विकासन्युज

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।                                         यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।   अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४  पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४ रुपैयाँ ८६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०८ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।                                             राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

थानकोटमा एक अर्बमा प्रसूति अस्पताल निर्माण गर्न ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ । सो अवसरमा उनीहरुका बीचमा जर्मन विकास बैँक (केएफडब्लू)को करिव एक अर्ब रुपैँया बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि –४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो । सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन बनाउन आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिनुहुँदै अगामी दिनमा पनि यस्तो कार्य निरन्तर रहने जानकारी दिएका थिए । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रुपमा थानकोटमा २५ शथ्याको अस्पताल बन्न लागेको हो । यसका लागि केएफडब्लूले प्रारम्भिक खाका स्वीकृत गर्दै ‘ग्लोबल टेण्डर’का चरणमा पुगेको जनाइएको छ । केएफडब्लूले अस्पतालका लागि करिव एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । प्राथमिक अस्पताल थानकोट परिसरमा सो विशेषज्ञ अस्पताल भवन बनाउन मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ । नगरपालिकाको सहजीकरण, समन्वय र सहकार्यमा नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेका थिए । गत जेठको पहिलो साता अस्पतालको विस्तृत खाका सहित ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न स्थलगत अध्ययन गर्न केएफडब्लूको केन्द्रिय कार्यालयबाट मिसेल स्वीपर, प्राडा योर्कको सहित उच्चस्तरीय टोली नेपाल आएको थियो ।

७ बैंकको वितरणयोग्य नाफा २० अर्ब ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको २० अर्ब रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार असोज मसान्तसम्म ७ बैंकको वितरणयोग्य नाफा १९ अर्ब ९८ करोड ३३ लाख १२ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको असोजसम्ममा विभिन्न ५ बैंकको १२ अर्ब ५४ करोड १ लाख ५६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो । असोज मसान्तसम्ममा सबैभन्दा धेरै हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । हिमालयन बैंकको ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । जबकि गत वर्षको असोजमा हिमालयनको ३ अर्ब ४८ करोड ४४ लाख ३७ हजार रुपैयाँ मात्रै वितरणयोग्य नाफा ऋणात्मक थियो ।  समीक्षा अवधिमा एनआईसी एशिया बैंकको ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ, नेपाल बैंकको ५७ करोड १ लाख ९२ हजार रुपैयाँ, कुमारी बैंकको ३ अर्ब ९१ करोड ९९ लाख २० हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को १ अर्ब १६ करोड ९४ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  गत वर्षको असोजमा एनआईसी एशियाको २ अर्ब २१ करोड ४० लाख ८७ हजार रुपैयाँ, नेपाल बैंकको १ अर्ब २६ लाख ८२ हजार रुपैयाँ, कुमारीको ३ अर्ब ३२ करोड ८४ लाख २४ हजार रुपैयाँ र एनआईएमबिको २ अर्ब ५१ करोड ५ लाख २६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो ।  गत वर्ष नाफामा रहेका माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकको वितरणयोग्य नाफा यसपटक भने ऋणात्मक रहेको देखिन्छ । असोजसम्ममा माछापुच्छ्रेको ११ करोड ४२ लाख ८२ हजार रुपैयाँ र सिटिजन्सको ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।  यी बैंकको वितरणयोग्य नाफा धनात्मक  चालु आवको असोजसम्ममा १३ वटा बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रभु बैंकको वितरणयोग्य नाफा बढेको देखिन्छ । प्रभुको १ हजार ६९ प्रतिशत बढेर ४० करोड ६० लाख ८४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । जबकि गत वर्षको असोजमा यस बैंकको वितरणयोग्य नाफा २ करोड ४७ लाख १५ हजार रुपैयाँ मात्रै थियो ।  यस्तै, सिद्धार्थ बैंकको ५११.२९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख ९६ हजार रुपैयाँ, कृषि विकास बैंकको ३७४.१७ प्रतिशत बढेर २४८४७३६ हजार रुपैयाँ, एभरेष्ट बैंकको १५५.२४ प्रतिशत बढेर ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १५३ प्रतिशत बढेर ४ अर्ब ८४ करोड ९५ लाख ६ हजार रुपैयाँ, एनएमबि बैंकको ८१.१६ प्रतिशत बढेर १ अर्ब ९४ करोड ३३ लाख १८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको तथ्याङ्क छ । यस्तै, लक्ष्मी सनराइज बैंकको ७५.९८ प्रतिशत बढेर २ अर्ब ६२ करोड ३७ करोड ७९ हजार रुपैयाँ, सानिमा बैंकको २४.३१ प्रतिशत बढेर २ अर्ब १३ करोड ४ लाख ४८ हजार रुपैयाँ, नबिल बैंकको १३.१४ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ५२ लाख ९८ हजार रुपैयाँ, प्राइम बैंकको ११.४८ प्रतिशत बढेर ३ अर्ब ४ करोड ४६ लाख ९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।  समीक्षा अवधिमा वितरणयोग्य नाफा धनात्मक भएपछि विभिन्न ३ वटा बैंकको भने गत वर्षको असोजको तुलनामा घटेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकको ४.४२ प्रतिशत घटेर २१ करोड ४७ लाख २५ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको १९.२१ प्रतिशत घटेर १ अर्ब ५० करोड ९८ लाख ८४ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४.५० प्रतिशत घटेर २ अर्ब ४१ करोड १० लाख ४८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको देखिन्छ । 

