स्वाथ्य सेवा विभागका निर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा
काठमाडौं । जिम्मेवारी सम्हालेको नौ महिनामै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् । सचिवको दौडमा रहेका बाराकोटी सचिवमा डा. विकास देवकोटा नियुक्त भएपछि स्वास्थ्य सेवा विभागको निर्देशकमा नियुक्त भएका थिए । नियमित पदावधि दुई वर्ष बढी बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । उनले आउँदो आइतबारबाट लागू हुनेगरी राजीनामा पत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई बुझाएका छन् । डा. बाराकोटीले बालरोग विशेषज्ञका रूपमा स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी समय बिताएका छन् ।
सिप्रदीको व्यापार २४ अर्ब बढी, तीन आर्थिक वर्षमा औसत ६८ प्रतिशत लाभांश
काठमाडौं । गाडी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४ अर्ब बढीको सञ्चालन आम्दानी अर्थात् व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरणका अनुसार सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन सन् २०२४ को तुलनामा ३० प्रतिशत बढी हो । यस कम्पनीले सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । विगत पाँच वर्षको तुलनामा कम्पनीको व्यापार केही घटेको देखिए पनि गत वर्षको तुलनामा भने उल्लेख्य रुपमा बढेको हो । यो एक वर्षको अवधिमा कम्पनीको नाफा मार्जिन पनि बढेको छ । गत वर्ष २.२ प्रतिशतमात्रै रहेको नाफा मार्जिन सन् २०२५ मा २.७ प्रतिशत पुगेको हो । सन् २०२१ मा भने कम्पनीको नाफा मार्जिन ८.१ प्रतिशत थियो । देशकै सबैभन्दा ठूलो गाडी बिक्रेता कम्पनीको रुपमा परिचय बनाएको सिप्रदी नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता हो । नेपाली अटो बजारमा सिप्रदीको ठूलो बजार हिस्सा छ । कम्पनीको चालु पूँजी व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदा तरलता स्थिति सुदृढ भएको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ । नेपालको कमर्सियल भइकलको बजार ६० प्रतिशत बढीको हिस्सा राखेको सिप्रदीले देशभर आफ्नो सञ्जाल फैलाएको छ । कम्पनीले कमर्सियल भेइकलसँगै अन्य सवारीसाधन बिक्रीका साथै ब्याट्री, स्पेयर पाट्र्स, लुब्रिकेन्ट जस्ता गैर-वाहन वस्तुहरू पनि बिक्री गर्दै आएको छ । कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । दीर्घकालीन ऋणका लागि एल डबल बीप्लस र अल्पकालीनका लागि एफोर प्लस रेटिङ पाएको छ । कम्पनीले सन् २०२५ मा कारोबार करिब ३० प्रतिशत बढाउँदा कमर्सियल भेइकल तर्फ भने ६९ प्रतिशतको वृद्धि गरेको छ । बैंकको ब्याजदर घट्दा र ऋण कम हुँदै जाँदा वित्तीय खर्च घटेको विज्ञप्तिमा उल्लेख छ । सिप्रदीको मुख्य लगानीकर्ता सिद्धार्थ राणा हुन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । यसअघि विकासन्युजसँग कुरा गर्दै सीईओ श्रेष्ठले सिप्रदीलाई ५० अर्बको कम्पनी बनाउने लक्ष्य रहेको बताएका थिए । सम्बन्धित सामग्री : अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’
लगानी, प्रविधि र पर्यटनमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई मल्लको आह्वान
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रीज एण्ड कमर्सका अध्यक्ष फान जियाओबोसँग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरेका हुन् । भेटका क्रममा निवर्तमान उनले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । नेपालमा चिनिया‍ँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यवसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘चीनदेखि भारत सीमा सम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ ।’ नेपालले भौगोलिक रुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए । नेपालमा होटल पूर्वाधारमा लगानीमार्फत चिनियाँ पर्यटक आकर्षित गर्न सकिने मल्लले बताए । नेपालका सुन, तामा, युरेनियम लगायतका खानीहरूको प्रचुर सम्भावनालाई औंल्याउँदै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए । उनले चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको बताए । उनले भने, ‘चीनबाट २.५३ अर्ब डलर बराबरको आयात हुँदा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’ यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवद्र्धन गर्न आफूहरू प्रयासरत रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिवद्धता जनाए । नेपालको कृषि र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि पहल गरिने पनि उनले बताए।
