एप्पलले भारतमा हरेक वर्ष ५ करोड आइफोन बनाउने
काठमाडौं । एप्पलको प्रमुख आपूर्तिकर्ता फक्सकनले गत महिना भारतमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । एप्पलका आपूर्तिकर्ता कम्पनीहरूले भारतमा उत्पादन–लिंक इन्सेन्टिभ योजनाअन्तर्गत प्राप्त अनुदानमा उत्पादन क्षमता बढाउँदैछन् । वाल स्ट्रीट जर्नलका अनुसार कर्नाटकमा फक्सकनको कारखानाले अप्रिलमा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ । वार्षिक २ करोड मोबाइल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसमा प्रायजसो आइफोनहरू उत्पादन हुनेछन् । कम्पनीले दोस्रो कारखाना पनि स्थापना गर्ने तयारी गरिरहेको छ । एप्पलले गत आर्थिक वर्षमा भारतमा ५ खर्ब ८० अर्ब रपैयाँभन्दा बढी मूल्यका आइफोनहरू एसेम्बल गरेको थियो । तमिलनाडुमा पनि आईफोन बनाउने टाटाको योजना टाटा समूहले तमिलनाडुमा पनि आइफोन निर्माण गर्ने योजना बनाएको छ । दुई वर्षमा २० वटा एसेम्बली लाइन र ५० हजार कर्मचारी हुनेछन् । उक्त समूहले आइफोन बनाउन कर्नाटकमा विस्ट्रोनको कारखाना खरिद गरिसकेको छ । टाटाले देशको सबैभन्दा ठूलो आइफोन एसेम्बली प्लान्ट निर्माण गर्न एप्पलको महत्वाकांक्षालाई ट्याप गर्ने योजना बनाएको छ ।
साढे ७ अर्बमा ठेक्का सम्झौता भएको पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि ६ लेनको बन्ने
तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८.८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म छ लेन सडक हुनेछ । सडकको चौडाइ ४६ मिटरका हुने मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए । राजमार्गको पश्चिम खण्डमा बाह्र वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्र्भड निर्माण हुनेछ । मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ । पूर्वी खण्डमा ३८ प्रतिशत काम भएको छ भने पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ । पूर्वी खण्डमा ४१.४५ किलोमिटर र पश्चिम खण्डमा ३८.८८ किलोमिटर दूरीमा निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । भित्ता कटिङ्ग,सडक चौडा, वाल, कल्र्भड र पुल निर्माण लगायत काम पनि भइरहेको छ । पश्चिम खण्डमा यस कारण ढिलाइ पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युतको पोल र तार हटाउन नसकिएका कारण निर्माण कार्यमा ढिलाइ हुन गएको हो । पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करिब छ महिना ढिलो गरी काम सुरु गरिएको हो । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरुप प्रगति हुन नसकेको इञ्जिनियर पौड्यालले बताए । उक्त सडक खण्डमा निर्माण हुने चार लेन सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ । कालोपत्रका लागि ग्राबेल विच्छाउन थालिएको छ । करिब एघार किलोमिटर दूरी दुई लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य रहेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । वि.सं.२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौतामा उल्लेख छ । रासस
डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक
मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुङ्गा यात्रा गरी रमाउने गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका-९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुङ्गा चढेर वारपार गरी रमाउने गरेका हुन् । पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाईफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटकले जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन् । चितवनबाट रारा तालमा घुम्न आएका र्याफ्टिङ गाइड सुकबहादुर गुरुङले भने, ‘तालमा डुङ्गाबाट यात्रा गर्नेले ज्यानको जोखिम मोलेर गर्नुपर्ने रहेछ । यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै पुराना भइसकेका छन् । एक पटकमा दश जनासम्म बोक्ने डुङ्गाको क्षमता भए पनि यहाँ १४/१६ त कहिलेकाही २० जनासम्म राखेर सवार गरिएको छ ।’ क्षमता भन्दा बढी यात्रु सवार हुँदा दुर्घटनाको जोखिम बढेको गुरुङले बताए । ‘लाइफ ज्याकेट कुनैका खोल च्यातिएका, पेट र छातिमा बाँध्ने फिता नभएका अवस्थामा छन्’, उउनले भने, ‘यसले कुन बेला दुर्घटना निम्ताउँछ । सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ ।’ यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवानको भरोसामा तालमाथि यात्रा गर्नुपर्ने बाध्यता रहेको र्याफ्टिङ गाइड गुरुङको भनाइ थियो । ‘म ८० जनाको टिम लिएर रारा आउँदैछु । यस्तो अवस्था देखे के भन्लान? समय मै लाइफ ज्याकेट मध्यवर्तीक्षेत्र वा निकुञ्ज कार्यालयले फेर्नुपर्ने देखिएको छ’, पर्यटन घुमाउन ल्याउनु पूर्व व्यवस्थापनका लागि रारा पुगेका पर्यटन व्यवसायी डम्बर थापाले भने । यहाँका ज्याकेट तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका रहेछन् भन्दै उनले यात्रुलाई सान्त्वना दिने खालका मात्रै रहेका बताए । