इलाममा अलैँची उत्पादन बढ्यो, एभोकाडो उत्पादनमा पनि वृद्धि
इलाम । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा अलैँची एक हजार तीन सय २० दशमलव पाँच मेट्रिकटन अलैँची उत्पादन भएको छ । गत आवमा एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँची खेती गरिएकामा एक हजार दुई १५ दशमलव २६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । अलैँचीको बगान घटे पनि कृषकले करेसाबारीमै रोप्न थालेपछि उत्पादन र उत्पादकत्व पनि वृद्धि भएको हो । गत आवमा उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव ६९ रहेकामा चालु आवमा बढेर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले जानकारी गराए । यसअघि ओसिलो पाखा भित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिक रुपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेका छन् । अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती जिल्लाका १० वटै स्थानीय तहमा आंशिकरुपमा हुने गरेको छ । त्यसमध्ये माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती हुने गरेको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ । यसैगरी एभोकाडोको पनि उत्पादन बढेको छ । गत वर्ष ५५ हेक्टर जमिनमा चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएकामा यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा चार सय २२ दशमलव पाँच मेट्रिकटन एभोकाडो उत्पादन भएको छ । उत्पादकत्व भने घटेको छ । गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिकटन एभोकाडोको उत्पादकत्व रहेकोमा यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ । त्यस्तै यस वर्षदेखि इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा ड्रागन फ्रुट लगाइएकामा यसवर्ष दश हेक्टरमा जमिनमा लगाइएको केन्द्रले जनाएको छ । रासस
सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग
काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागन सामाजिक उत्तरदायित्व अन्तर्गत झुवानी माध्यामिक विद्यालय, रत्ननगर ०५, झुवानी चितवनमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको हो । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संग को सहकार्यमा सहयोग प्रदान गरिएको हो । विद्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गरे । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
काभ्रेमा भैँसी सुत्केरी भत्ता र पाडी वितरण कार्यक्रम प्रभावकारी
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भैँसी सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले भैँसी सुत्केरी भत्ताका साथै किसानलाई पाडीसमेत अनुदानमा दिने गरेको छ । विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेकी पनौती–११ ख्याकुकी सावित्री थापाले अनुदानमा प्राप्त गरेको पाडी अहिले लैनौ भैँसी छ । त्यतिबेला भैँसी ब्याउँदा नगरपालिकाले उनलाई पाँच हजार सुत्केरी भत्ता पनि उपलब्ध गराएको थियो । ‘त्यतिबेला अनुदानमा पाएको पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा दुई लाखको