काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो ।
“जहाज अवतरणको क्रममा ककपिटमा रहेका पाइलटले फ्लेप लिभर तान्नुपर्ने थियो तर, कन्डिसन लिभर तानेको पाइयो । यसले गर्दा जहाजस्थिर हुनसकेन”, जहाज दुर्घटनाको कारण बताउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने, “पाइलटका लागि नयाँ विमानस्थल थियो । धावनमार्ग वरिपरी टेरेन्ट पनि थियो । यो पनि दुर्घटनाको कारक थियो । उक्त दुर्घटनामा मानवीय पक्ष बढी जिम्मेवार देखिन्छ ।”
एटीआर–७२ हवाईजहाज दुर्घटनाको मुख्य कारण मानवीय कमजोरी देखिएको आयोगका अध्यक्ष नगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । उनले भने, “पाइलटले फ्लेप लिभर (जहाजको स्पिडलाई स्लो गर्ने) तान्नुपर्नेमा दुर्भाग्यवस ‘कन्डिसन लिभर’ तानेको देखिन्छ । जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घनाग्रस्त हुन पुगेको हो । दुर्घटनाको विश्लेषण गर्दा मानवीय त्रुटी बढी देखियो ।” अध्यक्ष घिमिरेका अनुसार जहाज दुर्घटनाको अर्को कारणमा नयाँ विमानस्थल पूर्ण तयारी नभइकन सञ्चालनमा ल्याइनु पनि हो ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री किरातीले प्रतिवेदनमा दिइएका सुझावका विषयमा सञ्चालक, नियामक निकाय र मन्त्रालय तिनै पक्षले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने विश्वास व्यक्त गरे । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई ८ बुँदे सुझाव दिएको छ ।
विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इञ्जिनियर एकराजजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए ।
सहसचिव लामिछानेले अहिलेसम्मकै बढी समय लगाएर दुर्घटनाग्रस्त जहाजबारे विस्तृत अध्ययन अनुसन्धान गरिएको दाबी गरे । विभिन्न मुलुकका यात्रु पनि दुर्घटनामा परेकाले अन्य मुलुकको चासो रहेको थियो । जहाजको उपकरण फ्रान्सको सुविधासम्पन्न ल्याबमा परीक्षण गरिएको थियो । दुर्घटना जाँचका सम्बन्धमा सिङ्गापुरमा विज्ञसँग पनि छलफल गरिएको थियो ।
जहाज प्राविधिक कारणले नभई मानवीय (पाइलट)को त्रुटिका कारण दुर्घटनामा परेको अयोगले निष्कर्ष निकाल्दै जहाजले जम्मा २८ हजार ७३१ घण्टा ३३ मिनेट (दुर्घटनाको समयसम्म) मात्र उडान भरेको पाइएको जनाएको छ ।
एटीआर फ्रान्सः एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको उक्त जहाज ३० हजार १०४ साइकल उडेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ । जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय सन् २०२३ अप्रिल २४ सम्म रहेकामा समयअगावै प्राविधिक समस्या नरहेको जनाउँदै १४ जनवरी, २०२३ मा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जहाज उडानका क्रममा दुवै इञ्जिनका प्रोपेलरहरु फेदरमा गएपछि तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिको निष्कर्ष छ ।
प्रतिवेदनमा जनाइए अनुसार बिहानको १०ः५१ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिविलिटी तथा प्राविधिक पक्ष राम्रो रहेको थियो । “भीएनपीआरमा टेक अफ, चढाइ, क्रूज र अवतरण सामान्य थियो । मौसम अनुकूल थियो । भीएमसी गन्तव्य एयरपोर्टको बाटोमा भीएनपीआर टावरसँगको पहिलो सम्पर्कको समयमा, एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग विमान अवतरणका लागि अनुमति माग गरेकामा रनवे ३० को अनुमति प्रदान गरिएको थियो । तोकिएको धावनमार्गमा नभएर पाइलटले अकस्मात् रनवे परिवर्तन गरेर १२ को अनुमति माग गरेको पाइएको छ”, प्रतिवेदनमा भनिएको छ ।
रनवे १२ अवतरणका लागि योग्य रहेको एटीसीले सन्देश पठाएको थियो । जहाज ६ हजार ५ सय फिटमाथिबाट एकैपटक ७२१ फिटमा झरेर फेरि माथि उठाउन खोज्दा इञ्जिनको गति स्थिर हुनपुगेपछि जहाज तल झर्नपुगेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त जहाज सेती नदीको खोँचमा खसेको थियो । जहाज भूइँमा बजारिएलगत्तै आगजनी हुँदा जहाजमा सवार ७२ यात्रुकै मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । दुघ्रटनाग्रस्ता जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।