आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
काठमाडाैं । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र मार्शल कानून अन्तर्गत समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्नेछ,’ युक्रेनी वित्त मन्त्री सेर्गी मार्चेन्कोले भने। ‘ईएफएफ कार्यक्रमले युरोपेली सङ्घमा पूर्ण एकीकरणको बाटोमा युक्रेनी सरकारको आर्थिक कार्यक्रमको विकासको लागि एक ठोस आधार बनाउनेछ,’ मार्चेन्कोले भने । गत मार्चमा आईएमएफले युक्रेनको आर्थिक पुनरुत्थानमा सहयोग पु¥याउन युक्रेनका लागि करिब १५ अर्ब ६० करोड डलर बराबरको ४८ महिनाको ईएफएफ व्यवस्था स्वीकृत गरेको थियो । यस कार्यक्रम अन्तर्गत पूर्वी युरोपेली यस मुलुकले यसअघि नै विश्व ऋणदाताबाट ४.५ अर्ब डलर लिइसकेको छ । रासस
सेयर कारोबार गर्न लगानीकर्ता परिपक्व छन् : सीईओ आचार्य
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले सेयर बजारका लगानीकर्ता परिपक्व रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बजारमा २० देखि ६० वर्ष उमेर समूहका लगानीकर्ता सक्रिय छन्, त्यसैले कारोबार गर्न लगानीकर्ता परिपक्व छन्, उनले भने । त्यस्तै, बजार हरियाली हुँदा डिम्याट खाता खोल्नेको संख्या बढेको बताउँदै उनले अन्य प्रदेशको तुलनामा बागमतीमा लगानीकर्ताको संख्या बढी रहेको समेत जानकारी गराए । गुणस्तरीय सेवा दिए पुँजी बजारको भविष्य उज्वल रहेको बताउँदै सीईओ आचार्यले बजारमा स्टक डिलरको संख्या अझै बढाउनुपर्ने आवश्यकता औल्याए ।
भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाणलाई सम्पत्ति सुद्धिकरण हुँदै अख्तियार पुर्याइयो
फाइल तस्बिर काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशसँगै ३० लाख धरौटी बुझाएर छुटेका पूर्वगृहमन्त्री खाणलाई सम्पत्ति सुद्धिकरण हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुर्याइएको छ । अदालतले मागेको ३० लाख धरौटी बुझाएपनि भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुलाई सम्पत्ति सुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेकाले खाणलाई ती दुवै कार्यालयमा पुर्याइएको हो । उनले सम्पत्ति सुद्धिकरण विभागमा थप १५ लाख धरौटी बुझाएर मात्रै त्याहाँबाट छुटेका थिए । त्यसपछि अख्तियार पुगेका खाणलाई सो कार्यालयले के कसरी हेर्छ त्यो भने सार्वजनिक भइसकेको छैन ।
सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ, रोकाया बने सचिव
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् । सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा र सचिवमा सन्तोष रोकाया निर्वाचित भएका छन् । रोकाया विकासन्युजका सह–सम्पादक हुन् । यस्तै, संस्थाकाे सह-सचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधव कुमार खड्का चयन भएका छन् । यस्तै, सदस्यहरुमा नमिता दुलाल र बलराम बुढाथोकी निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्र वितरण गरेका थिए । नवर्निवाचित अध्यक्ष श्रेष्ठले सबै सदस्यलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी