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये दिनमा एकसय भन्दाबढीले तालको मिलिचौरदेखि हुटुसम्म डुङ्गा चडेर यात्रा गर्ने रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जनाएको छ । नाम बताउन नचाहने डुङ्गा चालक भन्छन् ‘यहाँका डुङ्गा चालकले बिना तालिम अनुभवका आधारमा चलाउँदै आएका छौँ । लाइफ ज्याकेटका बारेमा निकुन्ज र मध्यवर्ती समितिलाई जानकारी गराएका छौँ तर सुनुवाइ भएको छैन ।’ समितिका कार्यालय सचिव लोकेन्द्र बमले कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ डुङ्गा रहेका जानकारी दिए । ‘निकुञ्जले ज्याकेट खरिद गरेको छ/सात वर्ष पुगिसकेको छ’, उनले भने, ‘कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटसम्बन्धी गुणस्तरीय चेकजाँच गरेको छैन ।’ डुङ्गाको सङ्ख्या कम भएकाले बढी यात्रु राख्नुपर्ने बाध्यता रहेको सचिव बमको भनाइ थियो । निकुञ्जका प्रमुख राजु घिमिरेले केही कुरामा सत्यता भए पनि बाहिर आए जस्तो सबै सत्यता नभएको बताए । सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रुपमा लिँदै छिटो गुनासो सम्बोधन गरी रारा घुम्न आउने पर्यटकलाई भरपर्दो र सुरक्षित यात्राको अनुभूति दिलाउने उनको भनाइ थियो । यहाँ रहेका कमिकमजोरी क्रमशः सुधार गर्दै जाने निकुञ्जका मुख्य संरक्षण अधिकृत राजु घिमिरेले प्रतिबद्धता व्यक्त गरे । गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य र विदेशी मुलुकबाट ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । रासस
समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ
सुर्खेत । समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो । पैयुँ फूल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ । विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ । गुराँस फूल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ । दैलेखको गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए । उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रसस्त थिए । जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्का बताउँछन् । ‘पहिला त पैयुँ वनैभरी थियो’, उनी भन्छन्, ‘कात्तिक लाग्न थालेपछि फुलेर ढक्कमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरुवा हराउँदै गएको छ ।’ खड्का भन्छन्, ‘विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कूल पूजा गर्दासमेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो पाउन छाडेको छ ।’ गुराँस– ८ का जगत विसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित बनेका छन् । ‘यो बिरुवा एकैपटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला ?’, उनी प्रश्न गर्छन्, ‘यो हराउनु सामान्य कुरा होइन ।’ पैयुँ नेपालको रैथाने वनस्पति हो । गुराँस–८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताउँछन् । यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ । यही क्षेत्रमा लालिगुराँस प्रसस्त पाइन्छ । स्थानीयवासीका अनुसार गुराँस पहिला फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले पुस महिनादेखि नै फूल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक लोकबहादुर खड्का लालिगुराँस फूल्ने समयमा परिवर्तन आएको बताउँछन् । ‘पहिला लालिगुराँस फूल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो । यो फागुनदेखि फूल्न थाल्थ्यो । तर अहिले त पुसदेखि नै फुल्न सुरु गर्छ ।’ शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फूल्ने समयमा परिवर्तन आएको पाइएको बताउँछन् । पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमासमेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराउँदै आएका प्रध्यापक डा पुष्पराज आचार्य बताउँछन् । उनी भन्छन्, ‘अहिले विश्वमै तापमानमा वृद्धि भइरहेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । तापमान वृद्धीको असर फूल फूल्ने बिरुवामा अधिक पाइएको छ ।’ पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ । रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आएका छन् । उनले काठमाडौँमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरुवाको बीउ तथा बेर्ना वितरण गर्दै आएका छन् । पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफै उम्रिने बिरुवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आएका छन् । ‘ पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो’, उनले भने । कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने केही बिरुवाको संरक्षणका लागि काम भइरहेको बताउँछन् । ‘पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन’, उनले भने । आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताए । रासस
आइआइएमएस कलेजमा दीक्षान्त समारोह सम्पन्न, पाँच सय जना विद्यार्थी दीक्षित
