विकासन्युज

व्यक्तित्वका ती पक्ष के हुन्, जुन ‘लुक्स’ भन्दा बढी आकर्षक हुन्छन्

काठमाडौं । अंग्रेजीमा एउटा भनाइ छ– ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन।’ यसको मतलब यो हो, तपाईंले पहिलोपटक भेट्दा कुनै व्यक्तिमा जुन छाप वा प्रभाव छाड्नुहुन्छ, त्यो उसले लामो समयसम्म सम्झिन्छ। पहिलो भेटमा तपाईं कस्तो देखिनुहुन्छ भन्ने कुराले फरक पर्न सक्छ, तर व्यक्तिको व्यक्तित्वका ती अन्य पक्ष के के हुन्, जसले मानिसहरूको मन छुन्छ। साधारण बुझाइमा कुनै पनि रोमान्टिक सम्बन्धको सुरुवात तपाईंले पहिलो नजरमा कसरी प्रस्तुत हुनुहुन्छ भन्ने हो । तर, शारीरिक आकर्षण व्यक्तिको अन्य धेरै गुणहरूका कारणले पनि हुन सक्छ । तपाईं पहुँचयोग्य हुनुहुन्छ ? तपाईं कसरी कुरा गर्नुहुन्छ ? तपाईंको व्यवहार कस्तो छ ? अमेरिकामा गरिएको एक सर्वेक्षणमा जोडीहरूलाई लुक्सबाहेक अरू कुन गुणहरू मनपर्छ भनेर सोधिएको थियो । सर्वेमा सोधिएको प्रश्नहरूको जवाफमा उनीहरूले भौतिक सफलता, जस्तै आर्थिक सुरक्षा र राम्रो घर, तिनीहरूका लागि आकर्षक गुणहरूमध्ये सबैभन्दा कम स्थानमा पर्ने बताएका थिए । दोस्रो, तिनीहरूले आफ्नो पार्टनरसँग सहमत हुने, बहिर्मुखी हुने र बौद्धिकतालाई शारीरिक आकर्षणभन्दा धेरै माथि राख्ने बताएका थिए । ‘लुक्स’ कति महत्वपूर्ण ? यस सर्वेक्षणमा अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक ग्रेग वेबस्टरले यस्ता सर्वेक्षणहरूमा मानिसहरूले अरूको नजरमा आफूलाई राम्रो राख्ने जवाफ दिने बताए । उनले भने, ‘यस्तो सर्वेक्षण डाटाले पूर्णरूपमा स्पष्ट चित्र प्रस्तुत नगर्न सक्छ ।’ तर प्रश्न यो छ, जब हामी वास्तविक जीवनको बारेमा कुरा गर्छौं, तब एक व्यक्तिको लुक्सले भन्दा बढी ध्यान व्यक्तित्वले पाउँछ ? यस प्रश्नमा मनोवैज्ञानिक डा। पूजा शिवम जेटली भन्छिन्, ‘सुरुवाती आकर्षण लुक्समा आधारित हुन्छ। तर, यो व्यक्तिमा पनि भर पर्छ।’ उनी थप्छिन्, ‘तिमी कस्तो देखिन्छौ भन्ने कुरा महत्त्वपूर्ण छ र यो सुरुवाती बिन्दु पनि हो । तर, कसैको सौन्दर्य वा रूपले लामो समयसम्म कसैलाई आकर्षित गर्न सक्दैन ।’ यदि तपाईंले लामो समयको सम्बन्ध, व्यक्तित्व, आवश्यकता र संसारलाई कसरी हेर्नुहुन्छ भन्नेबारे सोध्नुभयो भने यी सबै कुराले पनि मानिसलाई आकर्षित गर्ने डा। जेटली बताउँछिन् । उनका अनुसार धेरैजसो सम्बन्धमा यी पक्षहरू छलफल नगर्दा भविष्यमा भिन्नता आउन सक्छ । आफ्नो पार्टनरको कुरा सुन्नु र आपसी सहमति कायम राख्नु कुनै पनि सम्बन्धका लागि धेरै महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तित्व मापन गर्नु गाह्रो काम हो । दशकौंदेखि मानिसहरूलाई साइकोमेट्रिक परीक्षणहरूमा धेरै प्रश्नहरू सोधिएको छ ताकि तिनीहरूको व्यक्तित्वको बारेमा थप जानकारी प्राप्त गर्न सकियोस्। कसैको व्यक्तित्व कसरी मूल्यांकन गर्ने ? सामान्य जीवनमा मानिसको व्यक्तित्वलाई कसरी मूल्यांकन गर्न सकिन्छ भन्ने प्रश्नमा बिहेबियर एक्सपर्ट तथा जीवन प्रशिक्षक आस्था दिवान भन्छिन्, ‘एउटा व्यक्तिको व्यक्तित्व धेरै कुराले बनेको हुन्छ । तपाईसँग सजिलै कुरा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ।’ उनी थप्छिन्, ‘के तपाई कुरा गर्दा अरूलाई बोल्ने मौका दिनुहुन्छ रु प्राथमिकता के हो रु विचार के हो रु तपाईंको जीवन मूल्य के हो, तपाईंको आत्मविश्वास कस्तो छ रु यी सबै कुरा तपाईंको व्यक्तित्वको एक महत्वपूर्ण भाग हो ।’ साथै, तपाईंले ‘विपरीत आकर्षण’ बारे सुन्नुभएको होला । यसको मतलब हो, दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया भिन्न छन् र एकअर्काप्रति आकर्षित हुन्छन् किनभने व्यक्तित्वमा भिन्नताले पनि मानिसहरूलाई आकर्षित गर्दछ । युनिभर्सिटी अफ रोचेस्टर, संयुक्त राज्य अमेरिकाका ह्यारी रीड र मिनेसोटा विश्वविद्यालयका एलन बर्शार्ड जो व्यक्ति पहिले नै चिनेको साथी खोज्छ, जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ, यो आकर्षणको आधारभूत सिद्धान्त भएको बताउँछन् । यसबारे डा। आस्था दिवान भन्छिन्, ‘कतिपय मानिस आपसमा समानता खोज्छन्, कहिलेकाहीँ आफूभन्दा फरक व्यक्ति पनि रोज्छन् । समानता खोज्नु मानवीय स्वभाव हो,’ डा। आस्था दिवान भन्छिन्, ‘यो कुराले मानिसलाई धेरै सुरक्षित महसुस गराउँछ । जब तपाईंको विचार, गुण र मनपर्नेमा समानता हुन्छ, त्यहाँ तुरुन्त एक स्पार्क हुन्छ, बन्डिङ हुन्छ।’ कुनै पनि सम्बन्धलाई लामो समयसम्म कायम राख्न सँगै बसेर पनि छुट्टै जीवनमा अगाडि बढ्ने अवसर हुनु जरुरी भएको उनको भनाइ छ । ‘मानिसहरू सधैं समानता खोज्छन् भन्ने होइन,’ उनी भन्छिन्, ‘तर, कहिलेकाहीँ आफूभन्दा पूर्णतया फरक भएका व्यक्तिहरूलाई मन पराउन सकिन्छ, जसले एकअर्काको आधारभूत आवश्यकताहरू पूरा गरिरहेका हुन्छन् ।’ डा। आस्था दिवानका अनुसार मित्रताभन्दा पनि आकर्षण धेरैजसो विपरीत व्यक्तिसँग हुने गर्छ । मित्रता पनि दुई पूर्णतया फरक व्यक्तिबीच छिट्टै हुन्छ। बीबीसी

विदेशी मुद्राको सटही रोकिँदा जटिल मोडमा इन्टरनेट सेवा उद्योग

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले विदेशी मुद्राको सटही रोकिँदा नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले सो बताएको हो । भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बद्ध व्यवसायी मारमा परेका महासंघले बताएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न नपाएको महासंघको गुनासो छ । यसको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने बताइएको छ । मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुने समेत महासंघको भनाई छ । ‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ,’ क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले भने । ‘नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन,’ क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारी भने । नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै रहेको बताउँदै क्यान महासंघले सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको छ ।

रेटिङबाट धमाधम बाहिरिँदै कम्पनी, वित्तीय संकट कि सूचना लुकाउने चलखेल ?

