विकासन्युज

रविन्द्र ढाँट बने आईजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बेस्डर

काठमाडौं । आईजेएमडी एसएस पाइप्सले म्याट्रिक्स फाइट नाइटका विजेता रवीन्द्र ढाँटलाई एम्बेस्डर नियुक्त गरेको छ। आईजेएमडी एसएस पाइप्सले आफ्नो ब्रान्ड छविलाई अझ सबल बनाउन लोकप्रिय व्यक्तित्व रविन्द्र ढाँटलाई आधिकारिक ब्रान्ड एम्बासेडरमा नियुक्त गरेको हो । चिपागढ, रुपन्देहीस्थित अत्याधुनिक प्रविधियुक्त उत्पादनबाट निरन्तर गुणस्तर र स्थायित्वमा ध्यान दिँदै आएको आईजेएमडी एसएस पाइप्स नेपालभरका ग्राहकबीच विश्वसनीय नाम बन्दै आएको छ । रविन्द्र ढाँटको जनप्रियता, सकारात्मक छवि र इमानदार व्यक्तित्वले कम्पनीको 'गुणस्तर, स्थायित्व र विश्वास' भन्ने मूल्यमान्यतालाई अझ मजबुत गर्ने विश्वास आईजेएमडी एसएस पाइप्स ले लिएको छ ।

बैतडीकी बसन्तीले झाडीमै जन्माइन् बच्चा

काठमाडौं । बैतडीमा एक अनमीले झाडीमै पुगेर सुत्केरी सेवा दिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकास्थित कटौजपानी स्वास्थ्य चौकीमा कार्यरत अनमी रमिता जोशीले पुर्चाैडी नगरपालिका- १० विजयपुरकी २२ वर्षीया बसन्ती विष्टलाई झाडीमै सुत्केरी सेवा दिएकी हुन् । बसन्तीले डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकी आउँदै गर्दा व्यथाले च्यापेर स्वास्थ्य चौकी पुग्न नसकेपछि झाडीमै बच्चालाई जन्म दिएकी थिइन् । अनमी जोशीका अनुसार बच्चाकाे ताैल ३ केजी ४ सय ग्राम रहेको छ । स्थानीयहरूका अनुसार बैतडीको विकट गाउँ दोगडाकेदार-८ स्थित कटौजपानी स्वास्थ्य चौकी ग्रामीण स्वास्थ्य सेवामा अरूभन्दा अगाडि रहेको छ । तर सञ्चार नहुँदा स्वास्थ्य सेवा पहुँचमा चुनौती थपेको छ। स्वास्थ्य चौकीले दोगडाकेदार मात्र नभई पुर्चाैडीको तल्लादेही, विजयपुर लगायतका दर्जनौं गाउँमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ ।  स्वास्थ्य चौकीका कर्मचारीहरूले कमजोर सञ्चार सञ्जाल र अपर्याप्त पूर्वाधारका कारण बिरामीको उपचार तथा अत्यावश्यक सेवा प्रवाहमा ठूलो सास्ती खेपिरहेका छन् । विशेषगरी प्रसूति तथा आकस्मिक सेवाका लागि फोन सम्पर्क गर्न नसक्दा बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूका अनुसार रातिको समयमा कुनै बिरामीलाई आकस्मिक सेवा चाहिएमा वा प्रसूति गराउनुपरेमा फोन नै लाग्दैन । सेवाग्राहीको फोन धेरैजसो ‘स्विच अफ’ हुने वा ’नेटवर्क नभएको’ सन्देश आउने गरेको गुनासो छ । दैनिक प्रशासनिक कार्य र डाटा इन्ट्रीका लागि पनि स्वास्थ्य चौकीलाई ठूलो समस्या छ । ‘डाटा इन्ट्री गर्न लाग्यो भने तल लाग्दैन, माल्लेक बजार जानुपर्ने बाध्यता छ । पानी परेको बेलामा त्यहाँ पनि समस्या हुन्छ, ’ अनमी जोशीले भनिन् । नेटवर्कको समस्याले गर्दा बिरामीको अवस्था बुझ्न र उनीहरूलाई समयमै स्वास्थ्य चौकीमा पुर्‍याउन निकै कठिनाइ हुने गरेको छ ।  झनै जटिल प्रकृतिका प्रसूति गराउनुपर्दाका पीडादायी अनुभव जोशीले सुनाइन् । स-साना बच्चालाई घरमै छाडेर पनि आफूहरूले चौबीसै घन्टा सेवामा खटिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !

बेइजिङ । चिनियाँ टेलिकम दिग्गज हुवावेले बिहीबार आफ्नै एसेन्ड चिप प्रयोग गरेर कृत्रिम बौद्धिकता (एआई) को लागि नयाँ कम्प्युटिङ प्रणाली सार्वजनिक गरेको छ । सार्वजनिक चिपले अमेरिकी प्रतिद्वन्द्वी एनभीडीयामाथि दबाब बढाएको छ । हुवावेले आफ्नो नयाँ ‘एटलस ९५० सुपरक्लस्टर’ आगामी वर्षमै सार्वजनिक गर्ने योजना बनाएको छ । ‘प्रतिस्पर्धा निर्विवाद रूपमा आइसकेको छ र यसको गति बढिरहेको छ,’ एनभीडीयाका प्रवक्ताले सीएनबीसीसँगको एक विज्ञप्तिमा भने, ‘ग्राहकहरूले विश्वका सबैभन्दा लोकप्रिय व्यावसायिक एप्लिकेसन र ओपन–सोर्स मोडेलहरू चलाउन सबैभन्दा राम्रो प्रविधि स्ट्याक छनोट गर्नेछन् ।’ संयुक्त राज्य अमेरिकाले चीनलाई एआई मोडेल सिकाउन प्रयोग हुने अत्याधुनिक सेमिकन्डक्टरहरूबाट काट्ने प्रयास गर्दै आएको छ । यसलाई सामना गर्न, चिनियाँ कम्पनीहरूले प्रायः कम कार्यक्षम तर स्वदेशमै निर्मित चिपहरूको ठूलो संख्यालाई समूहबद्ध गरेर समान कम्प्युटिङ क्षमता हासिल गर्ने रणनीति अपनाएका छन् । हुवावेले २०२८ को अन्त्यसम्म आफ्ना एसेन्ड चिपका तीन नयाँ संस्करण ल्याउने र हरेक वर्षको संस्करणमा कम्प्युटिङ क्षमता दोब्बर पार्ने लक्ष्य राखेको जनाएको छ। यी चिपहरूले हुवावेको एआई कम्प्युटिङ संरचनाको आधार तयार गर्छन्, जसमा सुपरक्लस्टर धेरै सुपरपोडहरूसँग जडित हुन्छ र ती सुपरनोडहरूबाट बनेका हुन्छन् । सुपरनोडहरू एसेन्ड चिपमा निर्मित हुन्छन् र अमेरिकी प्रतिबन्धले लगाएका प्राविधिक अवरोधलाई पार गर्न विशेष प्रणाली डिजाइन प्रयोग गरिएको हुन्छ । हुवावेका अनुसार नयाँ एटलस ९५० सुपरनोडमा ८,१९२ एसेन्ड चिपहरू जडान हुनेछन् र सम्पूर्ण एटलस ९५० सुपरक्लस्टरमा ५ लाखभन्दा बढी चिप प्रयोग गरिनेछ । आगामी २०२७ मा सार्वजनिक हुने एटलस ९६० संस्करणले प्रत्येक नोडमा १५ हजार ४८८ एसेन्ड चिपहरू समर्थन गर्नेछ । पूरा सुपरक्लस्टरमा एक मिलियनभन्दा बढी एसेन्ड चिप हुने हुवावेले दाबी गरेको छ । यी प्रणालीहरू एनभिडियाका चिपले चलाइने प्रणालीसँग कसरी तुलना गर्छन् भन्ने स्पष्ट भएको छैन । तर हुवावेले आफ्नो प्रेस विज्ञप्तिमा भनेका अनुसार यी नयाँ सुपरनोडहरू केही वर्षसम्म विश्वकै सबैभन्दा शक्तिशाली हुनेछन्। बिहीबारको भाषणमा हुवावेका उपाध्यक्ष तथा घुमाइदार अध्यक्ष एरिक सुले आफ्नो आगामी एटलस ९५० सुपरनोडले एनभिडियाको आगामी वर्ष सार्वजनिक हुने एनभीएल १४४ प्रणालीभन्दा ६.