विकासन्युज

मुक्त हरवाचरवा सम्मेलन फागुन १२ देखि जनकपुरमा

जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३ गते जनकपुरधामको रङ्गभूमि मैदान बाह्र बिघामा राष्ट्रिय सम्मेलनको आयोजना गर्नेगरी तयारीमा जुटेको जानकारी दिए । यसअघि नयाँ नेतृत्व चयनका लागि गत असोज २७ देखि यही पुस २० गतेसम्म प्रदेशका आठवटै जिल्लामा सम्मेलन सम्पन्न गरेपछि फागुनमा राष्ट्रिय सम्मेलनका लागि तयारी सुरु गरिएको उनले बताए । मञ्चले धनुषामा असोज २७, सप्तरीमा मङ्सिर २९, सिराहमा यही पुस १२, पर्सामा १५, बारामा १६, रौतहटमा १८, सर्लाहीमा १९ र महोत्तरीमा २० गते जिल्ला सम्मेलनको आयोजना गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । जिल्ला सम्मेलनअघि मुक्त हरवाचरवा बाहुल्य यहाँका ६० भन्दा बढी पालिकामा पालिकास्तरीय सम्मेलन सम्पन्न गरिएको मञ्चका अगुवा एवं धनुषा जिल्ला अध्यक्ष राजदेव मुखियाले जानकारी दिए । ‘पालिका तथा जिल्लामा सम्मेलन सम्पन्न भएपछि अब हामी राष्ट्रिय सम्मेलनमा जुटेका छौँ । जहाँ हजारौँ मुक्त हरवाचरवा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहने छ’, उनले भने । अभियानमा सहयोग गरिरहेको संस्था राष्ट्रिय दलित नेटकर्व ९आरडिएन०का कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीका अनुसार हरवाचरवाले यही सङ्गठनको सहयोगमा हरवाचरवा समस्याबाट मुक्तिका लागि आन्दोलन गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यही आधारमा सरकारले २०७९ साउन २ गते मुक्तिको घोषणा गरिसकेको छ । सरकारले हरवाचरवा प्रथालाई नेपालको संविधान तथा विद्यमान कानुन र मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रविपरीत भएको स्वीकार गर्दै उनीहरुको नाममा रहेको अनुचित ऋणको खारेजी, लगत सङ्कलन, भूमि उपलव्ध गराउने, कसैले हरवाचरवा राखेको भेटिएमा कानुनी कारबाही गरिने उल्लेख गर्दै हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । तर सरकारका नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवा पुनःस्थापनासम्बन्धी कुनै कार्यक्रम नल्याएको जनाउँदै सङङ्गठनको अगुवाइमा निरन्तर आन्दोलन भइरहेको छ । यसैक्रममा गत वर्ष चैत २५ देखि २९ गतेसम्म राजविराज र वीरगञ्जबाट जनकपुरसम्म एकसाथ अधिकारयात्रा गर्दै सरकारको ध्यानाकर्षण गराइएको थियो । त्यही दबाबमा मधेस प्रदेश सरकार र २५ भन्दा बढी स्थानीय पालिकाले हरवाचरवाको लगत सङ्कलन तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम घोषणा गरेका थिए । सो घोषणा पनि सार्थक ढङ्गले अघि नबढेको मञ्चले जनाएको छ । मुक्त गरिएका हरवाचरवाको लगत सङ्कलन, प्रमाणीकरण गरी परिचयपत्र वितरण, कम्तीमा पाँच कठ्ठा जमिन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षासहित पुनःस्थापनाको एकीकृत ‘प्याकेज’ घोषणा हुनुपनुपर्नेलगायतका माग मुक्त हरवाचरवाले गरिरहेका छन् । सो कार्य गर्न प्रदेश सरकारले पुनःस्थापनासम्बन्धी निर्देशिका तथा कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने उनीहरूको मागअनुसार आवश्यक प्रक्रिया सुरु गरिसकेको भनेर प्रदेश सरकारका मन्त्रीहरूले जानकारी दिए पनि आफूहरू विश्वस्त हुन नसकेको मञ्चका महोत्तरी जिल्ला अध्यक्ष सावित्री सदाले बताइन् । ‘सरकारका मन्त्रीले आवश्यक प्रक्रिया सुरु भइसकेको भन्नुहुन्छ । तर त्यसमा ठोस प्रगति नभएमा जनकपुरदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने योजनामा छौँ । त्यसको आधार तयार गर्न आगामी राष्ट्रिय सम्मेलन एक सशक्त माध्यम हुने हाम्रो विश्वास छ’, उनले भनिन् ।