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा तीन वटा रेटिङ एजेन्सीले पाँच दर्जन बढी कम्पनीको रेटिङ विथड्र गर्ने सूचना सार्वजनिक गरेका छन् । रेटिङ एजेन्सी इक्रा नेपाल, केयर रेटिङ नेपाल र इन्फोमेरिक्स नेपालले एक महिनाको अवधिमा सो संख्यामा रेटिङ विथड्र गरेको सूचना सार्वजनिक गरेका हुन् । रेटिङको प्रक्रियामा गएर आर्थिक पारदर्शिता अपनाइरहेका कम्पनीहरू एकाएक रेटिङ प्रक्रियाबाट बाहिरिएपछि यतिखेर निजी क्षेत्रमा एक किसिमको तरंग सिर्जना भएको छ । एकै पटक यति धेरै कम्पनीहरू रेटिङबाट बाहिरिनुलाई धेरैले रेटिङ कम्पनीको विश्वसनियतामाथि मात्रै प्रश्न गरेका छैनन् ती कम्पनीहरूको आर्थिक पारदर्शितामाथि पनि आशंका पैदा गरेका छन् । कतिपयले यसलाई वर्तमान अर्थतन्त्रको कारकका रूपमा बुझेका छन् । पछिल्लो एक महिनाको अवधिमा इक्रा नेपालबाट २८ वटा कम्पनीको विथड्रका लागि सूचना सार्वजनिक भएको छ भने १६ वटा कम्पनीको रेटिङ खस्किएको छ । १६ वटा कम्पनीले पहिलेकै रेटिङ प्राप्त गरेका छन् । यस्तै, अर्को रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट एक महिनाको अवधिमा २७ वटा कम्पनी बाहिरिएका छन् भने इन्फोमेरिक्स नेपालबाट तीन वटा कम्पनी बाहिरिएका छन् । तीन वटा रेटिङ एजेन्सीबाट पाँच दर्जन कम्पनी बाहिरिँदा यसलाई तिनीहरूले पनि असामान्य रूपमा हेरेका छन् । कम्पनी बाहिरिनु उनीहरूका लागि मात्रै होइन रेटिङ गर्ने कम्पनीहरूको बिजनेस पनि घट्नु हो । विथड्र भएका अधिकांश कम्पनीको विवरणमा रेटिङ एजेन्सीहरूले सूचनामा सहजीकरण नगरेको तथा सूचना नै नदिएको भन्दै हटाएको उल्लेख गरेका छन् । इक्रा नेपालकी कार्यकारी प्रमुख अर्थात् बिजनेस हेड वर्षा श्रेष्ठले कम्पनीहरूले सम्झौता गरेअनुसार सूचना उपलब्ध नगराउँदा ती कम्पनीहरूलाई विथ ड्र गर्नु परेको बताइन् । सुरुमा ऋण लिनका लागि रेटिङ गराउने र कर्जा लिइसकेपछि रेटिङ नगरे पनि हुने गलत बुझाइका कारण कम्पनीहरूले सूचना दिन नमानेको उनको भनाइ छ । उनका अनुसार कम्पनीको वित्तीय विवरण पनि स्वस्थ नहुँदा सम्पूर्ण विवरण दिन अटेर गर्ने गरेका छन् । वर्षा श्रेष्ठ, बिजनेस हेड, इक्रा नेपाल । ‘कम्पनीहरूलाई रेटिङ गराउनुपर्छ भन्ने ज्ञान पनि हुँदैन, नीति पनि रेटिङ गर्नैपर्छ भन्ने बनेन, कतिपयलाई आफ्नो कम्पनीको वित्तीय विवरण दिन पनि गाह्रो लाग्छ, सुरुमा कर्जा लिनैका लागि सूचना दिए पनि पछि दिन मान्दैनन्, हामीले कम्पनीको यथार्थता देखाइदिँदा धेरैले गुनासो गर्ने गरेका छन्,’ उनी भन्छिन्, ‘कम्पनीलाई रेटिङको विषयमा बुझाउन नसक्दा पनि यो समस्या भएको हुनुपर्छ ।’ कम्पनीहरूले आवश्यकता परेको बेला रेटिङ गराउने र पछि कर्जा लिइसकेपछि शुल्क तिरिराख्नु पर्ने कारणले धेरैले रेटिङ गराउन छोड्ने गरेका छन् । सूचना उपलब्ध नगराउँदा एजेन्सीहरूले बाध्य भएर विथड्र गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले ५० करोडसम्मको कर्जाका लागि अनिवार्य रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । सो अनुसार कम्पनीहरूले कर्जा लिनका लागि रेटिङ गराउने गरेका छन् । एक पटक लिएको रेटिङको अवधि ६ महिनाको हुन्छ । उक्त समयावधि सकिएपछि रेटिङ एजेन्सीले पुनः रेटिङ गर्छ । तर, कम्पनीहरूको रेटिङ पुनःपुष्टिका लागि रेटिङ एजेन्सीहरूले सम्पर्क गर्न खोज्दा समेत कम्पनीहरू सम्पर्कमा आउन मान्दैनन् । त्यसपछि ती कम्पनीहरूलाई एजेन्सीले विथड्रको सूचीमा राख्ने र