भक्तपुर । वरिपरि परम्परागत शैलीमा बनेको ठूलो पर्खाल । चारै दिशामा कलात्मक शैलीमा बनेका प्रवेशद्वारसहितको पाटी । वरिपरि कलात्मक इँटा छापेर बनाइएको बाटोको बीचबीचमा देवीदेवताका मूर्तिहरु । बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र साँझ उपत्यका बिभिन्न ठाउँबाट आउने पारिवारिक र युवा जोडीको भ्रमण अचेल देखिने यस्ता दृश्य उपत्यकाकै जेठो र ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानीपोखरीको हो । नेपाली सैनिकको सैनिक इलाका । नेपाली सेनाको सैनिक आवासीय माध्यमिक विद्यालय र उच्च शिक्षा अध्ययन हुने क्याम्पससँगै जोडिएर रहेको एतिहासिक सम्पदाको धरोहर भक्तपुरको रानीपोखरी यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित प्राचीन एवं ऐतिहासिक महत्व बोकेको पुतली बगैँचासहितको रानीपोखरीको संरक्षणमा राससको पटक पटकको समाचार सम्प्रेषणले झक्झक्याएसँगै भक्तपुर नगरपालिकाको अथक प्रयासपछि यो पोखरीले पाएको पुनर्जीवनले एउटा हराउँदै गरेको साँचो इतिहास पछिल्ला पुस्ताका लागि जीवित बन्न सफल भएको छ । पोखरीको चारै दिशामा रहेको कलात्मक पाटीहरू भत्किसकेको र यसको जीर्णोद्वारमा सेनाले चासो नदिएका कारण सिङ्गो रानीपोखरी, पुतली बगैँचा, यहाँका पाटीहरु र कलात्मक एवं बहुमूल्य कलाकृति सङ्कटमा पर्दै लोप हुने अवस्थामा पुगेको भन्दै राससले पटकपटक समाचार सम्प्रेषण गरेको थियो । विसं २०४० मा तत्कालीन पञ्चायती सरकारले सैन्य तालीम केन्द्रका लागि पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गा अधिग्रहण गरेपछि भक्तपुरको रानीपोखरी नेपाली सेनाको घेराभित्र पुगेसँगै यसको अस्तित्व नै लोप हुने अवस्थामा पुगेको थियो । यहाँको तस्वीरसमेत लिन बन्देज गरेको अवस्थामा दिवाली पूजाका लागि खुलेको समयमा मैदानमा परिणत भएको पोखरीको तस्विर र समाचार सम्प्रेषण भएको थियो । त्यसपछि नयाँ पुस्तालाई बल्ल थाहा भयो, भक्तपुरमा पनि रानीपोखरी छ भनेर । पटकपटकका समाचार, स्थानीय इतिहासविदहरुको चासोसँगै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले २०७५ चैत १८ नेपाली सेनाका तत्कालीन सेनापति पूर्णचन्द्र थापालाई भेटेर रानीपोखरी संरक्षणको विषयमा छलफलको सुरुआत भएको थियो । त्यसपछिको पटकपटकको सेना र नगरपालिकाबीचको छलफलले २०७६ असार १ नेपाल सेनाले ऐतिहासिक रानीपोखरी पुनःनिर्माण र संरक्षणको लागि भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको लिखित सम्झौतापछि बल्ल यस पोखरीले पुनर्जीवन पाउने बाटो तय गरेको थियो । नेपाल संवत् ७५० अर्थात १६८७ सालमा भक्तपुरका राजा जगज्योति मल्लले आफ्नी रानी राजलक्ष्मीको सम्झनामा झन्डै ३२ रोपनी क्षेत्रफलमा यो पोखरी निर्माण गराएको र रानीको नाममा बनाइएकोले यस पोखरीको नाम पनि रानीपोखरी रहन गएको इतिहासमा उल्लेख छ । रानीपोखरी भन्ना साथ मानिसहरू काठमाडौँको ऐतिहासिक रानीपोखरी