बैंक तथा बीमा कम्पनीले मर्जर र एफपीओमा कर तिर्नुपर्ने, सरकारको पक्षमा सर्वोच्चको फैसला
काठमाडौं । बैंक तथा बीमा कम्पनीले मर्जर तथा एफपीओमा कर तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले मर्जर तथा एफपीओमा कर लाग्ने सरकारको निर्णयलाई सदर गरेसँगै बैंक तथा बीमा कम्पनीले कर तिर्नुपर्ने भएको हो । बिहीबार भएको सुनुवाईपछि कर असुल्ने सरकारको निर्णय विरुद्ध बैंकर र बीमकले दायर गरेको रिटमा अदालतले सरकारको निर्णयलाई सदर गरिदिएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा कुमार रेग्मीको संबैधानिक इजलासले सरकारको उक्त निर्णय सदर गरिदिएको हो । यसअघि बैंकर र बीमकले मर्जर तथा एफपीओको कर असुल्ने निर्णय विरुद्ध परमादेश माग्दै अदालतमा रिट हालेका थिए । विभिन्न १५ वटा वाणिज्य बैंक र २ बीमा कम्पनीहरुले एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको निर्णयविरुद्ध गत भदौ २९ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । बैंकहरुले एफपीओमा र मर्जर/एक्विजिशनको बार्गेन पर्चेज गेनको रकममा लादिएको करबारे दुई वटा रिट दर्ता गराएका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नबिल, सानिमा, सिद्धार्थ, सिटिजन्स, एनआइसी एशिया, कुमारी, हिमालयन, प्राईम, प्रभु, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, माछापुच्छ्रे र नेपाल एसबिआई बैंकले संयुक्त रुपले मुद्दा हालेका थिए । त्यस्तै, बैंकहरु अदालत गएपछि प्रिमियममा एफपीओ निष्काशन गरेका नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि अदालतमा मुद्दा दायर गरेका थिए । नेपाल लाइफले असोज २ गते र शिखरले असोज २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थिए ।
सेरेसको थ्रि एस सुविधासहितको शोरुम पोखराको नागढुंगामा
पोखरा । पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले पोखरामा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीले जनाएको छ । अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एम.ए.डब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशव चन्द्र सेनले शोरुमको उद्घाटन गरेका छन् । उक्त अवसरमा आ–आफ्नो धारणा राख्दै सेरेसको उपस्थितिसँगै पोखरामा विद्युतीय गाडीको माग बढ्ने र सेरेस लोकप्रिय हुने विश्वास व्यक्त गरे । शोरुम उद्घाटनको अवसरमा २ जना ग्राहकलाई थापा मोटर्सले सेरेस इभी हस्तान्तरण गरेको छ । सेरेस थ्रि र मिनी इभी हस्तान्तरण गरिएको हो । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ ।
नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ३.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३१०.३६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ थियो । यससँगै आइतबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३१०.३६ रुपैयाँलाई आधार मानेर हुने छ ।
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध, सञ्चालकमा ६ जना निर्वाचित
काडमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो वैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् । साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ । यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताएका छन् । आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । उनले भने, ‘फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौँ ।’ सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा विमानस्थलका सरसफाई सहयोगी दुई जना गरी हालसम्म पाँच जना पक्राउ परेको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए । रासस
व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं । व्यवसायिक भवनले पार्किङ शुल्क उठाउने काठमाडौं महानगरको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार संविधानअनुसार स्थानीय तहलाई नभएको भन्दै सर्वोच्चले महानगरको निर्णयलाई बदर गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, शुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले महानगरको निर्णयलाई अमान्य र बदर घोषित गरेको हो । ‘सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान गरेको नदेखिई काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०५० को उक्त व्यवस्थाहरू नेपालको संविधानको धारा २२८ को व्यवस्थासँग बाझिएको देखिँदा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२ को उपदफा ९४० र अनुसूची ११(क) को क्रमसङ्ख्या (१) र क्रमसङ्ख्या (३) लाई नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजको मितिदेखि अमान्य र बदर घोषित गरिएको छ। आदेशको जानकारी प्रत्यर्थी काठमाडौँ महानगरपालिकालाई दिनू,’ आदेशमा भनिएको छ । त्यस्तै, आदेशमा ‘काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०६० को दफा १२ को उपदफा (४) मा “बहुतले आवासीय वा व्यवसायिक भवनहरुमा रहेका व्यवसाय र सेवा सम्बद्ध सेवाग्राहीले सोही ऐनको अनुसूची ११(क) को क्रमसंख्या (१) मा “महानगर क्षेत्रभित्र निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यवसायिक रुपमा सञ्चालित सवारी साधन पार्किङले अधिकतम रुपमा निम्न बमोजिमको दर रेटमा शुल्क संकलन गर्न सक्नेछ” भन्ने उल्लेख भई देहाय खण्ड (अ) मा दुई पाङ्ग्रे सवारी साधन र देहाय खण्ड (आ) मा चार पाङ्ग्रे सवारी साधनको लागि पार्किङ शुल्क तोकिएको र सोही अनुसूचीको क्रमसंख्या (३) मा “व्यवसायिक भवनहरुमा भएको पार्किङ क्षेत्रमा सोही भवनमा भएका व्यवसाय र सेवा प्रवाहसँग सम्बन्धित सेवाग्राहीहरुलाई निशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्नेछ र सो बाहेकका लागि पार्किङ शुल्क लिन पाइनेछ” भन्ने उल्लेख भएको देखियो । यी व्यवस्थाहरु महानगरपालिका आफैले कर वा शुल्क दस्तुर लिने वा उठाउने कुरासँग सम्बन्धित नदेखिई निजी स्वामित्वका घरजग्गा वा व्यवसायिक भवनहरुमा भएको पार्किङ सेवा उपलब्ध गराएबापत ती घरजग्गा वा व्यवसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन पाउने वा नपाउने, उठाउँदा के कति उठाउने भन्ने कुरासँग सम्बन्धित रहेको देखियो’, सर्वोच्चको आदेशमा भनिएको छ ।
निर्माण व्यवसायीको प्राविधिक परामर्श शाखा स्थापना
