
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) ले १० हजार मेगावाट विद्युत् निर्यातको लागि विद्युत् खरिद सम्झौता (पीपीए) पूर्ण रूपमा खुल्ला गर्नुपर्ने बताएको छ । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि भएको दीर्घकालीन सम्झौतासँगै नेपाल विद्युत् प्राधिकरणले रोकेर राखेका पीपीए पूर्णरूपमा खुल्ला गर्नुपर्ने इप्पानले बताएको हो ।
आइतबार इप्पानले एक कार्यक्रमको आयोजना गर्दै बिजुली निर्यातका लागि भएको सम्झौता स्वागत योग्य रहेको बताएको छ । इप्पानका महासचिव बलराम खतिवडाले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने बताए ।
बिजुली निर्यात गर्न निजी क्षेत्रको संलग्नताविना असम्भव रहेको बताउँदै निजी क्षेत्र विद्युत् निर्यातमा सहयोग गर्न तयार रहेको खतिवडाकाे भनाइ छ । इप्पानका अनुसार अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको छ ।
सम्झौताले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

‘नेपालको ऊर्जा विकासमा आगामी दिनमा महत्वपूर्ण अवसरहरू सिर्जना भई अझ ऊर्जा विकासमा अग्रसर हुनका लागि थप ढोकाहरू खुल्दै जाने हाम्रो ठहर छ, ‘उनले भने, ‘नेपालले यति मात्र हैन यो भन्दा बढी निर्यात गर्न सक्छ, यसको लागि सरकारले पनि पहल गर्नुपर्छ ।’
उनले ५ सय मेगावाटसम्मको विद्युत् विकास गर्नमा निजी क्षेत्र सक्षम रहेको बताउँदै यसका लागि सरकारले सहजीकरणको वातावरण मिलाउनु पर्ने पनि बताए । सरकारले आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित गर्न लागेको मार्गचित्र कार्यान्वयन छिटो गर्नुपर्ने पनि कार्कीको सुझाव छ ।
हाल नेपालमा २८ सय ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा त्यसमा निजी क्षेत्रले मात्रै २१ सय ७५ मेगावाट योगदान पुर्याइरहेको छ । त्यस्तै निजी क्षेत्रबाट सञ्चालित २० हजार मेगावाट बराबरका आयोजनाहरु निर्माणको चरणमा रहेको इप्पानले जनाएको छ ।