वायुसेवा निगम सुधार्न मन्त्री किराती प्रयासरत
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरव गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४०औं पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्री किरातीले कमजोर अवस्थामा रहेको निगमलाई सुधार्ने उद्घोष गरेका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेको ६ दिनपछि अर्थात् माघ ९ गते निगमको मुख्यालयमा पुगेर निगमको समग्र अवस्थाबारे जानकारी लिँदै उनले भनेका थिए, ‘निगमको धुमिलिएको शाखलाई उचो बनाउन भगिरथ प्रयास गर्नेछु ।’ त्यतिमात्रै हैन हरेकजसो सार्वजनिक कार्यक्रममा पर्यटनमन्त्रीको यही उक्ति दोहोरिने गथ्र्यो । यही पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठबन्धन सरकार बनेको एक महिनापछि पर्यटनमन्त्री बनेका किराती आफूले बोलेका र प्रतिबद्धता जनाएका काममा लागि परेका छन् । चुनौतीबीच निगम सुधार्ने सम्भावनाको खोजी निरन्तर चलिरहेकै छ । वायुसेवा निगमको सुधारका लागि विभिन्न पहलकदमी भएका छन् । केही नीतिगत र रणनीतिक कार्यक्रम पनि अघि बढाइएका छन् । पर्यटन मन्त्रालयले गठन गरेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय सुधार तथा अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले मेहनतका साथ निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि सुझावसहितको प्रतिवेदन पर्यटनमन्त्री किरातीलाई बुझाइसकेको छ । सोही आधारमा पर्यटनमन्त्री किरातीले निगमको विद्यमान अवस्थालाई सुधार्न प्रयास गरिरहेका छन् । प्रतिवेदन कार्यान्वयनका गठन गरिएको समितिले तीव्रताका साथ काम गरिरहेको मन्त्रालयले जनाएको छ । ‘विगतमा अध्ययन समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्ति थियो, त्यसलाई हामीले अन्त्य गरेका छौँ’, रासससँगको कुराकानीमा पर्यटनमन्त्री किरातीले भने। वायुसेवा निगमको पुनःसंरचनाका लागि ‘म्यानेजमेन्ट कन्ट्रयाक’ समिति पनि गठन गरिएको उनले जानकारी दिए । मन्त्री किरातीले भने, ‘कानुनीरुपमा धेरै सुधार गर्नुपर्नेछ, संसद्को हिउँदे अधिवेशनमा धेरै विषयलाई सम्बोधन गरेर जानेछौँ ।’ युरोपेली संघ (इयु) ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको मन्त्री किरातीको भनाइ छ । इयुको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको छ । मन्त्री किरातीले वायुसेवा निगमलाई सुधार्न विभिन्न प्रयास भइरहेको बताए । तर, निगमको अहिलेको अवस्थामा ल्याउन सरकार, राजनीतिक नेतृत्व सरोकारवाला निकायको पनि उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे । तीन जहाज खरिद गरिँदै वायुसेवा निगमले आन्तरिक उडानका लागि तीन ट्वीनअटर जहाज खरिद अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री किरातीले तीन जहाज खरिदका लागि अन्तिम चरणमा पुगेको र केही दिनभित्रै निर्णय हुने जानकारी दिए । उनका अनुसार त्यसैगरी अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउन पनि आवश्यक प्रक्रिया अघि बढाइएको छ । विगत १२ वर्षदेखि ग्राउण्डेड ट्वीनअटर जहाज मर्मतको प्रक्रिया अगाडि बढाइएको छ । तीन जहाज ल्याएपछि दुर्गम क्षेत्रका २२ विमानस्थलमा उडान सेवा दिने गरी जहाज खरिद गर्न लागिएको निगमले उल्लेख गरेको छ । ग्राउण्डेड चिनियाँ जहाज बिक्रीका लागि टेन्डर आह्वान गरिएको छ । निगमको आम्दानी बढ्यो वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढी वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरक्षिण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा नौ अर्ब १० करोड ९८ लाख रुपैयाँ थियो । आव २०७/७९ मा १६ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक क’ल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रहेको छ । विवरणमा एक वर्षको अवधिमा निगमले २२ अर्ब रुपैयाँ कमाएको छ । यतिखेर वर्तमान सरकारको एकवर्षे