महँगा नेपाली बैंकर, विदेशीको तुलनामा सस्ता

<p>काठमाडौं । विश्वका ठूला कम्पनीका महँगा सीईओहरुसँग तुलना गर्नै नमिल्ने कमाइ देखिन्छ नेपालका कर्पोरेट हाउसका सीईओहरूको । बैंक, बीमा कम्पनीहरूले प्रमुख कार्यकारी अधिकृतहरूका लागि भुक्तानी गरेको तलब, भत्ता वा अन्य सुविधाबारे वार्षिक प्रतिवेदनमा सार्वजनिक गर्ने गरेका छन् । तर, नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत नभएका सूर्य नेपाल, डावर नेपाल, सिप्रदी ट्रेडिङ, एनसेल लगायत दर्जनौं प्रभावकारी ठूला [&hellip;]</p>

काठमाडौं । विश्वका ठूला कम्पनीका महँगा सीईओहरुसँग तुलना गर्नै नमिल्ने कमाइ देखिन्छ नेपालका कर्पोरेट हाउसका सीईओहरूको । बैंक, बीमा कम्पनीहरूले प्रमुख कार्यकारी अधिकृतहरूका लागि भुक्तानी गरेको तलब, भत्ता वा अन्य सुविधाबारे वार्षिक प्रतिवेदनमा सार्वजनिक गर्ने गरेका छन् । तर, नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत नभएका सूर्य नेपाल, डावर नेपाल, सिप्रदी ट्रेडिङ, एनसेल लगायत दर्जनौं प्रभावकारी ठूला कम्पनीहरु पनि छन्, जहाँ उच्च व्यवस्थापनमा बस्नेहरुले बैंकको कार्यकारी प्रमुखहरुको भन्दा बढी तलब पाउँछन् । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (आईएनजीओ)का कार्यकारी प्रमुखहरूले पनि बैंकका सीईओहरूको भन्दा बढी तलब लिने गरेका बताइन्छ । तर, उनीहरूको तलब सुविधा सार्वजनिक गर्ने अभ्यास छैन । औपचारिक रुपमा यो अथाहा विषय हो । थाहा भएको विषय बैंकका सीईओहरुको वार्षिक तलब करोड नाघेको छ । नेपालको परिवेशमा यो उच्च हो । तर, विश्व परिवेशमा यो निच्च (ज्यादै कम) हो ।

सीईओ बन्न प्रतिस्पर्धा पनि कडा नै हुन्छ । दुई दशकभन्दा कम अवधिको मिहिनेतमा ठूला कम्पनीमा सीईओ बनेको उदाहरण बिरलै भेटिन्छन् । विषयवस्तुको ज्ञान, संस्थालाई उचाइ दिने लक्ष्य, अटौट र कार्यसम्पादन क्षमता उसको अनिवार्य सर्त नै हो । अवसर र जोखिमको विश्लेषण गर्न सक्ने र त्यसबाट संस्थालाई लाभ दिलाउन सक्ने खुबी ऊसँग हुनैपर्छ । व्यावसायिक मर्यादामा नबस्ने, व्यक्तिगत लोभ लालच गर्ने, कर्ममा कमजोर, नतिजामा कमजोर व्यक्ति पनि सीईओ बन्नै सक्दैन । कडा परिश्रमि, राम्रो नतिजा प्रदर्शन गर्न सक्ने, असल आचारण र निष्ठायुक्त व्यक्ति मात्र सीईओको दावेदार हुन सक्छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको तलब बढी हुनुका केही आधारहरू उनीहरूले पेश गर्ने गरेका छन् । पहिलो, उच्च जोखिम लिएर काम गरेका हुन्छन् । बैंकमा सर्वसाधारणको निक्षेप हुन्छ । त्यसको सुरक्षा गर्दै बैंकप्रति सर्वसाधारणको पूर्ण विश्वास कायम राख्ने मुल जिम्मेवरी बैंकका सीईओहरूको हुन्छ । दोस्रो, बैंक ठूलो संस्था भए । संस्था जति ठूलो हुन्छ, त्यसको सञ्चालन जोखिम त्यति नै धेरै हुन्छ । २० अर्बदेखि ६० अर्ब पुँजी कोष भएका बैंकहरू सञ्चालनमा छन् । उनीहरूको वासलात ४०० अर्ब रुपैयाँसम्मको पुगेको छ । हजारौं कर्मचारी हुन्छन् । लाखौको संख्यामा ग्राहक छन् । यी सबै राम्रो व्यवस्थापन, सञ्चालन र लगानीकर्तालाई अधिकतम् प्रतिफल दिनु, उनीहरूको मुख्य जिम्मेवारी हुन्छ । यद्यपी पछिल्लो समय बैंकहरूको नाफा ज्यादै न्यून बिन्दुमा झरेको छ । धेरै बैंकहरूले लगानीकर्तालाई शून्य प्रतिफल घोषणा गरे ।