त्यो अवधिमा पनि सम्पर्कमा नआएमा विथड्र नै गर्ने प्रावधान छ । केयर रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अचित निर्वानीले पनि कम्पनीले सूचना नदिँदा विथड्र गर्ने गरेको जानकारी दिए । उनले नेपाल धितोपत्र बोर्डको गाइडलाइनअनुसार नै कम्पनीहरूलाई विथड्र गरेको बताए । उनले कम्पनीले सूचना नदिनुमा दुइटा कारण हुन सक्ने धारणा राखे । अचित निर्वानी, सीईओ, केयर रेटिङ नेपाल । ‘एउटा त हाम्रो सेवा मन नपराएर अर्को कम्पनीमा पनि गएका हुन सक्छन्, अर्को ती कम्पनीहरू आर्थिकरूपमा नाजुक भएर सूचना दिन नमानेका हुन सक्छन् । तर, उनीहरूले के कारणले हामीलाई सूचना दिएनन् भने विषय बुझ्न सकिएको छैन,’ उनले भने । रेटिङ गराउने कम्पनीहरूले आफ्नो वास्तविक वित्तीय अवस्था बाहिर आउने डरले पनि सूचना नदिएको हुन सक्ने बुझाइ धेरैको छ । आफ्नो दयनीय वित्तीय अवस्थालाई लुकाउनका लागि रेटिङका लागि सूचना नदिएको हुन सक्ने बुझाइ एक रेटिङ एजेन्सीका कर्मचारीको छ । रेटिङले कम्पनीको पारदर्शिता बढाउनुका साथै कर्जा दिने वित्तीय तथा गैर वित्तीय संस्थाहरूमा विश्वास पनि बढाउँछ । तर, कम्पनीहरुले नियमित रूपमा सूचना उपलब्ध नगराउँदा रेटिङलाई निरन्तरता समस्या भइरहेको धारणा रेटिङ एजेन्सीको छ । रेटिङ एजेन्सीबाट शाखः स्टील पनि बाहिरिएको छ । शाखः स्टीलका सञ्चालक किरण शाखः अहिले रेटिङ गर्न आवश्यक नभएको तर्क दिन्छन् । ‘जरूरी भएको बेला कम्पनीहरूले रेटिङ गरेका थिए होलान्, अहिले कम्पनी नै बिरामी परेको बेला के को रेटिङ गराउनु,’ उनी भन्छन्, ‘आवश्यक नपरेको बेला किन शुल्क तिरिराख्नु, अहिले ऋण पनि लिनु परेको छैन, त्यसैले सूचना नदिएका होलान् ।’ शाखःले अहिले कम्पनीहरूको आर्थिक अवस्था सन्तोषजनक नभएको कारण कम्पनीहरूले सूचना नदिएको हुन सक्ने संकेत गरे । नेपाल धितोपत्र बोर्डका अनुसार बैंक वा वित्तीय संस्थाबाट ऋण सुविधा लिन चाहनेले क्रेडिट रेटिङ गराउनु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले पनि ५० करोडभन्दा बढीको कर्जा लिएमा रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । बोर्डको क्रेडिट रेटिङ निर्देशिकाका अनुसार ग्राहकले रेटिङ संस्थालाई अनुगमन गर्ने दायित्व पूरा गर्न सहयोग नगरेमा क्रेडिट रेटिङ संस्थाले प्राप्त गर्न सकेको अधिकतम जानकारीको आधारमा रेटिङ पुनरावलोकन गर्नु पर्नेछ । त्यसरी सहयोग प्राप्त गर्न नसकेकोले प्राप्त हुन सकेका अधिकतम जानकारीको आधारमा रेटिङ अनुगमन गरिएको जानकारी सार्वजनिक रूपमा प्रवाहित गराउनु पर्ने व्यवस्था छ । ग्राहकले सहयोग नगरेमा र त्यस्तो सहयोग बिना रेटिङ अर्थहीन हुने कुरामा रेटिङ संस्था विश्वस्त भएमा रेटिङ फिर्ता लिन सक्ने व्यवस्था निर्देशिकामा छ । त्यस्तो अवस्था परेर रेटिङ फिर्ता लिने भएमा प्राप्त अधिकतम सूचनाको आधारमा एक पटक अनुगमन गरी रेटिङ फिर्ता लिने सम्बन्धमा बोर्ड तथा सार्वजनिक जानकारीको लागि सूचना प्रकाशित गरी कम्तीमा ६ महिना सम्म रेटिङ निगरानीमा राख्नु पर्नेछ र सो पश्चात् अर्को एक पटक अनुगमन गर्दा सुधार नभएमा क्रेडिट रेटिङ संस्थाले रेटिङ फिर्ता लिन सक्ने व्यवस्था पनि बोर्डले गरेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा पनि परेको छ । निजी क्षेत्रको बिजनेस सन्तोषजनक रूपमा सञ्चालन नहुँदा तिनीहरू आफ्नो वित्तीय अवस्था लुकाउने अवस्थामा पुगेको बुझाइ धेरैको छ । तर, वित्तीय अवस्था राम्रो भएर राम्रो रेटिङ पाएका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाले चाँडो कर्जा प्रवाह गर्न सक्छन् । ती कम्पनीहरू वित्तीय संस्थाको पहिलो रोजाइमा पनि पर्छन् । तर, अहिले रेटिङ एजेन्सीहरूले रेटिङका लागि बाराम्बार सूचना माग गर्दा पनि कम्पनीले सूचना उपलब्ध गराउन सहयोग नगर्नुलाई ती कम्पनीहरूको वित्तीय अवस्था र आर्थिक पारदर्शितामाथि प्रश्न उठेको हो ।