कर्णालीमा नागरिकको स्वास्थ्य परीक्षण अभियान

कर्णाली । कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो । शनिबार रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित ‘नागरिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूको अभिमुखीकरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशभित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि नागरिक स्वास्थ्य परीक्षण सुरु गरिएको बताउनुभयो । नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती आएकाले यसको रोकथाम गर्नलाई पनि स्वास्थ्य परीक्षण थालिएको उनले जनाए । अहिले तीन जिल्लामा नमूनाका रूपमा नागरिकको स्वास्थ्य परीक्षण गरे पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्छौं’, उनल भने, ‘सरकारले स्वास्थ्य सेवालाई प्रवर्द्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिइरहेको छ ।’ नागरिकको स्वास्थ्य परीक्षण, उपचार र जनचेतना जगाउने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिको रहेको उनको भनाइ थियो । उनका अनुसार नागरिक स्वास्थ्य परीक्षणका आधारमा सरकारले स्वास्थ्य नीति र कार्यक्रम ल्याउनेछ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रबिन खड्काले सुर्खेतको चौकुने गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र हुम्ला जिल्लाका ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार ल्याउन परीक्षणकार्य सुरु गरिएको बताए। स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाका आधारमा अबको पञ्चवर्षीय नीति तथा कार्यक्रम बन्ने उनले जनाए । प्रदेश सरकारले भूकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम तय भएको बताए । आठबीसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीले तीनै तहका सरकारको समन्वयमा स्वास्थ्य नीति निर्माण हुनुपर्ने विचार व्यक्त गरे ।

नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको

नेपालका व्यवस्थापकहरू एवम् प्रमुख कार्यकारी अधिकृतहरूको गुण, कार्यशैलीबारे समूहगत रुपमा चित्रण गर्न सकिन्छ । मैले मेरो जीवनमा अनुभव गरेका आधारमा नेपालमा पाँच किसिमका व्यवस्थापकहरू तथा प्रमुख कार्यकारी अधिकृतहरु भेटें । यसमा संगठन र चरित्रको हिसावले गणना गर्नुपर्ने हुन्छ । पहिलो प्रकृतिका व्यवस्थापकहरू जसले जागिर खानको निमित्त, आफ्नो जीविकोपार्जनको निमित्त प्रतिस्पर्धाबाट अथवा राजनीतिक सम्पर्कबाट नियुक्ती पाए । उनीहरूले सार्वजनिक निकाय, खासगरी सरकारी कार्यालयहरु सञ्चालन गरे । तिनीहरूसँग मेरो लामो संगत पनि भयो । यी व्यवस्थापकहरूमा संगठनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, सेवाको प्रभावकारीता कसरी बढाउन सकिन्छ भन्ने मानसिकता प्रायः हुँदैन थियो । सकेसम्म आफू कसरी बच्ने, त्यसपछि आफ्नो जागिर कसरी सुरक्षित गर्ने भन्ने मानसिकता व्याप्त हुन्थ्यो । र, यदि केही गरी नेतृत्व बलियो भयो, नेतृत्व सबल भयो र नेतृत्वले कजाउन सक्यो भने कजाएको अवधिभर काम गर्ने र कजाउन छोडेपछि फेरि उही पुरानै आफ्नो गुणमा फर्केको जस्तो आफ्नो योजनामा लाग्ने उनीहरूको चरित्र हो । पदहरूलाई नै तोकेर भन्नुपर्दा आयोजना प्रमुख, कार्यालय प्रमुख, विभागीय प्रमुख र मन्त्रालयका सचिव, सानास्तरदेखि माथिल्लो स्तरसम्मका नेतृत्व गरेर बसेका व्यक्तिहरूको चरित्र हो । उनीहरूमा इनोभेसन (सृर्जनात्मकता), नयाँ कुरा सिक्ने, नयाँ प्रविधिको प्रयोग गर्ने, जोखिम लिने प्रवृत्ति कत्ति पनि हुँदैन । आफ्नो पद जोगाउनको लागि अत्यन्त