कक्षा ८ का विद्यार्थीले पनि नयाँ सिम पाउने, टेलिकमले थप्यो निःशुल्क सुविधा
काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ । टेलिकमका अनुसार हाल ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ। पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । यस्तै कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुने टेलिकमले जनाएको छ । यस्तै विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ । यस अनुसार एमपोसमार्फत १०० रुपैयाँ देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसैगरी फिजिकल रिचार्जमार्फत १०० रुपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० तथा १००० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । टेलिकमका अनुसार यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ ।
बिहीबार यी ९ कम्पनीको सेयर मूल्यमा लाग्यो सर्किट
काठमाडौं । बिहीबारको सेयर बजारमा विभिन्न ९ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बजारमा विभिन्न सूमहका ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो । कूल १४० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डभेलपर्स र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । र, सेयर मूल्य बढेर क्रमशः प्रतिकित्ता ३ हजार ५९१ रुपैयाँ, ६४५ रुपैयाँ, ३८२ रुपैयाँ र ३१५ रुपैयाँ पुगेको छ । त्यस्तै, दोल्टी पावर कम्पनी र मिड सोलु हाइड्रोपावर दुबैको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३३०.५० र ४११.२० रुपैयाँ पुगेको छ । त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत र आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९.५७ प्रतिशतले बढेको छ । यससँगै बिहीबार यी दुई कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता १९६.६० र १८९ रुपैयाँमा भएको छ । बजारमा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.९८ प्रतिशतले घटेको छ । बजारमा नेप्से परिसूचकमा सुधार आएको छ भने कारोबार रकम भने घटेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक ६.५५ अंकले बढेर १९९४.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतले बढी हो । त्यस्तै, बुधबार ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आयलको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३६१.८० रुपैयाँ छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ छ ।
योजना आयोगले लियो सातै प्रदेशमा सुझाव, कस्तो बन्ला त १६औँ योजना ?
काठमाडौं । कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर १६औँ योजना बनाउन प्रदेश सरकारदेखि कर्णालीका स्थानी सरकारसम्मले अनुरोध गरेका छन् । राष्ट्रिय योजना आयोगले बनाउने १६औँ पञ्चवर्षीय योजनाका लागि सुझाव दिदै कर्णाली प्रदेश सरकार, प्रदेश स्तरीय राजनीतिक दल, निजी क्षेत्र, प्रदेशका सबै जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुका प्रमुख तथा प्रतिनिधिले यस्तो अनुरोध गरेका हुन् । प्रदेश राजधानी सुर्खेतमा २ दिनसम्म चलेको कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारसँग छुट्टाछुट्टै सुझाव लिइएको थियो । कर्णाली प्रदेशको सम्भावनालाई दृष्टिगत गरेर राष्ट्रिय योजना बनाउन कर्णाली प्रदेशबाट सुझाव दिइएको छ । कर्णाली पर्यटन, जडीबुटीसँगै कृषि र फलफूल खेतीका लागि अथाह सम्भावना रहेको भन्दै यसैलाई मध्यनजर गरेर राष्ट्रिय योजनामा समावेश गर्नुपर्ने सुझाव दिइएको हो । सडक पूर्वाधार र अन्य संरचना नहुँदा कर्णालीको सम्भावना हुँदाहुँदै पनि अवसर लिन नसकिएको भन्दै आगामी योजनामा समावेश गर्न सुझाव दिइएको छ । कर्णालीलगायत विशेष विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव आयोगलाई दिइएको छ । युवालक्षित उद्यमशीलता विकास तथा रोजगारीमूलक विशेष कार्यक्रम, जलविद्युत् उत्पादन र जडिबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम योजनामा समावेश गर्न आग्रह गरिएको छ । यस्तै कृषि बीमा, खेती, खण्डीकरण नियन्त्रण र व्यवस्थित गरिने, वित्तीय स्रोतलाई उत्पादनसँगै रोजगारी सिर्जनामा केन्द्रित गरी समावेशी परिचालन गर्नेगरी योजनामा समावेश गर्न सुझाव दिइएको हो । हिमाली क्षेत्रमा चौँरी, भेडापालन र स्याउखेती प्रवद्र्धन तथा मध्यपहाडी क्षेत्रमा तरकारी र फलफूल