१ अर्ब २० करोड बचत फिर्ता गर्न नसकेपछि कान्तिभैरव सहकारीमा पीडितको धर्ना
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा ७ हजार ७ सयभन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको १ अर्ब २० करोड ८० लाख ४८० रुपैयाँ रहेको उनले जानकारी दिए । समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा ६० करोड रुपैयाँ ऋण विना धितो लगानी गरेको सुनाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । ६ करोड रुपैयाँ मात्र धितो राखेर लगानी गरेको पाइएको समितिका सदस्य राजेशकुमार विष्टले सुनाए । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म सङ्घर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन् । धर्नापछि आजै भएको बैठकमा पनि सङ्घर्ष समितिका नेतामात्र सहभागी भएर अरुलाई नराखिएको उनले सुनाए । वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरीको सहजीकरणमा आजको बैठक भएको जनाइएको छ । यससम्बन्धमा प्रदेशसभा सदस्य ठकुरीको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । ६ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन् । सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित लकबहादुर तामाङले जानकारी दिए । दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताए । सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्कने गरेका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि पाएका छैनन् । सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले ७० लाख रुपैयाँ ऋण लिएको भेटिएको सङ्घर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए । बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन् । उनी अष्ट्रेलियाबाट फर्केर सहकारीको बचत फिर्ता गर्न नसकेर समस्या भएपछि अमेरिका गएको समितिले जनाएको छ । सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका वडा नं. ४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ ।रासस
चितवन कारागारमा १ सय कैदीबन्दी बिरामी
काठमाडौं । जिल्ला कारागार कार्यालय चितवनमा रहेका १११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । १११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । “कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ”, उनले भने । कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् । जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि पठाउने गरिएको छ । अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ । कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि ६ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए । “उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ”, उनले भने । औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ । रासस
उखुको मूल्य निर्धारणप्रति किसान असहमत, प्रतिक्विन्टल ७५० रुपैयाँ हुनु पर्ने
काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाएको छ । हाल उखुको मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ निर्धारण गरिएको छ । चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । उखुको मूल्य नबढाएसम्म उद्योग सञ्चालन नगर्ने उनको भनाइ छ । मिलगेड उखु उत्पादक किसान समितिका अध्यक्ष राजकुमार उप्रेती सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादनसमेतको आधारमा गरिनुपर्ने बताउँछन् । बजारमा चिनीको माग बढेको समयमा मूल्य बढाउने र उखु क्रसिङ गर्ने समयमा मूल्य घटाएर उखु उत्पादक किसानलार्ई कम पैसा दिने उद्योगीको नीतिले उखु उत्पादक किसान मारमा परेका उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा गत वर्षको अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गरिदिन माग गरिएको छ । गत वर्ष बेचेको उखुको अनुदानबापतको रकम अझैसम्म उखु उत्पादक किसानले पाएका छैनन् । तर जिल्लाका चिनी मिलले चालु यामको उखु क्रसिङको काम सुरु गरिसकेका छन् । यसप्रति किसानले आपत्ती जनाएका छन् । उचित मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन गर्न नदिने किसानको भनाइ छ ।
३२ लाखको अवैध सामान बरामद