कार्यकालको कामको समीक्षा भइँरहदा मुलुकको संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेर मन्त्री किराती सुशासन, पारदर्शिता कायम गर्दै केही देखिने गरी कामको सुरुआत गरेका छन् । अपेक्षित काम गर्न सकिएन प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हालैको बैठकमा मन्त्री किरातीले खुलेर आफ्ना भावना व्यक्त गरे । ‘काम नगरिकन कुर्सीमा बसु या विवादित भएर पनि काम अगाडि बढाउने भन्ने प्रश्न तेर्सिएको छ, भने जति काम गर्न नसकेकामा लज्जित पनि छु’, मन्त्री किरातीले भने , ‘एउटा काम गर्न थाल्नुपर्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र धाउनैपर्छ, महालेखा परीक्षकको कार्यालयलाई जवाफ दिनैपर्यो । अनि अड्डा अदालत पुग्नैपर्छ, समितितिर पनि जवाफ दिनैपर्छ । काम चाही कहिले गर्ने आफैँलाई प्रश्न गरिरहेको छु ।’ मन्त्री किरातीले मुलुकको हवाई क्षेत्रको सुधारका लागि पनि विभिन्न प्रयास गरेका छन् । मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा अभिवृद्धि र नियमन तथा व्यवस्थापकीय कार्यमा प्रगति गरेको छ । सम्पदा संरक्षण र प्रवद्र्धनका सकारात्मक उपलब्धि भएको छ । मन्त्रीको सक्रियतामा सम्पदा सरसफाइ अभियान प्रभावकारी रुपमा सम्पन्न भएको छ । ४१ मुलुकसँग हवाई सेवा सम्झौता पर्यटन मन्त्रालयका अनुसार नेपाल तथा रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । स्वीट्जरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अघि बढाइएको छ । यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ४१ पुगेको छ । नेपालले इयुसँग पनि बहुपक्षीय हवाई सम्झौता गरेको छ । अन्य केही मुलुकसँग पनि द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले उल्लेख गरेको छ । एक वर्षका उपलब्धि सरकारको एक वर्षे कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’बाट राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अघिल्लो वर्ष पुस १७ गते उद्घाटन भएको थियो । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यको शिलान्यास भएको थियो । नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण कार्य शिलान्यास भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्नेसम्बन्धी कार्ययोजना बनाउनुका साथै भारतसँग अन्तर्राष्ट्रिय उडान सहजीकरण गर्न द्विपक्षीय प्राविधिक छलफलका लागि कूटनीतिक प्रक्रिया अघि बढाइएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । विसं २०७९ माघ २० गतेदेखि वायुसेवा निगमबाट आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइन प्रविधिमार्फत काट्न सकिने गरी अनलाइन टिकेटिङ सेवाको सुरुआत गरिएको । जुम्ला, रुकुम, रारा तथा सिमिकोट विमानस्थल विस्ताररस्तरोन्नतिका लागि जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइएको छ । तुम्लिङ्टार तथा सुर्खेत विमानस्थलमा एटीआर–७२ विमानबाट सेवा सञ्चालन सुरु गरिएको छ । तीन महिने बृहत् सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । १० लाख बाह्य पर्यटक भित्रिए नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७६ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर संख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । जुगल हिमशृङ्खलामा पर्ने ६ नयाँ हिमाल आरोहणका लागि खुला गरिएका र सोसहित हालसम्म कूल चार सय १९ हिमाल आरोहणका लागि खुला गरिएका छन् । रासस
