विकासन्युज

युक्रेनमा अलपत्र परेका दुई नेपालीको सफल उद्दार

काठमाडौं । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र  जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका  रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो । केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो।  सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरु विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरू दुवैजना काठमाडौं आइपुगेका हुन्  । दुवै जनाले गैरआवासीय नेपाली संघ र जर्मनीस्थित नेपाली दूतावासले पुर्‍याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् ।

गृह मन्त्रालयमा जेनजी हेल्प डेस्क स्थापना

काठमाडौं । गृह मन्त्रालयले  जेनजी हेल्प डेस्क स्थापना गरेको छ ।  जेनजी पुस्ताले पछिल्लो समय विभिन्न सामाजिक र राजनीतिक मुद्दामा चासो देखाउँदै सक्रियता बढाएको पृष्ठभूमिमा समाजमा हुनसक्ने सम्भावित उच्छृङ्खल गतिविधिहरूको व्यवस्थापन तथा युवाहरूका गुनासो, समस्या र सुझावहरू सुन्नका लागि डेस्कको स्थापना गरिएको हो । यस हेल्प डेस्कमार्फत नागरिकहरूले आफ्नो गुनासो, सूचना, सल्लाह वा सुझावहरू फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत मोबाइल नम्बरमा सम्पर्क गरी दिन सक्ने गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार हेल्प डेस्क स्थापनाको उद्देश्य समाजमा उत्पन्न हुनसक्ने अस्थिरता, भ्रम वा अन्यौलता चिर्नु हो । मन्त्रालयले सबैलाई जिम्मेवार र सक्रिय नागरिकका रूपमा सहभागिता जनाउँदै सूचना आदानप्रदान गर्न आग्रह गरेको बताइएको छ ।  हेल्प डेस्कमार्फत सरकार र युवाबीचको संवादलाई सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

८‍ हजार ८१६ कैदीबन्दी अझै फरार

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै, नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ ।  कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए ।  यस्तै, एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए ।  झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका उनले बताए । यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए ।      निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये ५ हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् ।  अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैं–तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।  टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरेको हो। टिवानका अध्यक्ष भीष्म न्यौपानले काठमाडौं, पोखरा, सौराहालगायतका पर्यटकीय गन्तव्यमा चाडपर्वमा जाने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए । उक्त बस टिकट खल्ती र इसेवालगायतका अनलाइन माध्यमबाट काट्न सकिने उनले बताए । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा २०० भन्दा बढी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन् ।  यस्तै, दशैंका लागि आन्तरिक उडानका अधिकांश हवाई टिकट बिक्री भइसकेका छन् । हवाई क्षेत्रको अग्रणी संस्था यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला  दशैंका लागि ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउँछन् ।  यसैगरी, यातायात व्यवसायीले भने यसवर्ष दशैंका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जेनजीको प्रदर्शनका कारण क्याम्पसहरू बन्द हुँदा अधिकांश यात्रुहरू घर गइसकेकाले अग्रिम टिकट बुकिङ नखोलिएको बताए । अध्यक्ष स्वाँरले पाँच दिनपछि जाने यात्रुका लागि पाँच दिन अगाडि नै टिकट काट्ने व्यवस्था अहिले पनि कायमै रहेकाले अग्रिम टिकट लिनसमेत यात्रुलाई आग्रह गरे । दशैंका लागि भनेर अग्रिम टिकट बुकिङ खुला नगरेको उनको भनाइ थियो । सरकारले दशैं–तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।   नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।  लगातारको वर्षाका कारण दाउन्नेको पैंसठ्ठी मोड नजिकै माथिबाट पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले बताए ।  लगातारको वर्षाले गत बुधबार बिहानदेखि एकतर्फी भएको दाउन्ने खण्ड आज दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध भएको उनले जानकारी दिए । 'हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सक्ने अवस्था थिएन, हिलो बाटोमा ट्रक फसेर समस्या हुने गरेको छ, अहिले दिउँसो पहिरो झरेपछि सडक पूर्ण अवरुद्ध भएको हो,’ उनले भने । दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवनको पुनःनिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।  दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू गर्न कठिनाइ भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य काम गर्न आर्थिक सहयोग गरिएको हो ।  यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनःनिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास बैंकले लिएको छ ।  बैंकको लेकसाइड शाखाबाहेक १०२ शाखा कार्यालयहरू हाल सञ्चालनमा रहेका छन् ।

