नेप्सेको कारोबार प्रणाली पुनः तीन दिन बन्द हुने
काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले आज बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो । नेप्सेले दोश्रो चरणको विद्युत मर्मत तथा सम्भारको लागि बिहीबार अर्थात माघ ४ गते साँझ ५ बजेदेखि शनिबार अर्थात पुस ६ गते राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो । यसअघि पनि नेप्सेको कारोबार प्रणाली गत पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राती ११ बजेसम्म बन्द भएको थियो ।
जुत्ता व्यापारीद्वारा दुर्गा प्रसाईंमाथि हातपात
काठमाडौं । विवादस्पद व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका उनीमाथि हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलले जानकारी दिए ।
रुकुमपश्चिमबाट ९ करोडको अदुवा बिक्री
रुकुमपश्चिम । व्यावसायिकरूपमा अदुवाखेती गरेका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट एक लाख आम्दानी भएको उनको भनाइ थियो । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका खड्काले निरन्तर अदुवाखेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउको लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको खड्काले बताए । सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताए । विगत ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार आम्दानी गरेको बताए । अदुवा गाउँबाटै खैन (खानका लागि प्रयोग) प्रतिक्विन्टल चार हजार र बीउको लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाए पनि गत वर्षको तुलनामा यस वर्षमा उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए । उनका अनुसार उत्पादनमा कमी भए पनि अदुवाको मूल्य तेब्बरले वृद्धि हुँदा किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गरेका हुन् । गत वर्ष प्रतिक्विन्टल दुई हजार पाँच सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष प्रतिक्विन्टल पाँच हजारदेखि आठ हजारसम्ममा बिक्री गरेका छन् । जिल्लामा मुख्यगरी त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए । यस वर्ष जिल्लाबाट एक हजार छ सय मेट्रिक टन अदुवा बिक्री हुँदा आठ करोड ८० लाख आम्दानी भएको छ भने अझै केही अदुवा बिक्री गर्न बाँकी छ । अदुवा उत्पादनबाट ४० हजारदेखि पाँच लाख रुपैयाँसम्म किसानले आम्दानी गर्ने गरेको उनले बताए । अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिकरूपमा अदुवाखेती गर्ने किसानको सङ्ख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले जानकारी दिए । सामान्य खेती गर्ने किसानले दुई रोपनीदेखि व्यावसायिकरूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवाखेती गर्ने गरेका छन् । ‘गत वर्ष जिल्ल्लामा प्राङ्गारिक कृषक प्रमाणित भएका तीन सय एक किसानले उत्पादन गरेको अदुवा सुर्खेतमा रहेको द अग्र्यानिक भ्यालीसँग समन्वय गरेर कृषि विकास कार्यालयले बिक्री गरेको थियो । यस वर्ष भने व्यापारीले किसानकै बारीमा आएर अदुवा खरिद गरेकाले बजारको समस्या भएन । किसानले आफैँ राम्रो मूल्यमा अदुवा बिक्री गरेका छन्’, उनले भने । जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपाजगञ्ज र काठमाडौँसम्म जाने गरेको छ । अदुवा लगाएको निश्चित समय नपुग्दै साउनको अन्तिममा बुर्णा (नयाँ तयार नहुँदै निकालिएको पुरानो बीउ) निकाल्नुपर्नेमा असारमै निकालेको यस वर्ष अदुवा उत्पादनमा कमी आएको उक्त कार्यालयको भनाइ थियो । रासस
हिमालयन रिको सेयरमा झुम्मिए लगानीकर्ता, एक्लैको पौने दुई अर्ब बढीको कारोबार
