अब सहिद दिवस र राम नवमीमा पनि सार्वजनिक बिदा हुने
काठमाडौं । सरकारले आगामी वर्षदेखि सहिद दिवस र राम नवमीमा पनि सार्वजनिक बिदा दिने भएको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरिषद्को निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो बताएकी हुन् । यससँगै अब वि.सं. २०८१ सालमा उक्त दुई दिन पनि सार्वजनिक बिदा हुने भएको छ । विसं २०८१ सालमा दिइने सार्वजिनक बिदा तथा कार्यालय समय निर्धारण गर्दै सरकारले साविकको सार्वजनिक बिदामा सहिद दिवस र राम नवमीका दिन बिदा थप भएको मन्त्री शर्माले जानकारी दिइन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरु सरकारले रद्द गर्यो ६ वटा नेपाली नागरिकता, निर्धारण भयो सार्वजनिक बिदा र कार्यालय समय
सरकारले रद्द गर्यो ६ वटा नेपाली नागरिकता, निर्धारण भयो सार्वजनिक बिदा र कार्यालय समय
काठमाडौं । सरकारले झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट जारी ६ वटा नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरिषद्को निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजहरुलाई नेपाली नागरिकबाट हटाइएको बताएकी हुन् । बैठकले नेपाल-चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको छ । नेपाल विशेष सेवाको गठन, सञ्चालन र सेवाको शर्तहरु व्यवस्था गर्नेसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कुल जनसङ्ख्याको शून्य दशमवल ५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको उनले जानकारी दिइन् । गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवं प्रिन्टिङ सल्लाहकार पदमा नुवाकोट सूर्यगढी गाउँपालिका–२ का रामकृष्ण अधिकारी र कानुनी सल्लाहकारमा दाङको घोराही उपमहानगरपालिका–१७ का सुशीला चौधरीलाई दुई वर्षका लागि नियुक्त गरिएको सरकारका प्रवक्ता शर्माले बताइन् । बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८०, अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९, बालबालिका नीति, २०७९, राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७ को कार्यान्वयन कार्ययोजना, २०८०, संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८० र राष्ट्रिय स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय निर्देशिका, २०८० स्वीकृत गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने बैठकको निर्णय छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदूत तोक्ने र नेपाली सेनाका दुई सहायक रथीलाई उपरथी र नौ महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने तथा काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणका लागि संलग्न सर्तको पालना गर्नेगरी मकवानपुर र बाराको राष्ट्रिय वनको कुल जम्मा ४० दशमवल १९ हेक्टर जग्गा प्रयोग गर्न र सो वनमा रहेका चारहजार तीन सय ४५ वटा रुखरपोल कटान गर्न स्वीकृति दिने बैठकको निर्णय छ । बैठकले साञ्जेन खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन आयोजनाको टावर र ‘राइट अफ वे’ निर्माणका लागि रसुवाको राष्ट्रिय वन क्षेत्रको कुल १० दशमवल १३ हेक्टर जग्गा २४ वर्षसम्म प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका एक हजार दुई सय १४ वटा रुख हटाउन स्वीकृति दिएको छ । सरकारले स्वप्न बगौँचा विकास समितिको सदस्यमा पर्यटन तथा वातावरण क्षेत्रमा विशेष योगदान पुर्याएका श्रृजना (मल्ल) राणा र जग्गादातामध्येबाट लोकभक्त शम्शेर जबरलाई मनोनयन गरेको छ । बैठकले विसं २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ । साविकको सार्वजनिक बिदामा सहिद दिवस र राम नवमीका दिन बिदा थप भएको मन्त्री शर्माले जानकारी दिइन् ।
मिटरब्याजी हिसाबले बक्यौता आयो, उद्योग बेचे पनि तिर्न सकिँदैन : अध्यक्ष थापा