श्री एयरलाइन्सले २० प्रतिशतले बढायो आम्दानी, ३ अर्ब ८५ करोड ऋण लिँदै

काठमाडौं । श्री एयरलाइन्स प्रा. लि. ले २० प्रतिशतले आम्दानी बढाउन सफल भएको छ । आर्थिक वर्ष २०२२ को तुलनामा श्री एयरको आम्दानी २०२३ मा १९.७२ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०२३ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी २०२२ मा यस्तो आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँ थियो भने २०२१ मा एक अर्ब ३८ करोड रुपैयाँ थियो । सन् १९९९मा स्थापित कम्पनी २०२३ जुलाईबाट सार्वजनिक संस्थामा परिणत भएको हो । काठमाडौंमा आन्तरिक उडान गर्दै आएको कम्पनीले अहिले १८ वटा उडान भर्दै आएको छ । साथै, कम्पनीले हेलिकप्टर चार्टर सेवाहरु पनि दिँदै आएको छ । कम्पनीको प्रमुख सेयरधनी सुधीर मित्तल हुन्, जसको ९९.९९ प्रतिशत सेयर हिस्सा छ । श्री एयरले कूल ३ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ कर्जाको लागि रेटिङ्ग कम्पनी इन्फोमेरिक्स् क्रेडिट रेटिङ्ग नेपालमा रेटिङ्ग गराएको छ । कम्पनीले २ अर्ब ५५ करोड १७ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा र एक अर्ब ३० करोड ३८ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाको लागि रेटिङ्ग गराएको हो । जसमा इन्फोमेरिक्स् क्रेडिट रेटिङ्गले दीर्घकालीन कर्जाको लागि आईआरएन बीबी र अल्पकालीन कर्जाको लागि आईआरएन एफोर रेटिङ्ग दिएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पाँच जना निर्वाचित, सीताराम काफ्ले बने अध्यक्ष

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २५ गते सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले सञ्चालक समितिमा ५ जना निर्वाचित गरेको हो । नयाँ सञ्चालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल रहेका छन् । त्यस्तै, संस्थापक संस्थागत कम्पनी मुक्तिनाथ विकास बैंकको तर्फबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन् । यससँगै पुस २६ गते बसेको नव निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, सञ्चालक भरतराज ढकाललाई ४ वर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकमा चयन गरेको हो । मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन समेत गरिसकेको छ । कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी वस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रमा जोड दिँदै आइरहेको छ ।

आहारा खोज्दै घोडाघोडी ताल आइपुगे आगन्तुक चरा