बनेपाबाट सुरु भयो लाइसेन्स छपाइ, ६ महिनामा १२ लाखले पाउने
काठमाडौं । लामो प्रतीक्षापछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ अन्ततः सुरु भएको छ । शुक्रबार बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बटम थिचेर औपचारिक रूपमा छपाइको शुभारम्भ गरे । योसँगै लामो समयदेखि रोकिएको लाइसेन्स वितरण प्रक्रियामा नयाँ ऊर्जा थपिएको छ । मुद्रण केन्द्रले लाइसेन्स छाप्न थालेको यो इतिहासमै पहिलोपटक हो । शुभारम्भपछि मन्त्री खरेलले भने, ‘अब नेपाली नागरिकले आफ्नै देशमै छापिएको सुरक्षित र गुणस्तरीय लाइसेन्स पाउनेछन्, यो आत्मनिर्भर प्रविधितर्फको ठूलो उपलब्धि हो ।’ उनले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए । पहिलो चरणमा १२ लाखप्रति छपाइको सम्झौता भएअनुरूप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक ५ सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । सुरक्षण मुद्रण केन्द्रले अत्याधुनिक प्रविधिबाट लाइसेन्स छाप्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार अब दैनिक हजारौं लाइसेन्स छाप्ने क्षमता रहेको र केही साताभित्र नै वितरणको काम तीव्र गतिमा अघि बढाइनेछ । मन्त्रालयका अनुसार वर्षौंदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन त्यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेको शुक्रबारदेखि थालिएको हो । केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने जनाइएको छ । मन्त्रालयले २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको जनाएको छ । लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । यसअघि प्राविधिक समस्या र ठेक्का प्रक्रियाको ढिलाइका कारण लाइसेन्स छपाइ लामो समयदेखि रोकिएको थियो ।
उद्योग वाणिज्य महासंघले शनिबार ‘राष्ट्रिय बृहत आर्थिक बहस’ को आयोजना गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ । यस्तै, कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाल स्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधिहरू तथा निजी क्षेत्रका संस्थाहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहने छ । जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गरिएको महासंघले जनाएको छ । उद्योग वाणिज्य महासंघले यस अघि पनि २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहस पहिलो श्रृंखला आयोजना गरेको थियो ।
कांग्रेस केन्द्रीय समितिमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव पेश
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गतेदेखि विशेष महाधिवेशन सुरु गर्ने प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको विधानअनुसार उक्त मितिमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । उनका अनुसार नेपाली कांग्रेसको विधानको धारा १७ को २ मा उल्लेखित व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । आचार्यले मंसिर २४ गते महाधिवेशन सुरु गर्न सुझाव दिएका हुन् । उक्त दिन नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्मदिनसमेत हो । यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरिएको थियो । त्यसै मागका आधारमा अहिले केन्द्रीय समितिमा विशेष महाधिवेशनको प्रस्ताव गरिएको नेताहरूले बताएका छन् ।
फागुन २१ को चुनावमा गठबन्धन गर्ने रास्वपाको रणनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनमा तोकिएको निर्वाचनमा अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्ने रणनीति बनाएको छ । चितवनमा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा कार्यगत एकता गर्न सकिने विकल्प खुला राख्ने उल्लेख गरेसँगै पार्टी गठबन्धनमा जाने रणनीतिमा देखिएको हो । ‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ । तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन,’ प्रतिवेदनमा उल्लेख छ । रास्वपाले पूराना पार्टीभन्दा पनि नयाँ बन्ने दलहरुसँग यस्तो कार्यगत एकताका लागि यो विकल्प खुला गरिएको बताएको छ ।
नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा सिद्धार्थ बैंकको सशक्त उपस्थिति
काठमाडौं । नेपालमा डिजिटल भुक्तानीमा पछिल्ला केही वर्षयता उल्लेखनीय वृद्धि देखिएको छ । वित्तीय कारोबारको शैलीमा परिवर्तन ल्याउने डिजिटल भुक्तानी प्रणालीमा बैंकहरूले महत्त्वपूर्ण लगानी गर्दै आएका छन् । यसका कारण बैंक शाखा कार्यालयमा लाइन बसेर कारोबार गर्ने संख्या घट्दो क्रममा छ । नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा सिद्धार्थ बैंक सकारात्मक र अग्रगामी भूमिका खेल्दै आएको छ । डिजिटल उपकरण जस्तै एटिएम मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङमा बैंकले विशेष प्राथमिकता दिएका छन् । यही निरन्तर प्रयास र ध्यानका कारण बैंकको डिजिटल भुक्तानी सेवामा प्राप्त उपलब्धि प्रभावशाली रहेको छ । एटीएममार्फत कारोबार नेपालभर हाल ५ हजार २६३ वटा एटीएम सञ्चालनमा रहेका छन् जसमा सिद्धार्थ बैंकको एटीएम संख्या २२९ छ, जुन कुल संख्याको करिब ४ प्रतिशत हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको अवधिमा देशभरका एटीएममार्फत १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । सोही अवधिमा सिद्धार्थ बैंकका एटीएममार्फत ७३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ७ प्रतिशत हिस्सा रहेको छ । एटीएम संख्यामा ४ प्रतिशतको हिस्सा हुँदाहुँदै पनि कारोबारको रकममा ७ प्रतिशतको हिस्सा हासिल गर्न सफल हुनु बैंकको प्रभावकारी सेवा र निरन्तर अनुगमन प्रणालीको परिणाम हो । बैंकले एटीएम सेवा सहज र भरपर्दो बनाउनका लागि एक छुट्टै इकाइमार्फत एटीएम सञ्चालन र प्रदर्शनको नियमित निगरानी गर्दै आएको छ । यसरी निरन्तर निगरानी, तत्परता र प्रभावकारी समन्वयका कारण सिद्धार्थ बैंकका एटिएमहरूले आफ्ना ग्राहकहरूका साथै अन्य बैंकका ग्राहकहरूलाई पनि सहज र विश्वासिलो सेवा प्रदान गर्दै आएका छन्। मोबाइल बैंकिङ नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या हाल करिब २ करोड ७७ लाख पुगेको छ । एउटै व्यक्तिले विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने भएकाले यो संख्या समग्र प्रयोग प्रवृत्तिलाई झल्काउँछ । सिद्धार्थ बैंकका मोबाइल बैंकिङ ग्राहक संख्या ११ लाख ५९ हजार पुगेका छन् जुन कुल प्रयोगकर्ताको करिब ४ प्रतिशत हिस्सा रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा सम्पूर्ण बैंकहरूको मोबाइल बैंकिङ कारोबार ५० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा सिद्धार्थ बैंकका मोबाइल बैंकिङमार्फत ३ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा बैंकको बजार हिस्सा ७ प्रतिशत रहेको छ । ग्राहक संख्यामा ४ प्रतिशत हिस्सा भए पनि कारोबार रकममा ७ प्रतिशतको योगदान रहनु बैंकका ग्राहकहरूको मोबाइल बैंकिङ प्रयोगमा सक्रियता र विश्वासको प्रतीक हो । बैंकले मोबाइल बैंकिङलाई सहज, सुरक्षित र प्रयोगमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ । यसका लागि बैंकले प्रविधिमा उल्लेख्य लगानी गरेको छ र मोबाइल बैंकिङ प्रणालीको कार्यक्षमता बढाउन नियमित सुधार र परिमार्जन गर्दै आएको छ । साथै सिद्धार्थ बैंकले मोबाइल बैंकिङ सेवालाई डिजिटल रूपान्तरणको मुख्य माध्यमका रूपमा विकास गरिरहेको छ । ग्राहकहरूलाई सहज रूपमा डिजिटल कारोबारमा सहभागी गराउन बैंकले निरन्तर प्राविधिक सुदृढीकरण र सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ । यसले बैंकको डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै देशको डिजिटल वित्तीय प्रवाहमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । प्ले स्टोरमा सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप बैंकस्मार्ट एक्सपी रेटिङ ४.२ बाट सुधार भएर ४.६ स्टारमा पुगेको छ । त्यस्तै, एप स्टोरमा पनि रेटिङ २.९ बाट बढेर ४.