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता मिटरब्याजी हिसाबले आएको बताएका छन् । उनले प्राधिकरणबाट मिटरब्याजी हिसाबले आएको बिल उद्योगीले तिर्न नसक्ने बताएका हुन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौताको विषयलाई छिटै टुङ्गाएर उद्योग सञ्चालनको लागि सहजीकरणको वातावरण मिलाउनु पर्ने उनको भनाइ छ । ‘भक्त बहादुर पुनको पहिला ४ अर्ब रुपैयाँ देखाएकोमा पछि ६ अर्ब हुँदै २२ अर्ब हुँदै गएर चार गुणा हुन लागि सकेको छ । ब्याजको ब्याज, ब्याजको स्याज जोडिएर आएको बिल मिटर ब्याजको भन्दा पनि छ खण्ड भयो,’ उनले भने । प्राधिकरणले लाइन काटेपछि उद्योग सञ्चालन गर्न समस्या भएको उद्योगीहरूले बताउँदै आएका छन् । ‘महँगो बिलको रकम उद्योगीले अहिलेसम्म बुझाएका छैनन्,’ उनले विकासन्युजसँग भने, ‘उद्योग नै बेच्दा पनि प्राधिकरणको बिल तिर्न नसक्ने अवस्था छ, कसरी तिर्ने ?’ विद्युत् प्रयोग गरेको महसुल बुझाउन व्यवसायीहरू तयार रहेको पनि उनको भनाइ छ । उनले प्राधिकरणले यो समय यति तिरेको, यति तिर्न बाँकी भनेर व्यवसायीलाई स्पष्ट पारे उद्योगीले बक्यौता रकम तिर्ने बताए । ‘कसैले विद्युत् चलाएका होलान् कसैले नचलाएका होलान् त्यो म भन्न सक्दिन, त्यो प्रमाण हेरपछि मात्र थाहा हुने विषय भयो, विद्युत् नचलाएको व्यवसायीलाई यति तिर्नु पर्यो भन्दा कसरी तिर्ने ? त्यो तिर्न सक्दैनन्, त्यसैले विद्युत् चलाएको बाँकी बक्यौता तिर्छौं भनेर उद्योगीले भनी रहेका छन्,’ उनले भने । बक्यौता रकम तिर्न परेको खण्डमा व्यवसायीहरू रकम बुझाउन तयार रहेको उनको धारणा छ । यस्तै, उनले प्राधिकरणले उद्योगको बिजुली काटेकै कारण निर्माण सामग्रीमा मूल्य वृद्धि नभएको पनि बताए । ‘उद्योगीले सिमेन्ट बिक्री नभएपछि प्रतिबोरो १००/१५० रुपैयाँसम्म घाटा खाएर पनि बेचेका छन्, तर अहिले सिमेन्टको माग बढेको कारण कसैले २०/३० रुपैयाँ बढाएको होला, तर उद्योगमा लाइट काटेकै भएर सिमेन्टको मूल्य बृद्धि भएको छैन,’ उनले भने । निर्माणको सिजन भएकाले सिमेन्टको माग बढेको र मूल्य सामान्य वृद्धि हुनु स्वभाविक रहेको उनको भनाइ छ । प्राधिकरणले बक्यौता नतिर्ने जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल र सोनापुर मिनरल्स एन्ड आयल उद्योगको लाइन काटिदिएको छ । बक्यौता नबुझाउने उद्योगहरूको क्रमिक रूपले लाइन काट्दै जाने भन्दै प्राधिकरणले बक्यौता रकम तिर्न उद्योगीलाई ताकेता गरिरहेको छ ।
मन्त्रीको गाडी जलाइनु अराजकता : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन् । शुक्रबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरुबाट जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन् । उनले घटनामा मानिसहरुको मृत्यु समेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद् भएको बताइन् । उनले यसप्रकारको अराजकतालाई कसैले पनि प्रश्रय दिनु नहुने बताइन् । उनले आफ्ना असन्तुष्टिहरु शान्तिपूर्ण राख्न पाउने सबैको अधिकार भएको भन्दै आफ्ना कुराहरु राख्ने सही बाटो यस्तो नभएको बताइन् । ‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरुको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यु काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ । त्यसको यथार्थ विवरण आउन बाँकी छ । यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला । तर जे घटना भयो त्यो गलत भयो । त्यो दुःखद् भयो । त्यस्तो गर्नु हुँदैन । आफ्ना असन्तुष्टिहरु, आफ्ना कुराहरु, आफ्ना विषयहरु शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ । त्यो राख्नुपर्छ । सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइन्छ । तर त्यसको आफ्नो तरिका हुन्छ । जुन ढंगले यो घटना घटाइयो यसमा दुःख व्यक्त गर्न चाहन्छु । यो अराजकता हो । अराजकता फैलाउने, प्रश्रय दिने काम कसैले गर्नुहुँदैन । यो गलत भएको छ । यसमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने नै छ । सरकारले यसमा आवश्यक पहलकदमी लिन्छ ।’ उनले भनिन् । उनले सो घटनाको सम्बन्धमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने बताइन् ।