सम्झन्छन् । तर, तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउनुभन्दा ४० वर्षअघि नै भक्तपुरमा रानीपोखरी बनेको इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन् । कान्तिपुरका राजा प्रताप मल्लले नेपाल सम्बत ७९० अर्थात १७२७ सालमा बनाउन लगाएका भन्दै उनले त्यो भन्दा ४० वर्ष अगाडि नै भक्तपुरको रानीपोखरी नेपाल सम्बत ७५० (विसं १६८७) मा भक्तपुरका तात्कालीन मल्ल राजा जगज्योति मल्लले बनाएको बताए । रानीपोखरी नजिकका तःपुखु (सिद्धपोखरी), नःपुखु र भाज्यापुखुभन्दा पछि बनेको नयाँ पोखरी भएकाले यो पोखरीलाई ‘न्ह पुखुु’ अर्थात् ‘नयाँ’ पोखरीको नाममा पनि चिनिन्थ्यो । रानीपोखरीको दक्षिणपट्टि रहेको ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखअनुसार सो पोखरीको नामाकरण पुष्करणी भनी उल्लेख गरिएको पाइएको संस्कृतिविद् एवं इतिहासविद प्राडा श्रेष्ठले बताउछन् । मल्ल राजाले यो पोखरी पाँच महिनामा निर्माण गराएको इतिहास छ । ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखमा रानीपोखरीको निर्माण पुस कृष्ण एकादशीका दिनमा आरम्भ भएर वैशाख कृष्ण द्वादशीका दिनमा सम्पन्न भएको उल्लेख गरिएको पाइएको उनी बताउछन् । तत्कालीन मल्ल राज्यहरूबीचको आपसी प्रतिस्पर्धा र वैमनस्यताको कोपभाजनमा रानीपोखरी पनि परेको थियो । कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुरमाथि हमला गर्दा चारैतिर पर्खालले घेरिएको भक्तपुरभित्र प्रवेश गर्न नसकेपछि रिसले नगर क्षेत्रबाहिरको रानीपोखरीमा तोडफोड गरेको इतिहासमा उल्लेख छ । काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरी जित्न नसकेपछि यो पोखरीमा रहेको सुनको नागलगायत पोखरी वरिपरिका अनुपम कलाकृतिहरू समेत उठाएर काठमाडौँको हनुमानढोका दरबार र काठमाडौँस्थित रानीपोखरीमा सजाएको इतिहासमा उल्लेख छ । मल्लकालीन समयमा भक्तपुरमा आउने विदेशी पाहुनालाई सिधै भक्तपुर दरबारमा प्रवेश गर्न नदिई पहिला पोखरीको पूर्वपट्टि रहेको ह्वाङह्वा पाटीमा एकदिन राखेपछि मात्र नगर प्रवेश गराउने वा नगराउने निर्णय गरिन्थ्यो भन्ने भनाइ छ । यस पोखरीलाई बाहिरबाट आएका पाहुनाका लागि नगर प्रवेश गराउन भेटवार्ता गर्ने प्रमुख स्थानका रूपमा लिइने गरेको बताइन्छ । यो पोखरीलाई मल्ल राजाले राजनीतिक र कुटनीतिक रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । भक्तपुर प्रवेश गर्दा होस् वा बाहिरिँदा यही पोखरी हुँदै जानुपर्छ । त्यति बेला तीनवटै मल्ल राजा र कूटनीटिक व्यक्ति भेट गर्नु परेमा रानीपोखरीमा भेट गर्ने चलन थियो । नेपाल सम्बत् ७९८ अर्थात १७३५ सालमा जितामित्र मल्लले पहिलोपटक यस पोखरीको जीर्णोद्वार गरेर मल्लकालीन सभ्यतालाई अझ झल्काउन वास्तुशास्त्रअनुसार देवीदेवता, नागनागिनी स्वरूपमा कुँदिएर निर्माण गरिएका ढुङ्गाहरूलाई पङ्क्तिवद्ध रूपमा राखिएको छ । पुरातत्व विभाग सम्पदा संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले भक्तपुरको ऐतिहासिक रानीपोखरी लुकेर बसेको सम्पदा जीर्णोद्धारसँगै सर्वसाधारणको