अर्थतन्त्रका सूचकहरू ठिकठाक, विदेशी मुद्रा संचिती १३ अर्ब डलर

<p>काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै चिन्ता, चासो र बहस भइरहेको बेला राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक रहेको देखाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै देखिएका हुन् । तथ्याङ्क अर्थतन्त्रका हरेक सूचकहरु सुधारको गतिमा छन् । पछिल्लो समय महँगी पनि [&hellip;]</p>

काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै चिन्ता, चासो र बहस भइरहेको बेला राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक रहेको देखाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै देखिएका हुन् ।

तथ्याङ्क अर्थतन्त्रका हरेक सूचकहरु सुधारको गतिमा छन् । पछिल्लो समय महँगी पनि केही घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । साथै, अर्थमन्त्री डा.प्रकाश शरण महतले बुधबार गरेको पत्रकार सम्मेलनमा देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका थिए । सोही अनुरुप राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले पनि मिल्दोजुल्दो नतिजा देखाएको छ ।

पछिल्लो समय रेमिट्यान्स आयात बढिरहँदा विदेशी मुद्रा सञ्चिति पनि थुप्रिँदै गएको देखिन्छ । एकातिर रेमिट्यान्स भित्र्याइरहने र अर्काेतिर आयातमा कमी आउँदा विदेशी मुद्रा थपिँदै गएको हो । विदेशी मुद्रा प्रयाप्त भएपनि आवश्यक वातावरण नहुँदा सरकार र निजी क्षेत्रको खर्च गर्ने क्षमतामा वृद्धि भएको देखिँदैन ।

१७ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो । यसअघि गत असारसम्म विदेशी मुद्रा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्ष २०८०/८१को ४ महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशत बढेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा ८.९ प्रतिशत बढेर १२ अर्ब ७५ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलर ११ अर्ब ७१ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा असारसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा १०.८ प्रतिशत बढेर कात्तिकमा १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ पुगेका छ । सातै, बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति ६.४ प्रतिशत बढेर २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत असारसम्म भने १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । कात्तिकसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् ।

पौने पाँच खर्ब भित्रियो रेमिट्यान्स

चालु आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कात्र्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो ।

शोधनान्तर स्थिति डेढ खर्ब र चालु खाता १ खर्ब रुपैयाँले बचत

कात्तिकसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ ।

गत कात्तिकसम्म पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रुपैयाँ थियो ।

आयात निर्यात घट्यो

चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाकपोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, एम.एस.तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

सरकारको खर्च न्यून

महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म नेपाल सरकारको कुल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा १.३ प्रतिशतले मात्र वृद्घि भएको छ । समीक्षा अवधिमा चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पँुजीगत खर्च २९ अर्ब ९९ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड रुपैयाँ र गैर कर राजस्व २२ अर्ब ३४ करोड रुपैयाँ परिचालन भएको छ ।

डेढ खर्ब निक्षेप बढाउँदा कर्जा प्रवाह १ खर्ब पुग्यो

राष्ट्र बैंकका अनुसार ४ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले २.१ प्रतिशत अर्थात् ९९ अर्ब ४० करोड रुपैयाँ बढाएर कर्जा प्रवाह गरेका छ । अघिल्लो वर्षको सोही अवधिमा १.५ प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरूको १.८ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.७ प्रतिशत अर्थात् १ खर्ब ५४ अर्ब ६१ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.९ पतिशत अर्थात् ४६ अर्ब ७४ करोड रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निक्षेप १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ ।

मुद्रास्फीति ५.३८ प्रतिशतमा झर्याे

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१को कात्तिकसम्मको तथ्यांकअनुसार मुद्रास्फीति घटेर ५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

मरमसलाको मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । कात्तिकमा घ्यू तथा तेल र तरकारीको मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

मनोरञ्जन तथा संस्कृतिको मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । यातायातको मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको छ । काठमाडौं उपत्यकाको उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ ।

Share News