दूध बेचेँ’, थापाले भने । ख्याकुकै माधव थापाको परिवारमा पनि लैनो भैँसीले खुसी थपेको छ । पनौती नगरपालिकाबाट उहाँले पनि अनुदानमा पाडी प्राप्त गरेका थिए । उक्त पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा एक लाख ८० हजारको दूध बिक्री गरेको थापाले बताए । यस्तै पनौती–११ कै शोभा थापाले नगरपालिकाबाट केही वर्ष अघि अनुदानमै प्राप्त गरेको पाडी हाल लैनो भैँसी बनेपछि दूध बिक्रीबाट घर खर्च चलाउँदै आएकी छन् । ‘दैनिक पाँच लिटर दूध बिक्री गर्ने गरेकी छु’, उनले भनिन् । पनौती नगरपालिको तीन वर्षको अवधिमा किसानलाई नौ सय १९ पाडी वितरण गरेको कृषि तथा पशुपन्छी शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए । नगरपालिकाले भत्तासँगै खोप र औषधी निःशुल्क वितरण गर्ने गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि भैँसी संरक्षण–सम्वद्र्धन अभियानअन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको हो । ‘दूध उत्पादन र भैँसीपालनको अवस्थाबारे अध्ययन गरेपछि भैँसी संरक्षण अभियानअन्तर्गत भैँसी सुत्केरी भत्ता वितरण गर्न थालेका हौँ’, शाखा प्रमुख सापकोटाले भने । पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यस पछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको उनले जानकारी दिए । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्यरुपमा पशु बीमा गर्नुपर्ने प्रावधान थियो । नगरपालिकाले भैँसीलाई खोप तथा घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । शाखा प्रमुख सापकोटाका अनुसार पनौती नगरपालिकामा करिब आठ हजार भैँसी रहेका छन् । हाल दैनिक करिब ७५ हजार लिटर दूध उत्पादन भइरहेको छ । यसमध्ये ५० हजार लिटर दूध बिक्रीका लागि काठमाडौं पठाउने गरिएको छ । रासस
नेप्स भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स), भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित गरिएको लिडरसिप कन्क्लेभ २०२३ मा नेप्सले पेमेन्ट प्रोसेसिङ्गमा उत्कृष्टताको लागि उक्त अवार्ड प्राप्त गरेको हो । कम्पनीका अनुसार गत वर्ष पनि नेप्स सोहि अवार्डबाट सम्मानित भएको थियो । यसरी लगातार दोस्रो वर्ष पनि उक्त अवार्डबाट समानित हुन पाउदा नेप्स गौरवान्वित छ । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, अमेरिकी दूतावासका राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्पलर, नेपालका लागि भिसाका प्रतिनिधि सौम्य बासु लगायत अतिथिको उपस्थिति थियो । नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल नेप्सले ११ वटा बैंक तथा वित्तीय संस्थाहरु लाई भिसा, मास्टरकार्ड तथा युनियन पे कार्ड संजालहरु मार्फत कारोवारका लागि होस्टिंग र स्विचिंग सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
बढ्दै छ निःसन्तान बन्ने डर, महिला र पुरुष दुवैमा समस्या
