काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीतिको समीक्षाले घरजग्गाका सामान्य विषय मात्रै समेटेको बताएका छन् । समीक्षामा घरजग्गाका सामान्य विषय मात्रै समेटेको बताउँदै लोहनीले अहिलेको समयमा समीक्षा जति उदार भएर आउनु पर्थ्यो त्यति नभएको बताएका छन् ।
‘मौद्रिक नीतिमा ५० लाखभन्दा माथिको घरजग्गा लोनको जोखिम भार १२५ प्रतिशत भनिएको छ, हामीले त्यो जोखिम भारलाई १०० प्रतिशत हुनु पर्यो भनेका थियौं । त्यसलाई आमसिक सम्बोधन गर्यो, उनले भने- ‘५० लाख रुपैयाँसम्मको होम लोन वायरहरूलाई कर्जा अनुपात आम्दानी ५० प्रतिशतको ठाउँमा ६० प्रतिशत गर्याे । सबै प्रकारका होम लोन १०० प्रतिशत गरिनु पर्छ भन्दै आएका थियौं ।’
लोन भ्यालुको रेसियो ७० प्रतिशत हुनुपर्छ भन्दै आएता पनि त्यस विषयमा सम्बोधन नभएको उनको भनाइ छ । उनले लोनको भ्यालु रेसियो अर्थात सम्पत्ति मूल्याङकन गरेर जति कर्जा दिइन्छ सोही विषयलाई नसमेटिएको बताए ।
अपेक्षाकृत मौद्रिक नीति नआएकाले आगामी दिनमा घरजग्गा बजार समान रूपमा मात्र सुधार हुने उनको धारणा छ ।