७ गुणा बढी कम्प्युटिङ शक्ति दिने दाबी गरे। उनले २०२७ मा सार्वजनिक हुने अर्को एनभिडिया प्रणालीभन्दा पनि हुवावेको उत्पादन सबै दृष्टिले अघि रहने दाबी गर्दै एटलस ९५० सुपरक्लस्टर एलन मस्कको एक्सएआई कोलोसर सुपरकम्प्युटरभन्दा १.३ गुणा बढी शक्तिशाली हुने बताए । ‘चीनको आफ्नै चिप प्रविधिमा आत्मनिर्भरता बढाउने हालैको सरकारी जोडसँग हुवावेको यो उपलब्धि समयानुकूल मेल खान्छ,’ एसिया ग्रुपका पार्टनर र डिजिटल अभ्यासका सहअध्यक्ष जर्ज चेनले भने । उनका अनुसार हुवावेले आफ्नो प्राविधिक क्षमता बढाएर देखाउने सम्भावना भए पनि ‘विश्वको एआई नेतृत्व लिन यसको महत्त्वाकांक्षा कम आँक्न मिल्दैन ।’ अनुसन्धान फर्म सेमीएनालिसिसले गत अप्रिलमा पत्ता लगाएको थियो कि हुवावेले विकास गरेको क्लाउडम्याट्रिक्स प्रणाली एनभीडीयाभन्दा राम्रो प्रदर्शन गर्न सक्षम थियो— यद्यपि प्रत्येक एसेन्ड चिपले एनभिडिया प्रोसेसरको मात्र एक–तिहाइ प्रदर्शन दिने गर्छ । हुवावेले पाँच गुणा बढी चिप प्रयोग गरेर यो लाभ प्राप्त गरेको थियो । ‘कम्प्युटिङ शक्ति एआईको लागि सधैं मुख्य कारक रहँदै आएको छ र रहिरहनेछ,’ घुमाइदार अध्यक्ष सुले बिहीबार शाङ्घाईमा सुरु भएको कम्पनीको वार्षिक हुवावे कनेक्ट कार्यक्रममा भनेका थिए । यो कार्यक्रम शनिबारसम्म चल्नेछ । यही कार्यक्रममा दुई वर्षअघि हुवावेले एटलस ९०० सुपरक्लस्टर घोषणा गरेको थियो । कम्पनी अहिले ‘एटलस ९०० एआई क्लस्टर’ बिक्री गर्छ जसमा ‘हजारौं’ एसेन्ड चिप प्रयोग गरिएको हुन्छ । हुवावेले बिहीबार जनाएअनुसार २० भन्दा बढी कम्पनीलाई ३०० प्लस एटलस ९०० एथ्री सुपरनोड तैनाथ भइसकेका छन् । एनभीडीयामाथि बढ्दो दबाब हुवावेको यो घोषणा चीनले एनभीडीयाको विकल्प विकास गर्ने प्रयासलाई अघि बढाइरहेको बेला आएको हो । यसै हप्ताको सुरुवातमा दुई देशले स्पेनमा भएको व्यापार वार्ता सकेका थिए, जसमा बाइटडान्स स्वामित्वको टिकटकको अमेरिकी सञ्चालनबारे दीर्घकालीन विवाद समाधान गर्ने बाटोबारे छलफल भएको थियो । सोमबार चीनले एनभिडियाविरुद्ध एकाधिकारसम्बन्धी जाँचलाई थप समय दिने घोषणा गरेको थियो । यसपछि अमेरिकी चिप निर्माता कम्पनीमाथि थप दबाब बढेको छ । फाइनान्सियल टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको आरटीएक्स प्रो ६००० डी  चिप परीक्षण र अर्डर रोक्न आदेश दिएको खबर सार्वजनिक गरेपछि बुधबार एनभिडियाको सेयर मूल्य २ प्रतिशतभन्दा बढी घट्यो । एनभिडियाका सीईओ जेन्सेन हुआङले यो प्रतिबन्धको खबर सुनेर आफू ‘निराश’ भएको बताए । उनले यसअघि नै हुवावेलाई ‘शक्तिशाली’ प्रतिस्पर्धी भनेका थिए । चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा  