ज्योति प्रकाश पाण्डे :

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले साविक नेपाल इन्भेष्टमेन्ट बैंक हुँदा ४ करोड ८१ लाख रुपैयाँ तलब बुझेका थिए । नेपाल राष्ट्र बैंकमा १ वर्ष काम गरेका उनले एन्.आई.डि.सि.बैंकमा १ वर्ष, ईण्डोश्वेज बैंकमा ४ वर्ष र हिमालयन बैंकमा ९ वर्ष काम गरेका थिए । सन् २००९ देखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा कार्यरत कार्यरत छन् ।

अशोक शेरचन :

प्रभु बैंकले सीईओ अशोक शेरचनलाई अघिल्लो वर्ष ४ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको हो । उनले सन् १९९५ बाट नेपाल बङ्गलादेश बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् । साविक एनसीसी बैंकमा ९ वर्ष काम गरेका उनी साविक प्रभु फाइनान्सको सीईओ हुँदै हाल प्रभु बैंकको सीईओमा कार्यरत छन् । उनी २ दशकदेखि सीईओ पदमा कार्यरत छन् ।

अनिर्वाण घोष दास्तिदार :

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सीईओ अनिर्वाण घोष दास्तिदारलाई गत वर्ष ३ करोड ६८ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । वि.सं २०७५ माघमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा नियुक्त भएका दास्तिदारसँग झण्डै ३१ वर्ष बढीको बैंकिङ अनुभव छ । अनिर्वाणले श्रीलंका र फिलिपिन्सका बैंकमा सीईओ समेत भएर जिम्मेवारी बहन गरिसकेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आउनुअघि उनी ब्रुनाईमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओ थिए ।

रोशन न्यौपाने :

एनआईसी एशिया बैंकले सीईओ रोशन कुमार न्यौपानलाई गत वर्ष ३ करोड तलब भुक्तानी गरेको छ । वि.सं.२०७५ मंसिरमा एनआईसी एशियाको सीईओमा नियुक्त भएका न्यौपानेलाई गत मंसिर १५ गतेदेखि थप ४ वर्षका लागि पुनः नियुक्त गरिसकेको छ । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने ३८ वर्षको उमेरमा वाणिज्य बैंकको सीईओको रुपमा नियुक्त हुँदा मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’को रुपमा समेत उनले चर्चा पाए ।

रत्नराज बज्राचार्य : 

अनुभवी बैंकर रुपमा परिचित रत्नराज बज्राचार्य वि.सं.२०७७ साउनमा ग्लोबल आइएमई बैंकको सीईओमा नियुक्त भएका हुन् । चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यसँग नेपाल राष्ट्र बैंकमा २० वर्ष काम गरेको अनुभव छ । उनी साविक नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी)बैंकमा पहिलो पटक सीईओ भएका थिए । एनसीसीमा ४ वर्षे कार्यकाल पूरा गरेपछि उनी ग्लोबल आइएमई बैंकमा र सनराइज बैंकको सीईओ भए । ३ बैंकमा १२ वर्ष सीईओ भएका बज्राचार्य ग्लोबल बैंकमा दोस्रो कार्यकाल बिताउँदैछन् । ग्लोबल आइएमई बैंकले सीईओ बज्राचार्यलाई गत वर्ष २ करोड ६१ लाख रुपैयाँ तलब भुक्तानी गरेको हो ।