४६ प्रतिशतले घट्यो जगदम्बा सिमेन्टको आम्दानी
काठमाडौं । नेपाली बजारमा सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको जगदम्बा सिमेन्ट इन्डष्ट्रीको आम्दानी ४६.०४ प्रतिशतले घटेको छ । कम्पनीको आम्दानी आर्थिक वर्ष २०२२ को तुलनामा २०२३ मा सो मात्राले घटेको हो । आर्थिक वर्ष २०२२ मा २ अर्ब ६८ करोड २० लाख रुपैयाँ बराबरको आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०२३ मा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०१९ मा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ७९ करोड ४० लाख रुपैयाँ थियो । त्यस्तै, आर्थिक वर्ष २०२३ मा कम्पनीको कूल ऋण तीन गुणा छ । २०२२ मा यस्तो ऋण २.२ गुणा थियो । समीक्षा अवधिमा कम्पनीको नेट वर्किङ्ग क्यापिटल बढेर ५० प्रतिशत पुगेको छ । जुन २०२२ मा ३३ प्रतिशत थियो । २००१ मा भैरहवामा स्थापना भएको कम्पनील हाल सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गर्दै आएको कम्पनीले दैनिक एक हजार टन गान्डिङ्ग सिमेन्ट उत्पादन गर्छ । शंकर ग्रुप र शौरभ ग्रुपको संयुक्त लगानी रहेको यस कम्पनीमा हाल ७ जनाको स्वामित्व छ । कम्पनीले एक अर्ब २३ करोड ८० लाख रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये इक्रा नेपालले ७६ करोड ९० लाख रुपैयाँ बराबरको कर्जाको लागि एलबीबी प्लस र बाँकी ४६ करोड ९० लाख रुपैयाँ कर्जाको लागि एफोर रेटिङ्ग पुनः पुष्टि गरिदिएको छ । यसअघि कम्पनीले एक अर्ब ४५ करोड ३० लाख रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ्ग गराएको इक्रा नेपालले जानकारी गराएको थियो ।
रोजगार मागेका युवाहरूलाई सरकारको गोली उपहार
काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन उत्रिएका मध्ये २ जना युुवाले आज ज्यान गुमाएका छन् । ललितपुरको ग्वार्कोस्थित ईपिएस शाखा कार्यालयमा ईपिएस भाषा परीक्षाको लागि फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा बिरेन्द्र शाह र सुजन राउत शुक्रबार काठमाडौंमा नै अस्ताए । बल प्रयोग र गोली प्रहारको क्रममा सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको हो । सुजन राउतको छातीमा ठूलो निलडाम देखिएको छ भने शाह गोली लागेर घाइते भएका थिए । काम दिन नसकेको सरकारसँग कोरिया जानका लागि फर्म भर्न माग गर्दा उनीहरू गोली उपहार लिएर देशमा भएको कहालिलाग्दो बेरोजगारको शिकार भएका हुन् । किन भयो विवाद ? देशभित्र रोजगारीको वातावरण नभएपछि दशकौं देखि नेपालीहरूको रोजगारको गन्तव्य विश्वका विभिन्न मुलुक बनेका छन् । जसमध्ये अधिकांश देशमा नेपाली युवाहरू कामदार, विद्यार्थी र भिजिट भिसाको नाममा व्यक्तिगत पहलबाट नै जाने गरेका छन् । त्यसमध्ये दक्षिण कोरियामा भने सरकारको द्वीपक्षीय सम्झौताअनुसार इपिएस भाषा परिक्षा उत्तिर्ण भएर विभिन्न शीर्षकका काममा नेपाली युवाहरू रोजगारका निम्ति जान्छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको इपिएस शाखाले भाषा परीक्षाको लागि गत मंसिर १९ गते निकालेको सूचनामा अन्य क्षेत्रको लागि कोरियन भाषा परीक्षामा सहभागी भएकाहरुले परीक्षा फर्म भर्न नपाउने सूचना प्रकाशित गरेको थियो । सन् २०२३ मा पानी जहाज निर्माण कम्पनीका लागि पनि आवेदन खुलेको थियो। इपिएस शाखाका अनुसार त्यसमा ३५ हजार ७०८ जनाको आवेदन गरेका थिए । जसको लागि भएको भाषा तथा सीप