चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
सिरहा । चुरे तथा वन क्षेत्रमा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ । यही पुस ७ गते कर्जन्हा–१ बल्टियास्थित चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैधरूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीका अनुसार पक्राउ परेका अध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । यसै मुद्दामा बिहीबार डिभिजन वन कार्यालयले कर्जन्हा–७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पुस ७ गते वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान डोजरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पनि वन कार्यालयले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । उनीहररूविरुद्ध चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए ।
बालकुमारी घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख दिने
काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको ग्वार्को–बालकुमारी घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ। बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०–१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । शुक्रबार कोरियाली भाषा परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।
५ सय भारु लगानीमा जन्मिएको रिलायन्स ग्रुप
काठमाडौं । भारतको सबैभन्दा ठूलो व्यावसायिक घराना हो रिलायन्स ग्रुप । यो संसारका विशाल व्यापारिक समूहको सूचीमा पर्छ । यो ग्रुपका प्रमुख सञ्चालक मुकेश अम्बानी अहिले संसारका धनीमध्ये एक हुन् । उनी एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुन् । उनको रिलायन्स ग्रुप जम्मा ५ सय भारु बीउ पुँजीबाट स्थापना भएको थियो भन्दा अचम्म लाग्छ । जसलाई मुकेशका बुबा धीरुभाइ अम्बानीले आफूसँग भएको त्यही ५ सय रुपैयाँबाट स्थापना गरेका थिए । यो सत्यकथा उनै धीरुभाइ अम्बानीको हो । धीरुभाइ अम्बानीको जन्म २८ डिसेम्बर १९३२ मा गुजरातको एउटा सानो सहरमा भएको थियो । बुबा शिक्षक र आमा गृहिणी थिए। दुई कोठाको घरमा पाँच दाजुभाइसहित पूरै परिवार बस्थे । परिवारलाई सहयोग गर्न बाल्यकालदेखि नै काम गर्न थालेका थिए धीरुभाइले । उनले ठेलामा गांठिया बेच्न थाले र त्यसबाट आफूले कमाएको थोरै पैसा आफ्नी आमालाई दिए । १० कक्षा पास गरेपछि उनी आफ्नो भाइ रमणीकलालसँग यमन गए । त्यहाँ उनले पेट्रोल पम्पमा काम गर्न थाले । पूरा दिन काम गरेवापत उनले ३ सय रुपैयाँ तलब पाउँथे । त्यो जागिरमा उनलाई रुचि लागेन । उनी आफ्नै व्यापार गर्न चाहन्थे । यही सोचेर भारत फर्किए । बचतको नाममा उनीसँग जम्मा ५ सय रुपैयाँ थियो, जसलाई लिएर उनी मुम्बई पुगे । उनले आफ्ना भाइ चम्पकलाल दिमानीसँग मिलेर रिलायन्स कमर्सियल कर्पोरेशन कम्पनी खोले । यही कम्पनीको सहयोगमा उनी अदुवा, बेसार र अन्य मसला पश्चिमी मुलुकमा बेच्ने गर्दथे । धीरुभइलाई बजार र मागको राम्रो ज्ञान थियो । आगामी दिनमा पोलिस्टर कपडाको माग बढ्ने उनको बुझाइ थियो । उनले त्यसमा पनि जोड दिन थाले । धीरुभाइले मुम्बईमा ३ सय ५० वर्गफिटको कोठा भाडामा लिएका थिए । कार्यालयमा एउटा टेबुल र तीनवटा कुर्सीबाहेक केही थिएन । यही सानो कोठाबाट उनले रिलायन्स इन्डस्ट्रिजको यात्रा सुरु गरे । मसलासँगै पोलिस्टर कपडा बनाउने काम पनि सुरु गरे । सन् १९६६ मा उनले गुजरातको अहमदाबादमा टेक्सटाइल मिल सुरु गरे। जसको नाम रिलायन्स टेक्सटाइल थियो । बिस्तारै उनले व्यवसाय विस्तार गर्न थाले । धीरुभाइलाई व्यापारको हरेक चाल थाहा थियो। एकपटक उनले अरब देशका शेखलाई भारतीय माटो बेचेर पैसा कमाए । वास्तवमा शेखले आफ्नो बगैंचामा गुलाब उब्जाउनुपर्ने थियो, जसका लागि उनलाई उर्वर माटो चाहिन्थ्यो। धीरुभाइले आफ्ना सम्पर्कहरूमार्फत भारतबाट माटो अरब शेखलाई पठाएका थिए। बदलामा शेखले उसलाई मनपर्ने मूल्य दिए। धीरुभाइ अम्बानीको व्यापार बढ्न थाल्यो । कपडा क्षेत्रमा कम्पनीको ठूलो नाम बन्न थाल्यो । कम्पनी कपडाबाहेक दूरसञ्चार, दूरसञ्चार सूचना, ऊर्जा, विद्युत्, खुद्रा बिक्री, पूर्वाधार, पुँजीबजार र