स्वास्थ्य बीमा बोर्डका ईडी डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नू : सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई गत असोज ४ गते लिखित ११ बुँदे स्पष्टीकरण सोधेका थिए । त्यसपछि उनले पेस गरेको जवाफ चित्तबुझ्दो नभएको भन्दै असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो । आफूलाई बिनाकारण निलम्बन गरिएको भन्दै कार्यकारी निर्देशक डा. बसौला १७ कात्तिकमा सर्वोच्च गएका थिए ।
लघुवित्त बैंकर्स संघको अध्यक्ष बने यादव, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १७औं वार्षिक साधारणसभाबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि संघको महासचिव हुँदै कार्यवाहक अध्यक्ष थिए । यादव नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यस्तै, संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । उनी मेरो माइक्रोफाइनान्सका सीईओ हुन् । महासचिवमा जीवन विकास लघुवित्तका सीईओ सञ्जय मण्डल, सचिवमा महुलि लघुवित्तका सीईओ गंगाधर पाण्डे र कोषाध्यक्षमा हिमालयन लघुवित्तका सीईओ विनोद आचार्य चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा आरम्भ चौतारी लघुवित्तका सीईओ शिव ज्ञवाली, धौलागिरी लघुवित्तका सीईओ सुरेश बम, आत्मनिर्भर लघुवित्तका सीईओ सौगात चौधरी, ग्रामीण विकास लघुवित्तका सीईओ श्याम कटुवाल, उपकार लघुवित्तकी सीईओ शारदा खत्री र आशा लघुवित्तका सीईओ बद्रि दुलाल चयन भएका छन् ।
लिबर्टी माइक्रो लाइफले औपचारिक रुपमा शुरु गर्यो कारोबार, ल्यायो दुई बीमा योजना
काठमाडौं । लिबर्टी माइक्रो लाइफले आज अर्थात पुस ६ गतेबाट औपचारिक रुपमा कारोबार शुरु गरेको छ । गत असोज १९ गतेदेखि व्यवसाय सञ्चालन गर्न स्वीकृति पाएको कम्पनीले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पोखरामा औपचारिक रुपमा कारोबार शुरु गरेको हो । नेपाल सरकारको लघु जीवन बीमा कार्यक्रमलाई सफल पार्ने उद्देश्यले सञ्चालनमा आएको उक्त कम्पनी २०७९ पुस १७ गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको थियो । र, बीमा प्राधिकरणबाट २०८० भदौ १ गतेका दिन लघु जीवन बीमा व्यवसायको इजाजत पत्र पाएको हो । पोखरामा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले लघु जीवन बीमाको विस्तार गर्न, सबै वर्ग विशेषतः विपन्न तथा गरीब वर्गका व्यक्तिहरुलाई जीवन बीमाको दायरामा ल्याउन लघु जीवन बीमा कम्पनीको स्वीकृति दिएको बताए । साथै, उनले आम जनमानसमा कम्पनी दुर्गम जिल्ला तथा विपन्न वर्गहरुमा पुगि आफ्नो जीवन बीमाको सेवा पुर्याई कुनै जीवन बीमा दावी पर्दा कम्पनीले तत्कालै बीमा दावी दिई बीमाको विश्वास बढाउनेमा जोड दिए । त्यसैगरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले मोबाइल एप्लिकेशनको प्रयोग गरी कम्पनीको डिजिटल बीमालेख जारी गरी लघु जीवन बीमाको विकासमा लघु जीवन बीमा कम्पनीहरुले राम्रो भूमिका खेल्नुपर्ने बताए । साथै, घुम्ती बीमा माध्यमको प्रयोग गरी सबै वर्गमाझ बीमाको सेवा सुविधा पुर्याउनुपर्नेमा उनले जोड दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले कम्पनीको अधिकृत पुँजी १ अर्ब, कम्पनीका प्रोमोटरहरुबाट ५२ करोड ५० लाख रुपैयाँ तथा कम्पनीले भविष्यमा