काठमाडौं । आइआइएमएस कलेजमा दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिबार काठमाडौंको होटल मेरियटमा एक भव्य समारोहका बीच सो समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहमा टेलर्स विश्वविद्यालयका उच्च स्तरीय प्रतिनिधि, विद्यार्थी, अभिभावक, कलेज परिवार र विभिन्न क्षेत्रका सयौं व्यक्तिहरुको सहभागीता रहेको थियो । समारोहमार्फत् बिआइटी र बिएचएम अध्ययन पूरा गरेका पाँच सय जना विद्यार्थीहरु दीक्षित भएको कलेजका ग्रोथ एन्ड डेभलपमेन्ट सर्भिस डाइरेक्टर बृहत बोस्वाले विकासन्युजलाई बताए । आइआइएमएस कलेजले मलेसियाको प्रतिष्ठित टेलर्स विश्वविद्यालमा सम्बन्धन लिएर बिसिएस, बिएचएम र विविए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचि अनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो । सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन् । पढाइसँगै उनले सीपमूलक तालिम पनि लिएका छन् । पञ्चेबाजाअन्तर्गत उनले अहिले मज्जाले ढलाकी बजाउन सिकेका हुन् । विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्र्तगत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण दिएपछि उनी ढलाकी बजाउन निपूण बनेका हुन् । ‘सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ’, उनले भने, ‘प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयासपछि अहिले ढलाकी बजाउन सक्षम बनेको छु ।’ लामिछाने जस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटा टेम्पो बजाउन सफल बनेका छन् । इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भने, ‘सुरुमा डर लागे जस्तो भएपनि अहिले मज्जाले बजाउन सकिन्छ ।’ विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरुका लागि पञ्चेबाजासम्बन्धी एकमहिने प्रशिक्षण दिएको शिक्षक धु्रव भण्डारीले जानकारी दिए । पञ्चेबाजामध्ये नरसिंहा बजाउने प्रशिक्षण दिने तयारी गरेका छौँ । उनले भने, ‘वाद्यबाजन र पञ्चे बाजा बजाउनसके पनि धेरैले नरसिंहा बजाउन सक्दैनन् ।’ विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह, ब्रतवन्ध, पूजाआजालगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ । विद्यालयमा बाद्यबाजनका साथै नृत्य, टपरी बुन्ने, तरकारी खेती, आलुखेती, बत्ती कात्ने, कपाल काट्नेलगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए । समाजमा चलिआएका पुर्ख्यौली सीपहरु समेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थी सिकाएर व्यावहारिक बनाइएको छ । परियार समुदायले बजाउने पुख्यौली पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्ने खतरा बढेको छ भने आधुनिक बाजाले विस्थापित हुदै गएको छ । पुख्र्यौली सम्पत्तिको संरक्षण एवं सम्बद्र्धन गर्न पनि विद्यालयले यसलाई प्राथामिकता दिएको हो । कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यावहारिक शिक्षा प्रदानमा जोड दिइएको उनको भनाइ छ । विद्यार्थीलाई पठनपाठनमा मात्रै केन्द्रित गर्दा पट्यार लाग्ने, दिक्क अनुभव गर्ने र पढाईमा ध्यान नदिने भएकाले यस्ता सीपमूलक शिक्षामा जोड दिइएको प्रधानाध्यापक कोइरालाले बताए । ‘नाचगानलगायत सीपमूलक शिक्षा प्रदान गर्न थालेसँगै विद्यार्थीहरु उत्साहित भएर सीप सिक्ने र पढ्ने कार्यमा रुचि लगाउने गरेका छन्’, उनले भने । ‘सीप सिकेका विद्यार्थीले आफूभन्दा तल्लो कक्षामा अध्ययनरत इच्छुक विद्यार्थीलाई पनि सिकाएर सीप हस्तान्तरण गर्न लगाइएको छ’, उनले भने, ‘विद्यार्थीबाट विद्यार्थीमा सीप हस्तान्तरण गरी पञ्चेबाजालाई सदाबहार जीवन्तता दिन लागिएको छ ।’ कक्षा १० मा अध्ययनरत विद्यार्थी एसइईपश्चात् अर्को विद्यालयमा जानुअघि सिकेको सीप आफूभन्दा पछिका पुस्तालाई सिकाउने व्यवस्था मिलाइएको सो विद्यालयले जनाएको छ । विद्यालयको भावि योजनामा प्लाम्बिङ र वाइरिङलगायतका सीपमूलक र आयआर्जनमूलकसम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । विद्यार्थीले मात्रै नभई शिक्षक शिक्षिक पनि वाद्यवादन बजाउन, गाउन र नाच्न उत्तिकै सक्षम बन्दै गएका छन् । कक्षा १ देखि ५ सम्म स्मार्ट टिभी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई स्मार्ट बोर्ड राखेर पठनपाठन गराउन थालिएको छ । समयको मागसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै आएको सो विद्यालयले जनाएको छ । दलित, जनजाति र सिमान्तकृत बालबालिकाको बाहुल्य रहेको यस विद्यालयमा हाल तीन सय विद्यार्थी अध्ययनरत छन् । रासस
एनआईसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले १४ गते बिहीबार देखि सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय सस्थाले दर्जन बढि विद्यालयहरुका ३०० बढि विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । विशेष गरेर कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबार बारे अनविज्ञ बिद्यार्थी भाई बहिनीहरु लाई केन्द्र बिन्दुमा राख्नु मूल कर्तव्य ठानेर बालबालिकाहरुमा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल उदेश्य यस कार्यक्रमले राखेको छ । आगामी दिनहरुमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल २८९ ओटा शाखामार्फत वित्तीय सेवा हरु दिँदै आएको छ ।
गृहमन्त्री श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराए । यही मङ्सिर १९ गते केन्द्रमा भर्ना उनको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेका थिए ।