डीएभी कलेजको आयोजनामा फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख नगद
काठमाडौं । डीएभी कलेजको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डीएभी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता माघ १३ गते आयोजना गर्ने भएको छ । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई ३ लाख नगद रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाएका छन् । साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिएका छन् । ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।
सङ्घीयतालाई सुदृढ तुल्याउन प्रमुख शक्तिबीच सहमति आवश्यक छ : सांसद राना
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले पहिला टेलिभिजनमा देख्दै आएको संसद् र संसदीय समितिका बहस एवं छलफलमा आज आफैँ सहभागी हुने अवसर पाएकी छन् । यी छलफलमा कतिपय नवआगन्तुक सांसदले देश, जिल्ला र क्षेत्रका जल्लाबल्दा विषयवस्तु प्रखररुपमा उठान गर्न अझै नसकेको उनले महसुस गरेकी छिन् । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकी रानाले जिल्लाका प्राथमिकता, विकास निर्माण, भौगोलिक स्थिति र समस्यालाई प्रखररुपमा राख्न नसकेको प्रतिक्रिया दिइन् । नेपाली कांग्रेसकी नेत्री रानाले संसदीय अभ्यासमा प्रवेश गरेको एक वर्ष पूरा गरिए पनि कतिपय कारणले आफ्नो उपस्थिति सोचेअनुरुप प्रभावकारी हुन सकेन कि भन्ने महसुस भएको बताइन् । ‘सांसदसँग रासस संवाद’ उनले भनिन्, ‘विधेयकलाई समृद्ध तुल्याएर गुणस्तरीय ऐन–कानुन निर्माण गर्नुपर्ने दायित्व धेरै छ । विधेयकमाथि गहन र बृहत् छलफल हुनुपर्छ । बनेका कानुन पनि कार्यान्वयनमा लैजान नसकेको महसुस गरेकी छु ।’ सांसद रानाले महिला सांसद भएकैकारण बोल्ने अवसरमा विभेद नगरिए पनि कतिपय अवस्थामा परिपक्व, पुराना र माथिल्ला तहका नेतालाई सम्मान गर्नुपर्ने परिस्थितिले कम समय प्राप्त हुने गरेको घटना सुनाइन् । उनले शून्य समयमा महिला भएकै कारण बोल्ने अवसर पाइरहे पनि विशेष समयमा भने कहिलेकाहीँ अवरोध महसुस गरेको प्रतिक्रिया दिइन् । नेत्री रानाले जिल्लाका प्रमुख विषयवस्तु राख्ने र कानुनमा स–साना विषयमा पनि गम्भीरतापूर्वक केलाउने सम्बन्धमा कहीँ कतै आफ्नो त्यति राम्रो उपस्थिति भएन कि भन्ने लागेको मात्र हो भनिन् । एक प्रश्नमा उनले भनिन्, ‘सदन जति प्रभावकारी र चलायमान हुनुपथ्र्यो यस अवधिमा त्यो नभएकै हो ।’ संसद्को महिला तथा सामाजिक मामिला समिति सदस्यसमेत भएकी रानाले राजनीतिक परिवर्तनका प्रमुख शक्ति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हार्दिकता कायम गर्दै कानुन निर्माण र देश विकासमा एकाकार हुनुपर्नेमा त्यो नदेखिएकामा चिन्ता व्यक्त गरिन् । नेत्री रानाले भनिन्, ‘नयाँ कानुन कार्यान्वयन र भर्खर अघि बढाइएको सङ्घीयतालाई सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक छ । नेपाललाई समृद्ध र सुखी बनाएर मात्र दलका नेताले राजनीति र सिद्धान्तको अवधारणा बनाउनुपर्छ भन्ने लाग्छ ।’ नेपाली समाजलाई विखण्डन र विकृतितर्फ लैजान खोजिए कसैको पनि आदर्श र सिद्धान्त बाँकी नरहने चेतावनी दिँदै उनले देशका प्रमुख राजनीतिक शक्तिलाई संविधानका मूलभूत सिद्धान्त तथा देशको परिस्थितिलाई बुझेर एउटा निश्चित मापदण्ड बनाएर अघि बढ्न सुझाव दिइन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि रहेकी सांसद रानाले भनिन्, ‘अब कति समयसम्म हामीले यस्तो द्वेषपूर्ण राजनीतिक गर्ने त १ राजनीतिकले टोल छिमेकमा विवाहलगायत कार्य गर्दा एकअर्कालाई राजनीतिले प्रभाव पारिरहेको छ । यो राजनीतिक दलभित्र मौलाएको तिक्तता र असमझदारीकै परिणाम हो ।’ आफू अघि बढ्ने सन्दर्भमा अर्काको विरोध मात्रै गर्ने प्रवृत्ति ठीक नभएको प्रतिक्रिया दिँदै उनले भनिन्, ‘समाजलाई विखण्डनतर्फ होइन, सकारात्मक सोचका आधारमा अघि बढाउनुपर्छ । कसैलाई एकोहोरो गाली गर्ने र होच्च्याउने काम गरिन हुन्न ।’ समाजलाई बिगारिरहेको र प्रदूषित बनाइरहेको अति राजनीतिकरणलाई अब तत्काल सच्च्याउन आवश्यक रहेको बताउँदै नेत्री रानाले निर्वाचित जनप्रतिनिधिले दलको प्रतिनिधिका रुपमा नभई सबैको साझा हुँ भन्ने भावनाले जिम्मेवारी पूरा गर्नुपर्छ भनिन् । उनले भनिन्, ‘कृषि, जलस्रोत क्षेत्रको विकास र रोजगारीजस्ता विषयमा जनप्रतिनिधिले साझा धारणा बनाएर काम गरे मुलुकमा राजनीतिक स्थिरता पनि हुन्छ । अहिले जनप्रतिनिधिबीचको मतभिन्नताले कर्मचारी खटाएको स्थानमा परिचालित हुन नमानेका पक्षलाई पनि हेक्का राखिनुपर्छ ।’ नेपालको अहिलेको परिवेश हेर्ने र स्वतन्त्र मूल्याङ्कन गर्ने हो भने विकास नभएको होइन भन्दै उनले विकासलाई केबल भवन, सडक र पुल निर्माणलाई मात्र नभई समाजमा सकारात्मक सोचलाई प्रवद्र्धन गर्ने गरी सँगसँगै लैजानु पर्नेमा जोड दिइन् । नेत्री रानाले भनिन्, ‘जोसुकैले गरेको भए पनि असल कामलाई प्रोत्साहन गर्न सक्नुपर्छ । सहीलाई सही र गलतलाई गलतै भनेर जानुपर्छ । युवापुस्तालाई विकास भनेको भौतिक मात्र नभई सकारात्मक सोचमा परिवर्तन पनि हो भनी बुझाउन जरुरीछ ।’ लोकतन्त्र स्थापनापछि मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक संरक्षणका धेरै क्षेत्रमा प्रगति भए पनि केही व्यक्तिले समाजभित्र नकारात्मक धारणा फैलाएर समाजलाई नै भ्रमित बनाएको र मुलुकलाई अन्धकारतर्फ लैजान खोजेको कुराप्रति सबै सचेत हुन आवश्यक रहेको उनको सुझाव छ । राजनीतिक दलका नेताहरुले पनि देश विकास होइन, पार्टीको मात्र राजनीति गरिरहने हो भने आशा गरेको विकास र समृद्धिका एजेण्डा कार्यान्वयन हुन कठिन हुने धारणा राख्दै सांसद रानाले यसले देशहित र जनताको कल्याण गर्न नसक्ने विचार व्यक्त गरिन् । विद्यार्थीकालदेखिनै राजनीतिमा सक्रिय नेत्री राना विभिन्न सङ्घसंस्थामा आबद्ध भई दैलेखका दुर्गम स्थानमा महिला जागरण र सुरक्षित मातृत्वसम्बन्धी चेतना र सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । समानुपातिकतर्फ आदिवासी समूहबाट निर्वाचित उनले भूकम्पपछि जाजरकोटको दुर्गम क्षेत्रमा पुगेर सोसेक नेपाल संस्थामार्फत करिब रु तीन करोड बराबरको खाद्यान्न, लत्ताकपडालगायत राहत सामग्री वितरण गरेको सुनाइन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदानीपूर्ण सङ्घर्ष र दुःख भोगेका नेताहरुले कोरेका मार्गचित्रका आधारमा मुुलुकको राजनीति यहाँसम्म आइपुगेको बताउँदै विधायक रानाले त्यस्ता नेतृत्वलाई अब समयको बदलिँदो पदचापलाई बुझेर अगाडि बढ्न सल्लाह दिइन् । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान नसकेका कैयौँ उदाहरण देखिएको बताउँदै सांसद रानाले त्यसैको परिणाम वडादेखि स्थानीय तह, प्रदेश र सङ्घबीच समन्वय र कानुन कार्यान्वयनमा चुनौती खडा भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘कानुन कार्यान्वयनमा पनि मेरो र तेरोको भावना देखाउने प्रवृत्तिले अनुशासन र सुशासन कायम गर्ने सवालमा अल्झन आउँछ । कानुन प्रयोग गर्न खोजिए पनि सँगसँगै अवरोध पनि भइरहेको छ । त्यसमा कर्मचारीतन्त्रबाट पनि आवश्यक सहयोग मिलेको देखिन्न ।’ हालको निर्वाचन प्रणालीमा धेरै त्रुटि देखिएकाले त्यसमा केही सुधारको खाँचो औँल्याउँदै नेत्री रानाले विधायक भनेको कुलो, पँधेरो, धारो, सडक, स्वास्थ्यचौकी, बाटोघाटो बनाउने हुन् भन्ने सोचबाट जनतालाई मुक्त गराउनुपर्नेमा जोड दिइन् । उनका अनुसार देशप्रतिको प्रेम, सद्भाव, भौगोलिक अवस्थाप्रतिको गौरव र आस्था राखेर हिँड्ने प्रयास गरिएमा नेपालको भविष्य सुन्दर छ । त्यसमा प्रत्येक व्यक्तिमा सकारात्मक सोच आवश्यक छ । शीर्ष नेतृत्वले टिप्पणी मात्र होइन परिवर्तनको यात्रालाई सहज तुल्याउन उनीहरुले सहजीकरण पनि गरिदिनुपर्दछ । देश र समाजप्रति होइन, परिवार केन्द्रित राजनीति अन्त्य गरिनुपर्नेमा जोड दिँदै नेत्री रानाले सकारात्मक सोचका साथ अघि बढेमा असम्भव केही नरहेको धारणा राखिन् । एक फरक प्रसङ्गमा उनले भनिन्, ‘देशमा पर्याप्त प्राकृतिक स्रोत साधन छन्, यसको अधिकतम सदुपयोग गर्नुपर्छ, जेजस्तो रोजगारी पाइन्छ स्वदेशमै बसेर देश विकासको अभियानमा सहभागी हुनुपर्छ । हामीले त्यसका लागि पहल गरिरहेका छौँ ।’ रासस
नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी कुल १०.५५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० वार्षिक आर्थिक विवरण ९असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै
