विकासन्युज

नागढुङ्गाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौंको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर ल्याइएको उक्त सुन प्रहरी टोलीले नागढुङ्गाबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको हो । सुन रसुवा नाकाबाट भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए । रासस

२० देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

इन्डोनेसिया । इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् । ‘फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ’, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । आधिकारिकरूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराएका छन् । इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ । ‘आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ’,  युनोले भनेका छन् । रासस

तीन दिनभित्रै दावी भुक्तानी गर्दै नेपाल लाइफ, असोजसम्म साढे ६९ अर्ब बढीको भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५ अर्ब ६८ करोड, परिपक्व दावी भूक्तानी बापत १९ अर्ब ७८ करोड र अग्रिम दावी भुक्तानी बापत २३ अर्ब ४४ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । यससँगै कम्पनी नेपालको बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको इन्स्योरेन्सको दावी छ । नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने नेपाल लाइफले २०८० असोज मसान्त सम्ममा १३ हजार ५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ । कम्पनीले कन्भेन्सनल प्लान अन्तर्गत ११ हजार १७७ जना लाई ३ अर्ब ७१ करोड रुपैयाँ र बैदेशिक रोजगारी तर्फ २ हजार ३३५ जनालाई १ अर्ब ९७ करोड रुपैयाँ बराबरको भुक्तानी गरिसकेको जानकारी गराएको छ । आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी फर्छ्यौट भई सकेको कम्पनीले जनाएको छ । सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानीे ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ । यस अवधिमा ४६ प्रतिशत मृत्यु दावी भुक्तानी तीन दिन भित्र गरेको छ । यसैगरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कुरा कम्पनीले जनाएको छ । दावी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेवसाइटमा समेत सूचना सम्प्रेषण गरेको छ । दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दावी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनी आवहान गर्दछ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्युनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कुरा कम्पनीले जनाएको छ । इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । आर्थिक वर्ष २०७९/८० मा ९९.१३ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गरेको थियो । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको र सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता गरेको सीईओ पराजुलीले बताए ।

मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल

मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन् । ‘विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ’ उनले भने । उनले आँखै अगाडि ताल सुकेको र हिमाल हराएको उनले बताए । ‘हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको क्षेत्रफल निकै ठूलो रहेको थियो । अहिले बगर बनेको छ । ताल नै छैन । त्यही तालदेखि गङ्गापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन । आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो’ उनले भने । पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताउँछन् । ‘किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ । समयमा हिमपात हुनै छाड्यो । यसले यहाँ धेरै असर गरेको छ । समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन् । हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ’ उनले भने । बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रुपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उनी बताउँछन् । ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै ! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ’ याङदुङले भने । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन् । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताउँछन् । ‘पहिले पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौँ । अहिले लार्के पिक हराएको छ’ उनले भने । मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको भए पनि त्यो लार्के पिक अहिले नभएको उनले बताए । ‘२०४३ सालसम्म लार्के पिक थियो । अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ । यसबारे सरकारले अध्ययन नै गरेको छैन । यस्ता विषयलाई सरकारले गम्भीर रुपमा लिन सक्नुपर्ने हो’ पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसकेको उनले बताए । ‘हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने । हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ’, गुरुङले भने, ‘उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । बेलाबेलामा विपद खेप्नुपरेको छ । तर रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्न समेत सकिरहेका छैनौँ ।’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्व नै फेरबदल भएको लाग्न थालेको बताउँछन् । अरु क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उनको भनाइ छ । ‘यहीँको गङ्गापूर्ण ताल हेर्दाहेर्दै विलीन भयो । हामीले देखेका यी हिमनदी (ग्लेसियर) माथि सरेका छन् । यसलाई नियन्त्रण, न्यूनीकरण गर्नेतर्फ कसले सोचेको छ ?’ नासों गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र घले भन्छन् , ‘ताचै गाउँको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो । कुनै वर्ष त बाहुनडाँडा (लमजुङ) सम्म परेको हिउँ लामो समय रहन्थ्यो । आजभोलि आरीघोप्टे पानी पो पर्छ । गएको वर्ष त हिउँ देख्न पनि पाइन्न भन्दा भन्दै बेमौसममा हिउँ पर्‍यो । त्यो पनि पर्याप्त परेन ।’ खेतबारीमा पहिले भएका जीव किरा हराएको र नयाँ प्रजातिका किरा देखिन थालेका उनको भनाइ छ । ‘यहाँका डाँडाहरुमा भेटिने हाब्रे पनि लोप भएका छन् । डोना तालको बाटोबाट गोठमा जाँदा ४०–५० वटा हाब्रे भेट्थ्यौँ । एउटै रुखमा ५–७ वटा हुन्थ्यो । १० वर्ष अगाडि त हाब्रेको दिसासम्म देखिन्थ्यो । आजभोलि खोज्दा पनि देखिदैन’, उनले भने । हिमाली जिल्लामा विपद् विसं २०७८ मा मनसुनको सुरुआतमै विपद आइलाग्यो । मनाङमा बाढीले अधिकांश पूर्वाधारमा क्षति पुर्‍यायो । मस्र्याङ्दी किनारका बस्ती खण्डहर भए । विसं २०७८ जेठ १४ र असार १ गते अनावृष्टि भयो । अनावृष्टिले मनाङको भौतिक तथा प्राकृतिक क्षेत्रमा अधिक क्षति पुग्यो । जसबाट हालसम्म पनि मनाङ उठ्न सकेको छैन । मस्र्याङ्दी नदी किनार भएर यहाँका बस्ती बसेका छन् । विगतमा हिउँ पर्ने स्थानमा नै अहिले वर्षा हुन थालेको छ । यसले पनि यहाँका स्थानीयमा त्रास छ । मस्र्याङ्दीमा यस्तो ठूलो र क्षति पुर्‍याउने गरी बाढी कहिल्यै थाहा नपाएको यहाँका स्थानीय बताउँछन् । ‘नदी किनारमै झुप्प परेर बसेको बस्ती सखाप पर्छ भनेर नै सोचिएन । एक्कासी बाढी आउँदा हाम्रा जिजुबाजेको पालादेखि बसेको बस्ती सखाप भयो । हामीभन्दा पनि ज्येष्ठ व्यक्तित्वले समेत यस्ता बाढी आएको कसैले नदेखेको र नभोगेको प्रलय तालगाउँबासीले भोग्यौँ’, नासों गाउँपालिका–१ का वडाध्यक्ष मिनराशी गुरुङ भन्छन्, ‘अलिअलि जानेका मान्छेले जलवायु परिवर्तनको असर भनिरहेका छन् । परम्परागत बुझाइ अनुसार कली बहुलाएको भन्ने पनि गरिन्छ ।’ उनले तालगाउँका खोलामा बिस्तारै माछा भेटिन थालेको बताए । ‘यहाँका खोला नदीमा माछा नै पाइँदैन थियो । अहिले देखिन थालेको छ । यति चिसो पानीमा माछा हुर्किने परको कुरा, बाँच्दै बाँच्दैनथ्यो । पहिला पहिला हामीले माछा पाल्न प्रयास गरेका हौँ । तर ल्याएर हालिएको भुरा नै मरे’, उनले भने, ‘आजभोलि खोलामा माछा मज्जासँग खेलिरहेको देखिन्छ । अनौठै लाग्छ ।’ चिसो पानीमा हुने ट्राउट माछा मनाङमा व्यावसायिक पालन हुन थालेको छ । तर, विगतमा ट्राउट माछा बाँच्नै नसक्ने भए पनि अहिले व्यावसायिक रुपमा पाल्न थालिएको उनले बताए । नासों गाउँपालिका–६ तिल्चेका होटल व्यवसायी गुणराज गुरुङ भन्छन्, ‘हिउँ पर्ने सिजन नै फेरिएको छ । हामीले उत्पादनमा जलवायु परिवर्तनको अनुभव गरिरहेका छौँ’ उनी भन्छन्, ‘पुस–माघमा बेस्सरी हिउँ पथ्र्यो । आजकल वैशाख, जेठमा पर्छ । यसको कारण के हो ? झारपातमा पनि धेरै फरकपन आएको छ । नौलो नौलो झारपात देखिन थालेका छन् । हाम्रो ठाउँमा खुर्सानी र गोलभेँडा हुन्थेन । आजभोलि व्यावसायिक खेती हुन थालेको छ । भेडेखुर्सानी मजाले उत्पादन भइरहेको छ ।’ यहाँ उत्पादन नै नहुने फलफूल तथा तरकारीको उत्पादन हुन थालेको उनी बताउँछन् । ‘प्याज, काँक्रो पनि उत्पादन हुन थालेको छ,’ उनी भन्छन्, ‘यहाँको तापक्रममा पनि परिवर्तन आएको छ । विगतमा बाक्लो ज्याकेट र स्वीटर लगाएर बस्ने हामी अहिले दिउँसोमा टिसर्ट लगाएर बस्छौँ ।’ हिउँ पर्ने स्थानमा अहिले झरी पर्ने थालेको उनी सुनाउँछन् । गुणराज भन्छन्, ‘कारण के हो भन्ने त हामी गाउँलेलाई के थाहा ? तर वर्षैपिच्छे दैनिकीमा ठुलो अन्तर भोगिरहेका छौं ।’ दुई वर्षअघि तल्लो मनाङमा मात्रै होइन, जिल्लाको सुदूर उत्तरमा रहेका नार र फूमा पनि झरी पर्‍यो । हिउँ मात्रै पर्ने ठाउँ भएर यहाँका नागरिकले तातोका लागि माटोको घरमा माटोकै छानाले छाउँथे । अघिल्लो वर्षामा पानी पर्दा माटोको छाना चुहिन थाल्यो । केही घर बगायो पनि । ‘आम्मामा पहिलो पटक फूमा यत्रो ठूलो झरी पर्‍यो । गाउँलेको भागदौड नै चल्यो नि,’ नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामा भन्छन्, ‘ग्लेसियर पग्लेर जमिन मरुभूमि जस्तो हुन थालेको छ । गाउँलेको जीवनमा धेरै सङ्कट आइरहेको छ ।’ उच्च हिमालमा नयाँ ताल देखिन थालेको र पुराना तालहरु हराएको उनको भनाइ छ । नासों गाउँपालिकाको टुप्पोमा रहेको डोना तालको आकार निकै बढेको छ । सन् १९९४ मा नाप्दा तालको लम्बाई एक हजार तीन सय मिटर थियो । सन् २०११ मा नाप्दा दुई हजार पाँच सय मिटर पुग्यो । अहिले नाप्यो भने अझै बढेको छ । ‘तालको लम्बाइ बढ्यो, चौडाई चाहिँ घटेको छ । कुन दिन के हुने हो भनेर चिन्ता बढेको छ,’ नासों–५ का वडाध्यक्ष थुतेन लामा भन्छन् । अचेलका अव्यवस्थित विकासका कारण भू–क्षयका घटना बढेका उनी बताउँछन् । हिमाली क्षेत्रमा लामो समय अनुभव बटुलेका नरेन्द्र लामा हिमाली जलवायुले अस्वाभाविक रुप देखाएको बताउँछन् ।’हामी हिमाली क्षेत्रको भ्रमण गर्दा हिजो जस्तो अवस्था थियो, आज त्यस्तो कहाँ पाउनु ? माथिल्लो क्षेत्रको स्वभाव धेरै फेरिएको छ,’ उनी भन्छन्, ‘जङ्गलमा पहिरो झर्ने, बाढी आउने भइरहेको छ । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडो हुन थालेको छ ।’ सरकारले समयमै जलवायु परिवर्तनको नियन्त्रणको उपाय खोज्नुपर्ने उनको भनाइ छ । पर्याप्त हिउँ परेन गत वर्ष मनाङमा हिउँद सकिन लाग्दासम्म पनि पर्याप्त हिउँ पर्न सकेन । विगतका वर्षमा हिमपातले आवागमन घरबाट बाहिर निस्कन नसकिने मनाङमा आवश्यक मात्रामा नै हिउँ परेन । गत वर्षको फागुन महिनाको मध्यसम्म हिमपात नै भएन । सो समयमा आंशिकमात्र हिउँ परेको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरे बताउँछन् । ‘पहिले पहिलेको जस्तो गत वर्ष हिउँ नै पर्न सकेन’, उनले भने, ‘यस वर्ष सुरुआती हिमपात भयो । जाडो सुरु भएको छ । डाँडा माथिल्लो भागमा भने हिउँ परेको देखिन्छ, तर बजार क्षेत्रमा हिउँ पर्न सकेको छैन ।’ गत वर्ष हिमपात बढी हुने क्षेत्र माथिल्लो मनाङमा आंशिक रुपमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका ओमबहादुर गुरुङले बताए । ‘विगतका वर्षमा हिउँले डाँडाकाँडा, भिरपाखा सेताम्मे भएर ढाकिएको हुन्थ्यो, गत वर्ष आंशिक रुपमा देख्न पनि मुस्किल भयो,’ उनले भने । हिमपात नहुँदा यसले विशेष गरी कृषि क्षेत्रमा असर पर्‍यो, मनाङका कृषक चिन्तित भए । हिमाली जिल्लामा नै हिमपात नभएपछि यहाँका मानिस के खाएर बाँच्ने भन्ने चिन्ताले सताएको ताचैका सोलबहादुर गुरुङले बताए । ‘मनाङको मुख्य उत्पादन भनेको फापर, करु, जौ, आलु, कोलो, स्याउ हो, हिमपात नहुँदा पानीको अभावले यी कृषि उपज उत्पादन हुन पर्याप्त पानीको मात्रा पुगेन र यस वर्ष उत्पादन राम्रो भएन’, उनले भने । मनाङमा कात्तिकको अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिमपात भएन । वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीय बताउँछन् । यसरी हिउँको पानी सिञ्चित भएर खेतीपाती गरिने स्थानमा हिमपात नहुँदा मनाङ लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषकको उत्पादन घट्ने क्रम बढ्दो छ । हिउँ चितुवाको संरक्षण हिउँ चितुवालाई हिमालको रानी मानिन्छ । यसले हिमाली क्षेत्रको वातावरणको सूचक पनि हो हिउँ चितुवा । अहिले हिमाली क्षेत्रमा नै लोपोन्मुख अवस्थामा पुगेका छन् । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको हिउँ चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेशनका संयोजक नरेन्द्र लामाले बताए ।’हिउँ चितुवाको भूमिकालाई मानवले बुझ्न आवश्यक रहेको छ’ उनले भने । लोपोन्मुख हिउँ चितुवाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने अवस्था रहेको भन्दै उनले भने,’अब हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आगमनलाई बृद्धि गर्नुपर्छ । हाम्रो मुख्य आयस्तर नै पर्यटन भएकाले यसको पनि उपयोग गर्नुपर्छ ।’ हिउँ चितुवा बृद्धिले वातावरण सन्तुलनको सन्देश जाने उनले बताए । हिउँ चितुवाको वृद्धिले वातावरण सन्तुलन छ भनेर बुझ्न सकिन्छ भने चितुवाको सङ्ख्या घट्नुले जलवायु परिवर्तन भएको स्पष्ट सन्देश दिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको बताए । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानका रुपमा परिचित रहेको विज्ञ बताउँछन् । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेल भन्छन्, ‘हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा छ, स्वच्छ छ, हिमाली वातावरण सन्चो छ भनेर बुझिन्छ ।’ विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा रहने गरेको छ । मनाङमा करिब २५ रहेको आङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ । कार्यालयका अनुसार केही वर्षयता चितुवाको सङ्ख्या घटेको अनुमान गरिएको छ । यसले कम सङ्ख्या हुने भए पनि विश्वको वातावरण सन्तुलनमा भूमिका खेल्ने विज्ञहरुको भनाइ छ । हिमाल बने काला पत्थर वर्षमा दुई पटक हिमपात हुने मनाङमा आजकल हिमपात मुस्किलले हुन्छ । हिमपात नभएपछि यहाँका हिमशृङ्खला कालापत्थरमा परिणत भएको देखिन्छ । पुसदेखि माघसम्म हिउँले ढाकिएर सेताम्मे देखिनुपर्ने हिमालमा हिउँ कम देखिन थालेको स्थानीय याङ्दुङ गुरुङ बताउँछन् । उनले भने, ‘पहिलेजस्तो हिमपात अहिले हुँदैन । हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् ।’ मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको उनले बताए । हिउँ कम पर्दा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, चलु फरेस्ट, हिम्लुङ, मनास्लु, निलगिरी, तिलिचो पिक, थोराङ पिकलगायत हिमालको रङ उडेझै फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । उनले जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको बताए । फेरिँदै व्यवसाय हिमाली क्षेत्रका किसान पनि परम्परागत पशुपालन व्यवसायलाई फेर्न बाध्य हुन थालेका छन् । पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै महत्व राख्ने गरेका मनाङको नासों गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली बताउँछन् । व्यावसायिक रुपमा पशुपालनमा लागेका थकाली मौसम फेरिँदा पशुपालन घट्न थालेको बताउँछन् । ‘पहिला याक, चौँरी गन्न नसक्ने गरी पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि फ्याट्टै भन्न सकिन्छ, वातावरणमा आएको परिवर्तनले चरणका खर्क माथि सरेका छन्’, उनले भने । पहिले करिब एक सय याक, चौरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको थकालीले बताए । थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) पालिएको छ । याक, चौंरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उनले बताए । ‘पशुपालक किसान आजभोलि लेकका खर्कतर्फ जान चाहँदैनन् । खर्कमा याक, चौंरी पाल्न सकिँदैन । पहिला ६०/७० याक, चौँरी पालेको थिएँ, अहिले ४०/५० झोपा पाल्न थालेको छु’, व्यवसायी थकालीले भने । ढुवानी र ऊनका कपडा लोप हुँदै विकट तथा हिमाली जिल्लामा पशुपालनका रुपमा रहेको याक, चौँरी, घोडा, खच्चर ढुवानीका प्रमुख साधन हुन् । मोटरेबल सडक निर्माण भएसँगै ढुवानीका प्रमुख साधन नै फेरिएको छ । विगतमा जिल्लामा सामान ढुवानीका लागि नै याक, चौँरीको प्रयोग गरिन्थ्यो । गणना गर्न नसकिने याक चौँरीलाई भारी बोकाएर एक स्थानबाट अर्को स्थानमा सामान ल्याउने लैजाने गरिन्थ्यो । तर, अहिले मनाङमा यस्तो गरिन्थ्यो भन्ने कुरा कथा मात्रै बनेका छन् । ‘हामीले मनाङमा स्थलमार्गको ट्रयाक नबन्दै गर्दा याक, चौँरीमार्फत सामग्री ढुवानी गरेको देखिन्थ्यो । तर, यो अहिले पूर्ण रुपमा हराएको छ । अहिले त हामीलाई पनि कथा भनेको जस्तो लाग्छ,’नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामा भन्छन्, ‘तल्लो मनाङबाट माथिल्लो मनाङ याकचौँरीमार्फत नै सामान ढुवानी हुन्थ्यो ।’ अहिले सडक र पशुपालनमा कसैको पनि चासो नहुँदा ढुवानी होइन आम्दानीका स्रोत नै फेरिँदै गएको उनको बुझाइ छ । याक चौरीँको माध्यमबाट नै मनाङमा कृषि व्यवसाय जोत्न र सामग्री ढुवानी गर्न प्रयोग गरिन्थ्यो । तर, अहिले यसको प्रयोग घटेको छ। हिमाली क्षेत्रमा भेडाच्याङ्ग्रा प्रशस्त पाल्ने र यिनैको ऊनबाट बनाइएका कपडा प्रयोगमा हुन्थे । बाह्य कपडा आयात गर्ने प्रचलन थिएन । तर, अहिले यसको प्रयोगमा पनि परिवर्तन आएको छ । याक, चौँरी, भेडाच्याङ्ग्राको ऊनबाट बनाइएको लुगा नै लगाइन्थ्यो । अहिले त कुन देशबाट आउँछ भन्ने भन्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । यहाँका