लागि उजागर भएको बताए । जीर्णोद्धारका क्रममा चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वर, लक्ष्मी नारायणलगायतका मूर्ति भेटिएका र ती मूर्तिलाई पुनःस्थापना गरिएको थियो । पोखरी क्षेत्रमा भेटिएका विभिन्न कालखण्डका इँटा, ढुङ्गामा कुँदिएका विभिन्न कलात्मक आकृति पुनःप्रयोग गरिएको छ । मल्ल राजाले पोखरीसम्म पुग्न र भित्र छिर्न बनाइएको ढुङ्गाका सिँढी अझै यथामवत छन् । पोखरीको बीचमा वासुकी नागको सुनको टाउको छ भने चारैतिर विभिन्न कलात्मक मूर्तिहरूले घेरिएको छ । नागको जीउ नजिकैको सिद्धपोखरीमा र पुच्छर नःपुखुमा रहेको छ भन्ने भनाइ अहिले पनि रहेको छ । लहरै पश्चिमबाट पूर्वतर्फ रहेका यी तीन पोखरीलाई अझै पनि एउटै नागको स्वरूपमा लिइन्छ । भक्तपुर नगरपालिका–१ मा नै रहेको रानीपोखरीलगायत पूर्वमध्यकालमै नेपाल संवत् २३९ मा तत्कालीन युवराज इन्द्रदेवले बनाउन लगाएको सिद्धपोखरी र नेपाल संवत् २८९ मा राजा रुद्रदेवको पालामा राति गोप्य रूपमा बनाइएको गुह्यपोखरी (नःपुखु) सहितको तीनवटा पोखरीलाई स्थानीय बासिन्दाले तीन दिदीबहिनीको रूपमा लिने गरेको पाइन्छ । त्यसो त नजिकै दक्षिणतर्फ रहेको १६ औं शताब्दीमा बनेको भाजुपोखरी बनेको धेरैपछि मात्र काठमाडौंँको रानीपोखरी बनेको पाइएको उनी बताउँछन् । मल्ल राजा जगज्योर्ति मल्लले रानी पोखरीको सुन्दरतासँगै धार्मिक र सांस्कृतिक अर्थ जोड्न खाजेको प्रष्ट हुने इतिहासविद् प्राडा श्रेष्ठ बताउँछन्। यो पोखरीमा जोन्छे, धौभडेल, अवाल, प्रजापति र मान्नधरको दिगु द्यों अर्थात कुलदेवताको दिवाली पूजासमेत यहाँ गराएका थिए । अक्षय तृतीयाका दिन भक्तपुरका स्थानीयवासी सिद्धपोखरी र रानीपोखरीमा भेला भएर देवाली मनाउने प्रचलन आजसम्म पनि कायमै रहेको छ । जगज्योर्ति मल्लले नगरको शोभा बढाउन, राज्यको प्रतिष्ठा कायम राख्न, संस्कृति जीवन्त बनाउन र जल भण्डारण गर्न पोखरी बनाएको उनको भनाइ छ । प्राडा श्रेष्ठका अनुसार प्रताप मल्ल चाँगु हुँदै भक्तपुरको उत्तरतिरको महाकाली पीठसम्म आक्रमण गर्दै आए । तर भक्तपुरको पर्खालबाट भित्र छिर्न सकेनन् । त्यहाँ मजबुत गढ थियो । उत्तरबाट नसकेपछि भक्तपुरको पश्चिममा रहेको रानीपोखरीबाट आक्रमण गरेका थिए । प्रताप मल्लले सुन्दर रानीपोखरी बिगारे । सुनको नागको टाउको काटे र यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे । भक्तपुरका भाजुपोखरी, सिद्धपोखरी, रानीपोखरी देखेपछि प्रताप मल्लले आफ्नो दरबारको पूर्वमा रानीपोखरी बनाएको उनको भनाइ छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रताप मल्लले नेपाल संवत् ७९० मा राजा प्रताप मल्लले निर्माण गराएको काठमाडौंको रानीपोखरी, नेपाल संवत् ७६७ मा सिद्धिनरसिंह मल्लले निर्माण गराएको पाटनको रानीपोखरीभन्दा पहिला नेपाल संवत् ७५० मा जगज्योति मल्लले निर्माण गरेको भक्तपुरको रानीपोखरी उपत्यकाको तीन रानीपोखरीमध्ये भक्तपुरको पोखरी जेठो भएको बताउछन् । उनले २०२१ सालको नापीमा यो पोखरी सार्वजनिक पोखरीको रुपमा रहे