टाटा मोटर्स फन कार्निभल, जुनसुकै ब्राण्डका पुराना गाडी साट्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुरु गरेको टाटा मोटर्स फन कार्निभलमा जुनसुकै ब्राण्डका गाडी साटफेर गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । ग्राहकले कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन, टियागो इभीलगायत गाडी साट्न सक्नेछन् । ग्राहकको बदलिँदो जीवनशैली र नवीन सवारीप्रतिको रूचिलाई लक्षित गरेर मेला सञ्चालन गरिएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाभित्र टाटा मोटर्स शोरुम थापाथली, वेस्टर्न मोटर्स् महाराजगञ्ज, जेबी मोटर्स बालकुमारी, सिप्रदी ट्रेडिङ राधेराधे, भक्तपुर तथा उपत्यकाबाहिर इटहरी र धनगढीमा सुरु मेला पुस २२ सम्म चल्नेछ । मेलामा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न अफरसमेत राखिएका छन्। मेलामा ग्राहकलाई टाटा मोटर्सका नयाँ तथा आधुनिक डिजाइनका गाडी टेस्ट ड्राइभ सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ । गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, इभी गाडीका लागि निःशुल्करूपमा फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्न सक्नेछ ।
चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् द। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा संकलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए । विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्वीटर र टोपी उपलब्ध गराइएको हो । ‘विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन, अहिले पोसाकमा एकरुपता आएको छ,’ उनले भने । प्रध्यानाध्यापक महतले पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थालेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एकरएक थान ऊनीको टोपी उपलब्ध गराएका छन् । त्यस अवसरमा प्रध्यानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उनीहरूको सामाजिक कार्यप्रति प्रशंसा गरे ।
बेवारिसे अवस्थामा पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेको ढुंगेधारा (फोटो फिचर)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तयार भएको ढुंगेधाराको अवस्था नाजुक बनेको छ । धाराको संरक्षण नहुनु तथा अधिकांश संरचनामा खिया लागेसँगै उक्त धारा भत्कने अवस्थामा पुगेको हो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेपश्चात् धारो सञ्चालनमा आएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ढुङ्गेधाराको उद्घाटन गर्दै गरेको दृश्य निकै तामझामका साथ वि.सं. २०७७ चैत २० गते भण्डारीले उद्घाटन गरेको ढुंगेधारा तीन वर्ष नपुग्दै जीर्ण बन्न पुगेको हो । ढुंगेधाराको मर्मतका लागि मेलम्ची खानेपानी आयोजनाको शाखालाई पहल गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । ‘मेलम्चीको पानी नै काठमाडौंमा हाल नआएकाले ढुंगेधारामा पानी आउन छाडेको हो, त्यसको मर्मतका लागि हामीले पहल गरिरहेका छौं, तर मर्मत चाहिँ हुन सकेको छैन,’ उनले भने । मेलम्चीको पानी आउँदा २४औं घण्टा धाराबाट पानी वितरण गर्ने लक्ष्य राखी धारा निर्माण गरिएको थियो । तर, धारामा पानी आउन थालेकाे केही महिनापछि नै ढुंगेधाराबाट पानी आउन छाडेको थियो । प्राविधिक समस्याका कारण पानी नआएको राईले बताए । सबै सर्वसाधारणको पहुँच पुग्ने ठाउँ भृकुटीमण्डप नै भएकोले त्यहाँ ढुंगेधारा निर्माण गरिएको थियो । ‘त्यो धारामा डेडिकेटेड लाइनबाट पानी जोडिएको छैन, शाखा लाइनबाट पानी जोडिएको छ,’ उनले भने, त्यसैले पानी आए पनि धारामा चाैबिसै घण्टा पानी दिन सम्भव नहुन पनि सक्छ ।’ लाखौं रुपैयाँ रकम खर्च गरेर बनाएको ढुंगेधारा अहिले बेवारिसे अवस्थामा देख्न सकिन्छ ।
देशभर चिसो बढ्यो
काठमाडौं । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । संघीय राजधानी काठमाडौंसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ । ‘तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ,’ मौसमविद् अधिकारीले भने । आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौंको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिए । जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
नाडा अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन, को-को छन् कार्यसमितिमा ?
