विकासन्युज

अध्यक्ष पक्राउ गरेपछि सीआईबीले भन्यो- रियल गोर्खा सहकारीका पीडित सम्पर्कमा आउनुस्

=काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । उनले भने, ‘सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेका छौँ ।’ प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंको तीनकुने केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरका विभिन्न क्षेत्रमा उक्त सरकारीले सेवा दिएको र सोही क्रममा सञ्चालक समितिका सदस्यले निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको ठूलो रकम हिनामिना गरेको पाइएको बताए । अहिलेसम्मको अनुसन्धानमा रु १२ करोड ३५ लाख बचत रकम अपचलन तथा हिनामिना गरेको पाइएको उनले बताए । यसरी रकम हिनामिना गरी फरार रहेका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरी अनुसन्धान थालिएकाले बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन ब्यूरोले आग्रह गरेको छ । कठायत र ओझाले सर्वसाधारणलाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका पारी रकम सङ्कलन गरेका थिए । समय पुगेपछि उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिएको तथा लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराउन आवश्यक पहल नगरी संस्था नै बन्द गरेर फरार भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । २०७६ साउनमा प्राधिकरणको अध्यक्ष भएका खनालको कार्यकाल आगामी साउनसम्म बाँकी थियो । तर, आफ्नो कार्यकालमा विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि उनले राजीनामा दिएका हुन् । पछिल्लो समय टेरामक्स खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्मार्ट सेल खारेजी र एनसेलको सेयर खरिद बिक्रीमा प्राधिकरण नेतृत्वले ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ । टेरामक्स र एमडीएमएस प्रणालीमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन समेत अगाडि बढाएको छ । यसैबीच अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।

नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

काठमाडौं । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको छ । बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए संगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन् ।