दशैं नजिकिँदै गर्दा मुस्ताङबाट बजार झर्न थाले भेडाच्याङ्ग्रा

काठमाडौं । दशैं नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ ।  मुस्ताङबाट बेनी-जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौंलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइएको र थप एक हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिए ।  ‘दसैंका लागि काठमाडौं, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो,’ २० वर्षदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आएका श्रेष्ठले भने, ‘तातोपानी र रसुवाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङी भेडाच्याङ्ग्रामात्र झरेका छन् ।’ मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ नामग्यालबाट चार सय ६५ वटा भेडाच्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ । डोल्पाको काइके गाउँपालिका-२ सहरताराका सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर एक सय ६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताए। ‘समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि उचाइमा किसानले पालेका च्याङ्ग्रा ल्याएर बेच्न आएको हो,’ उनले भने, ‘भिर, खोल्सा, साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याएर बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो ।’  डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा बेच्न र देशका विभिन्न सहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ । मुस्ताङमा आकारअनुसार प्रतिगोटा ३२ देखि ३७ हजार रुपैयाँ मा च्याङ्ग्रा बिक्री भइरहेको छ । काठमाडौं पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार ३ सय रुपैयाँका दरले बिक्री गरिने व्यवसायी श्रेष्ठले बताए ।  मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष दसैँमा डोल्पा र जुम्लाका तीन हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाएको केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालले बताए।  चाडपर्वका अवसरमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपभोगी मानिन्छ । मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रापालनबाट जीविकोपार्जन गरेको बताए । यसपटक ५० वटा च्याङ्ग्रा बिक्री गरेको उनको भनाइ छ । मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडाच्याङ्ग्राको खपत बढी हुने गरेको छ ।  मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो ।  च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । हिउँचितुवा र ब्याँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रापालक किसानको प्रमुख चुनौती हो ।  त्यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडाच्याङ्ग्राको लागि आहराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकताभन्दा बढी हिउँ पर्दा भेडाबाख्रा आहराको अभावमा मर्ने समस्या पनि छ ।  

अलपत्र पारिएका आयोजनाकाे ठेक्का तोडिँदै, काम नगर्ने ठेकेदारको अनुहार नहेर्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् ।  तीनवटै मन्त्रालयहरूको कामकारबाहीको जानकारी लिँदै उनले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।  ‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’, मन्त्री घिसिङले भने, ‘अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस् ।’  ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं, जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन,’उनले थपे । सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।  मन्त्री घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताए । उनले बिहीबार सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस अगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिए ।  संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ को असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत रहेको छ ।  राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभिएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी रहेका छन् ।  मन्त्री घिसिङले आफ्ना कार्यालय अन्तर्गतका निकायमा हुने अनियमितता रोक्न निर्देशन दिएका छन् । मन्त्री घिसिङले अनियमितता फेला परेमा त्यसमा संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए ।  ‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डा नै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ । त्यसै अनियमितता हुने छिद्रहरूको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा संलग्नलाई छाडिने छैन,’ उनले भने ।

जेनजी आन्दोलनले यतिसम्मको विध्वंश हुन्छ भन्ने कल्पना थिएन, ताकी-ताकी गोली हान्ने आदेश थिएन’

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौ भएको जेनजी आन्दोलनमा विध्वंश हुन्छ भन्ने कल्पना पनि नगरेको धारणा राखेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो धारणा राखेका हुन् । उनले जेनजी आन्दोलनमा षड्यन्त्रकारीहरूले घूसपैठ गरी हिंसा मच्चाएको टिप्पणी पनि गरेका छन् ।  २४ गतेयता सार्वजनिक कार्यक्रममा नदेखिएका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै यस्तो धारणा राखेका हुन् ।  उनले प्रदर्शनकारीलाई ताकी ताकी गोली हान्ने आदेश सरकारले नदिएको पनि बताएका छन् ।  यस्तो छ उनको अभिव्यक्ति : दिदीबहिनी तथा दाजुभाइहरू ! आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन । यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो । संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो। गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु। हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ - नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ। यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ । तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ । हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ। हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ - सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ। मेरो सबैमा अपील छ - संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।

क्षमायाचना गर्दै विष्णु पौडेलले भने- नीति र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमा याचना गरेका छन् । संविधान दिवसका अवसरमा दिएको सन्देशमा पौडेलले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने भन्दै युवा शक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताए । उनले जेनजी आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरूमा समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्री परिषदबाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजीक्षेत्रका संरचनाहरूको पुन निर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने अपेक्षा रहेको उनको भनाइ छ । जेनजी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न उनले सरकारसँग माग राखे । उनका अनुसार जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्वोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवं सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन् । तर आन्दोलनका क्रममा भएको हत्या-हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ । ‘विगतमा नेकपा (एमाले)ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु,’ उनले भने ।

नारायणगढ-मुग्लिन सडकमा सुक्खा पहिरो खस्दा बसमा क्षति, यातायात दुईतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११:५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७:१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।  उनका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।