निष्काशन गर्ने आईपीओ मार्फत २२ करोड ५० लाख रुपैयाँ गरि जम्मा ७५ करोड रुपैयाँ जारी पुँजी रहेको जानकारी दिए । हाल कम्पनीले २ वटा बीमा योजना समृद्ध कवच म्यादी जीवन बीमा योजना तथा समृद्ध भविष्य सावधिक जीवन बीमा योजना ल्याएको छ । साथै, कम्पनीले आफ्नो बीमाको पहुँच बढाउन नयाँ अभिकर्ता उत्पादन तथा देशको विभिन्न ठाउँंमा आफ्नो प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उप-शाखा कार्यालय खोली लघुजीवन बीमाको सेवा दिने बताएको छ । साथै, गण्डकी प्रदेशमा लघु जीवन बीमाको विकासमा तीव्रता ल्याउन यस प्रदेश अन्तर्गत रहेको महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडाहरुसँग आवश्यक समन्वय गरी अगाडि बढ्नेमा जोड दिए । कम्पनीका अध्यक्ष निकोलस पाण्डेले बीमाको पहुँच आम जनमानसमा पुर्याउने प्रतिवद्धता, बीमालाई नाफा कमाउने उद्देश्यमा सीमित नभई सामाजिक उद्यमशीलतामा जोड दिने बताए । त्यस्तै, प्राधिकरणले निर्देश गरेको नियम कानूनको अधिनमा रहने गरी काम गर्ने समेत उनको प्रतिवद्धता छ ।
६ प्रतिशत घट्यो बैंकहरूको आधारदर, यी दुई बैंकबाट ऋण लिँदा सस्तो पर्ने
काठमाडौं । बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि कर्जाको ब्याजदर पनि स्वतः घटिरहेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा आधारदर औसत ६ प्रतिशत घटेको हो । २०७९ को मंसिरमा बैंकहरूको आधारदर औसत १०.४८ प्रतिशत थियो । यस वर्षको मंसिरमा बैंकहरूको आधारदर औसत ९.९ प्रतिशतमा झरेको छ । गत मंसिरको औसत आधारदबाट गत वर्ष २०७९को मंसिरमा कायम औसत आधार दरलाई घटाउँदा बैंकहरूको आधारदर औसत ०.६२ विन्दुले घटेको हो । जसलाई प्रतिशतमा परिणत गर्ने हो भने एक वर्षको अवधिमा बैंकहरूको आधार दर औसतमा ६ प्रतिशत घटेको हो । एक वर्षको अवधिमा आधारदर धेरै घटाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । माछापुच्छ्रेको ११.७५ प्रतिशत घटेर ९.९१ प्रतिशतमा झरेको छ । यस्तै, प्रभु बैंकको १०.२८ प्रतिशत घटेर ९.९४ प्रतिशतमा झरेको छ । यस्तै, सिद्धार्थ बैंकको १०.२५ प्रतिशत घटेर ९.६३ प्रतिशत, सानिमा बैंकको १०.१२ प्रतिशत घटेर ९.५९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.६१ प्रतिशत घटेर ८.२२ प्रतिशत र ग्लोबल आइएमई बैंकको ९.७६प्रतिशत घटेर ९.८ प्रतिशतमा झरेको छ । यस्तै, सिटिजन्स बैंकको ७.८० प्रतिशत घटेर १०.३९ प्रतिशत, एनएमबि बैंकको ८.१४ प्रतिशत घटेर ९.८१ प्रतिशत, नेपाल एसबिआई बैंकको ७.७१ प्रतिशत घटेर ९.९३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ७.२९ प्रतिशत घटेर ९.६६ प्रतिशत, एभरेष्ट बैंकको ५.९५ प्रतिशत घटेर ९.३१ प्रतिशत, प्राइम बैंकको ४.९८ प्रतिशत घटेर १०.६८ प्रतिशत र नेपाल बैंकको ४.७३ प्रतिशत घटेर ९.०५ प्रतिशतमा झरेको छ । यस्तै, कुमारी बैंकको ३.६६ प्रतिशत घटेर १०.७८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.१८ प्रतिशत घटेर १०.७५ प्रतिशत, एनआईसी एशिया बैंकको १.८३ प्रतिशत घटेर १०.७ प्रतिशत, नबिल बैंकको १.५८ प्रतिशत ९.३ प्रतिशत र हिमालयन बैंकको ०.०१ प्रतिशत घटेर १०.८६ प्रतिशतमा आधारदर झरेको छ । तर, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको भने बढेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंक ०.७२ प्रतिशत बढेर ८.३९ प्रतिशत र कृषि विकास बैंकको १.४७ प्रतिशत बढेर १०.३ प्रतिशत आधारदर कायम छ । अहिले अधिकांश वाणिज्य बैंकहरूको आधार दर एकल अंकमा छ । एकल अंकमा आधारदर भएका बैंकबाट ऋण लिँदा लागत कम लाग्ने गर्छ । यी बैंकहरूले अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा कम हुन आउँछ । साथै, केही बैंकहरूले आधारदरसँगै प्रिमियम पनि घटाइरहेका छन् ।
नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै
काठमाडौं । नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्वीट्जरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाडौंमा द्विपक्षीय हवाई सेवा सम्झौता हुने सहमतिअनुरुप आवश्यक तयारी गरिएको छ । मध्यपूर्वी एशियाली मुलुक इण्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको उनले जानकारी दिए । महाशाखाका प्रमुख लामिछानेले भने, ‘इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताका लागि समन्वय भइरहेको छ, समय तय गर्न बाँकी छ ।’ ती दुवै मुलुकसँगको हवाई सम्झौताका लागि हालैको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । सरकारले छिट्टै रुससँग पनि नयाँ हवाई सेवा सम्झौता गर्दैछ । उक्त प्रयोजनका लागि पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ । अन्य केही मुलुकसँग पनि द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।
अब काठमाडौंका विद्यालयहरुले डीआई राख्न नपाउने, महानगरले दियो निर्देशन
काठमाडौं । अब काठमाडौंमा सञ्चालित विद्यालयहरुले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरका सबै विद्यालयलाई डीआई नराख्न निर्देशन दिएको हो । विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराएको, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पारेको र शारीरिक सजायसमेत दिने गरेको गुनासो आएसँगै महानगरले उक्त निर्देशन दिएको हो । साथै, महानगरले विद्यालयमा विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गराउन पनि सबै विद्यालयलाई आग्रह गरेको छ ।
ह्याम्स अस्पतालमा सम्पुर्ण मुटु रोग सम्बन्धि सेवा उत्कृष्ट चिकित्सक र प्रविधीद्वारा सन्चालित
काठमाडौं । अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटुरोग सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न ‘कार्डियोलोजी बिभाग’मा उत्कृष्ट विशेषज्ञ चिकित्सकहरूलाई अनुबन्धित गराएको छ । मुटु रोगको उपचारमा दुई दशक देखि सेवारत डा. रोशन राउतले ह्याम्सको कार्डियोलोजी विभागको नेतृत्व गरेका छन् । मुटुको शल्यक्रियामा डा. भगवान कोइराला, डा. ज्योतिन्द्र शर्मा र डा. रवि बरालको टिम छ । कार्डियोलोजीमा डा. रोशन राउत, डा. दिवाकर शर्मा, डा. मानबहादुर केसी, डा. यादव भट्ट, डा. मुकुन्द शर्मा, डा. लक्ष्मण ज्ञवाली, डा. अमृत बोगटी, डा. रिजु मानन्धर, डा. पारस कोइराला रहेका छन् । एक हजार नवजात शिशुमध्ये ८ जनामा जन्मजात मुटुरोगको समस्या हुने अनुसन्धानले देखाएको छ । विकसित देशमा गर्भमै शिशुको मुटुको अवस्था जाँच गर्ने प्रविधि प्रचलित भएपनि नेपालमा भने हाल यो सेवा अहिले ह्याम्स अस्पतालमा सर्वसुलभ रूपमा उपलब्ध भएको कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा बताउँछन् । उक्त सेवा (फिटल इकोकार्डिओग्राफी) मुलुकमै पहिलो पटक शुरुवात गर्ने वरिष्ठ मुटु विशेषज्ञ डा. दिवाकर शर्माले प्रदान गरिरहेका छन् । बिरामीको शल्यक्रिया सुरू हुनुभन्दा अगाडि ‘एनेस्थेसिया’ दिनुपर्ने हुन्छ, जुन मुटुरोग बिरामीका लागि संवेदनशील पनि हुन्छ । यो सेवा ह्याम्समा दशकौं देखि यसै विधामा अनुभव भएका डा. मुरारीराज उप्रेती नेतृत्वको टोलीले दिँदै आएका छन् । देशकै उत्कृष्ट चिकित्सक र प्रविधीद्वारा सन्चालित अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटुरोग सम्बन्धी सम्पूर्ण सेवा उत्कृष्ट विशेषज्ञ चिकित्सकहरूद्वारा प्रदान गर्दै आएको छ । मुटुको समस्या र कारण पत्ता लगाउने र त्यसको निदानका लागि उपचार गरिने प्रविधिसहितको विशेष कक्षलाई क्याथल्याब भनिन्छ । २४ घन्टा क्याथल्याव संचालन सँगै उत्कृष्ट एवं अत्याधुनिक शल्यक्रिया कक्ष र सुविधासम्पन्न आईसीयु उपलब्ध भएका कारण बिरामीहरूका लागि ह्याम्स सुरिक्षत भएको शर्माले बताए । मुटुरोगका बिरामीको अरू स्वास्थ्य समस्या समेत हुन सक्ने र त्यस्तो अवस्थामा अन्य सबै विधाका विशेषज्ञ चिकित्सकहरूको परामर्श तथा सेवा पाइने भएकाले ह्याम्स अस्पताल बिरामीका लागि अझ प्रभावकारी र सुरक्षित रहेको शर्मा बताउँछन् । हाल नेपालमा प्रचलित मुटुरोगको उपचार सम्बन्धी सेवाहरूमा सबै भन्दा बढी प्रकारका सेवाहरू ह्याम्स अस्पतालमा उपलब्ध भएको अस्पतालका कार्यकारी निर्देशक बताउँछन् । मुटु रोगकै मात्र उपचार गर्ने विशेष अस्पतालमा समेत नभएको मुटुरोगसम्बन्धी सेवा ह्याम्स अस्पतालमा उपलब्ध छ । औषधिको सेवनबाट पनि मुटुको चाल नियमित नभएमा थ्री डी म्यापिङ मार्फत इलेक्ट्रोफिजीयोलोजीको सेवा दिइन्छ । नेपालमा यस सम्बन्धी सेवा दिने एकमात्र चिकित्सक वरिष्ठ डाक्टर रोशन राउत ह्याम्स अस्पतालमा कार्यरत छन् । मुटुको रक्तनलीको जाँच (एन्जियोग्राम), मुटुको चाल कम (हार्ट ब्लक) भएकाहरूलाई पेसमेकर राख्ने जस्ता उपचारहरू बिना शल्यक्रिया नै ह्याम्सको क्याथल्याबमा गरिन्छ । मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिने ह्याम्स अस्पतालले सर्वसुलभ मूल्यमा उपचार गर्दै आएको अस्पतालको विज्ञप्तिमा जनाइएको छ। मुटु सम्बन्धी उपचार दिदै आएका देशका विभिन्न सरकारी अस्पतालसंग दाज्न मिल्ने शुल्कमा सेवा प्रदान गरिरहेको डा. शर्मा बताउँछन् । नेपाल सरकारले मुटुरोगका बिरामीलाई प्रदान गर्ने एक लाख रुपैयाँ बराबरको सहुलियत सेवा ह्याम्समा उपचार गर्दा समेत प्राप्त गर्न सकिन्छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७३ (दोस्रो संशोधन), २०७३ बमोजिम ह्याम्स अस्पतालले २०८० साल असार महिनादेखि मंसिर मसान्त सम्ममा ३१ जना मुटु रोगका बिरामीहरूलाई नेपाल सरकारद्वारा प्रदान गरिने एक लाख बराबरको सहुलियतमा सेवा प्रदान गरिसकेको छ । यसले देशका अधिकांश सुगम तथा दुर्गम भुभागका गरिब तथा विपन्न नागरिकहरू लाभान्वित भएका छन् ।
स्वदेश फर्किएर युवा भन्छन् : विदेशमा महिनाको लाखभन्दा यहाँको ५० हजारले सन्तुष्टि
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४ देउरालीका लक्ष्य आलेले विदेशबाट फर्किएपछि अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्न थालेका छन् । करिब आठ वर्ष विदेश बसेको अनुभव भएका आले विदेशबाट फर्किएपछि आफ्नो परिवारसँगै बसेर बाख्रापालन तथा अदुवाखेती गरिरहेका छन् । मलेसिया चार वर्ष, कतार तीन वर्ष नौ महिना बसेर फर्किएका आले आफ्नो बुबाले सुरु गरेको ‘हुर्यान बाख्रा फार्म’मा तीन वर्षदेखि काममा व्यस्त छन् । ‘विदेश नजाने निधो गरी बुबाले सुरु गरेको फार्ममा पूरै समय दिएर लागेको छु’, उनले भने, ‘विदेशको महिनाको लाखभन्दा यहाँको ५० हजारले सन्तुष्टि दिएको छ।’ अहिले फार्ममा ७० भन्दा धेरै बाख्रा छन् । बाख्रासँगै अदुवा, अम्रिसोको व्यावसायिक खेती पनि गरेको उनले बताए। परिवारसँगै बसेर बाख्रा पालन, अदुवाखेती र अम्रिसोबाट भएको आम्दानीले खुसी मिलेको आलेको अनुभव छ। ‘करिब आठ वर्ष विदेशमा धेरै हन्डर खाएँ, वर्षको दुई लाख कमाउन पनि मुस्किल थियो, अहिले परिवारसँगै बसेर तीनदेखि साढे तीन लाखसम्म वर्षमा आम्दानी भएको छ’, उनले भने । लक्ष्य आलेजस्तै पाँच वर्ष विदेश बसेर आएका बुलिङटार–४ कै दलबहादुर आले पनि अहिले गाउँमै कृषि कर्ममै रमाएका छन् । वैदेशिक रोजगारी छोडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्साइदियो । बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दूरीमा हु¥यान डाँडामा रहेको आफ्नै बाख्रा फार्ममा श्रीमतीसहित पुग्ने दलबहादुर आलेको दैनिकी यतिबेला कृषिकर्मले भरिएको छ । युएइमा वार्षिक तीन लाख बढी कमाउने दलबहादुरले गाउँ फर्किएर बाख्रापालन, आफ्नै सात रोपनी जमिनमा अदुवाखेती, पाखामा अम्रिसो र केही बोट सुन्तला हुर्काएका छन् । ‘बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि विदेश नै बिर्सिएको छु’, उनले भने, ‘परिवारसँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले मलाई आत्मसन्तुष्टि मिलेको छ ।’ बाख्रा फार्ममा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उनले बताए । ‘फार्ममा आफ्नो काम आफैँ गर्छु, विदेश बस्दा तीन लाख कमाउँथे, यहाँ त्योभन्दा बढी कमाउँछु, परिवारसँगै बस्दा आत्मसन्तुष्टि धेरै छ’, उनले भने । देउराली बाख्रा फार्म दर्ता गरेर उहाँले सुरु गरेको व्यावसायिक बाख्रापालनबाट अहिले खोरमा ७० वटा बाख्रा पुगेका छन् । बाख्राबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुँदै आएको र फार्मलाई अझै बिस्तार गर्ने दलबहादुरको योजना रहेको छ । ‘यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले एक लाखको हाराहारीमा आम्दानी हुने अनुमान गरेको छु’, उनले भने, ‘सुन्तला र अम्रिसो चाहिँ अलि कम उत्पादन हुन्छ, यो दुवैबाट वर्षको रु ५० हजार आउँछ ।’ लक्ष्य र दलबहादुर जस्तै बुलिङटार गाउँपालिका–४ देउरालीका प्रायः सबै परिवारले अदुवा र अम्रिसोको खेती गरेका छन् । यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले हरेक परिवारले औसतमा ७० देखि ८० हजारसम्म अदुवाबाट आम्दानी गरेको बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेले बताए । ‘यातायातको सुविधा भएकाले बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागि व्यापारी गाउँमै आउने गरेका छन्’, उनले भने, ‘देउरालीका प्रायः प्रत्येक घरबाट एक जना वैदेशिक रोजगारमा गएको भए पनि लक्ष्य र दलबहादुरको कृषिकर्म अरू युवाका लागि उदाहरण बनेको छ ।’ रासस