सुनिल केसी : 

सन् १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका सुनिल केसी वि.सं.२०७३ चैत १ गतेदेखि एनएमबि बैंकको सीईओको रुपमा कार्यरत छन् । पहिलो कार्यकाल वि.सं. २०७७ फागुनमा सकिएपछि सञ्चालक समितिले केसीलाई सीईओमा पुनः नियुक्त गरेको हो । एनएमबि बैंकले सीईओ केसीलाई गत वर्ष २ करोड ४८ लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । केसीलाई बैंकको सीईओमा नियुक्त हुनुअघि एनएमबि बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए । स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ वर्ष काम गरेका उनले तत्कालिन एनआइसी बैंकमा एक वर्ष काम गरेका थिए । उनी नेपाल बैंकर्स संघका अध्यक्ष समेत हुन् ।

अशोक राणा :

हिमालयन बैंकले सीईओ अशोक राणालाई गत असारसम्म २ करोड १० लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । हिमालयन बैंकको विभिन्न पदमा रही ३ दशक काम गरेका राणाले नबिल बैंकमा समेत ६ वर्ष काम गरेका थिए । उनी विगत १६ वर्षदेखि बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले विएसीसम्म अध्ययन गरेका छन् ।

सुन्दरप्रसाद कँडेल :

सिद्धार्थ बैंकले सीईओ सुन्दरप्रसाद कँडेललाई गत वर्ष २ करोड १० लाख रुपैयाँ भत्ता भुक्तानी गरेको छ । २०७८ मंसिर २७ गते बैंकको सीईओमा नियुक्त कँडेलसँग बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो कार्य अनुभव छ । उनी सिद्धार्थ बैंकमा विगत दुई दशकदेखि आवद्ध छन् । त्यसअघि उनले नबिल बैंकमा करिब १७ वर्ष काम गरेका थिए ।

सञ्जीव मानन्धर

प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर कार्यरत छन् । बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव सँगालेका सीईओ मानन्धर चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । उनी प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत छन् । त्यसअघि विश्व बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत राष्ट्रिय वाणिज्य बैंकमा साढे ४ वर्ष काम गरेका उनले नेपाल इन्भेष्टमेन्ट बैंकमा साढे ३ वर्ष र नेपाल टेलिकममा १ वर्ष काम गरेका थिए । बैंकले पूर्व सीईओ नारायणदाश मानन्धरलाई २ करोड १० लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । संजीवले पाएको तलव सुविधा सार्वजनिक भएको छैन ।

गणेशराज पोखरेल : 

सिटिजन्स बैंकले सीईओ गणेशराज पोखरेललाई गत वर्ष १ करोड ९७ लाख रुपैयाँ तलब प्रदान गरेको छ । सिटिजन्स बैंकको सीईओमा दोस्रो कार्यकाल सम्हालिरहेका पोखरेल स्थापनाकादेखि बैंकसँग आवद्ध भई विभिन्न पदमा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनी २०६५ सालदेखि दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन् । पोखरेलसँग व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव रहेको छ ।

सुदेश खालिङ :

तीन दशक बैंक तथा वित्तीय संस्थामा काम गरेका अनुभवी सुदेश खालिङ २०७७ चैतमा एभरेष्ट बैंकको सीईओमा नियुक्त भएका हुन् । यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य बनेका उनी लक्ष्मी बैंकको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका संस्थामा काम गरेको अनुभव उनीसँँग छ । एभरेष्ट बैंकको सीईओ बन्ने पहिलो नेपाली हुन् । बैंकले सीईओ खालिङलाई गत वर्ष १ करोड ९२ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ ।

दिपक कुमार डे :

नेपाल एसबिआई बैंकको सीईओमा कार्यरत दिपक कुमार देलाई गत वर्ष १ करोड ६४ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । संस्थागत सेयरधनी स्टेट बैंक अफ इण्डियाले २०७७ साउनमा बैंकको सीईओमा देलाई नियुक्त गरेर पठाएको थियो । विगत ३ दशकदेखि भारतीय स्टेट बैंकमा कार्यरत रही विगत २ वर्षदेखि नेपाल एसबिआई बैंकको प्रबन्ध संचालकको रुपमा कार्यरत छन् ।