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन भएका छन् । नाडाको नाडाको ४७औं वार्षिक साधारणसभाले अध्यक्षमा चौधरीलाई निर्विरोध रुपमा चयन गरेको हो । अध्यक्षसँगै कार्यसमिति पनि सर्वसम्मत रुपममा नै चयन भएका हुन् । सदस्यमा आकाश गोल्छा, राजनबाबु क्षेष्ठ, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, सुरेन्द्रकुमार उप्रेती, पंकज अग्रवाल, कपिल शिवाकोटी, नवराज भुसाल, निराकार श्रेष्ठ, विक्रम सिंघानिया, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सुनिल रिजाल, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका छन् । यस्तै संस्थागत तर्फबाट जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ,पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसैगरी लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्कर राज ओझा र कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी पनि निर्विरोध सर्वसम्त चयन भएका हुन् ।
मेरीना इम्पेक्सले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडिलाई २० जोर सुट दिने
काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडि र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच शुक्रबार उक्त सम्झौता भएको हो । सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू-१९ विश्वकप क्रिकेटका जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाइ मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुज बस्नेत र राम प्रसाद अर्यालले सम्मानसहित बिदाई गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा क्यानका सचिब पारस खड्काले खेलाडिहरुको हौसला बढाउन सहयोग गरेकोमा मेरीना इम्पेक्सलाई धन्यबाद दिएका थिए । नेपाली क्रिकेट खेलाडिहरुको हौसला बढाउन सामाजिक उत्तरदायितव अन्तर्गत उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ । यसअघि पनि टी-२० वर्ल्ड कपमा मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई चालिस जोर सुट दिएको थियो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङसहित क्यानका अध्यक्ष र अन्य पदाधिकारिहरको उपस्थिति थियो ।
साधना लघुवित्तले गोरखा दरबारलाई सहयोग गर्यो १४ थान डस्टबिन
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय गोरखाले गोरखा दरबार सरसफाई अभियानको विशेष अवसरमा डस्टबिन हस्तान्तरण गरेको छ । संस्थाले गोरखा जिल्लाको गोरखा नगरपालिका स्थित गोरखा दरबार परिसरमा विशेष सरसफाईको अवसरमा १४ थान डस्टबिन हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाले गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरलाई उक्त डस्टबिन गरेका हुन् । कार्यक्रममा गोरखा दरबारका कर्मचारी, सुरक्षा निकायका प्रमुख, गोरखा नगरपालिका वडा नं ६ को वडाध्यक्ष, वित्तीय संस्थाको कर्मचारीहरु, बुद्धिजिवीहरु, स्थानिय व्यक्तिहरु गरि लगभग ७० जनाको उपस्थिति थियो । संस्थाले गोरखा जिल्ला सहित देशको विभिन्न प्रदेश गरि ३१ वटा जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाले वित्तीय सेवा मात्र नभई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दे आएकोमा यो डस्टबीन हस्तान्तरण कार्यक्रम पनि एक रहेको छ । संस्थाले आफ्नो क्षमताले भ्याएसम्मको सहयोग तथा कार्यक्रम जारी राखेको छ । यसैगरि अध्यक्ष थापाले गोरखा दरबार सरसफाइको अवसरमा डस्टविन हस्तान्तरण कार्यक्रमको अवसर प्रदान गरिदिएकोमा गोरखा नगरपालिका,गोरखा दरबार तथा स्थानियबासीहरुलाई धन्यवाद दिए । यसैगरी, कार्यक्रमको अन्तिममा गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरले यस विशेष सरसफाई अभियानमा साधना लघुवित्त वित्तीय संस्थाले सहयोग स्वरुप उपलब्ध गराएका डस्टविनले दरबार परिसरमा सरसफाइको लागि सहयोग पुग्ने बताएका छन् ।