दावी भुक्तानी प्रक्रिया शीघ्रताका साथ अघि बढाइने निर्जीवन बीमा संघको प्रतिबद्धता

काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले देशभर जारी आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।  संघले बीमा गरिएका सवारीसाधन र भौतिक संरचनामा परेको वास्तविक क्षतिको विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन आग्रह पनि गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्वको पालना गर्दै बीमितको क्षतिपूर्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको उल्लेख छ।   बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी दावी भुक्तानी प्रक्रियालाई शीघ्र पूरा गर्ने योजना संघले स्पष्ट पारेको छ । विज्ञप्तिमा बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू छिटो बुझाएर प्रक्रिया सहज बनाउन सहयोग गर्न अपिल गरिएको छ । संघले बीमा कम्पनीहरूलाई दावी भुक्तानी प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ। त्यसैगरी, संघले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको छ । ‘आन्दोलनबाट भएको ठूलो क्षतिको ५० प्रतिशत रकम एडभान्स दिन्छौं, अनलाइनबाट पनि दाबी गर्न मिल्छ’ {अन्तर्वार्ता}  

चीनको अर्थतन्त्र संकटमाः निर्यात र लगानीमा तीव्र गिरावट

काठमाडौं । चीन संसारको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र हो । यसलाई विगत दुई दशकदेखि ग्लोबल वृद्धि (विश्वव्यापी आर्थिक वृद्धिको) इन्जिनको रूपमा रहेको छ । तर पछिल्ला वर्षहरूमा चीनको अर्थतन्त्र विभिन्न मोर्चामा संघर्ष गरिरहेको छ।  सरकारले जतिसुकै प्रयास गरे पनि अर्थतन्त्र सही ट्र्याकमा फर्किएको छैन । अमेरिकासँगको व्यापार युद्धले यसको समस्या अझ बढाएको छ । यसको कारण यो हो कि अमेरिका चीनको सबैभन्दा ठूलो निर्यात बजार हो ।  ट्यारिफले गर्दा अगस्ट महिनामा चीनबाट अमेरिकामा भएको निर्यातमा ३३ प्रतिशतले गिरावट आएको छ । यसबीच चीनमा स्थायी लगानी (फिक्स्ड इनभेस्टमेन्ट) यस वर्षको पहिलो ८ महिनामा मात्र ०.५ प्रतिशत बढेको छ, जुन महामारीको अवस्थालाई छोडेर इतिहासमा सबैभन्दा कम हो ।  यसैगरी, सम्पत्ति लगानीमा पनि १२.९ प्रतिशत गिरावट आएको छ, जुन पछिल्ला २५ वर्षमा सबैभन्दा बढी हो । चीनको रियल इस्टेट क्षेत्र लामो समयदेखि संकटमा छ ।  सरकारले जतिसुकै प्रयास गरे पनि यो संकट गहिरिँदै गएको छ। रियल इस्टेट क्षेत्र चीनको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको भएकाले यसले पुरै अर्थतन्त्र डुब्ने जोखिम सिर्जना गरेको छ। साथै, अगस्ट महिनामा चीनमा उद्योग उत्पादन (इन्डस्ट्रियल प्रोडक्सन) ५.२ प्रतिशतले मात्र बढेको छ, जुन अगस्त २०२४ पछि सबैभन्दा कम हो ।  यसैगरी, खुद्रा बिक्री पनि लगातार तेस्रो महिनामा घटेको छ । अगस्टमा यो ३.४ प्रतिशतमा सीमित रह्यो, जुन यस वर्षको सबैभन्दा कम हो ।  त्यस्तै, क्रेडिट वृद्धिमा २०२५ मा पहिलोपटक गिरावट देखिएको छ ।