सुपर हेवा पावरको साढे २४ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सुपर हेवा पावर कम्पनीले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीमा राखेको हो । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेका सेयरधनीहरूले मात्र निजको नाममा कम्पनीमा अभिलेख कायम सेयरको अनुपातमा खरिद गर्न पाउने गरी सेयर जारी गर्न स्वीकृत गरेको थियो । कम्पनीले उक्त सेयरको मूल्य १ सय रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्न सेयरधनीहरूलाई ३५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । यदि सो समयमा जगेडा सेयरधनीहरुले सकार गर्न बाँकी रहेमा सेयरधनीभन्दा बाहिरका लगानीकर्तालाई बिक्री गर्ने कम्पनीले बताएको छ ।
एनआईसी एशियाले सिधैं जम्मा गर्यो सेयरधनीहरूको बैंक खातामा लाभांश
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तको पुस ६ गते सम्पन्न छैठौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न लघुवित्तले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरूको विवरण सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।
मानवीय त्रुटिले विमान दुर्घटना भएको निष्कर्ष
काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो । “जहाज अवतरणको क्रममा ककपिटमा रहेका पाइलटले फ्लेप लिभर तान्नुपर्ने थियो तर, कन्डिसन लिभर तानेको पाइयो । यसले गर्दा जहाजस्थिर हुनसकेन”, जहाज दुर्घटनाको कारण बताउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने, “पाइलटका लागि नयाँ विमानस्थल थियो । धावनमार्ग वरिपरी टेरेन्ट पनि थियो । यो पनि दुर्घटनाको कारक थियो । उक्त दुर्घटनामा मानवीय पक्ष बढी जिम्मेवार देखिन्छ ।” एटीआर–७२ हवाईजहाज दुर्घटनाको मुख्य कारण मानवीय कमजोरी देखिएको आयोगका अध्यक्ष नगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । उनले भने, “पाइलटले फ्लेप लिभर (जहाजको स्पिडलाई स्लो गर्ने) तान्नुपर्नेमा दुर्भाग्यवस ‘कन्डिसन लिभर’ तानेको देखिन्छ । जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घनाग्रस्त हुन पुगेको हो । दुर्घटनाको विश्लेषण गर्दा मानवीय त्रुटी बढी देखियो ।” अध्यक्ष घिमिरेका अनुसार जहाज दुर्घटनाको अर्को कारणमा नयाँ विमानस्थल पूर्ण तयारी नभइकन सञ्चालनमा ल्याइनु पनि हो । प्रतिवेदन ग्रहण गर्दै मन्त्री किरातीले प्रतिवेदनमा दिइएका सुझावका विषयमा सञ्चालक, नियामक निकाय र मन्त्रालय तिनै पक्षले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने विश्वास व्यक्त गरे । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई ८ बुँदे सुझाव दिएको छ । विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इञ्जिनियर एकराजजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए । सहसचिव लामिछानेले अहिलेसम्मकै बढी समय लगाएर दुर्घटनाग्रस्त जहाजबारे विस्तृत अध्ययन अनुसन्धान गरिएको दाबी गरे । विभिन्न मुलुकका यात्रु पनि दुर्घटनामा परेकाले अन्य मुलुकको चासो रहेको थियो । जहाजको उपकरण फ्रान्सको सुविधासम्पन्न ल्याबमा परीक्षण गरिएको थियो । दुर्घटना जाँचका सम्बन्धमा सिङ्गापुरमा विज्ञसँग पनि छलफल गरिएको थियो । जहाज प्राविधिक कारणले नभई मानवीय (पाइलट)को त्रुटिका कारण दुर्घटनामा परेको अयोगले निष्कर्ष निकाल्दै जहाजले जम्मा २८ हजार ७३१ घण्टा ३३ मिनेट (दुर्घटनाको समयसम्म) मात्र उडान भरेको पाइएको जनाएको छ । एटीआर फ्रान्सः एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको उक्त जहाज ३० हजार १०४ साइकल उडेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ । जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय सन् २०२३ अप्रिल २४ सम्म रहेकामा समयअगावै प्राविधिक समस्या नरहेको जनाउँदै १४ जनवरी, २०२३ मा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जहाज उडानका क्रममा दुवै इञ्जिनका प्रोपेलरहरु फेदरमा गएपछि तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिको निष्कर्ष छ । प्रतिवेदनमा जनाइए अनुसार बिहानको १०ः५१ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिविलिटी तथा प्राविधिक पक्ष राम्रो रहेको थियो । “भीएनपीआरमा टेक अफ, चढाइ, क्रूज र अवतरण सामान्य थियो । मौसम अनुकूल थियो । भीएमसी गन्तव्य एयरपोर्टको बाटोमा भीएनपीआर टावरसँगको पहिलो सम्पर्कको समयमा, एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग विमान अवतरणका लागि अनुमति माग गरेकामा रनवे ३० को अनुमति प्रदान गरिएको थियो । तोकिएको धावनमार्गमा नभएर पाइलटले अकस्मात् रनवे परिवर्तन गरेर १२ को अनुमति माग गरेको पाइएको छ”, प्रतिवेदनमा भनिएको छ । रनवे १२ अवतरणका लागि योग्य रहेको एटीसीले सन्देश पठाएको थियो । जहाज ६ हजार ५ सय फिटमाथिबाट एकैपटक ७२१ फिटमा झरेर फेरि माथि उठाउन खोज्दा इञ्जिनको गति स्थिर हुनपुगेपछि जहाज तल झर्नपुगेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त जहाज सेती नदीको खोँचमा खसेको थियो । जहाज भूइँमा बजारिएलगत्तै आगजनी हुँदा जहाजमा सवार ७२ यात्रुकै मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । दुघ्रटनाग्रस्ता जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।