खाद्यान्न क्षेत्रमा विस्तार भइसकेको थियो । धीरुभाइले स्वतन्त्र भारतको पहिलो आईपीओ सुरु गर्ने निर्णय गरे । त्यसबेला १० रुपैयाँमा २८ लाख कित्ताको आइपीओ निष्कासन भएको थियो । त्यतिबेला यो सेयर सात गुणा ओभरसब्सक्राइब भएको थियो । धीरुभाइ अम्बानी एक प्रतिभाशाली टोली नेता थिए । आफ्नो कार्यतालिका जतिसुकै व्यस्त भए पनि कर्मचारीलाई भेट्ने, समस्या सुन्ने र समाधान गर्ने गर्थे । उनले शून्यबाट पनि उचाइमा पुग्न सकिन्छ भन्ने प्रमाणित गरे । आज उनका छोराहरू मुकेश अम्बानी र अनिल अम्बानीले रिलायन्सको व्यापारलाई अगाडि बढाइरहेका छन् । एजेन्सी
ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र
खोटाङ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो । भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्ने गरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । पटकपटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन । उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए । अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर अन्तिम पटक ताकेतापत्र पठाइएको प्रमुख कर्णले जानकारी दिए । गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का पाएको हो ।
उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दाबी
इजरायल । उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकू समूह (हमास) का लडाकूहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच , भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ । हालैका हप्ताहरूमा, १६२औं डिभिजनको कमान्डमा १४औं रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजा पट्टीमा हमास आतंकवादी संगठनका नेता याह्या सिनवारको गोप्य बासस्थान (अपार्टमेन्ट) फेला पारी नष्ट गरेको छ । उक्त अपार्टमेन्ट उत्तरी गाजा पट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षा बलले जनाएको छ । रक्षा बलका अनुसार, याहलोम युनिटका सैनिकहरूले थप प्राविधिक साधनहरू प्रयोग गरेर अपार्टमेन्टको खोजी गरेका थिए । अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरूङ मार्ग रहेको थियो । सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने गरेको बताइएको छ । यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो । यसमा हमासका वरिष्ठ अधिकारीहरू सरेका थिए र सञ्चालन गरेका थिए । उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरूङ बनाई आफ्ना रणनीतिक कामहरू गर्दै आएको, इजरायली रक्षा बलले जनाएको छ । सुरुङभित्र विद्युतीय सञ्जाल, भेन्टिलेसन र ढल निकास पूर्वाधार, लुकेको सामग्री, प्रार्थना कक्ष र विश्राम कक्षहरू फेला पारेका थिए । सुरूङभित्र रहन र लामो समयसम्म यसबाट युद्ध गर्न सम्भव हुनेगरी निर्माण गरिएको थियो । इजरायली सेनाले याहलोम युनिटका सैनिकहरूले सुरुङलाई नष्ट गरेका छन् । रक्षा बलले याहलोम युनिटका सैनिकहरूले सुरुङको मार्ग पत्ता लगाएको र सुरूङभित्र सुरक्षा जाँचसमेत गरेको फुटेज साझा गरेको छ । सेनाले हमासको मुख्यालय क्षेत्रमा सुरुङहरू भत्काएको फुटेज पनि साझा गरेको छ । गुप्तचर सूचनाको आधारमा लडाकूहरूले हमास आतङ्कवादी सङ्गठनका कार्यकर्ताहरूको दर्जनौं घरहरूमा छापा मारेका र त्यहाँ फेला पारेका विस्फोटक पदार्थहरू नष्ट गरेका छन् । एजेन्सी
बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी गर्दै गैँडाकोटका किसान
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट पाँच लाख रूपैयाँ आम्दानी गर्ने गरेका छन् । रिजालले भने, ‘हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ ।’ रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आएका उनले हिउँदे मकै बिक्री गरी एउटा याममा चार लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्न थालेका छन् । ‘बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ,’ उनले भने, ‘हरियो मकैको प्रतिघोगा पाँच रूपैयाँदेखि दश रूपैयाँका दरले तथा सुक्खा प्रतिक्विन्टल तीन हजार रूपैयाँका दरले बिक्री हुने गरेको छ।’ बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकैमात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकैखेती गर्दै आएको गैँडाकोटकै सरस्वती सापकोटाले बताए। व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने उनले बताए। हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुनेगरेको सडक किनारमा मकै पोलेर बेच्दै आएकी स्थानीय सावित्री शर्माले बताइन्। ‘प्रतिघोगा पाँच रूपैयाँदेखि दश रूपैयाँमा खरिद गरेर २० देखि २५ रूपैयाँमा पोलेको मकै बिक्री हुने गरेको छ,’ उनले भनिन्। गैँडाकोट नगरपालिकाका किसान बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा बिक्रीका लागि पठाउने गरिएको छ। जिल्ला बाहिर नारायणघाट, बुटवल, काठमाडौं, पोखरालगायत मुख्य सहरमा मकै बिक्री गर्न लैजाने गरेको स्थानीयले बताएका छन्। गैँडाकोट–६, ७ र ८ वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले बताए। ‘गैँडाकोट–५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुने गरेको छ, बाह्रैमास मकै उत्पादन हुनेभएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित भएका छन्,’ उनले भने। गैँडाकोट नगरपालिकाभित्र ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ । प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको शर्माले बताए । ‘आर्थिक वर्ष २०७८र७९ मा प्रतिहेक्टर तीनसय ५० मेट्रिक टन उत्पादन भएको थियो,’ उनले भने, ‘आव २०७९र८० मा एक सय १२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चार सय ६२ मेट्रिक टन मकै उत्पान भएको छ ।’ गैँडाकोटमा बर्खे मकै सात हजार तीनसय ३३ हेक्टर क्षेत्रफलमा लगाइएको तथ्यांक छ। हिउँदको समयमा लगाएको हरियो मकै मात्र तीन करोड रूपैयाँ बढीको गैँडाकोट क्षेत्रबाट बिक्री हुने गरेको शाखा प्रमुख शर्माले जानकारी दिए। रासस
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम आयोजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । यही पौष १७ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पुरा भई १७औं वर्षमा प्रवेश गर्दैछ । काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लाकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर मुख्यमुख्य शहरहरू परिक्रमा गरेका थिए । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
संघीय ऐनलाई टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक संघीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले संघीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान संघीयताको कार्यान्वयनमा केन्द्रित भएको बताए । उनले भने, ‘तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति संघर्ष गरेको थिएँ, त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको छु, नेतृत्व लिएको छु, त्यसैले संघीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो ।’ उनले संघीय संसदमा सहभागी सबै दललाई पनि सहमत गराएर संघीयतालाई कायान्वयन गर्न खोज्दा केही समय लागेको बताए । ‘वर्तमान सरकारले संघीय निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐनलगायत संघीयता कार्यान्वयनसम्बन्धी ऐन निर्माणका लागि द्रुत गतिका साथ काम गरिरहेको यहाँहरूलाई जानकारी नै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘विधेयकहरू प्रस्तुत पनि भइसकेका छन्, अब छलफलको माध्यमबाट त्यसलाई निष्कर्षमा लैजान बाँकी छ । शीर्ष तहमा छलफल गरेर त्यसलाई टुङ्गो लगाउन थप पहल गर्नेछु ।’ त्यस अवसरमा सातै प्रदेशका मुख्यमन्त्रीले संविधानले व्यवस्था गरेका संघीय अधिकार कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्रीहरूले नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूची प्रयोगको व्यवस्था मिलाउन तथा गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारको प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नेपाल सरकार, संघीय संसद र राजनीतिक दलको साझा दायित्व भएकामा जोड दिँदै मुख्यमन्त्रीहरूले राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीले समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।