राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारी मनोनयन आज
काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ । यस्तो छ निर्वाचन कार्यक्रम उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ । –––
युवा उद्यमी कार्की सम्मानित
काठमाडौं । युवा उद्यमी राज कार्की राष्ट्रिय युवा उद्यमी २०८० बाट सम्मानित भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषले आयोजना गरेको दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मार्फत् कार्की सम्मानित भएका हुन् । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन राज्यमन्त्री माननीय शुशिला श्रीपाली ठकुरीले उनलाई सम्मान गरेकी हुन् । बागबजारस्थित सुट्मालाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्की कपडा सिलाई कटाइको बजारलाई आधुनिकीकरण गरेर थप उचाइमा पु¥याउने अभियानमा छन् । रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आ-आफ्नो क्षेत्रबाट सेवा र योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरेको हो । कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष समेत हुन् । उनी विगत एक दकदेखि कपडा सिलाइ कटाइमा सक्रिय छन् ।
महोत्सवमा ८५ लाखको जुत्ताचप्पल बिक्री
झापा । नेपाली जुत्ताचप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा दश दिनमा रु ८५ लाखको कारोबार भएको छ । यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको दश दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष होम उपाध्यायले बताए । एक महिनामा एक लाख ५० हजार दर्शकलाई अवलोकन गराउने भन्दै रु तीन करोडको जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक उमेश राउतले महोत्सवमा आठ कम्पनीका १५ ब्रान्डका तीन हजार डिजाइनका जुत्ताचप्पल बिक्रीका लागि राखिएको बताए । पछिल्लो समय स्वदेशमा उत्पादित गुणस्तरीय जुत्ताचप्पलले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको जनाउँदै नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष उपाध्यायले सामूहिक ब्रान्डिङ र शोरुमको अभ्यास थालिएको बताए । उनका अनुसार महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । हाम्रो जुत्ता घर नामक फेसबुक पेज लाइक गर्नेहरुलाई सामान खरिदमा दुई प्रतिशत ‘क्यास ब्याक’ अफर दिइएको आयोजकले जनाएको छ । व्यापारी टीका उप्रेतीले महोत्सवमा उत्साहजनक व्यापार भइरहेको बताए । “दैनिक एउटा स्टलबाट रु २५ हजारसम्म बिक्री भइरहेको छ । आगामी दिनमा अझ बढ्ने आशा गरेका छौँ”, उनले भने ।
२६ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्बमा सीमित
काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक २६ अंकले घटेको छ । बजारमा परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२८ प्रतिशतले घटी हो । बजारमा कारोबार रकम ५ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । कारोबारमा आएका ३०४ वटा स्क्रीप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । घटेको बजारमा पनि ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीको १० प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ९.९९ प्रतिशत, नेपाल वेयरहाउजिङ्ग कम्पनीको ९.९८प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्थाको ९.९६ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.९६ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ९.७७ प्रतिशत, माथिल्लो मैलुन खोला जलविद्युतको ९.७१ प्रतिशत र विध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६९ प्रतिशतले घटेर प्रतिकित्ता ७१०.१० रुपैयाँमा झरेको छ ।