अपहरणमा परेको ३६ घण्टापछि २ वर्षीय बालिकाको सकुशल उद्धार
भक्तपुर । २ वर्ष ५ महिनाकी शिशु आशिका सुनुवार अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन् । नेपाल प्रहरीको एक टोलीले बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो । काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलबार चिया खान आएका व्यक्तिले लगेको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजी सुरु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको संयुक्त टोलीले बिहीबार भक्तपुरबाट बालिकाको उद्धार गरेर अभिभावकलाई बुझाएको हो । बालिका अपहरणको आरोपमा एकजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
तनहुँमा मोटर गुड्ने पुल निर्माण, ४ हजार बढी घरधुरी लाभान्वित
काठमाडौं । चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो । ती पुल निर्माणपश्चात् ४ हजार १४० घरधुरीका १६ हजार २१० जना प्रत्यक्ष लाभान्वित हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट १ हजार ५ सय घरधुरीका ५ हजार ९६६ जना मानिस लाभान्वित हुने थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उक्त पुलको मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक १ करोड ४१ लाख ५८ हजार ९९० रुपैयाँ रहेकामा निर्माण सम्पन्नपछि १ करोड ३२ लाख ३२ हजार ९१४ रुपैयाँ भुक्तानी गरिएको छ । विसं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एन्ड बिल्डर्स पर्वतले पुल निर्माण कार्यको ठेक्का पाएको थियो । त्यसैगरी, बुल्दीखोलामा निर्माण गरिएको पुलबाट २ हजार ६४० घरधुरीका १० हजार २४३ जना लाभान्वित भएको बागेश्वरी मार्ग उपभोक्ता समितिले जनाएको छ । उक्त पुल भ्याटबाहेक ३ करोड १२ लाख ४६ हजार ६१३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । विसं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ वैशाख ४ गते सम्पन्न गर्ने गरी माई–डिएस जेभीले ठेक्का लिएकामा लक्ष्य अगावै सम्पन्न गरेको हो । स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमश ः १२ र २० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए । पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएपछि स्थानीयवासी खुशी भएका छन् । पुलको निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीलाई अन्तिम भुक्तानी दिने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । रासस
सवारी साधनहरूलाई रिएक्सपोर्ट गर्ने व्यवस्था लागू गर्न अटो व्यवसायीको माग
काठमाडौं । अटोमोबाइल क्षेत्रका सवारी साधनहरुको रिएक्सपोर्टको व्यवस्था मिलाउन माग गरेका छन् । बिहीबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष डा. धुव्र थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरी उक्त माग गरेको हो । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बिक्री हुन नसकी भन्सार विन्दुहरुमा रहेका ती सवारी तथा ढुवानीका साधनहरुलाई कुनै पनि मुलुकमा रिएक्सपोर्ट गर्न सकिने व्यवस्थाको परिकल्पना आर्थिक ऐनले पनि गरेको बताउँदै सोको कार्यान्वयन गर्न आग्रह गरेका हुन् । ती सवारी तथा ढुवानीका साधनहरु रिएक्सपोर्ट गर्नका लागि विद्यमान कानूनी व्यवधानलाई सहजीकरण समेत गरी दिन उनको माग छ । छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपाल मै उत्पादन हुने सवै किसिमका व्याट्रीहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था गर्न आग्रह गरेका छन् । त्यस्तै, नेपालमा उत्पादित व्याट्रीहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्थाका लागि समेत उनले आग्रह गरे । त्यस्तै नाडाका सचिव विक्रम सिंहानियाले पनि नेपालमा उत्पादीत टायर निर्यात गर्दा पनि सोही किसिमको व्यवस्थाका लागि अनुरोध गरेका छन् । अर्थमन्त्री महतसँगको भेटमा अध्यक्ष थापाले भन्सारमा रहेका सवै सामानहरु एकै प्रकृतिका नहुने र विशेषत सवारी तथा ढुवानीका साधनहरुका हकमा अझ यस्ता सवारी