पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

काठमाडौं । पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको दुईदिने सम्मेलन बुधबार सुरु भएको थियो ।  

आइक्यानले लेखा व्यवसाय क्षेत्रका महत्त्वपूर्ण विषयवस्तु तथा आर्थिक एवं अन्य समसामयिक विषयमा छलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले बर्सेनि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ । 

यसपालिको सम्मेलनको थिम ‘विश्वास र आर्थिक सुशासनको सवलीकरणः नेपालको आर्थिक समृद्धिको संवाहक’ थियो । सम्मेलनमा यही थिममा केन्द्रित ६ वटा प्राविधिक सत्रहरू सञ्चालन गरिएको थियो । 

सम्मेलन उद्घाटन सत्रमा महालेखापरीक्षक तोयम राय प्रमुख अतिथि थिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका अध्यक्ष अनुप नेपाल तथा नेपाल अडिटर्स एसोसिएसनका अध्यक्ष आरए बद्रीप्रसाद भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय महालेखापरीक्षक रायले जोखिममा आधारित लेखापरीक्षणको महत्त्वमाथि प्रकाश पार्दै निजी क्षेत्रको पारदर्शिता र सुशासन सुदृढ गर्न लेखापरीक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । 

उनले लेखा व्यवसायीहरूले रणनीतिक सल्लाहकार तथा जोखिम व्यवस्थापकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । 

वर्तमान डिजिटल अर्थतन्त्र र दिगोपनको युगमा तथ्यांकमा आधारित निर्णय प्रणालीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले सम्मेलनमा युवा लेखा व्यवसायीको सक्रिय सहभागिता देखेर खुसी व्यक्त गरे । 

नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा महत्त्वपूर्ण सुझाव दिन सम्मेलनले योगदान गर्ने विश्वास उनले व्यक्त गरे ।

सम्मेलनअन्तर्गत पहिलो प्राविधिक सत्रका प्यानेलिस्ट पूर्वअर्थमन्त्रीहरू रामेश्वर खनाल, सुरेन्द्र पाण्डे, डा. प्रकाशचन्द्र लोहनी र शंकरप्रसाद कोइरालाले नेपालको वर्तमान आर्थिक अवस्था, पूँजीगत खर्च व्यवस्थापन, नीतिगत सुधार, बजेट प्रणालीको प्रभावकारिता तथा करको दायरा विस्तार लगायतका विषयहरूमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

दोस्रो प्राविधिक सत्रका वक्ताहरू सुशील ज्ञवाली, महाप्रसाद अधिकारी, प्राडा फत्तबहादुर केसी तथा मनोजकुमार ज्ञवालीले संस्थागत विश्वास अभिवृद्धिका लागि विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयन, सरकारी सेवामा पारदर्शिता अभिवृद्धिका लागि डिजिटाइजेसन, सार्वजनिक विश्वास सुदृढ गर्न स्वेच्छिक प्रकटीकरणको महत्व, बलियो राजनीतिक प्रतिबद्धता तथा बैंकिङ संस्थाहरूको सबलीकरणमा नेतृत्वदायी भूमिकाको आवश्यकताका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

तेस्रो प्राविधिक सत्रमा प्यानेलिस्टहरू गौरवराज पाण्डे, विभूषण विष्ट र मुन्नी राजभण्डारीले डिजिटलाइजेसनको विस्तार, मागमा आधारित डिजिटल समाधानको विकास, डिजिटल भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियामकीय संरचनाको सबलीकरणमार्फत नवप्रवर्तनलाई प्रभावकारी आर्थिक परिणाममा रूपान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

सम्मेलनको पहिलो दिनका सम्पूर्ण प्राविधिक सत्रहरूमा आर्थिक नीति, सुशासन, संस्थागत विश्वास तथा डिजिटल रूपान्तरणसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा गहन छलफल भएको थियो । 

सम्मेलनका वक्ता तथा सहभागीहरूले नीति कार्यान्वयनको प्रभावकारिता, पारदर्शिता अभिवृद्धि, प्रविधिमैत्री वातावरण निर्माण तथा व्यावसायिक क्षमता विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए । 

यो सम्मेलनले लेखा व्यवसायीहरूबीच ज्ञान आदानप्रदान, नीति संवाद तथा पेशागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स, लेखा व्यवसायीहरू, नीति निर्माताहरू, नियामक निकायका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनको प्रत्यक्ष प्रसारण संस्थाको आधिकारिक फेसबुक तथा युट्युब पेजमार्फत गरिएको थियो ।

Share News