मर्जरको सकस अझै बाँकी, ४ बैंकले गर्न सकेनन् साधारण सभा

काठमाडौं । वाणिज्य बैंकहरू कर्पाेरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहन्छन् । हरेक विषय चुस्तदुरुस्त राख्ने वाणिज्य बैंकहरूले आफ्नो वार्षिक साधारण सभा पनि समयमा गरिरहेका हुन्छन् । सकेसम्म आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्ने बैंकहरू पछिल्लो समय भने समयमै साधारण सभा गर्न नसक्ने अवस्थामा पुगेका छन् । विगतमा सबै बैंकहरूले पुस मसान्तमा आफ्नो साधारण सभा सम्पन्न गरिसक्थे । तर, यसपटक भने विभिन्न ४ बैंकले आफ्नो साधारण सभा समयमा सम्पन्न गर्न सकेनन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक र कृषि विकास बैंकको वार्षिक साधारण सभा लम्बिएको हो । यी बैंकले पुस मसान्तसम्म पनि साधारण सभा सम्पन्न गर्न नसकेपछि केही समय पर धकेलिएको हो । साधारण सभा समयमा सम्पन्न गर्न नसक्ने बैंकहरू मर्जरमा गएका संस्था हुन् । मर्जरका कारण पनि समयमा साधारण सभा सम्पन्न गर्न नसकेको बैंकरहरू बताउँछन् । साधारण सभा आह्वान गर्न बाँकी रहेको कृषि विकास बैंकबाहेक अन्य बैंकसँग लाभांश बाँड्ने क्षमता कम छ । त्यसकारण पनि बैंकहरूले हतार नगरी बिस्तारै साधारण सभा गर्न खोजेका हुन् । प्रभु बैंक मर्जरमा सामेल भएको बैंक हो । बैंकसँग गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने क्षमता कम छ । त्यसैले साधारण सभा बिस्तारै गर्ने योजना रहेको बैंक स्रोतको भनाइ छ । तर, चैत अगाडि नै साधारण सभा गर्ने तयारी रहेको स्रोत बताउँछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकालका अनुसार मर्जरका कारण साधारण सभा आह्वान ढिला हुन पुगेको बताउँछन् । साथै, सञ्चालकहरूको व्यस्तता कारण पनि साधारण सभा ढिला हुन गएको उनको भनाइ छ । ‘मर्ज भएका बैंकहरूले वार्षिक साधारण सभा ढिलाे गरिरहेका छन्, एनआईएमबिको पनि छिट्टै वार्षिक साधारण सभा आह्वान गर्ने तयारी छ, हतार नगरी बिस्तारै गर्ने बैंकको योजना छ,’ उनले भने, ‘सञ्चालकहरूको व्यस्तताले पनि अलि ढिला हुन पुगेको हो ।’ उनका अनुसार बैंकले हिसाब मिलानको सबै काम फाइनल गरेर राष्ट्र बैंक पठाएको छ । तर, राष्ट्र बैंकले हालसम्म वित्तीय विवरण स्वीकृत गरेको छैन । हाल स्वीकृतिको प्रक्रियामा रहेकाले अनुमति पाउनेबित्तिकै साधारण सभा आह्वान गर्ने उनको भनाइ छ । ‘बैंकले वित्तीय विवरण ढिला पठाएको कारण स्वीकृत हुन पनि ढिला भयो, त्यो स्वीकृति पाउनेबित्तिकै साधारण सभा बोलाउने तयारी छ,’ उनले भने । कुमारी बैंकका चिफ अप्रेटिङ अफिसर मुकुन्द सुवेदीका अनुसार बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको भए पनि हालसम्म वार्षिक साधारण सभा आह्वान गरेको छैन । राष्ट्र बैंकबाट स्वीकृति पाइसकेकाले चाँडै वार्षिक साधारण सभा आह्वान गर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकबाट पनि स्वीकृत पाइसकेको छ, अब चाँडै हामी वार्षिक साधारण सभा आह्वान गर्छाैं, रेगुलर प्रोसेसमा अघि बढेका छौं,’ उनले भने, ‘मर्जरपछि धेरै कुरा मिलाउनुपर्ने थियो, वित्तीय विवरण मिलाएर राष्ट्र बैंक पठाउँदा स्वीकृति पाउन पनि समय लाग्यो ।’ पुस मसान्तमा साधारण सभा गर्नुपर्ने भए पनि स्वीकृति पाउन ढिलाइ भएका कारण ढिला हुन पुगेको उनको भनाइ छ । अब धेरै लामो समय नधकेल्ने उनले बताए । यस वर्ष पनि कृषि विकास बैंकले समयमा साधारण सभा सम्पन्न गर्न सकेन । गत वर्ष बैंकले चैतमा साधारण सभा गरेको थियो । यसपटक माघभित्रै कृषि विकास बैंकको साधारण सभा हुने कम्पनी सचिव हिमलाल पौड्यालले बताए । बैंकले अडिट गरेर महालेखामा पठाएको तर हालसम्म स्वीकृत भएर आउन बाँकी रहेको उनको भनाइ छ । ‘हाम्रो वार्षिक साधारण सभा पुसभित्र गर्न सकिएन, अडिटरले फाइनल गरेर महालेखामा पठाएको छ । महालेखाबाट स्वीकृत भएर आएपछि माघ मसान्तसम्म गर्ने लक्ष्य छ,’ उनले भने, ‘गत वर्ष बैंकले चैतमा साधारण सभा गरेको थियो ।’ तर, यसपटक चैतसम्म नलम्ब्याउने उनको भनाइ छ । धेरै ढिलोमा फागुन पहिलो सातासम्म वार्षिक साधारण सभा गरिसक्ने उनले बताए । ‘हामीले गर्न त चाँडै गर्न खोजेको हो तर विभिन्न समस्याका कारण ढिला भयो,’ उनले भने, ‘सबै शाखाको हिसाब किताब मिलान गर्नुपर्ने हुन्छ, हामीले पनि कतिपय विषयमा जवाफ दिनुपर्ने भयो, सबैको समय व्यवस्थापन हुन नसकेर ढिला हुन पुग्यो ।’ उनका अनुसार बैंकको लेखा हेरिरहेका कर्मचारीले राजीनामा दिएपछि ढिला हुन पुगेको हो । ‘सीए नै बाहिरिएपछि नयाँ सीए राख्यौं, नयाँ सीए राखेपछि धेरै कुरा बुझ्नुपर्छ, उसलाई बुझ्न समय लागेपछि ढिला हुन पुग्यो,’ उनले भने । लक्ष्मी सनराइज बैंकको २३औं वार्षिक साधारण सभा पुस २६ गते हुँदैछ । लाभांशसहित अन्य प्रस्ताव गरेको बैंकको साधारण सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा दिनको २ बजे सुरु हुनेछ । राष्ट्रिय वाणिज्य बैंकले १७औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । यस्तै, प्राइम कमर्सियल बैंकको १६औं वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग क्याटर्स कालिकास्थानमा बिहान ११ बजे, हिमालयन बैंकको ३१औं वार्षिक साधारण सभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे  डाकेको छ । नेपाल बैंकको ६४औं वार्षिक साधारण सभा पुस २९ गते प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे, एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृहमा बिहान १० बजे बोलाएका छन् ।