ज्ञानेन्द्र प्रसाद ढुंगाना :

नबिल बैंकले सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानालाई गत वर्ष १ करोड ५९ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । बैंकले ढुंगानालाई २०७९ असारमा सीईओमा नियुक्त गरेको हो । विगत ३ दशकदेखि बैकिङ अनुभव संगालेका ढुङ्गानाले यसअघि बङ्गलादेश बैंकमा १० वर्षसम्म सीईओ भएर काम गरेका थिए । उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका थिए ।

सन्तोष कोइराला :

माछापुच्छ्रे बैंकले सीईओ सन्तोष कोइरालालाई गत वर्ष १ करोड ५४ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । साढे २ दशकभन्दा लामो अनुभव बटुलेका सीईओ कोइराला आफ्नो करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् । २०७६ चैतमा बैंकको सीईओमा नियुक्त भएका उनले पहिलो कार्यकाल सफलता पूर्वक पुरा गरेपछि गत पुसमा दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त भएका हुन् ।

अजय बिक्रम शाह :

लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहलाई १ करोड ४५ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । सन् १९९४ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका शाह सन् २००४ देखि हालसम्म लक्ष्मी बैंकमा कार्यरत छन् । लक्ष्मी र सनराइज बैंकसँग मर्जरपछि उनी पुनः सीईओमा नियुक्त भएका हुन् ।

निश्चलजंग पाण्डे :

सानिमा बैंकले सीईओ निश्चलराज पाण्डेलाई गत वर्ष १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । वि.सं. २०७८ माघमा बैंकको सीईओमा नियुक्त भएका पाण्डेसँग २८ वर्षको बैंकिङ अनुभव छ । त्यसअघि उनी सोही बैंकमा डेपुटी सीईओ थिए । पाण्डेले यसअघि नबिल बैंकमा १८ वर्ष काम गरेका थिए ।

रामचन्द्र खनाल :

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल कार्यरत छन् । खनाललाई गत मंसिरमा आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । कुमारी बैंकले सीईओलाई १ करोड ९० लाख रुपैयाँ प्रदान गरेको छ । मर्ज पूर्व कुमारीको सीईओ खनाल र एनसीसी बैंकका सीईओ रमेशराज अर्यालले उक्त रकम लिएका हुन् ।

किरण श्रेष्ठ :

राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणले श्रेष्ठले गत वर्ष आफूले काम गरेवापत ६६ लाख ४ हजार रुपैयाँ तलब लिएका छन् । श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकमा २०७२ चैत २९ गते नियुक्त भई हालसम्म सीईओ छन् । दोश्रो कार्यकालका लागि उनी २०७६ चैत २ मा पूनः सीईओमा नियुक्ति भएका थिए । राष्ट्रिय वाणिज्य बैंकमा आउनु अघि उनी नेपाल बैंकमा महाप्रवन्धक थिए ।

तिलकराज पाण्डेय :

तिलकराज पाण्डेय हालै नेपाल बैंकको सीईओमा नियुक्त भएका हुन् । उनी गत पुस ६ गते मात्रै नेपाल बैंककको सीईओमा नियुक्त भएका हुन् । नेपाल बैंकले सीईओलाई ६४ लाख ५२ हजार रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको छ । तर, उक्त रकम पूर्व सीईओ कृष्ण बहादुर अधिकारीले बुझेका हुन् । अधिकारीको भन्दा पाण्डेले बढी पाउने निश्चित रहेको छ ।

गोविन्द गुरुङ :

कृषि विकास बैंकले सीईओलाई ६१ लाख ३२ हजार रुपैयाँ तलब भुक्तान गरेको छ । तर, उक्त तलब पूर्व सीईओ अनिल कुमार उपाध्यायले बुझेका हुन् । हाल बैंकको सीईओमा गोविन्द गुरुङ कार्यरत छन् । बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले विदेशी बैंकमा समेत काम गरेको अनुभव छ ।

विश्वका १० महँगा सीईओ, जसले लिन्छन् ३४ अर्बसम्म तलब

Share News