प्राधिकरणले १० हजार मेगावाट विद्युत् निर्यातका लागि पीपीए पूर्णरूपमा खुल्ला गर्नुपर्छ : इप्पान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) ले १० हजार मेगावाट विद्युत् निर्यातको लागि विद्युत् खरिद सम्झौता (पीपीए) पूर्ण रूपमा खुल्ला गर्नुपर्ने बताएको छ । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि भएको दीर्घकालीन सम्झौतासँगै नेपाल विद्युत् प्राधिकरणले रोकेर राखेका पीपीए पूर्णरूपमा खुल्ला गर्नुपर्ने इप्पानले बताएको हो । आइतबार इप्पानले एक कार्यक्रमको आयोजना गर्दै बिजुली निर्यातका लागि भएको सम्झौता स्वागत योग्य रहेको बताएको छ । इप्पानका महासचिव बलराम खतिवडाले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने बताए । बिजुली निर्यात गर्न निजी क्षेत्रको संलग्नताविना असम्भव रहेको बताउँदै निजी क्षेत्र विद्युत् निर्यातमा सहयोग गर्न तयार रहेको खतिवडाकाे भनाइ छ । इप्पानका अनुसार अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको छ । सम्झौताले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । ‘नेपालको ऊर्जा विकासमा आगामी दिनमा महत्वपूर्ण अवसरहरू सिर्जना भई अझ ऊर्जा विकासमा अग्रसर हुनका लागि थप ढोकाहरू खुल्दै जाने हाम्रो ठहर छ, ‘उनले भने, ‘नेपालले यति मात्र हैन यो भन्दा बढी निर्यात गर्न सक्छ, यसको लागि सरकारले पनि पहल गर्नुपर्छ ।’ उनले ५ सय मेगावाटसम्मको विद्युत् विकास गर्नमा निजी क्षेत्र सक्षम रहेको बताउँदै यसका लागि सरकारले सहजीकरणको वातावरण मिलाउनु पर्ने पनि बताए । सरकारले आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित गर्न लागेको मार्गचित्र कार्यान्वयन छिटो गर्नुपर्ने पनि कार्कीको सुझाव छ । हाल नेपालमा २८ सय ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा त्यसमा निजी क्षेत्रले मात्रै २१ सय ७५ मेगावाट योगदान पुर्याइरहेको छ । त्यस्तै निजी क्षेत्रबाट सञ्चालित २० हजार मेगावाट बराबरका आयोजनाहरु निर्माणको चरणमा रहेको इप्पानले जनाएको छ ।
एनसेल सेयर खरिद बिक्रीबारे छानबिन समितिको समय थप्ने तयारी
काठमाडौं । एनसेल खरिद बिक्रीको छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले समयमा नै प्रतिवेदन बुझाउन नसक्ने भएको छ । ३० दिनको समयावधि तोकेर गत मंसिर २४ गतेबाट सुरु भएको छानबिन प्रकृयामा सूचना संकलन प्रकृया कायमै रहेकोले तोकिएको समयमा समितिले प्रतिवेदन बुझाउन नसक्ने भएको हो । उच्चस्तरीय छानबिन समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यले कतिपय कागजात संकलन प्रकृयामा ढिलाइ भएकाले तोकिएको समयमा छानबिनको काम नसकिने अवस्था आएको बताएका छन् । समितिका संयोजकले सरकारलाई रिक्वेष्ट लेटर लेखेर समय सार्नु पर्ने माग गरेका छन् । ‘हाम्रो संयोजकले हिजो एउटा रिक्वेस्ट लेटर दिनुभएको छ, हाम्रा केही कामहरू बाँकी रहे, केही डकुमेन्ट आउन बाँकी रहे, त्यसैले म्याद थपको लागि हाम्रो संयोजकज्युले लेख्नुभएको छ,’ उनले भने । शाक्यका अनुसार समितिले छानबिनका लागि २/३ साता थप समय माग गरेको छ । समितिमा रहेका अर्का सदस्य तथा सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले समितिले काम गर्ने समय पुस २४ गतेसम्म बाँकी रहेकाले थप कोसिस गर्ने बताए । सरकारले मंसिर २१ गते एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । जसको सदस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । सरकारले समितिलाई एनसेलको सेयर खरिदमा भएका चलखेल र आगामी दिनमा हुने यस्तो खरिद-बिक्रीलाई रोक लगाउन सक्ने कानुनी संरचना निर्माणका लागि सुझाव समेत दिन सक्ने क्षेत्राधिकार दिइएको छ। आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका सतिशलाल आचार्यको ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई ६ अर्ब ६६ करोड रुपयाँमा अनुमतिबिनै बिक्री गरेपछि सरकारले समिति गठन गरेर अध्ययन गर्न थालेको हो ।
स्याङ्जाको मालुङ्गामा नेपाल टेलिकमको एफटिटिएच सेवा
काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवा मार्पmत मालुङ्गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अव उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्नेछन् । एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएस देखि १ जिविपिएस स्पिड क्षमता सम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनिय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए । मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए । त्यसैगरि, हाल वितरण गरिएको एनटिफाइबर सेवा मार्पmत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन, तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्पmत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ । एफटिटिएच सेवामा गुणस्तरियता र विश्वसनियता दुबै रहेकाले गल्याङ कार्यालय मार्पmत करिब १३ किलोमिटर परको दुरीमा विस्तार गरि प्रथम पटक मालुङ्गामा ल्याण्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणि प्रसाद बश्यालले बताए ।