परीक्षामा तीन हजार ९८९ जना उत्तीर्ण भएका थिए । तर, पानी जहाज कम्पनीका लागि आवेदन दिएर परीक्षामा फेल भएकामध्ये १८ जना युवाहरुले पाटन उच्च अदालतमा निवेदन दिएर आफूहरु पनि परीक्षामा सहभागी हुन पाउनुपर्ने आदेशको लागि निवेदन गरे । पाटन उच्च अदालतले ती युवाहरुलाई फारम भर्न सहभागी गराउन पुस ५ गते आदेश जारी गर्यो । सोही अनुसार शुक्रबार इपिएस कोरिया शाखाले १८ जनाको लागि फर्म भर्न सूचना प्रकाशित गरेर बोलाएको थियो । उच्च अदालतले सीमित निवेदकहरुलाई मात्रै फर्म भर्ने अवसर दिएपछि हजारौंको संख्यामा युवाहरु बिहीबार बिहानैदेखि ग्वार्को कार्यालय पुगेर आफूहरुले पनि भाषा परीक्षाको लागि फर्म भर्न पाउनुपर्ने माग गरे । युवाहरुको धर्नालाई हटाउन प्रहरीले शुरु गरेको बल प्रयोगले नै २ जना युवाको ज्यान जाने अवस्थाको सिर्जना हुने वातावरणको शुरुवात भएको हो । इपिएस कार्यालयमा धर्नामा पुगेका युवाहरुलाई प्रहरीले तितरवितर पार्दा उनीहरु ग्वार्कोको सडकसम्म पुगेका थिए । त्यहीबेलामा ग्वार्कोको सडकमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीलाई नियन्त्रणमा लिएर आक्रोशित युवाहरुले आगजनी गरे । मन्त्रीको गाडीमा आगजनी गरिसकेपछि प्रहरी र युवाहरुबीचको भएको झडपमा प्रहरीले शुरुमा अश्रुग्यास र त्यसपछि गोली प्रहार गर्यो । ५० भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गर्यो । युवाहरू मारिएपछि अदालतको नयाँ आदेश फर्म भर्न पाउनुपर्ने भन्दै युवाहरू मारिएपछि पाटन उच्च अदालतले शुक्रबार फेरि अर्को आदेश जारी गरेर सबैलाई परीक्षा फर्ममा सहभागी गराउन भनेको छ । ग्वार्कोमा भएको झडपलाई लिएर सरकारको चौतर्फी आलोचना भएपछि भौतिक पूर्वाधार मन्त्रीले झडपमा आफ्नो संलग्नता नभएको बताएका छन् । गृह मन्त्रालयले घट्नाको छानबिनको लागि ३ सदस्यीय समिति बनाएको छ ।
डिशहोममा सुपरहिट चलचित्र नाई नभन्नु ल ६ प्रदर्शनमा
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एकस्कुसिप प्रदर्शन भइरहेको छ । विभिन्न कारणबस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले आँचल शर्मा, आशिर्वाद बि क्षेत्री, सरोज खनाल, प्रियङ्का कार्की आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र नाई नभन्नु ल ६ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा पौष १३ गते देखि प्रदर्शन हुन गई रहेको छ । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिने कम्पनीको भनाइ छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ । डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।
गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी
काठमाडौं । अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपैयाँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो । गत वर्ष पनि यसप्रकारको योजना कम्पनीले ल्याएको र चालकहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार अभियान सञ्चालन गरिएको कम्पनीेका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरणिकले बताए । अशोक लेल्यान्डका लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका गाडीहरुमा यो योजना लागु गरिएको छ । यो योजना अन्तर्गत ८० प्रतिशतसम्म बिना धितो कर्जा शुलभ ब्याजदरमा उपलब्ध हुनेछ । पाँच वर्षको वारेन्टी सुविधा पनि उपलब्ध छ । शक्तिशाली डिजेन इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । माइलेज पनि राम्रो रहेकाले दोस्तका ग्राहकहरु लाभान्वित हुने कम्पनीले जनाएको छ । अरुको गाडी चलाइरहेका गुरुजीलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने कम्पनीको विश्वास छ । अशोक लेल्यान्डका शाखाहरुबाट योजनाका बारेमा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।