डिसहोमले एक वर्षमा गर्यो ५ अर्ब बढीको आम्दानी, १० अर्बको ऋण लिँदै

काठमाडौं । डिस मिडिया नेटवर्क (डिसहोम) को वार्षिक आम्दानी बढ्दो छ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार डिसहोमले आर्थिक वर्ष २०२३ मा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०२२ मा यस्तो आम्दानी ४ अर्ब ८३ करोड रुपैयाँ थियो । आम्दानी बढाएको कम्पनीको नाफा भने अघिल्ला वर्षको तुलनामा घटेको छ । अघिल्लो आवमा १७.७८ प्रतिशतले बढेको कम्पनीको नाफा गत आवमा १.२५ प्रतिशतले मात्रै बढेको छ । सन् २०१०मा डाइरेक्ट टू होम (डीटीएच) सेवा प्रदायक स्याट्यालाइट च्यानल र डिस मिडिया नेटवर्क मर्ज भई डिस मिडिया नेटवर्क बनेको हो । र, सन् २०१७ जुलाई २ मा पब्लिक कम्पनीमा परिणत भएको हो । हाल कम्पनीले ७५ डिलर, ४ हजार ५ सयभन्दा बढी सब डिलर, १४ सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा दिइरहेको छ । त्यस्तै, कम्पनीको १५ सय प्लस सेवा फ्रान्चाइज र १० हजार पोइन्ट अफ सेल्स र ३३ वटा स्थानीय केबल अपरेटरहरु र १२५ स्थानीय केबल अपरेटरहरु देशभर छन् । डिसहोमको मूख्य सेयरधनी स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग रहेको छ, जसको ३३ प्रतिशत सेयर स्वामित्व छ । डिसहोमले १० अर्ब रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ्ग नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये ५ अर्ब ७२ करोड २८ लाख रुपैयाँ दीर्घकालिन कर्जाको लागि र बाँकी रहेको ४ अर्ब २७ करोड ७२ लाख रुपैयाँ अल्पकालिन कर्जाको लागि रेटिङ्ग भएको छ । यी दुई वटै कर्जाको लागि केयर रेटिङ्गले क्रमशः केयर एनपी डबल बीप्लस र केयर एनपी एफोर प्लस रेटिङ्ग दिएको छ । डिसहोमले २३ करोड ८५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै छ । जसको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