काठमाडौं । पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कारोबार र मूल्य निरन्तर बढेसँगै लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बिहीबार मात्रै कम्पनी एक्लैको पौने २ अर्ब बढी अर्थात एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यससँगै सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि रहेको छ । त्यसैगरी, कारोबार र कारोबार संख्याको आधारमा पनि हिमालयन रि शीर्ष स्थानमा नै देखिएको छ । दिनभरमा कम्पनीको एक लाख ५४ हजार ०११ पटकको कारोबारमा कूल ३० लाख ४४ ह जार ७०२ कित्ता सेयर किनबेच भएको छ । बिहीबार हिमालयन रिको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ६५३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८.४४ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता १०३.५ रुपैयाँको उतारचढाव देखिएको छ । बिहीबार कम्पनीको सेयर न्यूनतम ५५८ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा किनबेच भएको देखिन्छ । दोश्रो बजारमा प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य दैनिक बढेर प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा कारोबार भएको छ । समग्रमा बिहीबारको बजारमा कूल ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । त्यस्तै, नेप्से परिसूचक पनि ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा झरेको छ । घटेको बजारमा पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको १० १० प्रतिशतले र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित
काठमाडौं । नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बैंकिङ क्षेत्रबाट नबिल र बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको हो । इप्पानले निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको भन्दै नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक) लाई सम्मान गरेको हो । त्यस्तै, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनी भएको भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स (साबिकको एनबी इन्स्योरेन्स) लाई इप्पानले सम्मान गरेको हो । त्यसैगरी, आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी सम्मानित भएको छ । ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरु सम्मानित कार्यक्रममा ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई इप्पान विशेष सम्मानले सम्मान गरिएको छ । ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, उर्जा मन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् । इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा उर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन् । त्यस्तै वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ । त्यस्तै १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ साल माघ १० गते सम्पन्न भएको नेशनल हाईड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ । कम्पनीले ७।५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नेशनल हाईड्रोपावरका संस्थापक अध्यक्ष जीत बहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो । कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ ।
महँगा नेपाली बैंकर, विदेशीको तुलनामा सस्ता
काठमाडौं । विश्वका ठूला कम्पनीका महँगा सीईओहरुसँग तुलना गर्नै नमिल्ने कमाइ देखिन्छ नेपालका कर्पोरेट हाउसका सीईओहरूको । बैंक, बीमा कम्पनीहरूले प्रमुख कार्यकारी अधिकृतहरूका लागि भुक्तानी गरेको तलब, भत्ता वा अन्य सुविधाबारे वार्षिक प्रतिवेदनमा सार्वजनिक गर्ने गरेका छन् । तर, नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत नभएका सूर्य नेपाल, डावर नेपाल, सिप्रदी ट्रेडिङ, एनसेल लगायत दर्जनौं प्रभावकारी ठूला कम्पनीहरु पनि छन्, जहाँ उच्च व्यवस्थापनमा बस्नेहरुले बैंकको कार्यकारी प्रमुखहरुको भन्दा बढी तलब पाउँछन् । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (आईएनजीओ)का कार्यकारी प्रमुखहरूले पनि बैंकका सीईओहरूको भन्दा बढी तलब लिने गरेका बताइन्छ । तर, उनीहरूको तलब सुविधा सार्वजनिक गर्ने अभ्यास छैन । औपचारिक रुपमा यो अथाहा विषय हो । थाहा भएको विषय बैंकका सीईओहरुको वार्षिक तलब करोड नाघेको छ । नेपालको परिवेशमा यो उच्च हो । तर, विश्व परिवेशमा यो निच्च (ज्यादै कम) हो । सीईओ बन्न प्रतिस्पर्धा पनि कडा नै हुन्छ । दुई दशकभन्दा कम अवधिको मिहिनेतमा ठूला कम्पनीमा सीईओ बनेको उदाहरण बिरलै भेटिन्छन् । विषयवस्तुको ज्ञान, संस्थालाई उचाइ दिने लक्ष्य, अटौट र कार्यसम्पादन क्षमता उसको अनिवार्य सर्त नै हो । अवसर र जोखिमको विश्लेषण गर्न सक्ने र त्यसबाट संस्थालाई लाभ दिलाउन सक्ने खुबी ऊसँग हुनैपर्छ । व्यावसायिक मर्यादामा