उत्पादनका कार्यक्रम सञ्चालन गरिने, रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नेगरी योजना बनाउनुपर्नेमा जोड दिइएको छ । यसैगरी जलवायु परिवर्तनबाट हुने प्रतिकूल प्रभाव न्यूनीकरण तथा अनूकूलनका लागि क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने, प्रकृतिमा आधारित पर्यटनको प्रवद्र्धन गर्ने, जैविक विविधता सम्वद्र्धन तथा पेटेन्ट अधिकार सुनिश्चित गर्नपर्नेलगायतका सुझाव योजनामा समावेश गर्न आग्रह गरिएको छ । कर्णाली करिडोरलाई पनि योजनामा समावेश गर्न सुझाव दिँदै करिडोरमा आधारित आर्थिक क्रियाकलाप तथा एकीकृत बस्ती विकास गर्नुपर्ने, पालिकास्तरमा आर्थिक क्रियाकलाप रोजगारी सिर्जनासहित आधुनिक ग्रामीण सहर निर्माणलगायतका विषय योजनामा समावेश गर्न भनिएको छ । योजनामा समावेश गर्नेगरी शिक्षा, स्वास्थ्य क्षेत्रमासमेत कर्णालीबाट सुझाव दिइएको छ । शिक्षा र स्वास्थ्यलाई राज्यले क्रमिकरुपमा आफ्नो दायित्वभित्र लैजानुपर्ने, शिक्षामा असल दर्जाको जनशक्तिलाई आकर्षित गर्नुपर्ने, विद्यालयमा मनोसामाजिक परामर्श सञ्चालन गर्नेगरी योजना बनाउनेलगायतका सुझाव कर्णालीबाट दिइएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश उपेक्षामा पारिएको गुनासो गरेका थिए । उनले १६औँ योजना भने त्यस्तो नहोस् भन्ने आफूहरुले चाहेको बताए । अन्य प्रदेशहरु भन्दा कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै संघीय सरकारले त्यसको क्षतिपुर्ति दिनुपर्ने समेत मूख्यमन्त्री शर्माले बताए । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ योजना संघीय संरचनालाई बलियो बनाउनेगरी योजना बन्ने बताए । चौधौँ योजना सफल भएको बताउदै उपाध्यक्ष श्रेष्ठले चौधौँ योजना जस्तैगरी सोह्रौँ योजना बनाउनेगरी आयोगले सुझाव संकलन गरिरहेको बताए । लक्ष्य हासिल हुनेगरी सोह्रौँ योजना तर्जुमा हुने र कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ । १६औँ योजनाका लागि कर्णाली प्रदेशमा सुझाव लिन आयोगका उपाध्यक्ष डा. श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवालीसहितको टोली गत मंगलबार सुर्खेत पुगेको थियो । दुई दिनसम्म चलेको अन्तरक्रियाको पहिलो दिन कर्णाली प्रदेशका मुख्यमन्त्री तथा सबै मन्त्रीहरू, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सबै सदस्यहरू, कर्णाली प्रदेश भित्रका जिल्ला समन्वय समितिका प्रमुखहरू, प्रदेश मन्त्रालयका सचिवहरू, विभिन्न राजनीतिक दलका प्रदेशस्तरीय प्रमुख एवम् प्रतिनिधिहरू, निजी क्षेत्रका छाता सङ्गठनका प्रदेशस्तरीय प्रमुख एवम् प्रतिनिधिहरू, जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख तथा जिल्ला समन्वय अधिकारी, गैरसरकारी तथा सहकारी क्षेत्रका प्रतिनिधिहरू, प्राध्यापक तथा विकास प्रशासनका विज्ञहरूको उपस्थिति थिए । त्यसैगरी कार्यक्रमको दोस्रो दिन कर्णाली प्रदेश भित्रका सबै पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । दुई दिनको कार्यक्रममा आयोगका सहसचिव महेश भट्टराईले चालु पन्ध्रौँ योजनाको पहिलो चार वर्षको प्रगति अवस्थाको समीक्षा सहित प्रस्तावित सोह्रौँ योजनाको आवश्यकता र यसको प्रारम्भिक मस्यौदाले समेटेका विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए । यससँगै आयोगले सात प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकार समेतको सहभागितामा १६ औँ योजनाका लागि सुझाव लिने कार्यक्रम सम्पन्न गरेको छ ।
जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु
प्युठान । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडीको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी गाउँपालिका–३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
बैंकहरूले ४ महिनामा डेढ खर्ब बढाए निक्षेप, कर्जा प्रवाह १ खर्ब पुग्यो