१६औँ योजनाको तयारी तीव्र, स्वास्थ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सो भन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदातामा यस्तो दर शतप्रतिशत पुर्याउने उल्लेख छ । आयोगका अनुसार ५ वर्ष र सो भन्दा माथिको साक्षरता दर अहिले ७६.२ प्रतिशतमात्रै छ । १६औँ योजना अवधि अर्थात आर्थिक वर्ष २०८५–८६ सम्ममा यसलाई शतप्रतिशत पुर्याउने आयोगले लक्ष्य लिएको हो । यसैगरी १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ । अहिले सहरी क्षेत्रका विद्यालयहरुमा शिक्षण सिकाइमा इन्टरनेटको पहुँच पुगे पनि अधिकांश विद्यालयहरुमा शिक्षण सिकाइका लागि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यस्तो दर हाल ३५.९ प्रतिशत रहेकोमा ५ वर्षमा शतप्रतिशत पुर्याउने आयोगले लक्ष्य निर्धारण गरेको हो । यद्यपि, मस्यौदामा समेटिएको यो विषय फाइनल हुन भने बाँकी रहेको आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बताए । उनका अनुसार छलफल अन्तिम चरणमा पुगेको छ । आएका सुझावहरु समेत समेटेर आयोगले योजना फाइनल गर्नेछ । शिक्षा क्षेत्रको कुल बजेट १७ प्रतिशत शिक्षा क्षेत्रमा हाल सरकारले कुल बजेटको १०.९५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी ५ वर्षमा आयोगले शिक्षा क्षेत्रको बजेटलाई बढाएर १७ प्रतिशत बनाउने लक्ष्य लिएको छ । १६औँ योजनाको मस्यौदामा उल्लेख भए अनुसार हाल प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.९ प्रतिशत रहेको छ । यसलाई बढाएर शतप्रतिशत पुर्याउने आयोगको लक्ष्य छ । यसैगरी आधारभुत तह कक्षा १–८ मा पुरा गर्ने दर ७७.१ प्रतिशत रहेकोमा यसलाई ९१ प्रतिशत पुर्याउने, माध्यमिक तहको कक्षा १२ सम्म पुग्ने दर ३५.६ प्रतिशत रहेकोमा ५० प्रतिशत पुर्याउने र उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर २०८५–८६ सम्म ३० प्रतिशत पुर्याउने १६ औँ योजनाको मस्यौदामा उल्लेख छ । स्वास्थ्य क्षेत्रका केके विषय समेटिए ? आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी विच्छाको अध्यक्षतामा सोमबार र मंगलबार छलफल भएको थियो । छलफलमा प्रस्तुत मस्यौदा अनुसार ५ वर्षे आवधिक योजना भित्र गम्भीर प्रकृतिका रोगको विश्वसनीय विशिष्ट स्वास्थ्य उपचार स्वदेशमा नै हुन सक्ने गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ । सबै नागरिकमा स्वास्थ्य बीमा पुर्याउने लक्ष्यसहित आयोगले स्वास्थ्य सेवालाई सर्वव्यापी, पहुँचयुक्त र समतामुलक बनाउने लक्ष्य राखेको आयोगद सदस्य डा. विच्छाले जानकारी दिए । उनका अनुसार १६ औं योजनामा विद्यमान स्वास्थ्य बीमा कार्यक्रमको समग्र पुनरावलोकन गरी समयानुकूल संशोधन एवम् परिमार्जन गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने लक्ष्य सरकारले लिने भएको छ । विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवालाई समेत स्वास्थ्य बीमामा समेट्ने लक्ष्य योजनामा समेटिएको छ । जिल्ला स्तरका अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा उपलब्ध गराउने र सबै प्रदेशमा प्रेषण अस्पताल निर्माणको लक्ष्य समेत १६औं योजनाले तय गर्ने भएको छ । मातृ मृत्युदर प्रतिलाख जिवित जन्ममा अबको ५ वर्ष भित्र ८५ पुर्याउने १६ औं योजनाको लक्ष्य छ । आधार वर्ष २०७९/८० मा मातृ मृत्युदर १५१ रहेको छ । सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या प्रतिएक लाखलाई ६.२ मा झार्ने लक्ष्य रहेको छ । अहिले यो आंकडा ९.५ रहेको छ । आगामी ५ वर्षमा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । अहिले ८० प्रतिशत रहेको छ । अहिले स्वास्थ्य बीमा कार्यक्रममा नविकरण दर ३९ प्रतिशत रहेकोमा ५ वर्ष भित्र यो ९० प्रतिशत लैजाने लक्ष्य रहेको छ । ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएका घरधुरी ७७ रहेकोमा यसलाई बढाएर ८६ पुर्याउने १६ औं योजनाको लक्ष्य छ । पाँच वर्ष मुनिका बच्चा मध्ये जन्म दर्ता गरिएका बालबालिका शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य छ । अहिले यो ६३ प्रतिशत मात्र रहेको छ । आयोगले आगामी माघ मसान्तभित्र १६औँ योजनालाई अन्तिम रुप दिने गरी तयारी तीव्र बनाएको छ । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार सातै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीय तहको समेत सुझाव समेटिएको छ । यसबाहेक निजी क्षेत्रसहित सबै क्षेत्रका विषय विज्ञहरु समेतको सुझाव लिएर योजनाको काम भइरहेको छ ।