शनिबारदेखि चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा आउँदै

काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार (भोलि) बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ ।  जेनजी आन्दोलनमा तोडफोड भएपश्चात चन्द्रागिरि हिल्सको सेवा बन्द भएको थियो । केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्। गत भदौ २४ गतेको घटनाका क्रममा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरूपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो । सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार  भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए । 

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको  चर्चा चल्दैगर्दा यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ ।  नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानिय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ ।  यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो ।  यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ । एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र सीमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । एनसेलले आफ्ना ग्राहककालागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू आफू जहाँ भएपनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ ।  एनसेलले आफ्नो स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।  कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।

सामूहिक राजीनामाको तयारीमा राजदूतहरू

काठमाडौं । अन्तरिम सरकारले दोहोर्‍याएर पत्राचार गरेपछि विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरू स्वदेश फर्कने तयारीमा रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे पहिले नै नेपाल फर्किसकेका छन् ।  घिमिरेले नेपाल फर्किएर गत मंगलबार राजीनामा समेत दिएका छन् । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीका अनुसार अन्य सबै राजदूतहरूलाई पनि टिकट पठाइसकिएको छ र उनीहरू आगामी दुई–तीन दिनभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । सरकारले असोज ३० गतेको निर्णयअनुसार चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल पाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदीलाई समेत स्वदेश फर्कन पत्राचार गरेको थियो ।  सरकारले ती सबैलाई कार्त्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिएको थियो । चीनका लागि राजदूत ओली आइतबार नै बेइजिङबाट काठमाडौं फर्कने तयारीमा छन् भने बाँकी राजदूतहरू पनि फर्किने तयारीमा रहेका छन् । ओली निकट स्रोतका अनुसार नेपाल फर्किएपछि सबै राजदूतहरूले संयुक्त रूपमा राजीनामा दिने तयारी गरेका छन् । यता उक्त निर्णयविरुद्ध लक्ष्मीप्रसाद पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कार्त्तिक १६ गते अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।  तर आदेशको भोलिपल्टै सरकारले अर्को पत्राचारमार्फत ती राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । सर्वोच्चको आदेशपछि पनि सरकारले आफ्नो निर्णयमा अडान कायम राखेको देखिन्छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फर्काइएका राजदूतहरूका लागि मन्त्रालयमा बस्ने स्थान र भूमिका अझै तय भएको छैन । फिर्ता बोलाइएका राजदूतहरूको व्यवस्थापनबारे मन्त्रालयमा स्पष्ट योजना नबनेको बताइन्छ ।  प्रवक्ता क्षत्रीका अनुसार सबै राजदूतहरू फर्किने तयारीमा छन् र उनीहरूको अनुभव र दक्षताको उपयोग मन्त्रालयले यथोचित व्यवस्था गर्नेछ ।

नास आईटी एक्स्पो सुरु : सहकार्य र नवप्रवर्तनमार्फत नेपालको आईटी इकोसिस्टम सशक्तिकरण

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले शुक्रबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा नास-आईटी एक्स्पोको भव्य उद्घाटन गरेको छ ।  यो प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो प्रविधि र नवप्रवर्तनमूलक मेला हो । ‘व्यवसायलाई प्रविधिसँग सँगै जोडी नेपालको एआई भविष्य निर्माण गर्दै’ भन्ने नाराका साथ आयोजित दुईदिने यस कार्यक्रममा ३५ भन्दा बढी अग्रणी टेक कम्पनीहरूले सहभागिता जनाएका छन् ।  कार्यक्रममा उद्योगका वरिष्ठ व्यक्तित्व, नीति निर्माताहरू, लगानीकर्ता, नवप्रवर्तक तथा स्वदेशी र विदेशी प्रविधि विशेषज्ञहरू सहभागी छन् । कार्यक्रमको उद्घाटन नास(आईटीका अध्यक्ष गौरव पाण्डेले गरे । उनले कार्यक्रमले दुई दिनको सहकार्य, अध्ययन र अन्वेषणको प्रेरणादायी सुरुवात गरेको बताए ।  अध्यक्ष पाण्डेले भने, ‘यो एक्स्पो केवल प्रदर्शनी होइन, यो संवाद, सहकार्य र प्रगतिका लागि प्लेटफर्म हो । हाम्रो उद्देश्य नेपाललाई विश्वसनीय डिजिटल प्रतिभा, प्रविधि समाधान र नवप्रवर्तनको ग्लोबल हबका रूपमा स्थापित गर्नु हो ।’ टिग कम्पनीकी सह(संस्थापक प्रार्थना साखाले नेपालमा उदाउँदो प्रविधि इकोसिस्टमलाई सघाउनको महत्त्व औंल्याइन् ।  कार्यक्रममा विभिन्न प्रतिष्ठित वक्ताहरूका विचारपूर्ण सत्रहरू पनि समावेश थिए ।

स्वाथ्य सेवा विभागका निर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा

काठमाडौं । जिम्मेवारी सम्हालेको नौ महिनामै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् ।  सचिवको दौडमा रहेका बाराकोटी सचिवमा डा. विकास देवकोटा नियुक्त भएपछि स्वास्थ्य सेवा विभागको निर्देशकमा नियुक्त भएका थिए । नियमित पदावधि दुई वर्ष बढी बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । उनले आउँदो आइतबारबाट लागू हुनेगरी राजीनामा पत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई बुझाएका छन् ।  डा. बाराकोटीले बालरोग विशेषज्ञका रूपमा स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी समय बिताएका छन् ।