नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४ देउरालीका लक्ष्य आलेले विदेशबाट फर्किएपछि अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
करिब आठ वर्ष विदेश बसेको अनुभव भएका आले विदेशबाट फर्किएपछि आफ्नो परिवारसँगै बसेर बाख्रापालन तथा अदुवाखेती गरिरहेका छन् । मलेसिया चार वर्ष, कतार तीन वर्ष नौ महिना बसेर फर्किएका आले आफ्नो बुबाले सुरु गरेको ‘हुर्यान बाख्रा फार्म’मा तीन वर्षदेखि काममा व्यस्त छन् ।
‘विदेश नजाने निधो गरी बुबाले सुरु गरेको फार्ममा पूरै समय दिएर लागेको छु’, उनले भने, ‘विदेशको महिनाको लाखभन्दा यहाँको ५० हजारले सन्तुष्टि दिएको छ।’
अहिले फार्ममा ७० भन्दा धेरै बाख्रा छन् । बाख्रासँगै अदुवा, अम्रिसोको व्यावसायिक खेती पनि गरेको उनले बताए। परिवारसँगै बसेर बाख्रा पालन, अदुवाखेती र अम्रिसोबाट भएको आम्दानीले खुसी मिलेको आलेको अनुभव छ।
‘करिब आठ वर्ष विदेशमा धेरै हन्डर खाएँ, वर्षको दुई लाख कमाउन पनि मुस्किल थियो, अहिले परिवारसँगै बसेर तीनदेखि साढे तीन लाखसम्म वर्षमा आम्दानी भएको छ’, उनले भने ।
लक्ष्य आलेजस्तै पाँच वर्ष विदेश बसेर आएका बुलिङटार–४ कै दलबहादुर आले पनि अहिले गाउँमै कृषि कर्ममै रमाएका छन् । वैदेशिक रोजगारी छोडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्साइदियो ।
बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दूरीमा हु¥यान डाँडामा रहेको आफ्नै बाख्रा फार्ममा श्रीमतीसहित पुग्ने दलबहादुर आलेको दैनिकी यतिबेला कृषिकर्मले भरिएको छ । युएइमा वार्षिक तीन लाख बढी कमाउने दलबहादुरले गाउँ फर्किएर बाख्रापालन, आफ्नै सात रोपनी जमिनमा अदुवाखेती, पाखामा अम्रिसो र केही बोट सुन्तला हुर्काएका छन् ।
‘बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि विदेश नै बिर्सिएको छु’, उनले भने, ‘परिवारसँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले मलाई आत्मसन्तुष्टि मिलेको छ ।’
बाख्रा फार्ममा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उनले बताए । ‘फार्ममा आफ्नो काम आफैँ गर्छु, विदेश बस्दा तीन लाख कमाउँथे, यहाँ त्योभन्दा बढी कमाउँछु, परिवारसँगै बस्दा आत्मसन्तुष्टि धेरै छ’, उनले भने ।
देउराली बाख्रा फार्म दर्ता गरेर उहाँले सुरु गरेको व्यावसायिक बाख्रापालनबाट अहिले खोरमा ७० वटा बाख्रा पुगेका छन् । बाख्राबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुँदै आएको र फार्मलाई अझै बिस्तार गर्ने दलबहादुरको योजना रहेको छ ।
‘यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले एक लाखको हाराहारीमा आम्दानी हुने अनुमान गरेको छु’, उनले भने, ‘सुन्तला र अम्रिसो चाहिँ अलि कम उत्पादन हुन्छ, यो दुवैबाट वर्षको रु ५० हजार आउँछ ।’
लक्ष्य र दलबहादुर जस्तै बुलिङटार गाउँपालिका–४ देउरालीका प्रायः सबै परिवारले अदुवा र अम्रिसोको खेती गरेका छन् । यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले हरेक परिवारले औसतमा ७० देखि ८० हजारसम्म अदुवाबाट आम्दानी गरेको बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेले बताए ।
‘यातायातको सुविधा भएकाले बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागि व्यापारी गाउँमै आउने गरेका छन्’, उनले भने, ‘देउरालीका प्रायः प्रत्येक घरबाट एक जना वैदेशिक रोजगारमा गएको भए पनि लक्ष्य र दलबहादुरको कृषिकर्म अरू युवाका लागि उदाहरण बनेको छ ।’ रासस