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै वीरगञ्जका जङ्गबहादुर थापा
वीरगञ्ज । सुर्खेतको विद्यापुर–४ घर भई वीरगञ्ज महानगरपालिकामा बस्दै आएका ५२ वर्षीय जङ्गबहादुर थापाले ‘लेमन टी’ (कागती राखेर बनाइएको चिया)को व्यापारबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनले न ठूलो पुँजी लगाउनु पर्यो न त कुनै पसल नै सञ्चालन गर्नु परेको छ । उनको कमाइको स्रोत घुमफिर गरी लेमन टी बेच्ने व्यवसाय हो । वीरगञ्ज महानगरको घण्टाघर, मीनाबजार र माइस्थान क्षेत्रमा लेमन टी चियावालाको नामले परिचित थापाले बजार क्षेत्रका पसल, चौकचौक र सरकारी कार्यालयमा चिया पुर्याएर छ जनाको परिवारको जीविकोपार्जन गरिरहेका छन् । विगत डेढ दशकदेखि यसरी नै लेमन टी बेच्दै आउनुभएका थापाले पाँच जना छोराछोरीको पढाइ खर्च पनि यही व्यवसायबाट जुटाइरहेका छन् । ‘लेमन टी बेचेरै जेठो छोरालाई स्नातक (बिए) सम्म पठाएर बिहे गरी दिएँ । ऊ इन्टरनेट कम्पनीअन्तर्गतको अफिसमा काम गर्दैछ’, थापाले भने, ‘पाँच छोराछोरीमध्ये जेठी छोरीलाई स्टाफ नर्स (पिसिएल नर्सिङ) पढाएर बिहे गरिदिएँ ।’ थोरै लगानीबाट सुरु गरेको घुमफिर लेमन टी बेच्ने व्यवसायबाट परिवारको सम्पूर्ण खर्च चलेको उनको भनाइ थियो । गरिबी र परिवारिक कारणले आफूले पढ्न नपाए पनि छोराछोरीलाई यो अवसरबाट वञ्चित गर्नुहुन्न भनेर सबैलाई उच्च शिक्षा दिएको उनले बताए । घुमफिर चियाको व्यवसाय गर्दै आएका थापाले वीरगञ्ज आसपास क्षेत्रमा घरघडेरी जोड्ने तयारी गर्दै छन् । लेमन टी बेचेर दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुँदै आएको उनले जानकारी दिए । ‘दिनमा दुईदेखि दुई सय ५० कपसम्म चिया बिक्री हुँदै आएको छ’, उनले भने, ‘एक कपको रु १० पर्छ । यसरी दैनिक दुई हजार भन्दाबढी कमाइ भइहाल्छ ।’ स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिने लेमन टीको माग बजारमा अत्यधिक रहेको भन्दै एक्लैले चिया पुर्याउन भ्याइनभ्याइ हुने गरेको उनको भनाइ थियो । ‘चिया बेचेर थोरै बचत गरेर राखेको छु’, थापाले भने, ‘विस्तारै यतै घडेरी किनेर घर बनाउने तयारी गर्दैछ ।’ परिवारिक अवस्थाका कारण केही समय भारतको पञ्जाव, हरियाना लगायतका सहरमा मजदुरी गरेर फर्किएका थापाले अरुको मजदुरी गर्नुभन्दा आफ्नै ठाउँमा सानो व्यवसायबाट काम सुरु गर्नु उपयुक्त हुने अनुभव सुनाए । ‘अरुको देशमा मजदुरी गर्दा थुप्रै समस्या आउँछन् । अरुको अधिनमा बसेर काम गर्नुपर्दा कहिले बिरामी हुँदा पनि आराम पाइदैन’, थापाले भने, ‘अहिले आफ्नो घुमफिरको व्यापार छ । स्वतन्त्र रुपमा जति मेहनत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ । अहिले ढुक्क छु ।’ थोरै कमाए पनि स्वदेशमै मेहनत गरेर कमाउँदा सन्तुष्टी मिलेको उनको भनाइ थियो । ‘विदेशमा गएर कडा मेहनत गर्दा पनि दुःख झेल्नुभन्दा परिवारका सदस्यसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ’, थापाले भने । स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भने विदेश किन जानुरु उनले प्रश्न गरे । दूध हालेर बनाउने चियाले ग्यास्ट्रिक, डाइबिटिजलगायत स्वास्थ्यमा समस्या आउने भएकाले बजारमा धेरै मानिसको राजाइ लेमन टी भएको उनले जानकारी दिए । स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण लेमन टीप्रति बढेकाले थापाको घुमफिर चिया व्यापार फस्टाएको स्थानीय व्यापारी बताउँछन् । वीरगञ्जका स्थानीय व्यापारी कृष्णकुमार कानुले भने, ‘थापाले आयुर्वेदिक मसला हालेर लेमन टी बेच्ने गरेकाले पनि खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो छ ।’ पसलपसलमा पुगेर अरुको तुलनामा सस्तोमा चिया दिने भएकाले पनि थापाको व्यापार फस्टाएको उनको भनाइ थियो । केही वर्षयता विदेश जाने युवाको लर्को लग्ने गरेकामा थापाले स्वदेशमा नै कम लगानी गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले थापाबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका अगुवा अशोक मेहतरले बताए । रासस