काठमाडौं । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सहकारीले गत वर्षको नाफाबाट १५.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिए ।
सहकारीले प्रस्ताव गरेको उक्त लाभांश शनिवार सम्पन्न २४औँ वार्षिक साधारणसभाले पारित गरिसकेको छ । वि.सं २०५६ माघ २१ गते ३० जना सदस्यले ३१ हजार ९ सय सेयर पुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २ हजार ४ सयभन्दा बढी सेयर सदस्य छन् ।
आर्थिक वर्ष २०७३/७४ मा यस संस्थाको सेयर पुँजी ४ करोड २६ लाख ६ सय रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९÷८० मा सेयर पुँजी रकम वृद्धि भई ६ करोड ९५ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा सेयर सदस्य बचत रकम ४४ करोड ६५ लाख ३२ हजार ३३४ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा आउँदा ४६ करोड १ लाख ९८ हजार ८४२ रुपैयाँ ऋण लगानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड ५४ लाख ६ हजार २५४ रुपैयाँ सञ्चालन मुनाफा पुगेको संस्थाले जनाएको छ ।