लालायित हुने, बढुवा हुनको लागि जे आइपरे पनि गर्न सक्ने । प्रतिस्पर्धा गर्न सक्नेले प्रतिस्पर्धा गर्ने, गर्न नसक्नेले अन्य किसिमका गतिविधि गर्ने । पछारेर हुन्छ कि हाकिमलाई प्रशन्न पारेर हुन्छ आफ्नो नम्बर बढाउने । यिनीहरूबाट कुनै किसिमको नवीनताको अपेक्षा गर्नु एक किसिमको कथाजस्तै हुन्थ्यो । खाली यिनीहरूले नैतिक चरित्र मात्रै कायम गरिदिए, संस्था जुन स्तरमा पुगेको छ, प्रणाली जुन स्तरमा पुगेको छ, त्यसलाई सञ्चालन गरिदिएमात्रै कार्यसम्पादनमा राम्रो हुन्थ्यो । यो पहिलो प्रकृतिका व्यवस्थापकहरू नेपालजस्तो देशमा मात्र होइन, अत्यन्त विकसित मुलुकमा पनि पाइन्छ । दोस्रो प्रकृतिका व्यवस्थापकको समग्र बजारमा मूल्यांकन उच्च हुन्छ । उसँग ज्ञान पनि हुन्छ । उसले स्वदेश तथा विदेशका विश्वविद्यालयमा शिक्षा आर्जन गरेको पनि हुन्छ । र, उसले जीवनमा प्रगति मात्रै होइन कि संस्थामा पनि प्रगति गर्न चाहेको हुन्छ । त्यो मूलतः नेपालका नयाँ किसिमका व्यवसायहरू खासगरी बैंक तथा वित्तीय संस्थाहरू, गैर सरकारी संस्थाहरू जहाँ राम्रा व्यवस्थापकहरू भेटिन्छन् । एक किसिमले भन्ने हो भने परम्परागत व्यवसायहरू । यिनीहरूमा नवीनता अलिअलि हुन्छ । आफ्नो पहिचान बनाउन प्रयास गरिरहन्छन् । किनभने पहिचान नबन्ने वित्तिकै उसको पद गुम्ने जोखिम पनि हुन्छ । सम्बन्धित क्षेत्रको नियामक, सञ्चालक समिति लगायतले उनीहरूको मूल्यांकन गरिरहेका हुन्छन् । उनीहरूको गतिविधिलाई मिडियाहरूमा हेरिरहेका हुन्छन् । ती पदहरू धारण गर्ने व्यक्तिहरूको तलब ज्यादै आकर्षक हुने गर्छ । खासगरी नेपालका बैंकहरूमा, आईएनजीओहरूमा तलब अत्यन्तै आकर्षक छ । अनि जीवनका सबै सुखसयल मोज गर्ने चाहना राख्छन् । सुखसयल मोज गर्ने चाहना राख्ने क्रममा धेरै समय खर्च गर्ने उनीहरूको विशेषता हो । यो चरणमा उनीहरू नयाँ अध्ययन गर्न, आफ्नो काममा नयाँपन दिन सक्दैनन् । अध्ययन त गर्दै नगर्ने । मैले कतिपय बैंकका सीईओहरू भेटेको छु, जसले वर्षमा एउटा किताब पनि पढेका छैनन् । त्यही भएर उनीहरूले समाजमा देखिएका समस्याहरूलाई राम्रोसँग विश्लेषण गर्न सक्दैनन् । सही समाधानको विचार व्यक्त गर्न नसक्ने हुन्छन् । तर, उनीहरूको व्यक्तिगत जीवन अत्यन्त सुखसयल रूपमा बितेको हुन्छ । आर्थिक सुविधा सम्पन्न भएको, परिवारलाई राम्रोसँग सम्हाल्न सकेको, छोराछोरीलाई विदेशका राम्रा-राम्रा विश्वविद्यालयमा पढाउन सकेको र उनीहरूलाई उतै बस्ने वातावरण मिलाउन सक्ने हैसियत उनीहरूसँग हुन्छ । सुरुमा व्यवसाय गरेर एक चरणको सफलता हासिल गरेका, त्यसपछि सत्ता शक्तिलाई रिझाएर आर्जन गर्न खोज्ने व्यक्तिहरूलाई पनि दोस्रो वर्गका व्यवस्थापकमा गणना गर्न मिल्छ । उनीहरु उद्यमी पनि हुन् । तर, उद्यमशिलतामा भन्दा राजनीतिक शक्ति प्रयोग गरेर निजी लाभ लिन केन्द्रीत हुँदा उनीहरू समस्यामा पर्छन् । नेपालमा केही उद्यमीहरू छन् जो सरकारी संयन्त्र या शक्तिमार्फत आफ्नो व्यवसाय गरिरहेका छन्, तिनको व्यवसाय समग्रमा खस्किएको पनि छ । नेताहरूको शक्ति मार्फत् नेतृत्व गरेर सञ्चालन भएका उद्योगीहरू उठ्न नसक्ने गरी थला परेका पनि छन् । सम्भवतः उठ्न पनि सक्दैनन् । तेस्रो प्रकृतिका व्यवस्थापकको शैक्षिक योग्यता मध्यम रहेको, एक तहको शिक्षा ग्रहण गरेको, पारिवारिक हैसियत पनि कसै कसैको राम्रै भएको, कसैकसैको नभएको । तर, जीवनमा अनुभव हासिल गर्दै संघर्ष गर्दै अगाडि बढेर नयाँ प्रकृतिको उद्यम गर्न खोज्नेहरू । खासगरी यो वर्ग मिहिनेती हुन्छ । आफ्नो व्यवसायको बारेमा चिन्तन गरिरहने हुन्छन् । यसमध्येका धेरै मानिसहरू