नबस्ने, व्यक्तिगत लोभ लालच गर्ने, कर्ममा कमजोर, नतिजामा कमजोर व्यक्ति पनि सीईओ बन्नै सक्दैन । कडा परिश्रमि, राम्रो नतिजा प्रदर्शन गर्न सक्ने, असल आचारण र निष्ठायुक्त व्यक्ति मात्र सीईओको दावेदार हुन सक्छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको तलब बढी हुनुका केही आधारहरू उनीहरूले पेश गर्ने गरेका छन् । पहिलो, उच्च जोखिम लिएर काम गरेका हुन्छन् । बैंकमा सर्वसाधारणको निक्षेप हुन्छ । त्यसको सुरक्षा गर्दै बैंकप्रति सर्वसाधारणको पूर्ण विश्वास कायम राख्ने मुल जिम्मेवरी बैंकका सीईओहरूको हुन्छ । दोस्रो, बैंक ठूलो संस्था भए । संस्था जति ठूलो हुन्छ, त्यसको सञ्चालन जोखिम त्यति नै धेरै हुन्छ । २० अर्बदेखि ६० अर्ब पुँजी कोष भएका बैंकहरू सञ्चालनमा छन् । उनीहरूको वासलात ४०० अर्ब रुपैयाँसम्मको पुगेको छ । हजारौं कर्मचारी हुन्छन् । लाखौको संख्यामा ग्राहक छन् । यी सबै राम्रो व्यवस्थापन, सञ्चालन र लगानीकर्तालाई अधिकतम् प्रतिफल दिनु, उनीहरूको मुख्य जिम्मेवारी हुन्छ । यद्यपी पछिल्लो समय बैंकहरूको नाफा ज्यादै न्यून बिन्दुमा झरेको छ । धेरै बैंकहरूले लगानीकर्तालाई शून्य प्रतिफल घोषणा गरे । ज्योति प्रकाश पाण्डे : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले साविक नेपाल इन्भेष्टमेन्ट बैंक हुँदा ४ करोड ८१ लाख रुपैयाँ तलब बुझेका थिए । नेपाल राष्ट्र बैंकमा १ वर्ष काम गरेका उनले एन्.आई.डि.सि.बैंकमा १ वर्ष, ईण्डोश्वेज बैंकमा ४ वर्ष र हिमालयन बैंकमा ९ वर्ष काम गरेका थिए । सन् २००९ देखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा कार्यरत कार्यरत छन् । अशोक शेरचन : प्रभु बैंकले सीईओ अशोक शेरचनलाई अघिल्लो वर्ष ४ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको हो । उनले सन् १९९५ बाट नेपाल बङ्गलादेश बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् । साविक एनसीसी बैंकमा ९ वर्ष काम गरेका उनी साविक प्रभु फाइनान्सको सीईओ हुँदै हाल प्रभु बैंकको सीईओमा कार्यरत छन् । उनी २ दशकदेखि सीईओ पदमा कार्यरत छन् । अनिर्वाण घोष दास्तिदार : स्ट्याण्डर्ड चार्टर्ड बैंकले सीईओ अनिर्वाण घोष दास्तिदारलाई गत वर्ष ३ करोड ६८ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । वि.सं २०७५ माघमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा नियुक्त भएका दास्तिदारसँग झण्डै ३१ वर्ष बढीको बैंकिङ अनुभव छ । अनिर्वाणले श्रीलंका र फिलिपिन्सका बैंकमा सीईओ समेत भएर जिम्मेवारी बहन गरिसकेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आउनुअघि उनी ब्रुनाईमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओ थिए । रोशन न्यौपाने : एनआईसी एशिया बैंकले सीईओ रोशन कुमार न्यौपानलाई गत वर्ष ३ करोड तलब भुक्तानी गरेको छ । वि.सं.२०७५ मंसिरमा एनआईसी एशियाको सीईओमा नियुक्त भएका न्यौपानेलाई गत मंसिर १५ गतेदेखि थप ४ वर्षका लागि पुनः नियुक्त गरिसकेको छ । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने ३८ वर्षको उमेरमा वाणिज्य बैंकको सीईओको रुपमा नियुक्त हुँदा मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’को रुपमा समेत उनले चर्चा पाए । रत्नराज बज्राचार्य : अनुभवी बैंकर रुपमा परिचित रत्नराज बज्राचार्य वि.सं.२०७७ साउनमा ग्लोबल आइएमई बैंकको सीईओमा नियुक्त भएका हुन् । चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यसँग नेपाल राष्ट्र बैंकमा २० वर्ष काम गरेको अनुभव छ । उनी साविक नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी)बैंकमा पहिलो पटक सीईओ भएका थिए । एनसीसीमा ४ वर्षे कार्यकाल पूरा गरेपछि उनी ग्लोबल आइएमई बैंकमा र सनराइज बैंकको सीईओ भए । ३ बैंकमा १२ वर्ष सीईओ भएका बज्राचार्य ग्लोबल बैंकमा दोस्रो कार्यकाल बिताउँदैछन् । ग्लोबल आइएमई बैंकले सीईओ बज्राचार्यलाई गत वर्ष २ करोड ६१ लाख रुपैयाँ तलब भुक्तानी गरेको हो । सुनिल केसी : सन् १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका सुनिल केसी वि.सं.२०७३ चैत १ गतेदेखि एनएमबि बैंकको सीईओको रुपमा कार्यरत छन् । पहिलो कार्यकाल वि.