काठमाडौं । पछिल्लो समय कर्जा प्रवाह सुस्त भनिएपनि तथ्याङ्कले भने बढेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरूले झण्डै १ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका हुन् । राष्ट्र बैंकका अनुसार ४ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले २.१ प्रतिशत अर्थात् ९९ अर्ब ४० करोड रुपैयाँ बढाएर कर्जा प्रवाह गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा १.५ प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरूको १.८ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो । ४ महिनाको अवधिमा बैंकहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फकोकर्जा ३.७ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत बढेको राष्ट्र बैंकले बताएको छ । साथै, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशत, नगद प्रवाह कर्जा १३.९ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १८.४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.० प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ६.४ प्रतिशत बढेको छ भने अधिविकर्ष कर्जा ४०.३ प्रतिशत (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.१ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.७ प्रतिशत अर्थात् १ खर्ब ५४ अर्ब ६१ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.९ पतिशत अर्थात् ४६ अर्ब ७४ करोड रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निक्षेप १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.३ प्रतिशत, २६.० प्रतिशत र ५८.० प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । २०७९ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३७.१ प्रतिशत रहेको थियो ।
फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको मंसिर २७ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर २८ गते बिहीबार दिउँसो १२ बजेर ४६ मिनेटमा मात्रै उपलब्ध भएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर लघुवित्तले त्यसको विपरित अर्थात कारोबार खुला रहेको समयमा लाभांश सम्बन्धी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो । साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले संस्थासँग यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ । यससँगै कम्पनीले पुस २ गते सोमबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ ।
सूर्यज्योति लाइफका सञ्चालक शर्माले दिए राजीनामा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका सञ्चालक नन्दकिशोर शर्माले राजीनामा दिएका छन् । संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । उनको राजीनामालाई मंसिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
हस्तकला व्यापार मेला सुरु, लाखौं मूल्यका सामग्री प्रदर्शनीमा
काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आजबाट सुरु भएको छ । दरबारमार्गस्थित होटेल डेल अन्नपूर्णमा भइरहेको उक्त व्यापार मेला पुस २ गतेसम्म सञ्चालनमा हुनेछ । महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२औं हस्तकला दिवसको अवसर पारेर सुरु गरिएको उक्त मेलाको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । उद्घाटनका क्रममा पौडेलले विदेशी मुद्रा अर्जन गर्ने प्रमुख वस्तुका रूपमा हस्तकला रहेकोले यसको प्रवर्द्धन गर्न अपरिहार्य रहेको बताए । ‘नेपाली हस्तकलाका सामग्री निर्यात गर्न सरकारको सहयोग पनि व्यवसायीलाई आवश्यक छ, परम्परामा आधारित वस्तुलाई उपयोगितासँगै सौन्दर्य थप्दै लैजाने पद्धति हस्तकलाभित्र पर्छ, त्यसैले युवा पुस्तालाई पनि यसको सीप दिन जरुरी देखिन्छ,’ उनले भने । नेपाली हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजारमा पुर्याउन व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने पौडेलको भनाइ छ । यस्तै, महासंघका अध्यक्ष प्रचण्ड शाक्यले मेलाबाट हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने बताए । उनका अनुसार हाल नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँको हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको छ । मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरूको प्रदर्शनी राखिएको पनि शाक्यले बताए । मेलामा ३ वटा प्याभिलियनसहित करिब १ सय ३० वटा हस्तकलाका वस्तुका स्टलहरू रहेका छन् । लाखौं मूल्य पर्ने हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको छ । महासंघले मेलामा झण्डै १ लाख आगन्तुक आउने अपेक्षा गरेको छ । जसमध्ये २० हजार आगन्तुकका लागि निःशुल्क प्रवेश पास वितरण गरिने पनि बताइएको छ । यस्तै, व्यापार मेला अवलोकन गर्नको लागि महासंघले एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था महासंघले मिलाएको हो ।