व्यवसायमा इमानदार हुन्छन् । सरकारी पदाधिकारीहरूसँग सम्पर्क राखेर, घुस खुवाएर काम गर्नेभन्दा बरू आफ्नै व्यवसायको गुणस्तर बढाएर बजारमा टिकिरहने उनीहरूको चरित्र हुन्छ । उनीहरूको संगत सरकारी मानिसहरूसँग पनि हुँदैन । सरकारी संयन्त्रले पनि यिनीहरुलाई चिन्दैनन् । तर, बजारमा टिक्नलाई उनीहरूलाई संघर्ष गरिरहनुपर्छ । वास्तवमा नेपाललाई चाहिने तेस्रो प्रकृतिका व्यवस्थापकहरू नै हो । उनीहरूमा उद्यमी र असल व्यवस्थापक दुबैको चरित्र हुने गर्दछ । जसले कठिन अवस्थामा पनि सबैलाई मिलाएर लैजान सक्छन् । नेपालको लागि यो प्रकृतिका व्यवस्थापक गहना नै हुन् । तेस्रोमा पर्ने भनेको हिमालयन जाभाको मालिक गगन प्रधान हुन् । उसले बेचेको पानीको बोतलको विषयलाई लिएर कारवाही गरियो । तर, उसको पानीको बोतलमा कारवाही गर्ने आधार त केही पनि थिएन । उसले अत्यावश्यक वस्तु कुनै विकल्प (अप्सन) नदिई बेचेको भए कारवाही गर्नु छुट्टै हो । उसले बोतल अर्थात् चिसो पानी पो बेचेको हो । तर, तातो पानी त सित्तैमा दिएको थियो । जुन इनोभेटिभ बिजनेस हो । तर, बोतलकै पानी किन भनेर कसैलाई फोर्स त गरेको थिएन । तैपनि पब्लिकले उसलाई पत्याएनन् । नेपालको सबैभन्दा ठूलो सुपरस्टोर भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ्ग पनि यहि प्रकृतिका व्यवस्थापक हुन् । उनी कुनै राजनीतिक संघसंगठनमा आवद्ध थिएनन् । सात वटा शाखा विस्तार गर्दासम्म पनि उनको अर्थमन्त्रीसँग पनि चिनजान थिएन । तर, दुरभाग्यवश ललिता निवास प्रकरणमा उनी जोडिए । उनी आफ्नो लागि आफैँ सिँढी बनाउँदै माथि जाने व्यक्ति हुन् । अर्काको सिँढी चढ्ने व्यक्ति होइनन् । समग्रमा भन्दा तेस्रो प्रकृतिका व्यवस्थापकहरू जो पर्यटन, रेष्टुरेन्ट र सूचना प्रविधि क्षेत्रमा आवद्ध छन् । उनीहरू इनोभेटिभ छन् । उनीहरूले नयाँ-नयाँ प्रविधिको प्रयोग गर्छन् । पाँच प्रकृतिका व्यवस्थापकहरू नेपालको चरित्र हो । व्यवस्थापकहरूको मूख्य भूमिका संस्थालाई भिजन दिने, नयाँ अवसरको खोजी गर्ने, जोखिम न्यूनीकरण गर्ने, कर्मचारीहरूलाई उत्प्रेरित गर्ने र प्रभावकारी रुपमा टीम परिचालन गर्ने हो, जुन तेस्रो र चौथो प्रकृतिका व्यवस्थापकहरूमा पाइन्छ । अरूमा ज्यादै कम वा कतिपयस“ग त शून्य नै हुन्छ । चौथो प्रकृतिको व्यवस्थापकमा समान्यतया नेपाली पर्दैनन् । प्रायः विदेशीहरू हुन् । जसले बहुराष्ट्रिय निकाय नै खोलेका होलान्, बहुराष्ट्रिय कम्पनीहरू चलाइरहेका होलान् । यसमा स्ट्याण्र्डड चार्टर्ड बैंकको सीईओ अनिर्वाण घोष दस्तीदार, एभरेष्ट बैंकको सीईओ सुदेश खालिङ्ग लगायतलाई लिन सकिन्छ । विश्व बैंक, एशियाली विकास बैंक, आईएमएफ लगायत संस्थाको उच्च व्यवस्थापक पनि यस वर्गमा पर्दछन् । यिनीहरू एकदम लक्ष्य उन्मुख (टार्गेट ओरियन्टेड) हुन्छन् । उनीहरूको संस्कारमै एउटा टार्गेट सेट गरिएको हुन्छ । लक्ष्यमा शुन्य दशमलब २ प्रतिशत कम प्राप्ति भयो भने पनि उनीहरुको जिम्मेवारी खोसिन्छ । त्यो हासिल गर्ने क्रममा व्यवस्थापनमा जुन किसिमको एउटा शैली हुन्छ, त्यो व्यवस्थापकीय शैलीलाई कहिल्यै पनि कम्प्रमाइज गर्न नखोज्ने । जसरी हुन्छ सेट गरिएको टार्गेटलाई मिट गर्न खोज्ने । अन्य वर्गका व्यवस्थापकमा जस्तो बाहना बाजी त्यहाँ चल्दैन । नेपालमा त उस्तै पर्‍यो भने घुस नै नखुवाई काम गर्न सकिँदैन । तर, विदेशबाट नेतृत्व गरिएको कम्पनीमा त्यस्तो हुँदैन । त्यहाँका लिडरहरूले तोकिएको समयमा जसरी पनि आफ्नो लक्ष्य पुरा गरिहाल्छन् । अन्त्यमा, पाँचौं प्रकृतिका व्यवस्थापकमा जागिर खाएको नभई निर्वाचन मार्फत चयन भएकाहरु