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा बिहीबारदेखि विविधत् रुपमा कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरिएको छ । महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीहरूको सशक्तिकरणमा कानुनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । विगतमा कानुनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीहरूले विभिन्न खाले समस्याहरू सामना गर्नु परेको भन्दै अध्यक्ष सिंहले अब त्यस्ता समस्या समाधान हुने बताए । निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. भीमार्जुन अधिकारीले महासंघमा कानुनी तथा प्राविधिक परामर्श शाखा सञ्चालन हुनु अत्यन्त सकारात्मक भएको बताए । अधिकारीले शाखाबाट साना निर्माण व्यवसायीहरू अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गरे । जिल्ला जिल्लामा रहेका साना निर्माण व्यवसायीहरूका लागि सचेतनाका अन्य कार्यक्रम पनि आवश्यक भएको अधिकारीले बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले सबै खाले निर्माण व्यवसायीहरूका लागि कानूनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण भएको विचार व्यक्त गरे । महासचिव रोशन दाहालले सिक्ने सिकाउने परिपाटी सबैका लागि लाभदायी भएको बताउँदै सबै खाले व्यवसायीहरूको वृद्धि विकासका लागि महासंघ क्रियाशील रहेको जानकारी दिए । कार्यक्रममा महासंघका अन्य पदाधिकारीहरू र कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।
अर्थतन्त्रका सूचकहरू ठिकठाक, विदेशी मुद्रा संचिती १३ अर्ब डलर
काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै चिन्ता, चासो र बहस भइरहेको बेला राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक रहेको देखाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै देखिएका हुन् । तथ्याङ्क अर्थतन्त्रका हरेक सूचकहरु सुधारको गतिमा छन् । पछिल्लो समय महँगी पनि केही घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । साथै, अर्थमन्त्री डा.प्रकाश शरण महतले बुधबार गरेको पत्रकार सम्मेलनमा देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका थिए । सोही अनुरुप राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले पनि मिल्दोजुल्दो नतिजा देखाएको छ । पछिल्लो समय रेमिट्यान्स आयात बढिरहँदा विदेशी मुद्रा सञ्चिति पनि थुप्रिँदै गएको देखिन्छ । एकातिर रेमिट्यान्स भित्र्याइरहने र अर्काेतिर आयातमा कमी आउँदा विदेशी मुद्रा थपिँदै गएको हो । विदेशी मुद्रा प्रयाप्त भएपनि आवश्यक वातावरण नहुँदा सरकार र निजी क्षेत्रको खर्च गर्ने क्षमतामा वृद्धि भएको देखिँदैन । १७ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो । यसअघि गत असारसम्म विदेशी मुद्रा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्ष २०८०/८१को ४ महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशत बढेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा ८.९ प्रतिशत बढेर १२ अर्ब ७५ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलर ११ अर्ब ७१ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा असारसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा १०.८ प्रतिशत बढेर कात्तिकमा १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ पुगेका छ । सातै, बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति ६.४ प्रतिशत बढेर २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत असारसम्म भने १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । कात्तिकसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् । पौने पाँच खर्ब भित्रियो रेमिट्यान्स चालु आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कात्र्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो । शोधनान्तर स्थिति डेढ खर्ब र चालु खाता १ खर्ब रुपैयाँले बचत कात्तिकसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ । गत कात्तिकसम्म पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रुपैयाँ थियो । आयात निर्यात घट्यो चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाकपोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस.तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । सरकारको खर्च न्यून महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म नेपाल सरकारको कुल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा १.३ प्रतिशतले मात्र वृद्घि भएको छ । समीक्षा अवधिमा चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पँुजीगत खर्च २९ अर्ब ९९ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड रुपैयाँ र गैर कर राजस्व २२ अर्ब ३४ करोड रुपैयाँ परिचालन भएको छ । डेढ खर्ब निक्षेप बढाउँदा कर्जा प्रवाह १ खर्ब पुग्यो राष्ट्र बैंकका अनुसार ४ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले २.१ प्रतिशत अर्थात् ९९ अर्ब ४० करोड रुपैयाँ बढाएर कर्जा प्रवाह गरेका छ । अघिल्लो वर्षको सोही अवधिमा १.५ प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरूको १.८ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.७ प्रतिशत अर्थात् १ खर्ब ५४ अर्ब ६१ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.९ पतिशत अर्थात् ४६ अर्ब ७४ करोड रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निक्षेप १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । मुद्रास्फीति ५.३८ प्रतिशतमा झर्याे राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१को कात्तिकसम्मको तथ्यांकअनुसार मुद्रास्फीति घटेर ५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । मरमसलाको मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । कात्तिकमा घ्यू तथा तेल र तरकारीको मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ । मनोरञ्जन तथा संस्कृतिको मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । यातायातको मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको छ । काठमाडौं उपत्यकाको उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ ।