विकासन्युज

दूरसञ्चार ऐन पुरानो हुँदा सरकार नै समस्यामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको दूरसञ्चार ऐन पुरानो भएको बताएकी छिन् । बिहीबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसेल बिक्रीबारे छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘हाम्रो दुरसञ्चार ऐन पुरानो छ । त्यसलाई तुरुन्त संशोधन गरेर अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको छ,’ उनले भनिन्, ‘एनसेलको खरिदबिक्री सम्बन्धमा छानबिन समितिले अध्ययन गरिरहेको छ, बिक्री प्रक्रिया रोकिएको छ, अब राय सुझावका आधारमा कदम चाल्नुपर्ने हुन्छ ।’ अहिले समिति अध्ययन छानबिनमै भएकोले ठ्याक्कै के भएको भनेर भन्न गाह्रो भएको बताउँदै उनले समितिले आफ्नो समयावधि भित्र काम सम्पन्न गर्ने बताइन् । एनसेलको कम्पनी बिक्री हुँदैछ भन्ने कुरा बाहिर २०८० साल मंसिर १३ गते बाहिर आएको र जुन एनसेलका आन्तरिक कर्मचारीलाई आएको जानकारी रहेको उनले बताइन् । त्यस्तै, सन् २०२९ सम्म लाभांश पनि पठाउनुपर्ने र थप दायित्व सिर्जना भएमा त्यसको जिम्मेवारी नयाँ कम्पनीको हुने उनले बताइन् । प्रधानमन्त्री आएर छ्लफल भएपछि विस्तृत अध्ययन बिना एनसेलको सेयर बिक्री गर्न स्वीकृत दिन नहुने निर्णय भएको उनले जानकारी गराइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले छानबिन समिति धेरै देखिईसकेकोले संसदीय समिति बनाउनुपर्ने बताउँदै प्रश्न गरिन्, ‘के यो समिति प्रधानमन्त्रीसँग बयान लिने ल्याकत राख्छ ? यो टेलिकम चलाउन साँच्चिकै कति एफडीआई आयो ? कति बाहिर आयो ?’ उक्त समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने ल्याकत नराख्ने बताउँदै उनले भनिन्, ‘हामीले यहाँ ल्याएर छलफल गरौं जवाफ मागौँ ।’ उनले नेपालकै लगानी किनेर एफडीआई भनिएको विषय आएको र यसको छानबिन हुनुपर्ने माग राखिन् । ‘स्मार्टसेलको स्वामित्व शतिशलाल आचार्यको हो कि होइन ? टेलिकम्युनिकेसनको नविकरण गर्दा २० अर्ब लिने कुरामा रिभ्यु गर्नुपर्दैन ?’ थप प्रश्न गर्दै सांसद श्रेष्ठले भनिन् । नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले एनसेलको विषयमा छलफल हुँदा पहिला पनि धेरै समितिले पैसा खाएका आरोप लगाएका छन् । एनसेलको विषयमा पटक पटक छलफल हुनु नौलो विषय नभएको बताउँदै उनले यस्तो बताएका हुन् । ‘हामीसँग राजनीति भयो तर राष्ट्रनीति भएन, विगतमा पनि धेरै समितिकाले पैसा खाए, धेरैलाई पैसा बाँड्यो, नकचराहरुको देश भयो, अधिकारबिहीन हरुको समितिमा जुन छलफल भएको छ त्यहाँ पनि खोट छ,’ छलफलमा बोल्दै उनले भने । थप बोल्दै सांसद भण्डारी भन्छन्- ‘उनीहरुले नेतृत्व तहमा रहेका नेताहरुलाई जति बेला पनि किन्न सक्छौं भन्ने माने । उनीहरुले नेपालको राजनीति र कर्मचारीलाई मिनिमाईज गरे, तिमीले हाम्रो राष्ट्रियतालाई मान्दैनौं भने तिम्रो सेवा चलाउँदैनौ भनेर जनस्तरबाट समेत भनेको भए यो स्थिति आउँदैन थियो ।’

सिंगटी हाइड्रोलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ दरका एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले पुस ११ गते मात्रै कम्पनीलाई उक्त सेयर निष्काशनको लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ नाघ्ने छ ।

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा

काठमाडौं । हिमालयन डिष्टिलरीले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ व्राण्डको मदिरा लन्च गरेको छ । यस नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको  प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ । हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यस अघि नै नेपाली बजारमा ल्याएको छ । प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्दछन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन् । यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । हिमालयन डिस्टिलरीका सीईओ निरज सुवेदीले नयाँ उत्पादनको बारेमा उत्साह व्यक्त गर्दै भने, ‘एचडीएले उपभोक्ता केन्द्रित इनोवेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको जसका कारण हामीले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तर्दृष्टि प्राप्त गर्ने तर्फ निरन्तर अनुसन्धानमा संलग्न छौं । सिल्भर ओकले उपभोक्तालाई अलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखीय रुपमा बृद्धि हुनेमा हामी आस्वस्त रहेका छौ ।’ ‘हामी उपभोक्ताहरूलाई नयाँ अनुभव दिन चाहन्छौं, त्यसैले हामीले ओक परिवारमा ध्यान केन्द्रित गरेका छौं र ब्राण्ड विस्तार गरेका छौं । उच्चस्तरको शुद्धता प्राप्तीका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ई.एन.ए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरीएको छ । सिल्भर ओकलाई स्मुथ फिनिशिङ्गका लागि क्राफ्ट गरिएको छ, उपभोक्ताले सेवन गर्दा यसलाई महसुस गर्न सक्नेछन् ।’ ब्राण्ड म्यानेजरले भने । कम्पनीका अनुसार हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ ।

एनएमबि बैंकमा व्यवस्थापकको पनि लगानी, यी हुन् ठूला सेयरधनी

काठमाडौं । एनएमबि बैंकमा विभिन्न १६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा १६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा धेरै सेयर भएको कम्पनी एफएमओ नेदरल्याण्डस हो । यस कम्पनीको बैंकमा १३.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी सञ्चय कोषको ५.५३ प्रतिशत अर्थात् १ करोड १ लाख ५० हजार ७२९ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । यस्तै, यंग लियन रियल्टी एसडीएनविएचडी मलेसियाको ४.२२ प्रतिशत अर्थात् ७७ लाख ४२ हजार २७० कित्ता, गाईत्री इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.को १.८२ प्रतिशत अर्थात् ३३ लाख ५१ हजार ६०२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, नन्द किशोर राठीको १.६८ प्रतिशत अर्थात् ३० लाख ९३ हजार ३२० कित्ता, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत अर्थात् २८ लाख ६ हजार १६१ कित्ता, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात् १९ लाख १ हजार ९८७ कित्ता, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात् १७ लाख ५० हजार ३१६ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, पवन कुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात् १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात् १६ लाख ७४ लाख १०१ कित्ता, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात् १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत अर्थात् १२ लाख ९५ हजार ४९२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात् १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात् १० लाख ५८ हजार ६९७ कित्ता, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात् ९ लाख ७२ हजार ५७४ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात् ९ लाख ५४ हजार ८९४ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार सञ्चालक उत्तम भ्लोनको २ लाख २१ हजार ९७१ कित्ता र शिरिष कुमार मुरारकाको ४१ हजार १४५ कित्ता सेयर लगानी छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीको ६ हजार ५९५ कित्ता सेयर रहेको जनाएको छ । यस्तै, बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायको ५ हजार ८३७ कित्ता, प्रमुख संचालन अधिकृत तथा कम्पनी सचिव प्रमोद कुमार दाहालको ४०६ कित्ता, प्रमुख लगानी अधिकृत श्रिजेश घिमिरेको १ हजार ७१५ कित्ता, प्रमुख अधिकृत एमएसएमई तथा सब्सिडी कर्जा प्रमुख डा. बुद्धि कुमार मल्लको ३४९ कित्ता र प्रमुख ट्रेड फाइनान्स पुष्पा अर्यालको १ हजार २ सय कित्ता सेयर रहेको बैंकले जनाएको छ ।

सुनको मूल्यले तोड्यो रेकर्ड, एक लाख २२ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुन तोलामा एकै दिन १३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य एक लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको हो ।

काठमाडौंबाट ल्हासामा हिमालयन एयरलाइन्सको सिधा उडान सुरु

काठमाडौं । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले बिहीबार देखि ऐतिहासिक काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा कम्पनीले लिएको छ । कम्पनीका अनुसार चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ । नयाँ काठमाडौं-ल्हासा-काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ । पहिलो आउटबाउन्ड उडान, यच९ ७७४ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ः४० बजे प्रस्थान गरेको थियो र ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानको १२ः०० बजे अवतरण गर्ने छ । यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या १३६ रहेको थियो । जनवरी १, २०२४ देखि एअरलाइन्स्ले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौँ सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ । सो अवसरमा मन्त्री किराँतीले भने, ‘हिमालय एअरलाइन्स्ले काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस नयाँ स्थापित मार्गले नेपाल र चीन बीचको यातायात नेटवर्कमा महत्त्वपूर्ण अग्रसर प्रस्तुत गर्दछ ।’ कम्पनीका अनुसार यात्रुहरूले हिमालय एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्स्को आधिकारिक वेबसाइटबाट काठमाडौं-ल्हासा-काठमाडौं उडानको टिकट बुक गर्न सक्नेछन् ।

कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त

काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार स्थापितलाई उक्त पदमा चार वर्षको लागि नियुक्त गरेको हो ।

प्रदेशका योजनामा गुणस्तर कम, भ्रष्टाचार बढी

देशबाट बढ्दो संख्यामा युवा बिदेसिनु अहिलेको राष्ट्रिय समस्या बनिसकेको छ । युवा बिदेसिने ट्रेन्डले देशमा दक्ष जनशक्ति अभाव भोलिका दिनमा नहोला भन्न सकिन्न । विदेश पुगेका धेरै युवाहरूले त्यहाँ नै बस्ने र देश नफर्किने योजना बनाएको देखिन्छ । अहिलेको सिनारीयो हेर्दा युवाले देशमा नै नबस्ने मेन्टालिटी बनाए । युवा बेरोजगार भएरै विदेश गएका हुन् भन्ने मलाई लाग्दैन । किनभने रोजगार भएका युवाहरू पनि रोजगार छाडेर विदेश पलायन भइरहेका छन् । युरोपेली मुलुक छिर्ने त प्रतिस्पर्धा नै चलेको देखियो । सरकारी कर्मचारी पनि विदेश जान प्रायः भिसा लगाउँदै बसिरहेका छन् । राम्रो मुलुकको भिसा आए उनीहरू जागिर छाडेर विदेश जान तयार देखिन्छन् । युवालाई गाउँमै रोक्न उद्यमी बनाउन स्थानीय तहले गर्न सक्ने प्रयास गरिरहेका छन् । हामी दुहुँ गाउँपालिकामा निर्वाचित भई कार्यकालको पहिलो बजेट ल्याउँदा युवालाई उद्यमी बनाउने थुप्रै कार्यक्रमहरू समेटेका थियौं । चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पनि युवा लक्षित गर्दै उनीहरूलाई उद्यमी बनाउने विभिन्न विषयहरू समावेश गरेका छौं । निर्वाचन भएर कार्यकालको पहिलो आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम अनुरूप नै विकासका कामहरू गर्दै अगाडि बढ्यौं । विद्यालय, ग्रामीण सडक, खानेपानीलगायतका आर्थिक तथा पूर्वाधारका कामहरूलाई निरन्तर दिँदै आएका छौं । दुहुँ गाउँपालिकाभित्रका युवालाई पालिकामै उद्यमी बनाउनका लागि उत्पादनसँग जोड्ने नीति बनाएका छौं । जसका लागि उपभोक्ता पसल सञ्चालनमा ल्याइ गाउँमा उत्पादन भएका वस्तु संकलन गरेर उक्त पसलबाट सहुलियत दरमा बिक्री गर्ने गरेका छौं । उद्यमी बन्न चाहने युवाका लागि पालिकाले लगानी पनि गर्दै आएको छ । अहिले दुहुँ गाउँपालिकाले स्वास्थ्य भवनका साथै विद्यालय भवनहरू निर्माण गर्ने, कृषिको विकास गर्ने, विद्युतत विस्तार गर्नेलगायतका काम गर्दै आइरहेको छ । हाम्रो पालिकाभित्रका धेरै बस्तीमा बिजुली पुगेको छ भने २/३ वटा बस्तीहरू विद्युत पुग्न बाँकी छ । सम्भवतः मेरै कार्यकालमा सबै ठाउँमा विद्युत पुग्ने छ । हामीले गाउँपालिकाभित्र जनताको इच्छा र चाहाना अनुरूप नै विकास निर्माणका कार्यलाई निरन्तरता दिँदै अगाडि बढेका छौं । वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएका विषयलाई गाइडलाइन मानेर वार्षिक कामहरू गर्दै आएका छौं । मागका र आवश्यकताका आधारमा योजना बाँडफाँड संघ र प्रदेश सरकारले स्थानीय तहलाई दिनुपर्ने योजना, बजेटका साथै अनुदान पनि दिइरहेका छन् । संघ र प्रदेशले स्थानीय तहबाट बजेट तथा योजना माग गरेका बेला समयमै आफ्ना माग पालिकाले राखे भने योजना पर्ने सम्भावना प्रबल हुन्छ । कतिपय अवस्थामा स्थानीय तहमा बजेट अभावका कारण जनतासँग जोडिएका र जीवनस्तर उकास्ने गरी बनाएका नीतिगत विषय पनि रोकिएका हुन्छन् । स्थानीय तह आर्थिकरूपमा पनि आत्मनिर्भर हुँदै जानुपर्ने हो । तर, स्थानीय तहको स्तर एकै किसिमको छैन । त्यसैले संघ र प्रदेश सरकारले आन्तरिक आम्दानी काम भएका साथै दुर्गम जिल्लाका पालिकाहरूमा बजेट बढी विनियोजन गर्नुपर्ने देखिन्छ । स्थानीय तहलाई अधिकार दिइएको छ भने जिम्मेवारी पनि धेरै तोकिएको छ । हामी संघीयता कार्यान्वयनको चरणमा छौं । संघ र प्रदेशले ठूला योजनाको अनुगमनका साथै निरीक्षणको जिम्मा आफैं लिएका छन् । प्रदेशले आर्थिक र प्राविधिक पाटो आफैंले जिम्मा लिएको भए पनि कामको गुणस्तर कम, भ्रष्टाचार बढी हुने गर्छ । प्रदेश सरकारका जति काम छन्, त्यसको प्राविधिक र आर्थिक पाटो पालिकालाई दिँदा उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । किनभने त्यो कामको दीगो विकास र गुणस्तर हुन्थ्यो । पालिकाले बस्तीस्तरीय योजना माग फारम विधि प्रक्रियाअनुसार कार्यपालिकाले सिफारिस गरेका योजनाहरू मात्र प्रदेश वा संघ सरकारले बजेट विनियोजन गर्ने गर्नुपर्छ । त्यसको आर्थिक पाटोदेखि र प्राविधिक पाटो पालिकालाई हस्तान्तरण गर्नुपर्छ । त्यसरी काम गरियो भने कामको क्वालिटी परिणाम राम्रो आउँछ । साथै, दीगो विकास पनि हुन्छ । प्रदेशबाट विनियोजन हुने बजेट माग र कार्यक्रम आवश्यकताका आधारमा विनियोजित गर्नुपर्छ । हामीले बजेट र कार्यक्रम तर्जुमा गरिसकेपछि त्यसैलाई आधार बनाएर काम गर्छौं । एक वर्षभित्र जति काम हुन्छन् तिनलाई गुणस्तरीय बनाउँछौं । नागरिकलाई आर्थिकरूपमा सक्षम बनाऊँ स्थानीय तहको आयस्रोत भनेको व्यवसायी, घर बहाल अथवा अन्य करहरू हुन् । नागरिकलाई आर्थिकरूपमा सम्पन्न नगरेसम्म उनीहरू पनि कर तिर्न लागि सक्षम हुँदैनन् । त्यसमाथि करको दायराहरू बढाएर करमात्र उठाउने काम गर्दा जनता स्थानीय तहप्रति असन्तुष्ट हुन्छन् । सरकारले पनि रोजगारी सिर्जनाको वातावरण मिलाउनुपर्छ । संघीय सरकारले प्रत्येक प्रदेशमा लगानी गरेर साना तथा मझौला उद्योग खोलिदिँदा उपयुक्त हुने देखिन्छ । किनभने स्थानीय तहको बजेटले त्यस प्रकारका उद्योग खोल्न सकिँदैन । गाउँघरमा स्रोतसाधन पनि काम हुन्छ । बजेट पनि काम हुन्छ । उद्योग कलकारखाना बढी स्थापना भई रोजगारी सिर्जना भयो भने कर पनि राम्रोसँग उठाउन सकिएला । पहिलो विषय त नेताहरूले नै व्यवस्थाका बारेमा बुझ्नु आवश्यक छ । विकासका काममा राजनीतिकरण गर्ने समस्या देखिएका छन् । यस्ता विषय बिस्तारै सुधार हुँदै जान्छ भन्ने लागेको छ । स्थानीय तहमा निर्वाचित भएर काम गर्न सुरु गरेको डेढ वर्ष पुगिसक्यो । भ्रष्टाचार गर्ने साथीहरू भ्रष्टाचार पनि गरिरहेका होलान् । नगर्ने पनि छन् । दीगोरूपमा सोच्ने र विकासका काम गर्नेले भ्रष्टाचार गर्दैनन् । हामी आगामी आर्थिक वर्ष ८१/८२ को नीति तथा कार्यक्रम बनाउँदा दुहुँ गाउँपालिकाभित्र रहेका बुद्धिजीवी, युवा, विज्ञ आदि सबैलाई समेटेर नीति तथा कार्यक्रम बनाउने सोचका छौं । म निर्वाचित भएर आएपछि शिक्षा, स्वास्थ्य, खानेपानी र ग्रामीण सडक पहुँच धेरै ठाउँमा पुर्याउने काम भएको छ । हामीले अनाथ बालबालिकालाई लक्षित गर्दै आभास विद्यालयको स्थापना गरेका छौं । स्थानीय तहले मात्र काम गरे देश समृद्ध हुँदैन । यसमा सबै निकायहरू जिम्मेवार बनेर काम गर्न जरुरी छ । (दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालसँग गरिएको कुराकानीमा आधारित)