सं. २०७७ फागुनमा सकिएपछि सञ्चालक समितिले केसीलाई सीईओमा पुनः नियुक्त गरेको हो । एनएमबि बैंकले सीईओ केसीलाई गत वर्ष २ करोड ४८ लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । केसीलाई बैंकको सीईओमा नियुक्त हुनुअघि एनएमबि बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए । स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ वर्ष काम गरेका उनले तत्कालिन एनआइसी बैंकमा एक वर्ष काम गरेका थिए । उनी नेपाल बैंकर्स संघका अध्यक्ष समेत हुन् । अशोक राणा : हिमालयन बैंकले सीईओ अशोक राणालाई गत असारसम्म २ करोड १० लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । हिमालयन बैंकको विभिन्न पदमा रही ३ दशक काम गरेका राणाले नबिल बैंकमा समेत ६ वर्ष काम गरेका थिए । उनी विगत १६ वर्षदेखि बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले विएसीसम्म अध्ययन गरेका छन् । सुन्दरप्रसाद कँडेल : सिद्धार्थ बैंकले सीईओ सुन्दरप्रसाद कँडेललाई गत वर्ष २ करोड १० लाख रुपैयाँ भत्ता भुक्तानी गरेको छ । २०७८ मंसिर २७ गते बैंकको सीईओमा नियुक्त कँडेलसँग बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो कार्य अनुभव छ । उनी सिद्धार्थ बैंकमा विगत दुई दशकदेखि आवद्ध छन् । त्यसअघि उनले नबिल बैंकमा करिब १७ वर्ष काम गरेका थिए । सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर कार्यरत छन् । बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव सँगालेका सीईओ मानन्धर चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । उनी प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत छन् । त्यसअघि विश्व बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत राष्ट्रिय वाणिज्य बैंकमा साढे ४ वर्ष काम गरेका उनले नेपाल इन्भेष्टमेन्ट बैंकमा साढे ३ वर्ष र नेपाल टेलिकममा १ वर्ष काम गरेका थिए । बैंकले पूर्व सीईओ नारायणदाश मानन्धरलाई २ करोड १० लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । संजीवले पाएको तलव सुविधा सार्वजनिक भएको छैन । गणेशराज पोखरेल : सिटिजन्स बैंकले सीईओ गणेशराज पोखरेललाई गत वर्ष १ करोड ९७ लाख रुपैयाँ तलब प्रदान गरेको छ । सिटिजन्स बैंकको सीईओमा दोस्रो कार्यकाल सम्हालिरहेका पोखरेल स्थापनाकादेखि बैंकसँग आवद्ध भई विभिन्न पदमा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनी २०६५ सालदेखि दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन् । पोखरेलसँग व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव रहेको छ । सुदेश खालिङ : तीन दशक बैंक तथा वित्तीय संस्थामा काम गरेका अनुभवी सुदेश खालिङ २०७७ चैतमा एभरेष्ट बैंकको सीईओमा नियुक्त भएका हुन् । यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य बनेका उनी लक्ष्मी बैंकको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका संस्थामा काम गरेको अनुभव उनीसँँग छ । एभरेष्ट बैंकको सीईओ बन्ने पहिलो नेपाली हुन् । बैंकले सीईओ खालिङलाई गत वर्ष १ करोड ९२ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । दिपक कुमार डे : नेपाल एसबिआई बैंकको सीईओमा कार्यरत दिपक कुमार देलाई गत वर्ष १ करोड ६४ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । संस्थागत सेयरधनी स्टेट बैंक अफ इण्डियाले २०७७ साउनमा बैंकको सीईओमा देलाई नियुक्त गरेर पठाएको थियो । विगत ३ दशकदेखि भारतीय स्टेट बैंकमा कार्यरत रही विगत २ वर्षदेखि नेपाल एसबिआई बैंकको प्रबन्ध संचालकको रुपमा कार्यरत छन् । ज्ञानेन्द्र प्रसाद ढुंगाना : नबिल बैंकले सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानालाई गत वर्ष १ करोड ५९ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । बैंकले ढुंगानालाई २०७९ असारमा सीईओमा नियुक्त गरेको हो । विगत ३ दशकदेखि बैकिङ अनुभव संगालेका ढुङ्गानाले यसअघि बङ्गलादेश बैंकमा १० वर्षसम्म सीईओ भएर काम गरेका थिए । उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका थिए । सन्तोष कोइराला : माछापुच्छ्रे बैंकले सीईओ सन्तोष कोइरालालाई गत वर्ष १ करोड ५४ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । साढे २ दशकभन्दा लामो अनुभव बटुलेका सीईओ कोइराला आफ्नो करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् । २०७६ चैतमा बैंकको सीईओमा नियुक्त भएका उनले पहिलो कार्यकाल सफलता पूर्वक पुरा गरेपछि गत पुसमा दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त भएका हुन् । अजय बिक्रम शाह : लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहलाई १ करोड ४५ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । सन् १९९४ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका शाह सन् २००४ देखि हालसम्म लक्ष्मी बैंकमा कार्यरत छन् । लक्ष्मी र सनराइज बैंकसँग मर्जरपछि उनी पुनः सीईओमा नियुक्त भएका हुन् । निश्चलजंग पाण्डे : सानिमा बैंकले सीईओ निश्चलराज पाण्डेलाई गत वर्ष १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । वि.सं. २०७८ माघमा बैंकको सीईओमा नियुक्त भएका पाण्डेसँग २८ वर्षको बैंकिङ अनुभव छ । त्यसअघि उनी सोही बैंकमा डेपुटी सीईओ थिए । पाण्डेले यसअघि नबिल बैंकमा १८ वर्ष काम गरेका थिए । रामचन्द्र खनाल : कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल कार्यरत छन् । खनाललाई गत मंसिरमा आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । कुमारी बैंकले सीईओलाई १ करोड ९० लाख रुपैयाँ प्रदान गरेको छ । मर्ज पूर्व कुमारीको सीईओ खनाल र एनसीसी बैंकका सीईओ रमेशराज अर्यालले उक्त रकम लिएका हुन् । किरण श्रेष्ठ : राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणले श्रेष्ठले गत वर्ष आफूले काम गरेवापत ६६ लाख ४ हजार रुपैयाँ तलब लिएका छन् । श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकमा २०७२ चैत २९ गते नियुक्त भई हालसम्म सीईओ छन् । दोश्रो कार्यकालका लागि उनी २०७६ चैत २ मा पूनः सीईओमा नियुक्ति भएका थिए । राष्ट्रिय वाणिज्य बैंकमा आउनु अघि उनी नेपाल बैंकमा महाप्रवन्धक थिए । तिलकराज पाण्डेय : तिलकराज पाण्डेय हालै नेपाल बैंकको सीईओमा नियुक्त भएका हुन् । उनी गत पुस ६ गते मात्रै नेपाल बैंककको सीईओमा नियुक्त भएका हुन् । नेपाल बैंकले सीईओलाई ६४ लाख ५२ हजार रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको छ । तर, उक्त रकम पूर्व सीईओ कृष्ण बहादुर अधिकारीले बुझेका हुन् । अधिकारीको भन्दा पाण्डेले बढी पाउने निश्चित रहेको छ । गोविन्द गुरुङ : कृषि विकास बैंकले सीईओलाई ६१ लाख ३२ हजार रुपैयाँ तलब भुक्तान गरेको छ । तर, उक्त तलब पूर्व सीईओ अनिल कुमार उपाध्यायले बुझेका हुन् । हाल बैंकको सीईओमा गोविन्द गुरुङ कार्यरत छन् । बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले विदेशी बैंकमा समेत काम गरेको अनुभव छ । विश्वका १० महँगा सीईओ, जसले लिन्छन् ३४ अर्बसम्म तलब
लक्ष्मी सनराइज बैंकले सुरु गर्यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा
काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले भिसाको सहायक संस्था, साईबरर्सोस संगको सहकार्यमा विकास गरेको हो । बैंकका अनुसार यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निमित्त ग्राहक मार्फत भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्दछ । उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । तसर्थ यो सुविधाले निश्चित रूपमा देशको ई-कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा सनराईज बैंकको रहेको छ ।
एनसेल खरिद बिक्रीको प्रतिवेदन माघ १५ गतेभित्रै बुझाउँदै समिति
काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीको छानबिन गर्न बनेको उच्चस्तरीय समितिले आगामी माघ १५ गतेभित्रै प्रतिवेदन बुझाउने भएका छन् । बिहीबार सूचना तथा सञ्चार समितिको बैठकमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समितिले माघ १५ भित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी गराइन् । ‘छानबिन तीव्रता साथ अगाडि बढेको र निष्कर्षमा पुग्न लागेको जानकारी आएको छ,’ बैठकमा बोल्दै मन्त्री शर्माले भनिन् । सरकारले मंसिर २१ गते एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । जसको सदस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । उक्त समितिलाई ३० दिनको समयावधि तोकिएको थियो । तर छानबिन प्रकृया अन्तिम चरणमा नपुगेकोले समितिलाई माघ १५ गतेसम्मको लागि समय थपिएको छ ।