काठमाडौं । पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ । आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान जन्माउने कामलाई प्राथमिकता नदिइ आफू आर्थिकरुपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरु बताउँछन् । ‘खानपिनमा ध्यान नदिने, कामको चाप बढी हुँदा पर्याप्त निद्रा नपाउने र आजकाल धेरै दम्पती पहिला व्यक्तित्व विकास गर्ने चिन्ताले उमेरमै सन्तान जन्माउनेबारे सोच्दैनन्’, प्रजनन तथा हर्मोन विशेषज्ञ डा उमा श्रीवास्तवले भनिन्, ‘बढी तातोमा काम गर्ने, ढिला विवाह गर्ने, आवश्यक पौष्टिक आहार पर्याप्तमात्रामा नखाने तर ‘जंकफुड’ खानेजस्ता कारणले पनि दम्पती निःसन्तान हुँदै गएका छन् ।’ कोभिड–१९ को महामारी, युद्ध या विविध कारणले विश्वव्यापीरुपमा भइरहेको आर्थिक मन्दीका कारण पनि मानिसलाई जीविका चलाउन गाह्रो हुँदै गएको छ । यस्तो अवस्थामा जीविकाका अतिरिक्ति आफ्नो व्यक्तित्व विकास पनि मानिसको आधारभूत आवश्यकता जस्तो हुँदै गएको छ । यो पनि मानिसमा निःसन्तान बन्दै जाने एक कारण देखिएको छ । निःसन्तान केन्द्रमार्फत निःसन्तानका लागि उपचार सेवा दिइरएकी डा श्रीवास्तवका अनुसार महिला र पुरुष दुवैमा बराबर निःसन्तानको समस्या देखिएको छ । ‘नेपालमा निःसन्तान पुरुषका बारेमा कम अध्ययन गरिएको छ, तसर्थ महिलामा बढी समस्या भएको जस्तो लाग्छ, महिलाको समस्यामध्ये करिब ४० प्रतिशतमा डिम्बाशयको फोकेरोग अथवा पोलिसिस्टिक रोगका कारण निःसन्तानको समस्याले पीडित हुन्छन् भन्ने कुरा हामीले केही अनुसन्धानमार्फत पुष्टिसमेत गरेका छौँ’, उनले थपिन्, ‘त्यसो त सुरुमा महिला मात्रै आउँथे, पुरुष कम आउँथे र महिलामा बढी समस्या छ जस्तो लाग्थो, तर अहिले आएर दम्पतीसँगै आएका केसमा ५०-५० प्रतिशत नै महिला र पुरुषमा निःसन्तान हुने समस्या देखिन थालेको छ ।’ विश्वको तथ्यांक हेर्दा सन्तान प्राप्तिका लागि टेष्टट्युब बेबीमार्फत बच्चा जन्माउने दम्पती पनि पछिल्लो समयमा धेरै छन् तर यो उपचार निःसन्तानसम्बन्धी जाँचमार्फत प्रारम्भिक उपचार पद्धतिबाट पूर्ण तवरले असफल पुष्टि भएपछि मात्र अपनाउनुपर्छ । निःसन्तान केन्द्रकी सञ्चालक डा श्रीवास्तवका अनुसार उक्त केन्द्रको उपचार सेवाबाट मात्र आठ हजारभन्दा बढी बच्चा जन्मिएका छन् । यसबाट दम्पतीलाई सन्तान सुख मिलेको छ । तीमध्ये करिब १० प्रतिशत मात्र टेष्टट्युब बेबी छन् । उक्त केन्द्रले विसं २०५९ देखि नै सन्तान नभएका दम्पतीलाई आवश्यक उपचार सेवा प्रदान गर्दै यस प्रक्रियाबाट सन्तान जन्माउन सघाउने काम गर्दै आएको छ । तर आमजनताले उक्त प्रक्रियाबाट पनि सन्तान प्राप्त गर्न सक्दैनन् । किनकी उक्त प्रक्रियाबाट सन्तान जन्माउन महँगो पर्छ । एउटा सन्तान जन्माउन करिब रु तीनदेखि चार लाखसम्म खर्च लाग्ने भएकाले सबै नेपाली नागरिक त्यो प्रविधिबाट बच्चा जन्माउन पहुँचमा पुग्न सक्दैनन् । ‘टेष्टट्युब बेबीका लागि हर्मनल सुई महँगो पर्छ, तर ती सुईहरु भारतमा सस्तो पर्छ, त्यस किसिमको उपचार गराउँदा पनि सन्तान प्राप्तिको सफलता धेरै छैन, ती हर्मनल सुईहरु किन्न नपर्दा करिब एक–डेढ लाखसम्ममा बच्चा जन्माउन सकिन्छ’, उनले भनिन्, ‘जर्मनी, स्वीट्जरल्यान्ड बाट ल्याइएको हर्मोन सुईको प्रयोग गर्दा एउटा बच्चा उत्पादन गर्न धेरै महँगो पर्छ ।’ अनि त्यति खर्च गरेपछि पनि टेष्टट्युब बेबी प्रक्रियाबाट एक महिनामा नै सफल हुने दम्पती करिब ३० देखि ५० प्रतिशत मात्र हुन्छन् । यसरी असफल भएकालाई पुनः उपचार सुरु गर्नुपर्छ र फेरि त्यति नै खर्च लाग्ने गर्दछ । नेपाल सरकारले निःसन्तानका लागि हर्मनल सुईहरु परिवार नियोजनका साधन जस्तै निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेमा त्यसको खर्च करिब रु डेढदेखि दुई लाखमा उक्त प्रविधिबाट बच्चा जन्माउन सकिने उनको भनाइ छ । ‘निःसन्तान हुनुमा पुरुष वा महिलामा के कमजोरी वा रोग छ भनेर अध्ययन गरिसकेपछि पुरुषहरुको विर्यमा शुक्रकिट शून्य भएको अवस्थामा दाताबाट लिनुपर्छ, त्यसैगरी ३५ वर्षमाथिका महिलाको पनि डिम्ब उत्पादन कम भएकालाई दाताबाट डिम्बदान लिनुपर्ने हुन्छ’, डा श्रीवास्तवले भनिन् । ‘करिअर राम्रो बनाउने सोचले अहिले महिलाले बच्चा ढिला जन्माउने र कतिपयको राम्रोसँग डिम्ब नबढ्ने अवस्था देखिएको छ । खाना गुणस्तरीय नखाने, पौष्टिक आहार नखानेहरुको अण्डा राम्रो हुँदैन । महिलाको अण्डा वा पुरुषको शुक्रकीट लिनुपर्दा दाताको स्वास्थ्य पूर्णरुपमा परीक्षण गरेर स्वस्थ भएमा मात्र लिइन्छ । यस उपचार पद्धतिमा भ्रूण विकास गराउन मानव निर्मित शारीरिक रस जस्ता तरल पदार्थको पनि प्रयोग हुन्छ । डिम्ब र शुक्रकिट राख्ने, कतिपय सामानहरु पुनः प्रयोग गर्न नमिल्ने खालका हुन्छन् । ती प्याकेटमा आउँछन्, कति प्राकृतिकरुपमा नै निःसन्तान केन्द्रसम्म आइपुगेका हुन्छन् भने कतिमा टाढाबाट आउँदा तापक्रमको असर पनि परेको थाहा पाउन सकिँदैन । फलस्वरुप परिणाम सकारात्मक आउँदैन । यस्ता कुराहरू अनुभवले सिकाउँछ । यस्ता कैयौँ सफलताका कथा छन् । आफ्नो केन्द्रमार्फत जन्मिएका छोराछोरी भेट्न आउँदा खुसी लाग्छ’, उनले भनिन् । उक्त केन्द्र सञ्चालन गरेपछि धेरै दम्पतीले विभिन्न उपचार पद्धतिबाट विशेष गरी हर्मोनल प्रक्रियाबाट सन्तान जन्माएका उनले बताइन् । ‘तीन दशकदेखि निःसन्तानको उपचार गर्दै आएको छु, सुरुमा उपकरणहरु कम थियो, केहीलाई उपचारका लागि भारतमा पनि पठाएँ’, डा श्रीवास्तवले थपिन् । उनले भारतको कलकत्ता, दिल्ली, मुम्बईबाट प्रारम्भिक र विशेष तालिम बेल्जियम, बेलायत, अमेरिका, स्पेन, युएईबाट लिएको बताइन् । महँगो भए पनि टेष्टट्युब बेबी प्रविधि प्रारम्भ गर्नु त्यस समयको बाध्यता रहेको उनले बताइन् । उनी भन्छिन्, ‘सुरुमा पैसा तिरेर मेसिन ल्यायौँ, थोरैमात्र सफल भएपछि सुरुमा त मेरो हौसला नै मर्यो, उपचार र तालिमलाई भने निरन्तर राखियो ।’ उक्त उपचार पद्धतिबाट बच्चा जन्माउन धैर्यता र खर्च चाहिने उनी बताउँछिन् । अहिले कतिपय यस्ता केन्द्र खोलेर ‘हामी छोरा नै दिन्छौँ’ भनेर गर्ने गरिएका प्रचार राम्रो लागेको छैन । उनका अनुसार यस्ता सेवा केन्द्रले उपचार दिने हो । छोरा वा छोरी प्रलोभन दिन नमिल्ने उनको भनाइ छ । ‘छोरा वा छोरी छान्न भन्ने हुँदैन किनकि यसो गरेमा हाम्रोजस्तो देशमा छोरी जन्माउन खोज्ने दम्पती कमै भेटिन्छन्’, उनले थपिन्, ‘डाक्टरले आचारसंहिताभित्र रहेर अध्ययन गरेरमात्र काम गर्नुपर्छ ।’ प्रकृतिले नै स्वस्थ जोडीबाट २५ प्रतिशत स्वस्थ सन्तान उत्पादन गर्ने क्षमता दिएको छ भने अन्य प्रविधि शत्प्रतिशत सफल नहुने उनको भनाइ छ । आफूहरुले उक्त प्रविधिबाट अधिकतम ६० प्रतिशतसम्म सफलता दिन सकेको डा श्रीवास्तवको दाबी छ । सरकारले सन्तान रोक्न विभिन्न खालका औषधिको व्यवस्था गरेजस्तै निःसन्तानका लागि पनि औषधिको व्यवस्था गरेको भए राम्रो हुन्थ्यो भन्ने उनलाई लागेको छ । डा श्रीवास्तवले आफूले गरेका काममा आधारित रहेर ‘सन्तान सुख’ नामक पुस्तक पनि लेखेकी छन् । उक्त पुस्तकमा ६० वटा विभिन्न ‘केस’ समेटिएको छ । उनका यससम्बन्धी कार्यपत्र र लेखहरु पनि प्रकाशित भएका छन् । यसैगरी निःसन्तान उपचारमा विशेषज्ञता हासिल गर्ने चिकित्सकहरुका लागि पनि एउटा पुस्तक लेखेर प्रकाशित भएको छ । रासस
कृषि विकास बैंकको सञ्चालकमा आचार्य नियुक्त
काठमाडौं । सरकारले कृषि बिकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्यलाई नियुक्त गरेको छ । आचार्य अर्थमन्त्री प्रकाश शरण महतको मन्त्रिस्तरिय निर्णयबाट संचालक सदस्यमा नियुक्त भएका हुन् । नवनियूक्त सञ्चालक सरकारी सेवाको लामो अनुभव भएका व्यक्ति हुन् । हाल उनी अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त संचालक सदस्य महेश आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथ बैंकका कम्पनी सचिव समेतको उपस्थिती रहेको थियो । नेपाल सरकारको ५१ प्रतिशत सेयर स्वामित्व भएको कृषि विकास बैंक सार्वजनिक संस्थान हो । यसको सञ्चालक समितिमा नेपाल सरकारको प्रतिनिधि पनि हुने व्यवस्था भएकोले सोही व्यवस्था बमोजिम आचार्य सञ्चालक सदस्य नियुक्त भएका हुन् ।
मिर्मिरे लघुवित्तको संस्थापक सेयर साधारणमा परिणत
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । संस्थाको ६६ लाख ५७ हजार ६४२ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै संस्थाको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ६१.०१ र ३८.९९ प्रतिशत भएको छ । अब संस्थापक समूहतर्फ ४० लाख ६१ हजार ८२७.८३ कित्ता र सर्वसाधारण समूहतर्फत २५ लाख ९५ हजार ८१४. ९० कित्ता सेयर भएको छ । यसअघि लघुवित्तको संस्थापक सेयरको स्वामित्व ७१ प्रतिशत र साधारण सेयरको स्वामित्व २९ प्रतिशत रहेको थियो ।
बसाइँसराइको प्रभाव : ५ लाख बस्न योग्य घर खाली, दैनिक साढे दुई हजार नेपाली विदेशिने
काठमाडौं । मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ । जनसङ्ख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा बहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ । यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको सङ्ख्या बढी रहेको छ । यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको सङ्केत गरेको विज्ञहरुको भनाइ छ । विसं २०४६ सम्म पहाडमा बढी चाप रहेकामा क्रमशस् तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाले देखाउँछ । अहिले तराईमा कूल जनसङ्ख्याको ५४ प्रतिशत आवादी रहेको छ । यसले हिमाल र पहाड क्रमशस् रित्तिँदै गएको देखाउँछ । ‘राष्ट्रिय जनगणना–२०७८’को प्रतिवेदन र विभिन्न स्रोतका आधारमा प्राकृतिक प्रकोप, बेरोजगारी, राजनीतिक अस्थिरतालगायत कारणले बसाइँ सर्नेको सङ्ख्या बढेको केन्द्रीय तथ्याङ्क कार्यालयका निर्देशक ढुङ्गीराज लामिछानेले बताए। उनका अनुसार विसं २०५२ देखि २०६३ सम्ममा बसाइँसराइ कैयौँ गुणा बढेको छ । सशस्त्र द्वन्द्वको सुरुआती वर्षमा तीन हजार छ सय ५० मात्र रहेको आन्तरिक बसाइँसराइको सङ्ख्या सशस्त्र द्वन्द्वको अन्त्यतिर एक लाख ६५ हजार पुगेको छ । त्यसपछि पनि आन्तरिक बसाइँसराइको चित्र (ग्राफ) निरन्तर उकालो लागेको तथ्याङ्कले देखाउने लामिछानेले जानकारी दिए । कूल जनसङ्ख्याको ८० प्रतिशत प्राकृतिक प्रकोपको जोखिममा रहेकाले पनि बसाइँसराइ भएको छ । यसबाहेक हावाहुरी, आगलागी र हिमताल फुट्ने डरले थालथलो छोड्न नेपालीलाई बाध्य पार्ने गरेको छ । पहिरो आदिका कारण पुराना पानीका मुहान सुक्ने कारणले कुनैकुनै गाउँमा तीव्ररूपमा पुख्र्यौंली गाउँ छोडने प्रवृत्ति बढेको छ । एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसको भौगोलिक चाललाई मानव बसाइँसराइ भनिन्छ । निश्चित समय अवधिमा, निश्चित भौगोलिक वा राजनीतिक एकाइबाट अर्को भौगोलिक वा राजनीतिक एकाइमा बासस्थान परिवर्तन गरेर हुने मानिसको भौगोलिक चाल नै बसाइँसराइ हो । बासस्थान परिवर्तन आन्तरिक र बाह्य प्रकारले हुने गर्दछ । हाल दैनिक करिब दुई हजार पाँच सय नेपाली विदेशिने गरेका छन् । केन्द्रीय तथ्याङ्क कार्यालयका निर्देशक लामिछानेले ‘राष्ट्रिय जनगणना–२०७८’को प्रतिवेदनलाई हेर्दा हिमाल र पहाडबाट सहरी तथा तराई क्षेत्रमा, तराईका गाउँबाट नगर क्षेत्रमा बसाइँसराइ हुनेक्रम (जनसाङ्ख्यिक उतारचढाव) देखिएको बताए । आर्थिक, सामाजिक, सांस्कृतिक र रोजगारीका विषयलाई समेटेर जनसङ्ख्या व्यवस्थापन नीतिका विषयमा अबको बहस केन्द्रित हुनुपर्ने देखिएको उनको भनाइ थियो । ‘जनगणनामा पाँच लाख बस्न योग्य घर खाली रहेको र घर छाडेर गएकाहरू फर्कने सम्भावना कम रहेकाले उच्च शिक्षासम्म निस्शुल्क पढाउने गरी शिक्षामा लगानी वृद्धि गरी युवा जनशक्तिलाई परिचालन गरी भूगोल अनुकूलका व्यावसायिक कृषितर्फ जोड दिनु अत्यावश्यक भएको छ’, लामिछानेले भने । केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको प्रतिवेदनमाथि क्षेत्रगत विश्लेषण गर्ने क्रममा जनसङ्ख्यासम्बन्धी तथ्यरतथ्याङ्क र असरलाई केलाइरहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसङ्ख्या अध्ययन विभागका प्रमुख प्रा डाक्टर योगन्द्र गुरुङले भने, ‘बसाइँसराइ गर्दा धेरैजसोले आफ्ना विद्यालय पढ्ने उमेरका छोराछोरीसँगै लगे पनि बुबाआमालाई गाउँमै छोड्ने वा बुबाआमा पनि गाउँकै खुला वातावरणमा बस्न चाहने कारणले तथ्याङ्कमा धेरै बसाइँसराइ देखिएको हो ।’ विभागका सहप्राध्यापक डाक्टर पद्यप्रसाद खतिवडाका अनुसार कृषिमा आधुनिकीकरण हुन नसक्नु, जनसङ्ख्याको १७ प्रतिशत अझै गरिबीमा रहनु र उच्च शिक्षाका विभिन्न समस्याका कारण स्वदेशी विश्वविद्यालयतर्फ विद्यार्थीको आकर्षण नहुनुले बसाइँसराइलाई बढाएको छ । ‘यसको सङ्केत साहरा चाहिने उमेरका अधिकांश ज्येष्ठ नागरिक गाउँका पुख्र्यौंली थातथलोमै छन् भन्ने हो । बुढेसकालको साहरा भनिने सन्तानलाई विदेश वा आफ्नो थातथलो बाहिर पठाएका उनीहरु सामान्य बल पर्ने काम गर्न तथा बिरामी पर्दा उपचार गर्नसमेत अत्यन्त कठिनाइ व्यहोर्न बाध्य छन्’, उनले भने । बसाइँसराइको