धावनमार्गमा जब विमान चिप्लियो…

रुस । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०:०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो । उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ । रासस

वैदेशिक रोजगारीबाट फर्केका पदमबहादुरलाई तालिमले बनायो उद्यमी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ का ६ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किएका थिए । त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्र हुँदै गरेको थियो । तीन सिमानामा हरेक वर्ष चौँरी महोत्सव गाउँपालिकाले आयोजना गर्ने गरेको थियो । महोत्सव हेर्न छिमेकी जिल्ला र सिक्किमबाट समेत पर्यटक आउने गर्दथे । महोत्सवको प्रचारसँगै बर्सेनि पर्यटकको सङ्ख्या पनि बढिरहेको थियो । यस भञ्ज्याङबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल र कञ्चनजङ्घा हिमशृङखलाको साथै चौँरी गाईको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यो स्थान पर्यटकको रोजाइमा पर्न थालेको छ । पदमबहादुर विदेशमा रहँदा उनकी श्रीमती डिनाले गाउँमै सानो किराना पसल सञ्चालन गरेका थिए । यसले घरखर्च चलाउन सहजिलो भएको थियो । डिनाले किराना पसलसँगै सदरमुकामबाट पाउरोटी खरिद गरी बेच्ने पनि गर्थे । सदरमुकामबाट पाउरोटी ल्याई बिक्री गर्दा ल्याएको समयमा सबै पाउरोटी बिक्री भई नसक्दा मिति सकिने र ५० किलोमिटर टाढा भएकाले फिर्ता पनि नहुने समस्या थियो । |यसले कहिलेकाहीँ उल्टै नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्थ्यो । घर फर्केपछि श्रीमतीले सुरु गरेको किसाना पसलले मात्रै ४० वर्षका पदमबहादुरलाई चित्त बुझेन । कुनै व्यवसाय गर्ने विचार उनको मनमा पलायो । मनमनै उनले पाउरोटी उद्योग सञ्चालन गर्ने सोच बनाए पनि सीपको अभावमा अलमलमा परेका थिए । यतिकैमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलले बेकरीसम्बन्धी छदिने सीप विकास तालिम आयोजना गरेको खबर स्थानीय बुद्धिजीवी सुरेन्द्र अधिकारीबाट थाहा पाए । यस कार्यक्रमले गत वर्षको माघ १५ देखि २० गतेसम्म सदरमुकाम फुङ्लिङमा सञ्चालन गरेको तालिममा सहभागी थिए । तालिमले उनलाई बेकरी उद्योग स्थापना गर्न प्रेरणा मिल्यो । उनको योजनालाई श्रीमतीले पनि समर्थन गरेपछि उनले बेकरी बनाउन आवश्यक मेसिन तथा औजार खरिदको लागि पैसा जोहो गरे । आफूसँग भएको पैसाले मात्र नपुग्ने भएपछि उनले श्रीमतीका नाममा फालेलुङ गाउँपालिकामा रहेको छिमेक लघुवित्तबाट रु तीन लाख २० हजार ऋण निकाले । तालिम सहजकर्ता ज्ञानबहादुर भारतीको सल्लाहअनुसार काठमाडौं गई करिब रु छ लाख ५० हजारको लगानीमा मध्यम खालको मेसिन र अन्य आवश्यक सामान लिएर गाउँ फर्किए । मेसिन ल्याएपछि गाउँपालिका, जिल्ला घरेलु कार्यालय पाँचथर र आन्तरीक राजश्व कार्यालय