पर्दछन् । जसमा सांसद पनि परे, मन्त्री पनि परे, संस्थाका निर्वाचित सञ्चालक समिति भयो । यो प्रकृतिको पदहरू संसारमा सबैतिर कार्यसम्पादन राम्रो भएन भने अर्कोपटक चुनावमा नजितिएला भन्ने जोखिम तथा डर त्रासमा रहिरहन्छन् । त्यही भएर उनीहरू सकेसम्म राम्रो गर्ने प्रयत्न गर्छन् । उनीहरू चुनावको बेला बाचा गरिएका विषयहरूलाई सकेसम्म पुरा गर्न खोज्छन् । उनीहरूलाई कुनै न कुनै बेला आफ्नो करियर खत्तम हुन्छ कि भन्ने भय हुन्छ । यो प्रकृतिका व्यवस्थापकहरू अन्य मुलुकका व्यक्तिहरूमा पाइन्छ । तर, हामीकहाँ सरोकारवालालाई किनिदिने, आर्थिक प्रलोभन देखाउने, उसलाई आफ्नो काबुमा राख्ने गरिन्छ । र, जसको शक्तिमा ऊ निर्वाचित भएर गयो, उसलाई शक्तिहीन बनाउन खोज्ने उनीहरूको चरित्र देखिएको छ । नाम नलिऔं, ठूला नेताहरूको चरित्र यस्तै छ । नेपालमा कुनै पार्टीको प्रमुख नेता आफ्नो कार्यकर्ताको शक्ति प्रयोग गरेर माथि पुगेको हुन्छ । तर, पछि उसैले ती कार्यकर्तालाई नै शक्तिहीन बनाइदिन्छ । बाचा गरेको कुराहरू बिर्सिदिन्छ । समग्रमा भन्नुपर्दा माथिल्लो तहमा पुगेकाले तल्लो तहकालाई जिम्मेवारविहीन बनाउने । जोबाट शक्ति आर्जन गरेको हो उसैलाई नै शक्तिहीन बनाएर आफ्नो स्वार्थ पुरा गर्ने । पछिल्लो समय नेपालका सहकारीहरू डुबेका कारण पनि यही हो । सहकारी क्षेत्रको नेतृत्व गर्नेहरू नै यस क्षेत्रका संस्थाका धमिरा भए । यिनीहरूलाई धमिरा व्यवस्थापकभन्दा फरक पर्दैन । धमिरा व्यवस्थापक राजनीतिमा पनि, सरकारी संस्थामा पनि छन् । जति पनि नेपालका निकायहरू देखिएका छन्, ती सबैको व्यवस्थापन यो प्रकृतिका हुन् । यिनीहरू जागिर खाएर आएका पनि होइनन् । लोकसेवामा नाम निकालेर आएका पनि होइनन् । प्रतिस्पर्धा गरेर आएका पनि होइनन् । विश्वविद्यालयको उच्च शिक्षा हासिल गरेका पनि होइनन् । यसमा विश्वविद्यालयका भीसी (उपकुलपति)हरू पनि पर्छन् । उनीहरू निर्वाचित त होइनन्, उनीहरूलाई राजनीतिक नेतृत्वले चयन गर्छ । यी पाँच प्रकृतिका व्यवस्थापकहरू नेपालको चरित्र हो । यी चरित्रमध्येमा पहिलो, दोस्रो, तेश्रो र चौथो अन्य मुलुकहरूमा पनि पाइन्छ । पाँचौं चरित्रका व्यवस्थापकहरू अफ्रिकी मुलुकमा पाइन्छ । एशियाली मुलुकमा आजकाल धेरै कम भएको छ । व्यवस्थापकहरूको मूख्य भूमिका एउटा भिजन दिने, जोखिम न्यूनिकरण गर्ने, बजारमा अवसरहरू सिर्जना गर्ने, कर्मचारीहरूलाई उत्प्रेरित गर्ने र प्रभावकारी रुपमा टीम परिचालन गर्ने हो । जुन तेस्रो र चौथो प्रकृतिका व्यवस्थापकहरूमा पाइन्छ । अरूमा ज्यादै कम वा कतिपयसँग त शून्य नै हुन्छ । (कुराकानीमा आधारित)

अमेरिकामा डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि

काठमाडौं । अमेरिकी रोजगारदाताहरूले डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि गरेका छन् । रोजगार वृद्धि सुस्त हुँदा बेरोजगारी दर ३.७ प्रतिशतमा पुगेको थियो । प्रतिवेदनले सरकारी स्वास्थ्य सेवा, सामाजिक सहायता र निर्माणमा रोजगारीको प्रवृत्ति बढ्दै गएको देखाएके छ भने यातायात र गोदाममा रोजगारी गुमेको छ । अक्टोबरको लागि कुल गैर–फार्म पेरोल रोजगारीमा जागिर वृद्धि ४५ हजारबाट १ लाख ५ हजारमा परिमार्जन गरिएको थियो । नोभेम्बरमा २६ हजारबाट १ लाख ७३ हजारमा परिमार्जन गरिएको थियो । श्रम शक्ति सहभागिता दर ६२.५ प्रतिशतमा, डिसेम्बरमा ०.३ प्रतिशत बिन्दुले घटेको प्रतिवेदनले देखाएको छ । विगत १२ महिनामा, औसत घण्टाको आम्दानी ४.१ प्रतिशतले बढेको छ ।

जेट एयरवेजका संस्थापक गोयलले अदालतमा हात जोड्दै भने ‘म जेलमै मर्नु राम्रो हुन्छ’