फिक्कल । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्यारापेट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले बताए । सदरमुकामको खेलमैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्यारापेट निर्माण गर्नु आयोजकको बाध्यता भएको सचिव घिमिरेले बताए । इलामका अधिकांश क्षेत्रमा आयोजना हुने गोल्डकपमा बाँसको अस्थायी प्यारापेट प्रयोग गर्ने गरिएको छ । अस्याथी प्यारापेट करिब चार हजार दर्शक अटाउने क्षमताको रहेको सचिव घिमिरेले जानकारी दिए । टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्यारापेट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । अस्थायी प्यारापेट निर्माणसँगै इलाम गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । ‘सदरमुकामको मुख्यबजारसँगै रहेको टुँडीखेलमाल स्थायी प्यारापेट नभएकाले बाँसको अस्थायी प्यारापेट निर्माण गरिरहेका छौँ’, सचिव घिमिरे भने, ‘दर्शकको सुविधाका लागि प्यारापेट निर्माणको काम ७५ प्रतिशत सकिएको छ ।’ मैदानको एकातर्फ जमिनको भूभाग भएकाले बाँकी तीन भागमा बाँसको अस्यायी प्यारापेट निर्माण गरिएको घिमिरे बताए । टुँडीखेल स्तरोन्नति र प्यारापेट निर्माणका लागि रु १० लाख खर्च लागेको उनले बताए । गोल्डकपमा आयोजकसहित नेपालका ‘ए’ डिभिजन क्लब र भारतका क्लब गरी आठ टोलीको सहभागिता रहने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मुले जानकारी दिए । उनका अनुसार आयोजक रेडहर्ष फुटक्बल क्लबसहित ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), एकाडेमी रोयल एक्सिलेन्सा डुबाला क्यामरुन, पाँचथर युवा क्लब, झापा युनाइटेड, जागृती युवाक्लब इटहरी, बागमती युवाक्लब र विदेशी टोली भारत दार्जिलिङको सहभागिता रहनेछ । गोल्डकप विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछन् । यसअघि सदरमुकाममा माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुँदै आएको थियो तर छैटौँ संस्करणसम्म सञ्चालन भए पनि विविध कारण देखाउँदै स्थगित भएपछि पहिलोपटक इलाम गोल्डकप सुरु हुन लागेको हो । रासस
बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार
ढोरपाटन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन । अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भई रहेको छ । तमानखोलामा पनि गत वर्ष देखिनै पोल गाड्न थालिए पनि अहिलेसम्म बिजुली बलेको छैन । अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ । निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम तीव्र गतिमा भइरहेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका पालिकाहरूमा केही वर्ष अगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम बागलुङका धेरै पालिकामा पुग्न सकेको थिएन । विद्युत् प्राधिकरणले गत वर्ष देखिनै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ । गाउँ–गाउँमा विद्युत्का विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका छन् । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम गरि रहेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छभने बुर्तिबाङमा पनि १३२ किलोभोल्टको सबस्टेशन निर्माण भइरहको छ । यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्याउने गरी काम भइरहको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख पवन पौडेलले बताए । आगामी एक महिना भित्रमा बत्ती बाल्ने गरी काम भइरहेको उनले बताए । ढोरपाटन उपत्यका, निसीखोलाको देवीस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन सञ्चालन हुने पौडेलले बताए । अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको रु १४ करोडबाट प्रसारण लाइन विस्तार गरिएको हो । रासस
