
काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी एमएडब्लु इन्भेष्टमेन्ट प्रा. लि.को आम्दानी १३.४४ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी आर्थिक वर्ष २०२२ को तुलनामा २०२३ मा सो मात्राले बढेको हो ।
आर्थिक वर्ष २०२२ मा ३८ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०२३ मा ४३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, कम्पनीको नेटवर्थ पनि बढेर ५० करोड पुगेको छ । जुन अघिल्लो वर्षमा ४९ करोड ९४ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०२०मा ३५ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको नेटवर्थ चार वर्षमा ४०.८५ प्रतिशतले बढेर ५० करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको पोर्टफोलियोको आकार भने घटेको छ । आर्थिक वर्ष २०२० मा २ अर्ब ४९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको पोर्टफोलियो २०२३ मा घटेर २ अर्ब ३७ करोड ३० लाखमा झरेको छ । जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा ७.०९ प्रतिशत घटी हो । २०२२ मा बढेर २ अर्ब ५५ करोड ४० लाख रुपैयाँ पुगेको कम्पनीको पोर्टफोलियो २०२३ मा पुनः घटेको तथ्यांकले देखाउँछ ।
पोर्टफोलियोको आकारसँगै कम्पनीको सम्पत्ति पनि घटेर २ अर्ब ५६ करोड ९० लाख रुपैयाँमा झरेको छ । जुन २०२२ मा २ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीको कूल एनपीए भने बढेर ५.२९ प्रतिशत पुगेको छ । २०२२ मा यस्तो एनपीए ४.९९ प्रतिशत थियो ।
२०११ मा स्थापना भएको यो कम्पनी एमएडब्लु ग्रुपको एक हिस्सा हो, जसले सन् १९६५ देखि अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको थियो । यो ग्रुपले विभिन्न अटोभोटिभ सेग्मेन्ट जस्तै सीई, पीभीएस, टुडब्लु एस र कमर्शियल भेइकलहरुसँग डिल गर्दै आफ्नो व्यवसायलाई अघि बढाएको छ ।
एमएडब्लु इन्टरप्राइजेजको ४० प्रतिशत र भगिनी संस्था एमएडब्लु अर्थमूभर्सको ३० प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै, उद्योगी विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर छ । अग्रवाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।
कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये इक्रा नेपालले २ अर्ब ७२ करोड रुपैयाँ बराबरको कर्जाको एलबीबी प्लस र बाँकी ७ करोड कर्जाको लागि एफोर प्लस रेटिङ्ग पुनः पुष्टि गरिदिएको छ । यसअघि कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ्ग गराएको इक्रा नेपालले जानकारी गराएको छ ।