अर्को प्रमुख कारण प्राकृतिक प्रकोप भएको डा खतिवडाको भनाइ छ । मौसम परिवर्तनको सर्वाधिक जोखिममा रहेका राष्ट्रमध्ये चौथोमा पर्ने नेपालमा बाढी र पहिरो तथा भूकम्पका कारण बसाइँ सर्ने पनि उल्लेख्य सङ्ख्यामा रहेका उनले बताए । यसबाहेक आफ्नो जीवनस्तर उठाउने व्यक्तिगत चाहना सामाजिक, आर्थिक, शैक्षिक तथा वित्तीय पहुँचका लागि सदरमुकाम वा राजधानीतिर सर्ने प्रवृत्तिले पनि बसाइँसराइका लागि प्रेरित गरेको खतिवडाको भनाइ थियो । ‘यस्तो बसाइँसराइलाई परिवारले सकारात्मकरुपमा लिने गरेका छन्’, उनले भने । बसाइँसराइ गर्नेका परिवारबीच एउटा सम्पर्क सञ्जाल बन्ने र त्यस सञ्जालमार्फत एक गाउँका मनिस स्वदेश वा विदेशका एकै ठाउँमा बसाइँबसाइ सर्ने प्रवृत्ति पनि देखिएको डाक्टर खतिवडाले बताए । भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्ने नेपाली मजदुर त्यस्तै सञ्चालमा आधारित समूह बनाएर बसाइँसराइ गरेको पाइएको उनले जानकारी दिए । ‘समग्रमा विदेशबाट आउनेभन्दा नेपालबाट विदेश जाने नेपालीहरूको सङ्ख्या बढेको छ । जनगणना गर्दा कुनै स्थानमा अनुपस्थित जनसङ्ख्यालाई अस्थायी बसाइँसराइ मानिन्छ । आफ्नो स्थान छाडेर जानेलाई स्थायी बसाइँसराइ भएको मानिन्छ’, उनले भने । राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत रहेकामा हाल त्यो शून्य दशमलव ९२ प्रतिशतमा झरेको देखाएको छ । राष्ट्रिय योजना आयोगको सहकार्यमा राष्ट्रिय जनसङ्ख्या परिषद् र संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ० ले गरेको एक अध्ययनका अनुसार गत तीन दशकमा नेपालले निकै तीव्र गतिमा जनसाङ्ख्यिक परिवर्तनको अनुभव गरेकाले आगामी २६ वर्षमा जापान जस्तै नेपाल वृद्ध समाज बन्ने प्रक्षेपण गरिएको छ । आगामी ११ वर्षमा नेपाल ढल्दो उमेर समाज बन्नेछ । सन् २०१० देखि २०१५ सम्म नेपालमा कूल प्रजनन दर दुई दशमलव ३२, कोरा मृत्यु दर छ दशमलव पाँच र जन्मिँदाको आयु ६९ दशमलव ०१ जनसाङ्ख्यिक सङ्क्रमण देखिएको छ । जबकि सन् १९८० देखि १९८५ मा कूल प्रजनन दर पाँच दशमलव ६२, कोरा मृत्यु दर १६ दशमलव नौ र जन्मिँदाको आयु ४८ दशमलव ३४ को दरमा रहेको ‘वल्र्ड पपुलेसन प्रसपेक्ट्स २०१५’ ले जनाएको छ । नेपालमा प्रजनन र घट्दो मृत्युदर तथा जनसङ्ख्या वृद्धिदर घट्दो भएका कारण कामकाजी उमेरका वयस्कको आश्रयमा रहनुपर्ने वृद्धको सङ्ख्या पनि वृद्धि हुँदै जाने सो अध्ययनले देखाएको छ । यसका असरबाट बच्न विदेश गएका युवालाई स्वदेश फर्काउने र स्वदेशमै युवा रोजगारी बढाउने, ढिलो विवाह गर्ने र ढिलो बच्चा जन्माउने प्रवृत्ति प्रोत्साहन गर्न प्रतिवेदनले सुझाएको छ । जनसाङ्ख्यिक परिवर्तनका कारण नेपालमा जनसाङ्ख्यिक लाभांश प्राप्त हुने सम्भावना कम हुँदै जाने भएकाले सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, भविष्यको श्रमशक्तिमाथि लगानी बढाउनुपर्ने, आत्मनिर्भरता बढाउनुपर्ने उक्त अध्ययनको सुझाव छ । अध्ययनले स्वास्थ्य, पोषण, पानी, सरसफाइ, स्वच्छता, शिक्षा, बालसंरक्षण र सामाजिक संरचनामा रणनीतिक र समयसापेक्ष लगानीले अनुकूल उमेर संरचनाबाट प्राप्त सम्भावनाको रूपान्तरण गर्नसक्ने सुझाएको छ । रासस