तस्बिर : फ्री प्रेस जर्नलबाट एजेन्सी । केनरा बैंकलाई ठगी गरेको आरोप लागेका जेट एयरवेजका संस्थापक नरेश गोयल शनिबार मुम्बईको विशेष अदालतमा उपस्थित भएका थिए । उनले अदालतमा बयानको क्रममा आफूले जिवनको आशा गुमाएको, आफ्नो स्वास्थ्य निकै बिग्रिएको भन्दै आफू जेलमै मर्न राम्रो हुने बताए । भावुक मुद्रामा न्यायाधीश समक्ष उपस्थित भएका गाेयलले हात जोड्दै भने, ‘मैले जीवनको आशा गुमाएको छु। मेरो स्वास्थ्य निकै बिग्रिएको छ । म जेलमै मर्नु राम्रो हुन्छ ।’ ‘म मेरी श्रीमती अनितालाई धेरै मिस गर्छु, उनी क्यान्सरको अन्तिम चरणमा छन्’, गोयलले यसो भनेपछि न्यायाधीशले उनलाई बेसहारा नछोड्ने बताए । गोयलले विशेष न्यायाधीश एमजी देशपांडेसमक्ष जमानतका लागि निवेदन दिएका थिए । सोहीअनुसार उनलाई अदालतमा पेश गरिएको थियो र कार्यवाहीको क्रममा उनले व्यक्तिगत सुनवाईको लागि अनुरोध गरेका थिए । गोयलमाथि केनरा बैंकलाई ५३८ करोड भारु ठगी गरेको आरोप लागेको छ । उनलाई प्रवर्तन निर्देशालय (ईडी) ले गत वर्ष सेप्टेम्बर १ मा बैंक ठगीको आरोपमा पक्राउ गरेको थियो । उनी अहिले पनि न्यायिक हिरासतमा छन् । घट्नाको सारांश जेट एयरवेजको क्रेडिट लिमिट तथा ८४८.८६ करोड भारु ऋण दिइएको थियो । जसमध्ये ५३८.६२ करोड भारु बक्यौता छ । २९ जुलाई २०२१ मा सो खातालाई फ्रड घोषित गरिएको गरियो । गत मे ५ मा सीबीआईले गोयलको मुम्बईस्थित कार्यालयसहित ७ स्थानमा छापा मारेको थियो । जेट एयरवेजका पूर्व निर्देशक गौरांग शेट्टी, नरेश गोयल र उनकी पत्नी अनिता गोयलको घरमा पनि छापा मारिएको थियो । सीबीआईको एफआईआरको आधारमा ईडीले जुलाई १९ मा मनी लाउन्ड्रिङको मुद्दा दर्ता गरेको गर्यो । त्यसपछि ईडीले गोयल र उनका सहयोगीहरूको परिसरमा छापा मारेको थियो । बैंकको पैसा हिनामिना गरेको आरोप केनरा बैंकले जेट एयरवेजको फरेन्सिक अडिटमा जेट एयरवेजले १,४१०.४१ करोड भारु सम्बन्धित अन्य कम्पनीलाई ट्रान्सफर गरेको आरोप लगाएको थियो । गोयल परिवारको व्यक्तिगत खर्च जस्तै कर्मचारीहरूको तलब, फोन बिल र सवारी खर्च सबै जेट एयरवेजमार्फत नै गर्दै आएको अवस्था थियो । गोयलले सन् १९९३ मा जेट एयरवेजको स्थापना गरेका थिए, सन् २०१९ मा उनले एयरलाइन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । जेट एयरवेज अप्रिल २०१९ देखि बन्द जेट एयरवेज कुनै समय भारतको सबैभन्दा ठूलो निजी एयरलाइन्समध्ये एक थियो । एयरलाइन्स दक्षिण एसियाली देशहरूमा सबैभन्दा ठूलो निजी एयरलाइन्सको रुपमा स्थापित पनि भएको थियो । जेट एयरवेज १७ अप्रिल २०१९ मा ऋणका कारण ग्राउन्डेड भयो । जून २०२१ मा राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसीएलटी) को दिवालियापन समाधान प्रक्रिया अन्तर्गत जालान-कालरोक कन्सोर्टियमले जेट एयरवेजको बोली जितेको थियो। त्यसयता जेटको पुनरुत्थानको प्रक्रिया चलिरहेको छ । तर, अहिलेसम्म एयरलाइन्स सञ्चालनमा आउन सकेको छैन । नरेश गोयलले नै शुरु गरेका थिए जेट एयरवेज सन् १९९० को दशकको सुरुतिर टिकटिङ एजेन्टबाट उद्यमी बनेका नरेश गोयलले जेट एयरवेज इन्डिया लिमिटेड को स्थापना गरेर मानिसहरूलाई एयर इन्डियाको विकल्प दिएका थिए। एक समय जेटसँग १२० वटासम्म विमानहरू थिए । ‘द जोय अफ फ्लाइङ’ ट्याग लाइन रहेको कम्पनीले राम्रो व्यवसाय गर्दा दैनिक ६५० उडान गरेको थियो । तर, कम्पनी बन्द हुने अवस्थामा आइपुग्दा भने जम्मा १६ वटा मात्र जहाज बाँकी थिए । मार्च २०१९ सम्ममा कम्पनीको घाटा ५,५३५.