पुराना मानिसले याक, चौँरी र भेडाच्याङ्ग्राको ऊनबाट बनेका भाङ्ग्रालगायत कपडा उत्पादन गर्न कम भएको छ । लामाले पशुपालन घटेसँगै ऊनका सामग्री बनाउन पनि कम भएको बताए । याक चौँरी कम पाल्न थालिएपछि सामग्री ढुवानी र यात्राको सहजताका लागि यस पालिकालाई सडक सञ्जालसँग जोड्न थालिएको अध्यक्ष लामाले बताए । पशुपालक किसानलाई आकर्षित र व्यवसायलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले प्रोत्साहन गर्न उन्नत प्रजातिका याकका ब्याडमा ५० प्रतिशत अनुदान दिएको छ । पशुपालनलाई निरन्तरताका लागि ल्याइएको योजनाले यहाँका पशुपालक कृषकलाई प्रोत्साहन मिल्ने स्थानीय सरकारले अपेक्षा गरेको छ । हिमाली क्षेत्र मनाङमा हिउँदमा समेत आवश्यक हिउँ नपर्दा याक, चौँरी र भेडाच्याङ्ग्राको चरन क्षेत्रमा जलवायु प्रदूषणको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र पशुपालन व्यवसायका लागि पानी अत्यावश्यक मानिन्छ । तर यहाँ सुक्खा र खडेरी भएर मरुभूमिको आभास हुन थालेको छ । हिउँ नपर्दा यहाँ पानीको अभावले कृषि र पुशपालनमा असहज भएको कृषकको भनाइ छ । पानीको अभावले चरन क्षेत्र घटेको किसान बताउँछन् । यसले गर्दा पशुपालन र कृषि क्षेत्र प्रभावित भएको उनीहरुको भनाइ छ । हिमपात समयमा भएको भए बिरुवा र पशुपक्षीले खानेपानीको जोहो हुने थियो । तर अहिले खोला, नदीको भर पर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । पानी नै मुख्य आवश्यकता हो । मौसम प्रतिकूल हुँदा यहाँ पशुपालन घट्ने अवस्था देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले जनाएको छ । सङ्कटमा पदमार्ग लामो समय हिमाली जिल्ला मनाङ पुग्न पदयात्राबाट मात्रै पुगिन्थ्यो । पदयात्रामार्फत नै यहाँको रमणीय स्थलमा रमाउन विदेशी पर्यटक आउने गर्दथे । स्थानीय पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटक पदयात्रामा रमाउँदै मनाङका रमणीयस्थलमा पुग्थे । तर, मनाङ पुग्न सहज बनाउने उद्देश्यले ३१ वर्षअघि नेपाली सेनाले स्थलमार्गको ट्र्याक खोल्यो । नेपाली सेनाले २०६९ सालमा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्र्याक खोलेर यात्रा सहज बनाइयो । सेनाले सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुसियाली छाएको थियो । यस सडक सञ्जाल निर्माण भएपछि भने यहाँका स्थानीय, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई भने असर गरेको छ । यसले पदमार्ग नै प्रभावित भएको छ । केही स्थानमा पदमार्ग र सडक एउटै बनेका छन् । यसले स्थानीय, पर्यटक र ज्यालादरी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको छ । सडक सञ्जाल जोड्ने क्रममा भारी बोकेर दैनिकी चलाउने मजदुरलाई पर्ने प्रभावका विषयमा कसैको चासो दिएन । यही कारण अहिले पदयात्रीले सकस भोगिरहेका छन् । साथै मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्जाल पुर्‍याइयो । मनाङ सदरमुकाम चामे पुगेको सडक विसं २०७१ मा त्यहाँभन्दा २५ किलोमिटर टाढा सडक सञ्जालसँग जोडियो । यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खाङ्सारसम्मै सडकले जोडिएको छ । लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ (पाँच हजार चार सय १६ मि) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ । यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् । कैयौँ पदमार्गबाटै सडक त कैयौँ पदमार्ग नै मेटिएका छन् । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले सातदेखि १० दिनमा पूरा गर्न सकिने भएको छ । यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । मनाङमा विसं २०५० सम्म खासै होटल थिएनन् । चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो । सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने र यसको प्रचारप्रसार हुन थालेका बताइन्छ । त्यतिबेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैन थियो । भरियाले बेँसीसहरबाट ५/६ दिन लगाएर भारी बोकेर सामग्री पुर्‍याउने गरिन्थ्यो । सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै–कतै डोरी र भर्‍याङमार्फत हिँड्थे । यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् । उनकाअनुसार अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । तर, कम मात्रामा प्रयोग गर्ने गरिन्छ । ‘गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ’, उनले भने । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा बर्सेनि १९ हजारको हराहारीमा विदेशी पर्यटक आउने गर्दथे । सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क सङ्कलन गरेको छैन । बेँसीसहरसम्म मोटर चल्ने भएकाले पर्यटकहरू बेँसीसहर बास बस्न आइपुग्थे । बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्दथे । गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ । धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ । मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ । सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात सहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ । पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनकाअनुसार अहिले मनाङमा उत्पादित आलु, फापर बेँसीसहर हुँदै पोखरा–काठमाडौँसम्म पुग्छ । यहाँको यातायात चले पनि यहाँबाट सामग्री बजारसम्म पुर्‍याउन भने सहज छैन । यहाँको रहनसहन, पहिरन, खानपान, पशुपालन, व्यावसायिक फेरिनुले नै जलवायु परिवर्तन भएको बुझ्न सकिन्छ । अहिले मनाङमा ऊनको कपडा बाहिरबाट आयात हुने गरेको छ । विगतमा भन्दा यहाँको तापक्रममा पनि परिवर्तन आएको छ । यहाँको वातावरणलाई सन्तुलनमा ल्याउन मनाङवासीले मात्र नभई सरकारले नै कदम चाल्नुपर्ने देखिन्छ । स्थानीयलाई प्रत्यक्ष प्रभाव पारिरहेका विषयलाई गम्भीर अध्ययन गरी बेलैमा ध्यान दिन मनाङवासीले अनुरोध गरेका छन् । रासस

ऋणको माग बढोस् भनेर नीतिगत दर घटायौं : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणको माग बढाउनको लागि नीतिगत दर घटाएको बताएका छन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले अहिले कर्जाको माग बढाउनु पर्ने भएकोले नीतिगत दरहरू घटाएको बताएका हुन् । ‘बजारमा अहिले कर्जाको माग छैन, कर्जाको माग बढ्नका लागि नीतिगत दर घटायौं,यो तत्कालका लागि मात्रै हो, पछि बजारले एउटा लाइन समातेपछि सधैं यस्तै नीति रहन्न,’ उनले भने । कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले २५ लाखसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले बोक्नु पर्ने स्पष्ट पारेका छन् । त्यस्तै, आन्तरिक रेमिट्यान्स कारोबार रोक लगाउँदा विदेशी एजेन्टहरूले समस्या भएको गुनासो गरेपछि पुनः सुरु गर्नु परेको धारणा राखे । उनले अब आन्तरिक रेमिट्यान्सको कारोबारको सीमा न्यूनतम रहने पनि बताए । ‘अब आन्तरिक रेमिट्यान्सको कारोबारको सीमा कम हुन्छ, अधिकतम् १५ हजारको सीमा हुन्छ,यस विषयमा अध्ययन भइरहेको छ,’ उनले भने । त्यस्तै, गभर्नर अधिकारीले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने समेत बताएका छन् । ‘ऋण लिएपछि तिर्नुपर्छ तर समय दिएका छौं, कर्जाको सदुपयोग गरेकाहरुलाई सहजीकरण गर्ने हो, ब्याज करिडोर मेन्टेन गर्नका लागि हामी सजग छौं,’ गभर्नर अधिकारीले भने । अहिलेको समस्या सिर्जित नभएको बताउँदै उनले अहिले सिआरआर चलाउने अवस्था नरहेको पनि बताएका छन् ।

शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ अब आइफोनमा पनि

काठमाडौं । छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको नेपाली शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अब आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह-संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) गृहेन्द्र घिमिरेले जानकारी दिए । यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउने गरेकोमा अब भने आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको हो । टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप  एन्ड्रोइड भर्सनमा करिब दुई सातामै एक लाख भन्दा बढीपटक डाउनलोड भएको छ । आईफोन प्रयोगकर्ताहरूले पनि यो एप रुचाउने विश्वास लिइएको सीईओ घिमिरे बताउँछन् । ‘आईफोन प्रयोगकर्ताहरूले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ । उहाँहरूका लागि पनि अब एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,’ उनले भने । रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको उनले जानकारी दिए । पछिल्ला दिनमा निकै रुचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । एप सार्वजनिक गरेको आईडिया जार कम्पनीले एपलाई परिस्कृत गर्दै गइरहेको छ । एपमा अहिले  डार्क मोड, शर्ट्स लगायत अन्य फिचर थपिएको घिमिरेले जानकारी दिए । यसबाहेक आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आईडी भेरिफाइड गर्ने जस्ता फिचरहरू सार्वजनिक गरिएको छ । कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ ।

मौद्रिक नीतिको समीक्षा सोचे जस्तो आएन : अध्यक्ष लोहनी

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीतिको समीक्षाले घरजग्गाका सामान्य विषय मात्रै समेटेको बताएका छन् । समीक्षामा घरजग्गाका सामान्य विषय मात्रै समेटेको बताउँदै लोहनीले अहिलेको समयमा समीक्षा जति उदार भएर आउनु पर्थ्यो त्यति नभएको बताएका छन् । ‘मौद्रिक नीतिमा ५० लाखभन्दा माथिको घरजग्गा लोनको जोखिम भार १२५ प्रतिशत भनिएको छ, हामीले त्यो जोखिम भारलाई १०० प्रतिशत हुनु पर्यो भनेका थियौं । त्यसलाई आमसिक सम्बोधन गर्यो, उनले भने- ‘५० लाख रुपैयाँसम्मको होम लोन वायरहरूलाई कर्जा अनुपात आम्दानी ५० प्रतिशतको ठाउँमा ६० प्रतिशत गर्याे । सबै प्रकारका होम लोन १०० प्रतिशत गरिनु पर्छ भन्दै आएका थियौं ।’ लोन भ्यालुको रेसियो ७० प्रतिशत हुनुपर्छ भन्दै आएता पनि त्यस विषयमा सम्बोधन नभएको उनको भनाइ छ । उनले लोनको भ्यालु रेसियो अर्थात सम्पत्ति मूल्याङकन गरेर जति कर्जा दिइन्छ सोही विषयलाई नसमेटिएको बताए । अपेक्षाकृत मौद्रिक नीति नआएकाले आगामी दिनमा घरजग्गा बजार समान रूपमा मात्र सुधार हुने उनको धारणा छ ।

१४ किलो सुन तस्करी प्रकरण : छानबिन गर्न भन्सार विभागद्वारा ६ सदस्यीय समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको बताए । उनले गएराति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखिएको बताए । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११:४० बजे काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । विमानस्थल भन्सार कार्यालय टोलीले बिहीबार मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको थियो । विशेष सुराकीको आधारमा बाहिरबाट सामान आउँदैछ भन्ने आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रीहरू निगरानीमा रहेको प्रमुख पाण्डेले बताए ।