६ स्टारमा पुगेको छ । यी उल्लेखनीय सुधारका परिणामस्वरूप बैंकस्मार्ट एक्सपी नेपालका २० वाणिज्य बैंकहरूमध्ये औसत रेटिङका आधारमा नम्बर १ रेटेड बैंकिङ एप बन्न सफल भएको छ । डेबिट कार्ड हालसम्म देशभरका बैंकहरूले कुल १ करोड ३६ लाख डेबिट कार्ड जारी गरेका छन् तीमध्ये सिद्धार्थ बैंकले मात्र ९ लाख १८ हजार डेबिट कार्ड वितरण गरेको छ, जसले कुल बजारको करिब ७ प्रतिशत हिस्सा ओगटेको छ । गत असार मसान्तसम्ममा डेबिट कार्डमार्फत ११ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा सिद्धार्थ बैंकको कारोबार ७४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ जसले बैंकको बजार हिस्सालाई ७ प्रतिशतमा स्थापित गरेको छ । क्रेडिट कार्ड हालसम्म बैंकहरूले कुल ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरेका छन् जसमा सिद्धार्थ बैंकको हिस्सा ६० हजार रहेको छ । यस आधारमा सिद्धार्थ बैंकको बजार हिस्सा १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, कारोबारको हिसाबले पनि बैंकले १५ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकका क्रेडिट कार्डमार्फत ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकले क्रेडिट कार्ड क्षेत्रमा आफ्नो उपस्थिति सुदृढ बनाउन निरन्तर प्रयास गर्दै आएको छ । यसका लागि लक्षित ग्राहक वर्गलाई ध्यानमा राखी उपयुक्त योजनाहरूको साथ कार्ड वितरण गरिँदै आएको छ । साथै बैंकले विभिन्न संस्थाहरूसँग सहकार्य गरेर ग्राहकहरूलाई विविध छुट र सुविधाहरू उपलब्ध गराइरहेको छ । बैंकको सिद्धार्थ रिवार्ड प्लेटफर्ममार्फत प्रत्येक खर्चमा तुरुन्तै अंक प्राप्त हुने र ती अंक विभिन्न साझेदार ब्रान्डहरूमा छुटका रूपमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ, जसले कार्ड प्रयोगलाई जीवनशैली–अनुकूल बनाएको छ । सिद्धार्थ बैंकले क्रेडिट कार्ड सेवामा सहजता र पहुँचलाई प्राथमिकतामा राख्दै सेवा प्रक्रियालाई सरल र प्रयोगमैत्री बनाएको छ । यसले ग्राहकहरूलाई सहज भुक्तानी अनुभव प्रदान गर्दै डिजिटल कारोबार संस्कृतिलाई थप सशक्त बनाउन योगदान पुर्याइरहेको छ । प्रिपेड कार्ड हालसम्म बैंकहरूले जम्मा २ लाख ५० हजार प्रिपेड कार्ड जारी गरिसकेका छन् तीमध्ये सिद्धार्थ बैंकको हिस्सा १४ प्रतिशत अर्थात् ३४ हजार २२४ कार्ड रहेको छ । कारोबार रकमका हिसाबले बैंकको हिस्सा करिब ८ प्रतिशत छ । सिद्धार्थ बैंक प्रिपेड कार्ड सेवालाई सहज, भरपर्दाे र ग्राहकमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ । बैंकले कार्डको दुरुपयोग रोकथाम, तत्काल समस्या समाधान र नियमित अनुगमनको माध्यमबाट सेवा स्तर उच्च राख्ने काम गर्दै आएको छ । यसले ग्राहकहरूले आवश्यकता अनुसार सहजै कारोबार गर्न सक्ने वातावरण तयार गरेको छ । साथै बैंकले नयाँ सुविधाहरू र अपडेटहरू समयमै उपलब्ध गराउँदै ग्राहक अनुभव अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिँदै आएको छ । भर्चुअल ई–कम तथा क्रेडिट कार्ड ग्राहकको सुविधालाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले हालै भर्चुअल ई–कम कार्ड सार्वजनिक गरेको छ, जसलाई मोबाइल बैंकिङको ईजीबैंक सेवा मार्फत प्रयोग गर्न सकिन्छ । यस कार्डको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न झन्झटमुक्त र सजिलो भएको छ । त्यति मात्र होइन, बैंकले चाँडै सिद्धार्थ फोनपे क्रेडिट कार्ड सुरु गर्न लागेको छ, जसबाट ग्राहकहरूले क्यूआर स्क्यान गरी सिधै व्यापारीलाई भुक्तानी गर्न सक्नेछन् । यी डिजिटल सेवाहरूले ग्राहकहरूलाई समय र स्थानको कुनै सीमा बिना सहज रूपमा कारोबार गर्न मद्दत पुर्याउनेछन् । बैंकको लक्ष्य सबै सेवाहरूलाई अझ डिजिटल, सुरक्षित र प्रयोगमैत्री बनाउने रहेको छ । वृद्धिदर गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरूले ७० वटा नयाँ एटीएम सञ्चालनमा ल्याउँदा सिद्धार्थ बैंकले पनि २ वटा थपेर आफ्नो सेवा पहुँच विस्तार गरेको छ । बैंकले गत वर्ष डेबिट कार्डमा ६ प्रतिशत वृद्धि गर्दा, सिद्धार्थ बैंकले १४ प्रतिशतले वृद्धि गर्दै आफ्नो कार्ड सेवाको पहुँचलाई अझ सशक्त बनाएको छ । क्रेडिट कार्ड क्षेत्रमा पनि बैंकले समीक्षा अवधिमा ९,९१० कार्ड जारी गर्दै १९ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । प्रिपेड कार्ड प्रणालीमा बैंकको वृद्धिदर ३६ प्रतिशत पुगेको छ जबकि मोबाइल बैंकिङमा १५ प्रतिशत वृद्धिदर कायम भएको छ । सिद्धार्थ बैंकले डिजिटल भुक्तानीमा निरन्तर योगदान पुर्याउँदै आएको छ । बैंकले प्रयोगकर्तामैत्री भुक्तानी प्रणालीको विकास र नियमित अद्यावधिकमा जोड दिँदै आएको छ । ग्राहकहरूले सहज रूपमा डिजिटल सेवा प्रयोग गर्न सकून् भनेर बैंकले प्रशिक्षण, जानकारी र सिकाइका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।