७५ करोड भारु थियो । मामाको ट्राभल एजेन्सीबाट शुरु गरेका थिए गोयलले करिअर जेट एयरवेज २५ वर्षसम्म चलेर अप्रिल २०१९ मा बन्द भयो । नरेश गोयल यस कम्पनीका संस्थापक थिए । नरेश गोयलका पिताको बाल्यकालमै मृत्यु भएको थियो । ११ वर्षको उमेरमा परिवारमा आएको आर्थिक संकटका कारण उनको घर लिलाम गरिएको थियो । त्यसपछि उनी आफ्नी आमाको काकासँग बस्न थाले । नरेशले सन् १९६७ मा आफ्नो मामाको ट्राभल एजेन्सीमा क्यासियरको रूपमा करियर सुरु गरेका गरे । उनको पहिलो तलब ३०० रुपैयाँ मात्रै थियो । स्नातक तहको अध्ययन सकेपछि भने उनी लेबनानी अन्तर्राष्ट्रिय एयरलाइन्समा सहभागी भएर ट्राभल बिजनेस गर्न शुरु गरेका थिए ।

झापामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

झापा । झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । भद्रपुर–४ स्थित झिलिमिली पुलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०१–०१३प ९६०७ नम्बरको मोसाइकल अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाएकामा उपचारको क्रममा दाहालको मृत्यु भएको हो । मोरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–००२ख ०१४९ यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको मे१प ७२४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । तीनजना सवार मोटरसाइकलमा पछाडि बसेका कनकाई–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका–७ का सागर माझी घाइते भएका छन् । उनीहरू दुवैको उपचार भइरहेको जनाइएको छ । वनभोज खाएर फर्किँदै गरेको उक्त बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि उनलाई कम्पनीको सीईओमा नियुक्त  गरिको कम्पनीले जनाएको छ । बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए । तर नयाँ बीमा ऐन जारी भएपछि प्रभु इन्स्योरेन्समा यो उनको पहिलो नियुक्त हो । बज्राचार्यसँग बीमा क्षेत्रकोे करिव दुई दशकको कार्यअनुभव छ । त्यसअघि उनले बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा १० वर्ष भन्दा बढिको कार्यअनुभव लिएका थिए। बज्राचार्यले त्रिभुवन बिश्वबिद्यालयबाट एमबीए गरेका छन् । उनी बीमा क्षेत्रमा कुशल व्यवस्थापका रूपमा परिचित छन् ।

नेकबाट १९२ जना विद्यार्थीको विदाई : विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जोड

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी विदा हुनेहरुमा सिभिल इन्जिनियरिङमा १४४ तथा सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ जना रहेका छन् । विदाई कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको विकासमा दक्ष जनशक्तिको खाँचो रहेको औल्याउँदै उत्पादित जनशक्तिहरुलाई स्वदेशमै बसेर काम गर्न सुझाए । इन्जिनियरिङका क्षेत्रमा नयाँ नयाँ अवसरहरु सृजना गर्नुपर्ने तथा स्वदेशमै स्नातक पछिको उच्च शिक्षा हासिल गर्ने वातावरण राज्यले बनाउनु पर्नेमा जोड दिए । राज्यले उत्पादित जनशक्ति ब्यवस्थापनमा चासो नदिँदा युवाहरु पलायन भइरहेको भन्दै वक्ताहरुले नेपालमा अब मेगा प्रोजेक्टहरु सञ्चालन गरिनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन डाक्टर राजेश ठकूराठीले विद्यार्थीहरुलाई इन्जिनियरिङका जुनसुकै पेशा व्यवसायमा आबद्ध हुँदा त्यो पेशा र व्यवसायको इथिक्स र मर्यादा राखेर काम गर्न सुझाए । ‘जुनजुन पेशा व्यवसायमा आबद्ध हुन जाँदै हुनुहुन्छ त्यो पेशा व्यवसायको इथिक्सलाई मेन्टेन गरिदिनु होला, अनुशासन मेन्टेन गरिदिनुहोला जसले गर्दा पहिलो नम्बरमा कलेज दोश्रो नम्बरमा विश्वविद्यालयको शानलाई उच्च राख्न तपाईहरुको योगदान हुन्छ ।’ पोखरा विश्वविद्यालयबाट अध्ययन पुरा गरेका जनशक्तिहरु देश विदेशमा राम्रा संस्थाहरुमा काम गरेको, व्यवसाय गरेको, सफल भएको उदाहरणहरु रहेको डीन ठकूराठीले बताए । डीन ठकूराठीले नेपालको शिक्षा प्रणाली खासगरी विश्वविद्यालयका पाठ्यक्रमहरु समयानूकुल नभएको केही हदसम्म स्वीकार्दै कामै नलाग्ने भन्ने नभएको जिकीर गरे । ‘पाठ्यक्रम नराम्रो हैन । सुधार्न जरुरी छ ।’ पाठ्यक्रम सुधार गर्नुपर्ने, विद्यार्थी मैत्री बनाउनु पर्ने, अर्निङ र लर्निङ सँगसँगै लैजानु पर्ने भएपनि विश्वविद्यालयले सोचेअनुसार गर्न नसकेको डीन ठकूराठीको भनाई छ । नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा। विकास अधिकारीले पछिल्लो समय नेपालमा इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरु घट्दै जानुमा विद्यार्थीहरुको भन्दापनि राज्यको भूमिका बढी जिम्मेवार रहेको बताए । कक्षा एकमा सय जना विद्यार्थी भर्ना हुँदा १२ कक्षासम्म पुग्दा ६० जना मात्र हुन आउने बताउँदै उपाध्यक्ष अधिकारीले करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा ५० प्रतिशत उत्तिर्ण भएकोमा ती मध्ये अधिकांश विदेश पढ्न जानु चिन्ताजनक रहेको जिकीर गरे । ‘४ लाखले परिक्षा दिँदा २ लाख उत्तिर्ण भए, ती मध्ये १ लाख २५ हजार विद्यार्थी नो अब्जेक्सन लेटर लिएर विदेश जान तम्तयार भएर बसेका छन् ।’ ७५ हजार विद्यार्थी मध्ये २० हजार प्राविधिक शिक्षा लिन योग्य रहेकोमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ५ हजार मात्रै रहेको उनको दावी छ । काउन्सिलले देशभरका इन्जिनियरिङ कलेजहरुमा १० हजारको हाराहारीमा विद्यार्थी पढाउन अनुमति दिएपनि ५० प्रतिशत विद्यार्थीहरु मात्र उपलब्ध हुनुमा विद्यार्थीको भन्दापनि पोलिसी लेवलमै कमजोरी रहेको जनाए । उनले आम जनताको जीवनस्तर नै परिवर्तन गर्ने नयाँ पुस्ताले माग गरे अनुसारका ठूला प्रोजेक्टहरु नेपालमा बन्नुपर्र्नेमा जोड दिए । ‘अब ठूल्ठूला सडक, जलश्रोत, कृषि र वनसम्बन्धी परियोजनाहरु बन्नुपर्छ । एउटै आयोजनामा ५ हजार इन्जिनियरहरुले एक साथ काम गर्नुपर्छ ।’ साथै उनले नेपालमा विद्यार्थी टिकाउन र विकाउन पोलिसी लेवलमा ठूलै सुधार गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरु नै कलेजको ब्राण्ड एम्बेष्डर भएको बताउँदै आ–आफ्नो विषयमा इमान्दार भएर काम गर्न आग्रह गरे । आचारसंहितामा रहेर व्यवसायिक जीवन अगाडी बढाए हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने भन्दै कलेजलाई समय–समयमा सल्लाह सुझाब दिन भने । नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समिति सदस्य दिनेश खनालले विद्यार्थीहरुले कलेजमा हासिल गरेका ज्ञान, सीपलाई सबैभन्दा पहिला आफ्नै मातृभूमीमा प्रयोग गर्न सुझाए । कार्यक्रममा विद्यार्थी तानिया लामिछाने, संगीता रानाभाट, आस्था ढुङ्गाना, अजयकुमार यादव लगायतले कलेजमा अध्ययन गर्दाका अनुभवहरु सुनाएका थिए । कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख रमेश खनाल, सिभिल रुरल इन्जिनियरिङ विभागका प्रमुख सुनिल श्रेष्ठ, एशोसिएट प्रोफेसर सचिन श्रेष्ठले इन्जिनियरिङ विषय, संभावना र अवसरका बारेमा बोलेका थिए । विदाई कार्यक्रममा संगीता रानाभाटलाई सिभिल एण्ड रुरल इन्जिनियरिङ, वाटर एण्ड स्टक्चर अवार्ड दिइएको थियो । भने, उनले नितिन कर्णसँग संयुक्त रुपमा सिभिल साइन्स अवार्ड पनि प्राप्त गरिन् । त्यस्तै, अञ्जली पाण्डेलाई चेयरमेन प्राइड गोल्ड अवार्ड, आस्था ढुंङ्गानालाई सिभिल प्रोगाम टपर अवार्ड, सुस्मी श्रेष्ठलाई सिभिल साइन्स अवार्ड तथा अजय कुमार यादवले जियो–टेक अवार्ड प्राप्त गरेका थिए ।