घोडाघोडी । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप रमणीय र मनमोहक भएको छ । सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बरालले जानकारी दिए । अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उनको भनाइ थियो । ‘अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्’, चराविद् बरालले भने, ‘यहाँको मौसम यो बेला अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले चराहरू आउँछन् ।’ उनका अनुसार दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन् । सेप्टेम्बरको अन्तिम सातादेखि घोडाघोडी क्षेत्रमा एक हजार बढीको सङ्ख्यामा चराहरू आउने गरेका पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डङ्गौराले जानकारी दिए । ‘यो बेला ठूलो सङ्ख्यामा विभिन्न देशबाट हजारौँ किलोमिटरको यात्रा तय गरेर यहाँ चराहरू आउने गरेका छन्’, उनले भने, ‘यी चरा छ महिनासम्म यहाँ बसोबास गर्छन् ।’ उनका अनुसार डिसेम्बरसम्म यहाँ आइपुगेका चरा मार्चमा फेरि आएकै ठाउँतिर फर्किन्छन् । ‘संसारमा चराका नौ वटा उडान मार्ग रहेको बताइन्छ । आगन्तुक चराको नेपालमा दुई उडान मार्ग पर्दछन् । मध्य एसिया उडान मार्ग हुँदै चराहरू घोडाघोडी पुग्छन् । त्यसमा फिस्टे तथा हाँस प्रजातिका चराहरूका साथै सामुद्रिक चराहरू पर्छन् । कहिलेकाहीँ खोया हाँस पनि यहाँ देखिने गरेका छन्’, चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले भने । उनका अनुसार घोडाघोडीमा अहिले आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दुरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् । चौधरीले भने, ‘साइबेरिया, मङ्गोलिया, उत्तरी चीनलगायतका देशबाट अहिले घोडाघोडीमा आगन्तुक चराहरू आइपुगेका छन् । जाडो यामभरि यहाँका सिमसार क्षेत्रका साना ठूला तालमा ती चराहरू रमाउँछन् । फेरि यता गर्मी बढेपछि उतै फकिन्छन् ।’ कस्तो छ घोडाघोडी ताल ? एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ । यस आसपासमा रहेका अन्य १३ वटा तालसमेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल दुई सय ४८ हेक्टर रहेको छ । एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविक मार्गका रुपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताए । पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचिकृत भएको उनको भनाइ थियो । ‘विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्त्वपूर्ण छ’, पन्छी संरक्षण सङ्घका सहजकर्ता डङ्गौराले भने । उनका अनुसार यहाँ चार सय ५० प्रजातिका वनस्पति पाइन्छन् । यहाँका जङ्गलमा बहुमूल्य र औषधिका रूपमा प्रयोगमा आउने सतिसाल, साज, खयरलगायत वनस्पति पाइने बताइएको छ । रामसारको प्रावधानअनुसार विश्वका आठ मध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिमकुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेका घोडाघोडी बृहत् तथा पर्यटन विकास बोर्डका उपाध्यक्षसमेत रहेका चराविद् डिआर चौधरीले बताए । यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिको रूपमा छन् । उनका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, हाज हलाचे, राज धनेसलगायत प्रजातिका चराहरू यहाँ बसोबास गर्दछन् । चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २८ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । त्यसपश्चात् यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीय बताउँछन् । चराविद् डिआर चौधरीले भने, ‘नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा गरेपछि यहाँ पर्यटकको सङ्ख्या बढेको छ । सयौँ प्रजातिका चराचुरुङ्गीका साथै विश्वकै दुर्लभ प्रजातिका अजिङ्गर, सालक, पानी ओत, कछुवासमेत यहाँ पाइन्छ । साथै चितुवा, रतुवा, घोलर, बँदेल, चित्तल, खरायो, बाँदर, मुसा, सुन गोहोरो, सर्प, नीलगाईलगायत जनावरले यहाँको जैविक महत्व विश्वव्यापी बनाएका छन् ।’ यहाँ एक हजार छ सय ७० हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा २४ वटा ताल छन् भने दुई हजार पाँच सय ६३ हेक्टर क्षेत्रफल रामसार क्षेत्रले ओगटेको छ । छ सय ४७ प्रजातिका बोटबिरुवा, ३१ प्रजातिका माछा, तीन सय ८० प्रजातिका चरा, ३२ प्रजातिका पुतली र ११ प्रजातिका शङ्केकिरा पाइने यस ठाउँ संरक्षण तथा जैविक विविधताको क्षेत्रमा खोज गर्नेका लागि विश्वविख्यात अध्ययन केन्द्र सावित भएको चराविद् चौधरीले बताए । उनका अनुसार यहाँ ३४ प्रजातिका स्तनधारी जनावर र सात प्रजातिका घिस्रेर हिँड्ने जनावर पाइन्छन् । घोडाघोडी ताल छेउमा भगवान् शिवको प्रसिद्ध मन्दिर रहेकाले यस क्षेत्र धार्मिक दृष्टिकोणले समेत आस्थाको केन्द्रका रूपमा स्थापित भएको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए । ‘यो ताल प्रदेशको मात्रै नभई देशकै गहन हो । हामीले यहाँ देश विदेशबाट पर्यटन भित्र्याउने गरी काम गरिरहेका छौँ’, उनले भने, ‘अहिले गुरुयोजनाअनुसार ताल क्षेत्र व्यवस्थित गर्दैछौँ । यसले पनि ताल क्षेत्र अझै मनमोहक र रमणीय देखिनेछ ।’ रासस

एक लाख रुपैयाँ असुल्ने विकृति बढेपछि बोर्डको चलाखी, अब बिरामीले १० प्रतिशत शुल्क तिर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा मार्फत पाइने सेवा लक्षित वर्गले नपाएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले नयाँ प्रणाली लागू गर्ने भएको छ । स्वास्थ्य बीमाको मर्म अनुसार कार्यक्रम कार्यान्वयन नभएपछि बोर्डले अब स्वास्थ्य बीमा कार्यक्रममा सह-भुक्तानी (को-पेमेन्ट) प्रणाली लागू गर्ने भएको हो । जसमा अब १० प्रतिशत रकम बिरामी आफैंले बेहोर्नु पर्नेछ । यो प्रणाली माघ १ गतेदेखि लागू हुनेछ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था अनुसार सह-भुक्तानी (को-पेमेन्ट) प्रणाली लागू गर्ने भएको हो । अब बीमित नागरीकले अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुर्नस्थापना सेवा लिँदा सह-भुक्तानी प्रणालीको व्यवस्था लागू हुने भएको हो । सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीबाट लिएको १० प्रतिशत रकमको बिल वा भर्पाइ अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ । बाँकी ९० प्रतिशत रकम भुक्तानीका लागि नियमानुसार स्वास्थ्य बीमा बोर्डमा दावी गर्नु पर्नेछ । बोर्डका अनुसार लक्षित वर्गको बीमितलाई यो प्रर्णाली लागू हुँदैन । प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्यासम्मका सरकारी अस्पतालमा यो प्रर्णाली लागू हुँदैन भने आकस्मिक अवस्थामा स्वास्थ्य सेवा लिँदा पनि यो व्यवस्था लागू हुँदैन । बोर्डले नेपाल सरकारद्धारा निःशुल्क प्रदान गर्नका लागि तोकिएका सेवाहरूमा पनि यो व्यवस्था नहुने बताएको छ । किन आवश्यक पर्‍यो सह-भुक्तानी प्रणाली ? स्वास्थ्य बीमा भनेको हुनेले नहुने तथा अस्वस्थ व्यक्तिलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वको एउटा कार्यक्रम हो । सबै व्यक्तिले एउटै ठाउँमा पैसा जम्मा पार्ने र त्यसबाट जसलाई आवश्यक पर्छ, जो गरिब छ, जो अस्वस्थ छ उनीहरूलाई त्यहाँबाट सहयोग गर्ने यसको अवधारणा हो । तर, नेपालमा त्यसो नभइ मैले ३ हजार ५ सय तिरेको छु, अब मैले १ लाख रुपैयाँ उठाउनुपर्छ भन्ने बुझाइ र भावना जागृत भएको हुँदा केही समस्या भइरहेको बोर्ड सदस्य जुनु श्रेष्ठ बताउँछिन् । बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहोनीले को-पेमेन्ट रहर नभइ बाध्यताले लागू गर्न खोजेको बताए । उपचारमा १ लाख रुपैयाँ खर्च भएमा अब बिरामीले १० हजार रुपैयाँ आफैं तिर्नुपर्ने व्यवस्था गरिएको हो। बोर्डका सदस्य डा.