साधनहरुको आयु अवधि लामो हुने हुँदा यस्ता सवारी साधनहरुका हकमा अन्य सामानहरु सरह एकै प्रकारको व्यवहार नगर्न सुझाव दिएका छन् । हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार विन्दुबाट छृटाउने सम्बन्धमा सूचना प्रकाशित हुँदा सवारी तथा ढुवानीका साधनहरु समेत छृटाउने गरी भन्सार विभागले गत मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै सवारी तथा ढुवानीका साधनहरु छुटाउन समयावधी समेत तोकेको सम्बन्धमा जानकारी गराउँदै उनले सो बताएका हुन् । अध्यक्ष थापाले हालको विषम परिस्थितीमा सवारी साधनको बजार माग अति न्युन हुँदा हुँदैं पनि सवारी साधन व्यवसायीहरुले क्रमिक रुपमा छुटाउँदै आएको र हालैको ६ महिना भित्रै पनि करीब १६०० सवारी तथा ढुवानीका साधनहरु भन्सार जाँचपास गराइ सकिएको जानकारी गराए । हाल परिस्थिति जटिल रहेको अवस्थामा समेत व्यवसायीहरुले पार्किङ्ग शूल्क बापत करोडौं रकम तिरी नै रहेको, उत्पादक कम्पनी र आधिकारिक विक्रेताको सम्झौता बमोजिम सवारी साधनहरु उत्पादन गर्न कयौं महिना पूर्व आदेश दिनु पर्ने, सम्झौता बमोजिम सम्झौता अवधिभित्र लिन कबुल गरेको सँख्यामा सवारी साधनहरु लिनै पर्नेे अवस्था रहेको अवगत गराए । सवारी साधनका आधिकारीक पैठारीकर्ताहरुले सवारी साधन आयात गर्नै पर्ने बाध्यतात्मक अवस्था रहेता पनि पैठारीकर्ताहरुले कार्य योजना वनाई क्रमिक रुपमा भन्सार जाँचपास गराउने कार्य गर्दै आइरहेका हुँदा कम्तीमा चालु आर्थिक वर्षको अन्त्य सम्मको लागि भन्सारमा आइसकेका सवारी तथा ढुवानीका साधनहरुको हकमा भन्सार विन्दुबाट सामान छुटाउन मिल्ने गरी समयावधि थप्न अध्यक्ष थापाले आग्रह गरे ।
सिट्रोनले ल्यायो ‘न्यू इयर बोनान्जा’, खरिदकर्तालाई २ लाखसम्म फाइदा हुने
काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू-सिट्रोन सि ३ (पेट्रोल भर्जन) र सिट्रोन इ सि३ (विद्युतिय भर्जन) मा नगद छुट लगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सि३ मा दुई लाख रुपैयाँ र विद्युतीय भर्जन सिट्रोन इ सि३ मा एक लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् । नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्नेछन् । यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् जसले आफ्ना ग्राहकहरुको नयाँ वर्षमा नयाँ उमंग थप्ने विश्वास कम्पनीले लिएको छ । यस न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुनेछ । भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको कम्पनीको दावी छ ।
एकैदिन ६ कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन ६ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सूचीकृतमध्ये ६ वटा कम्पनीको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । जसमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त वित्तीय संस्था, घोराही सिमेन्ट इन्डष्ट्री, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र राधी विद्युत् कम्पनीको रहेका छन् । जसमध्ये हिमालयन डिष्टिलरीको १० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । यससँगै कम्पनीको समायोजित सेयर मूल्य प्रतिकित्ता १७२५.४५ रुपैयाँ कायम भएको छ । बिहीबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १८९८ रुपैयाँमा भएको थियो । साना किसान विकास लघुवित्तको पनि १४.२५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बिहीबार प्रतिकित्ता १०१४.९० रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ८८८.३२ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, १५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको घोराही सिमेन्टको समायोजित मूल्य प्रतिकित्ता ५०२.६१ रुपैयाँ कायम भएको छ । बिहीबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५७८ रुपैयाँमा भएको थियो । सर्पोट माइक्रोफाइनान्सको १३ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता १०८० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजन भएसँगै प्रतिकित्ता ९५५.७५ रुपैयाँ कायम भएको छ । आत्मनिर्भर लघुवित्तको पनि १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । जसको समायोजित मूल्य प्रतिकित्ता १६५९.०९ रुपैयाँ कायम भएको छ । त्यसैगरी, राधीको पनि बिहीबार नै सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता २३९.५० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन भएसँगै घटेर प्रतिकित्ता २२८.६४ रुपैयाँमा झरेको छ । यससँगै अबको बजारमा यी सबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यको आधारमा हुनेछ ।