अङ्ग्रेजी नयाँ वर्षमा भक्तपुरका पर्यटकीयस्थलमा चहलपहल
भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । नगरकोटदेखि रानीकोटसम्मका होटल बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ छन् । पर्यटक खचाखच भएपछि यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको आगमन बढेपछि लयमा फर्किएको छ । अङ्ग्रेजी नयाँ वर्र्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटक नगरकोट पुगका छन् । आइतबार राति बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । लामो समय ओरालो लागेको पर्यटन व्यवसायमा दुई वर्षयता चहलपहल बढेको र यस वर्षको अङ्ग्रेजी नयाँ वर्र्षमा भने पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालक अशोक थापा बताउँछन् । उनले भने, ‘विदेशी पर्यटकको चाप पनि बढ्दै गएको छ, स्वदेशी पर्यटकको चाप ह्वात्तै बढेको छ ।’ सामान्यदेखि तारे होटलमा नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप निकै बढेपछि व्यवसायी उत्साहित भएका छन् । स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका होटल मेरीगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउँछन् । उनी भन्छन्, ‘कोरोनापछि पहिलोपटक यतिधेरै पर्यटक आएका छन् ।’ चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्वसचिव धनबहादुर लामाले नयाँ वर्षमा आन्तरिक पर्यटक नै बढी मात्रामा घुम्न आएका बताए । उनले भने,’एकसाता अगाडिदेखि होटल बुक भएका थिए, कोठा नै नपाउने अवस्था आयो, नेपालीमा पनि घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छौँ ।’ चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताए । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा यस वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । उनले नगरकोटदेखि चाँगुनारायण मन्दिरको प्रचारप्रसार गर्न भ्रमण वर्ष मनाउन लागिएको बताए । सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नं ८ सिपाडोलको संगमस्थल रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँ पर्यटकले रातभरि नाचगान गरी नयाँ वर्ष मनाएको होटल व्यवसायी रामसुन्दर बकेक्ले बताए । नयाँ वर्षका लागि आफ्नो होटल सात दिन अघि नै बुक भएको उनको भनाइ छ । रासस
निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि सिके राउत पक्राउ
काठमाडौं । नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमबार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय धोती दिवस मनाउने समूह निषेधित क्षेत्रतर्फ अघि बढेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । अध्यक्ष राउतसँगै प्रदर्शनकारीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । माईतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै धोती हाम्रो शान हो लगायतका नारा लगाएका थिए ।
मिर्मिरे लघुवित्तको लाभांश घोषणा
काठमाडौं । मिर्मिरे लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस १३ गते बसेको बैठकले करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार संस्थाले नगद लाभांशबापत कुल ४ करोड २० लाख ७६ हजार ३०२.०२ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।
उपकार लघुवित्तका दुई सञ्चालकको राजिनामा स्वीकृत
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाका दुई सञ्चालकोको राजिनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्याम प्रसाद रिजाल र चेतना अर्यालले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।
नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बालकुमारी घटनाको अनुसन्धान गर्न पौडेलको अध्यक्षतामा आयोग गठन
काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट सो घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरिएको हो । आयोगका सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । आउँदा दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझाव पेस गर्ने गरी आयोगले आजैदेखि काम थाल्ने उनले जानकारी दिइन् । ‘यो आयोगलाई एउटा कार्यादेश दिइएको छ । उक्त घटनामा भएको मानवीय, भौतिकलगायतका अन्य क्षतिको विवरण अध्ययन, विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गर्ने, दोषी देखिएको जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने, आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरू पेस गर्ने’, उनले भनिन् । यो आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । आयोगको सुझावसहितको प्रतिवेदन बुझाएपछि सरकारले आवश्यक कदम चाल्ने उनले बताइन् । गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।
नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको निधन
जानकी । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको निधन भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ । अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । रासस
मोरङ व्यापार संघ एक्स्पोमा एकैदिन ४० हजारले गरे अवलोकन
काठमाडौं । मोरङ व्यापार संघले आयोजना गरेको ‘मोरंग व्यापार संघ एक्स्पो-२०२३’ मा नयाँ कीर्तिमान रचिएको छ । शनिबार एकैदिन ४० हजार बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् । आइतबार पनि सोही संख्या हाराहारीका उपभोक्ताले एक्स्पो घुम्ने विश्वास गरिएको आयोजकले जनाएको छ । शिथिल रहेको अर्थतन्त्रलाई उकास्न योगदान गरेको एक्स्पो सफल भएकोमा संघका पदाधिकारी र एक्स्पोमा आवद्ध खुशी भएका छन् । आयोजकका अनुसार एक्स्पोमा अर्गानिक फलफूल र खाद्यान्न, लत्ताकपडा, प्लाष्टिकका सामान, चियापत्ति, कार्पेट, पाइप, टायर, अन्तर्राष्ट्रिय स्टल, खाद्यान्न, साबुन सर्फ, उन्नत जातको विउ र भुरा माछा, अटोमोबाइल्स पाइने स्टलमा अत्याधिक भीड देखिएको छ । एक्स्पोमा प्रविधिको भरपुर उपयोग गरिएको छ। पहिलोपल्ट डिजिटल परिचयपत्र लागु गरिएको छ । क्यू आर कोडको माध्यमबाट परिचय पत्र सक्कली हो की नक्कली हो भने तुरून्तै जानकारी पाइने व्यवस्था गरिएको छ । उत्पादनकर्तालाई स्टल छान्ने सुविधापनि डिजिटल माध्यमबाट नै प्रदान गरिँदा स्टल व्यवस्थापन खासै कठिन भएन । छानी-रोजी गुणस्तरीय सामान किन्न पाइने हुँदा एक्स्पोमा सर्वसाधारणको अत्याधिक रूची देखिएको हो । मनोरञ्जन र खानाका विविध परिकार पाइने स्टलका कारणपनि एक्स्पोप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो । पुस ६ गतेदेखि ११ गतेसम्म सञ्चालनमा रहेको एक्स्पोको म्याद बढाउन पनि सर्वसाधारणले दबाब दिन थालेका छन् । संघका अध्यक्ष नवीन रिजालले सोमबार एक्स्पोको समापन हुने बताए । उनले व्यवस्थापकीय र प्राविधिक कठिनाई रहेकोले एक्स्पोको म्याद लम्ब्याउन नसकिने बताए । सोमबार एक्स्पोको समापन गरिए पनि यस दिन बिहान ११ बजेदेखि साँझ ९ बजेसम्म सदाझैं चल्ने अध्यक्ष रिजालले बताए ।