मुक्तिराम श्रेष्ठ सामान्य बिरामी भएकाहरू बिमाको कार्ड देखाउँदै महँगो उपचार लिने भएकाले केही समस्या भएको बताउँछन् । ‘एक हजारको समस्यामा पनि १२/१३ हजारको उपचार लिने खोज्छन्, औषधी लिँदा पनि आवश्यकमात्र नभइ थप औषधीको लागि डाक्टरलाई प्रेसर दिन्छन्, यस्ता विभिन्न समस्या भएर नै सह-भुक्तानी (को-पेमेन्ट) प्रणाीली लागू गर्न खोजिएको हो,’ उनले भने । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा आएको भनेपनि यसभित्र पनि टाठाबाठाको रजाइँ रहेको बुझाइ धेरैको छ । जो मान्छेलाई स्वास्थ्य बीमाको आवश्यक छ, उनीहरू यसको पहुँचमा नआएको र जो सँग शक्ति र स्रोतसाधन छ ती व्यक्तिले जसरी भएपनि यो बाटा बेनिफिट लिइरहेको बुझाइ बोर्डको पनि छ । यस्ता गतिबिधीलाई रोक्न यो प्रणाली लागू गरिएको बोर्डको भनाइ छ । निजी अस्पताललाई पनि समेटिँदै स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई फेरि सेवा प्रदायक संस्थाको रूपमा समेट्ने भएको छ । यसअघि बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भन्दै सरकारी र सामुदायिक अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । तर, अब निजी अस्पताललाई पनि सेवा प्रदायक संस्थाको रुपमा समेट्ने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. गुणराज लोहोनीले बीमितको उपचारबापत समान मूल्य तिरेमा निजी र सामुदायिक भनेर छुट्याउन नहुने धारणा राखे । उनले निजी अस्पताललाई दिहाल्ने भन्ने भन्दा पनि यदि सरकारी सेवा र निजी सेवा एकै मुल्यमा लागू हुने हो भने निजीबाट पनि सेवा लिँदा के फरक पर्छ ? उनले प्रश्न गरे । ‘बीर अस्पतालमा एउटा अप्रेसनको १८ हजार लाग्छ र त्यो अप्रेसन ग्रान्डीले पनि १८ हजारमा गर्छ भने यो सरकारी हो यो नीजि भन्नुको तुक छैन, हामीले सेवा खरिद गर्ने हो र बिमितलाई त्यो सेवा दिने हो,’ डा. लोहनीले भने । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला अरु बीमा र स्वास्थ्य बिमामा फरक रहेको धारणा राख्छन् । ‘यहाँ बुझाइमा धेरै ग्याप रह्यो, जीवन बीमा कुनै घटना भोलि हुनेछ वा कोही वृद्ध मान्छे मर्न लागेको छ भने उसको बीमा हुँदैन,’ उनी भन्छन्, ‘स्वास्थ्य बीमामा भोलि मृत्यु हुन्छ, ७० वर्ष बृद्ध छ , क्यान्सर लागेको छ, किड्नीमा समस्या छ वा जस्तोसुकै रोग देखिएको छ भनेपनि हामी आजै खोजेर बिमा गर्छौं, त्यसैले अरु बीमा र यो कार्यक्रम फरक हो ।’ २०७२ साल चैत २५ गते कैलालीबाट सुरु भएको वास्थ्य बीमा कार्यक्रम देशका ७ सय ५१ पालिकामा लागू छ । काठमाडौँ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका बीमामा आवद्ध हुन बाँकी छन् । जनसंख्याका हिसाबले यो कार्यक्रममा २५ प्रतिशतको आवद्धता छ भने ६९ प्रतिशतले बीमा नवीकरण गरेका छन् ।

गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वार्षिक साधारण सभामा आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए । गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोसेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमश: दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी समेत गराएको छ । क्यापिटलका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।