् ।
संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । जनस्वास्थ्य सेवा ऐन–२०७५ ले मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यका रूपमा मान्यता दिई राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना (२०२० देखि २०२६) बनाई कार्यान्वयनमा ल्याएको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकमाझ सर्वसुलभ बनाउनु राज्यको अनिवार्य दायित्व हो । तर, यसका लागि बनेका नीति तथा कानुनको कार्यान्वयन पक्ष निकै कमजोर छ ।
मानसिक स्वास्थ्यको बारेमा आवाज उठाउँदै आएका मातृका देवकोटा पछिल्लो समय चिकित्सकिए सेवा राम्रो भएपनि । मनोपरामर्शदाताको दरबन्दी नभएको बताउँछन् ।