फाइल फाेटाे काठमाडौं । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो । बरामद गरिएका सामानमा रु १४ लाख ७० हजार बराबरको लत्ताकपडा, १ लाख ४० हजार रुपैयाँको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन् । ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।
नेपाली सेनाले माग्यो प्राविधिक तथा हवाईतर्फ १२५ जना कर्मचारी
काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ । सेनाले शुक्रबार सूचना प्रकाशन गर्दै प्राविधिक, हवाई लगायत विविध पदमा रिक्त १२५ जना कर्मचारी मागेको हो । सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी मागेको हो । इच्छुक तथा योग्यता पुगेकाहरूले नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
इन्जिनियरिङमा ६५ प्रतिशत भर्ना
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् । संस्थानका अनुसार आङ्गिकतर्फ पुल्चोक क्याम्पसमा कुल ६२४ सिटमध्ये ३० सिट मात्रै भर्ना गर्न बाँकी छ । यो क्याम्पसले इन्जिनियरिङका १६ वटा विषयको पढाइ सञ्चालन गरिरहेको छ । थापाथली क्याम्पसमा ४३२ वटा सिटमध्ये १०८ वटा मात्रै रिक्त छन् । पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२ वटा सिटमध्ये ११७ वटा र धरानस्थित पूर्वाञ्चल क्याम्पसमा ५२८ वटा सिटमध्ये १०१ सिट रिक्त छन् । यी तीनै वटा क्याम्पसमा इन्जिनियरिङ विधा अन्तर्गत १४ वटा विषयको पढाइ सञ्चालन भइरहेको छ । संस्थानकै आङ्गिकमध्येका चितवन इन्जिनियरिङ क्याम्पसमा २४ वटा सिटमध्ये दुई वटा मात्रै रिक्त छ । सम्बन्धन प्राप्त क्याम्पसमध्ये सबैभन्दा धेरै विद्यार्थी नेसनल कलेज अफ इन्जिनियरिङमा सबै विषयमा गरेर २४० वटा विद्यार्थी सिट भर्ना क्षमता भएकोमा २०७ जना भर्ना भइसकेका छन् । सबैभन्दा थोरै विद्यार्थी जनकपुर इन्जिनियरिङ क्याम्पसमा भएका छन् । विभिन्न विषयका गरेर १९२ विद्यार्थी भर्ना क्षमता भएको यो क्याम्पसमा २१ जना मात्रै भर्ना भएका छन् । जुन कुल भर्ना क्षमताको ११ प्रतिशत मात्रै हो । अहिले आकर्षक विषयमा समेत विद्यार्थी भर्ना नभएर धेरै कोटा रिक्त रहेको चर्चा चल्ने गरेको छ तर विद्यार्थी भर्नाका क्रम अझै जारी रहेको हुनाले बजारमा हल्ला भए अनुसार विद्यार्थी कोटा रिक्त नभएको संस्थानका डिन प्राडा शशिधरराम जोशीले बताए । उहाँका अनुसार प्रवेश परीक्षामा प्राप्ताङ्कका आधारमा विद्यार्थी भर्नालाई प्राथमिकतामा राखिएको छ । जस अनुसार भर्नाका लागि विद्यार्थीको तेस्रो सूची प्रकाशन गरिएको छ । उनले यो सूचीका विद्यार्थी भर्नामा आएपछि फेरि अर्को सूची निकालिने बताउनुभयो । उहाँका अनुसार विगतमा यस्ता विद्यार्थीको १२ वटासम्म सूची प्रकाशन गरिएको थियो । उनले भने, “विगतको तुलनामा भर्ना हुने विद्यार्थीको सङ्ख्यामा केही कमी आउला तर बजारमा हल्ला चले जस्तो विद्यार्थी अभाव भएको चाहिँ होइन ।” सानेपास्थित सगरमाथा इन्जिनियरिङ क्याम्पसमा प्राचार्य रमेश श्रेष्ठले पनि भर्ना प्रक्रिया जारी रहेकाले अहिले नै विद्यार्थी अभाव भयो भनेर हल्ला गर्नु बेकार भएको बताए । इन्जिनियरिङ सङ्कायमा भर्नाका लागि संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा छ हजार उत्तीर्ण भएका थिए । प्रवेश परीक्षामा १४ हजारको हाराहारीमा सहभागी थिए । इन्जिनियरिङको पढाइ कुरेर बसेका विद्यार्थीको नियमित कक्षा भने आगामी माघ महिनादेखि मात्रै सञ्चालन गर्ने संस्थानले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
९ प्रतिशत ब्याज दिने नबिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला
काठमाडौं । नबिल बैंकले मंसिर आज २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक ९ प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा पुस ३ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
बैंकिङ, बीमा र ढुवानी सेवासहित २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने
काठमाडौं । सरकारले २५ वटा विभिन्न सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने जनाएको छ । नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड्ताल निषेध गरिएको भन्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ । डाँँक, तार, टेलिफोन, यातायात, हवाई अड्डा, सञ्चार क्षेत्र, सरकारी छापाखान लगायत २५ सेवा क्षेत्रमा हडताल निषेध गरिएको भन्दै राजपत्रमा सूचना प्रकाशित गरेको हो । [pdf id=452349]