एक सहकारी संस्थाले १५.५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सहकारीले गत वर्षको नाफाबाट १५.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिए । सहकारीले प्रस्ताव गरेको उक्त लाभांश शनिवार सम्पन्न २४औँ वार्षिक साधारणसभाले पारित गरिसकेको छ । वि.सं २०५६ माघ २१ गते ३० जना सदस्यले ३१ हजार ९ सय सेयर पुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २ हजार ४ सयभन्दा बढी सेयर सदस्य छन् । आर्थिक वर्ष २०७३/७४ मा यस संस्थाको सेयर पुँजी ४ करोड २६ लाख ६ सय रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९÷८० मा सेयर पुँजी रकम वृद्धि भई ६ करोड ९५ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा सेयर सदस्य बचत रकम ४४ करोड ६५ लाख ३२ हजार ३३४ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा आउँदा ४६ करोड १ लाख ९८ हजार ८४२ रुपैयाँ ऋण लगानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड ५४ लाख ६ हजार २५४ रुपैयाँ सञ्चालन मुनाफा पुगेको संस्थाले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राख्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरूको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न स्थानहरुमा दोहोरिएका शाखा कार्यालयहरूमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका ११ वटा कार्यालयहरूको सम्पत्ति बिक्रीमा राखेको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिन (पुस १७ गते)भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । साविक बैंक अफ काठमाण्डूका सुर्खेत, बागलुङ्ग आवा रोड, पोखरा, हेटौंडा मेनरोड, वीरगन्ज र सामाखुसी शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्रीमा राखेको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालय रामपुर, ताप्लेजुङ्ग, इटहरी, दोगडाकेदार बिजुवारका शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखिएको बैंकले जनाएको छ ।
कालीगण्डकी करिडोरको नागढुङ्गा-काभ्रे खण्डको काम ४ वर्षपछि सुरु
काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा ४ वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार ४ वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले राससलाई जानकारी दिए । उनले भने, “लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ । निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौँ ।” विसं २०७४ मा निर्माण कम्पनी शर्मा–गजुरमुखी नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो । विसं २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो । पहिरोपछि बीमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुनः थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए । “आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौँ”, उनले भने, “हाल ११० जना मजदुर, ४ वटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ ।” विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत ६३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईले बताए । घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बाँदरजुङभिर क्षेत्रमा करिब १ किलोमिटर दूरीमा विस्फोटक पदार्थको प्रयोग गरी सडकलाई ८ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । सोही सडकमा ६ सय मिटर ढलानको तयारी गरिएको छ । पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २.५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ । नागढुङ्गा–काभ्रे खण्डमा ८.५ किलोमिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको बेगखोला–नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र सुरु भएको छ । शर्मा–युनाइटेड कम्पनीले ठेक्का लिएको यो सडकको नागढुङ्गादेखि बेगखोलातर्फ ‘प्राइम कोड’ बिछ्याउन थालिएको हो । यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर ‘बेस’ र ‘सब बेस’सँगै प्राइम कोड बिछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ । राहुघाट–बेगखोला खण्डको राहुपारेदेखि कुनौटासम्म ६ किलोमिटर सडक ४ वर्षअघिनै कालोपत्र भए पनि धेरै ठाउँमा जीर्ण बनिसकेको छ । राहुघाट–बेगखोला खण्डको बाँकी भाग स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने निर्माण कम्पनीले जनाएको छ । भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने २०२ किलोमिटरसडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷०७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडकको ६ खण्डमा ८५ किलोमिटर ग्राभेल र ३ खण्डमा १९ किलोमिटर कालोपत्र गरिएको छ । उक्त सडक योजनाअन्तर्गत १३ वटा पक्की पुल र ३ वटा बेलिब्रिज निर्माण भएका छन् ।