पाँचथरमा नेपाल सरकारको नियमानुसार गत वैशाखमा पाउरोटी उद्योग दर्ता गरी सञ्चालन गरे । तालिम लिएपछि तीन महिना त दर्ता प्रक्रियादेखि सामान खरिद गर्नमा नै समय बित्यो । उनको उद्योगमा वर्षायामको समयमा दैनिक औसतमा ३५ केजी बराबरको मैदाको पीठोको पाउरोटीका विभिन्न सामग्री उत्पादन हुने गर्दथ्यो । हिउँदमा भने पाउरोटीको माग घटेका कारण दैनिक २० केजी बराबरको मैदाको पीठोबाट उनले सामग्री उत्पादन गर्दै आएका छन् । सदरमुकामबाट ल्याएको बासी पाउरोटी खान बाध्य स्थानीय उपभोक्ता र पर्यटकहरु गाउँमै बनेको ताजा पाउरोटी पाउँदा निकै खुसी छन् । उनी खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा पनि दर्ता गरी गुणस्तरीय उत्पादनको सुनिश्चित गराउने सोचमा छन् । गाउँमा केन्द्रीय प्रसारण नभए पनि उद्योग सञ्चालन गर्न आवश्यक विद्युत् पनि स्थानीय लघुजलविद्युत् आयोजनाबाट प्राप्त भएको छ । स्थानीय खेवाथाम खोलाबाट उत्पादित लघुजलविद्युत् (४० किलोवाट क्षमता) आयोजनाको बिजुली प्रयोग गरेबापत आफूले आयोजनालाई पनि मासिक रु तीन हजारसम्म विद्युत् महसुल बुझाउने गरेको उनको भनाइ छ । उद्योग सञ्चालन गर्न खपाङ्गी दम्पतीले पूरै समय दिएका छन् भने आवश्यकताअनुसार पदमबहादुरले आफ्नो भाइहरुलाई पनि दैनिक ज्यालादारीमा बोलाउने गर्छन् । स्थानीय माध्यमिक र आधारभूत विद्यालयको वरिपरि रहेका पसलबाट हरेक दिन पाउरोटीलगायत अन्य सामग्रीहरुको माग हुने भएकाले बिहान समयमा पसलपसलमा पुर्याउन एकजना ज्यालादारी कामदार पनि राखेका छन् । उत्पादन गरेको सबै सामग्री बिक्री भएको देख्दा उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट छन् । बजार माग धान्नै नसकिने गरी बढेको छ भने स्थानीय उपभोक्ताहरु पनि ताजा र गुणस्तरीय पाउरोटी स्थानीय स्तरमै पाएर दङ्ग छन् । व्यवसाय बढेसँगै व्यवसाय र लेखा व्यवस्थापन गर्न आफूलाई थप सीपको आवश्यकता भएको उनी बताउँछन् । लेखा व्यवस्थापनको अभावमा यति नै नाफा भयो भनी बताउन नसके पनि छिमेक लघुवित्तको मासिक किस्ता २४ हजार तिरी लगभग रु ३० हजार नाफा भएको छ । व्यवसायलाई अझै बढाउँदै लैजाने सोचमा रहेका पदमबहादुर गाउँपालिकासँग पनि उद्योग व्यवसाय प्रवद्र्धनमा थप सहयोगको अपेक्षा राख्नछन् । हिउँदको समयमा अपेक्षित रुपमा पाउरोटी खपत हुन नसकेपछि खपाङ्गीको परिवारलाई व्यवसाय चलाउन हम्मे परिरहेको छ । गाउँमा सुरु भएको व्यवसाय निरन्तर चलाउन गाउँपालिकासँग उनले सहयोगको अपेक्षा राखेका छन् । गाउँपालिकाबाट सहयोगका लागि केही सहयोग प्राप्त हुन्छ कि भन्ने अपेक्षाले उनले सबै कागजात मिलाएर गाउँपालिकामा गत मङ्सिरमा निवेदन दिएका छन् । यस वर्ष सहयोगको कार्यक्रम नभएकाले अर्को वर्ष सहयोग उपलब्ध गराउने बचन उनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबाट पाएका छन् । रासस