पनि २०४० सालमा नेपाली सेनाको नियन्त्रणमा गएपछि अस्तित्व नै सङ्कटमा परेको यो पोखरीले अहिले नयाँ जीवन पाएको बताए । पुनर्निर्माणपछि रानीपोखरी १५ रोपनी ५ आना २ पैसा क्षेत्रफलमा रहेको र यसको बीचमा नागको अवशेष राख्ने ठाउँ जीर्णोद्धार गरिएको छ । पोखरीको वरिपरिको पर्खाल, पेटी, बाटो, डबली, सबै संरचना परम्परागत र मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको उनले बताए । उनका अनुसार यो मौलिक शैलीमा पुनर्निर्माण गरिएको हो । पुरातत्वविद, इतिहासविद्, सांस्कृतिकविद्हरुसँग व्यापक छलफल यसको अध्ययन, अनुसन्धान र उत्खनन् गरी यसलाई पुनर्जीवन दिएको हो । रानीपोखरीको पुनर्निर्माण २०७५ माघ १ गतेदेखि सुुरु गरी २०७८ फागुन १७ गते उद्घाटन गरिएको थियो । रानीपोखरी पुनर्निर्माणका लागि नगरपालिकाको कुल चार करोड ४१ लख १९ हजार १६४ रुपैयाँ २९ पैसाका लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत कुल दुई करोड ५४ लाख ८३ हजार ५८७ रुपैयाँ ४७ पैसाबाट सम्पन्न भएको नगर प्रमुख प्रजापतिले बताए । पुनर्निर्माणका लागि इतिहासविद् प्राडा श्रेष्ठको संयोजकत्वमा अध्ययन तथा अनुसन्धान समिति गठन गरी सात महिनाको अध्ययनपछि पुनर्निर्माणको साइत जुराइएको थियो । यो पोखरी पुनर्निर्माणमा स्थानीयले ठूलो साथ दिएका थिए । स्थानीयवासीले २२ टोली बनाएर ८८४ जनाले पोखरीको पुनर्निर्माणमा जनश्रमदानसमेत गरेका थिए । रासस
१० कित्ते नीति खारेज हुँदैन, अब दीर्घकालीन निर्णय लिन्छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आईपीओमा दिँदै आइएको १० कित्ता सेयरको नीति खारेज नहुने स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त नीतिमा पुनरावलोकन हुन सक्ने तर खारेज नहुने स्पष्ट पाएका हुन् । ‘आईपीओमा १० कित्ता नीतिका सकारात्मक र नकारात्मक पक्षका बारेमा अध्ययन गरिनेछ, अध्ययनले जे देखाउँछ सोही निर्णय गरिनेछ, तर यो खारेज हुँदैन, उनले भने । उनले नियामक निकायको निर्देशन बमोजिम काम गर्न पुँजीबजारका सरोकारवालाहरुलाई आग्रह गरेका छन् । पुँजी बजारसङ्ग सम्बन्धित सबै कम्पनीको सबै त्रैमासिक तथा वार्षिक रिपोर्ट समयमै पेश गर्नुपर्ने बताउँदै उनले भने- ‘हाम्रो काम गर्ने प्रणालीमा बदलाब ल्याउन जरुरी छ ।’ त्यस्तै, हालै बोर्डले लकिङ पिरियडसङ्ग सम्बन्धि जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । यसले लगानीकर्तालाई सहज हुनेछ । यसअघि सेयर बजारका लगानीकर्ताहरु पुँजी बजारको सूचनाबाट बञ्चित भएका बताउँदै अध्यक्ष हमालले अब लकिङ पिरियड अवधिको बारेमा जानकारी दिएपछि लगानीकर्ता सजग हुने र यो व्यवस्थाले बजारमा कति भोलुम हुन्छ भन्ने जानकारी गराउने समेत उनले बताए । त्यस्तै, आफ्नो कार्यकालमा विभिन्न व्यवस्थामा पुनरावलोकन भएको बताउँदै अध्यक्ष हमालले आफ्नो फाइदाको लागि नभई बजारको लागि काम गरेको जिकिर गरेका छन् । आफ्नो कार्यकालमा आईपीओ, बजार संचालन गर्ने कस्टडी, सुशासन लगायतका विभिन्न ५ वटा काम गर्ने उनको लक्ष्य छ । साथै, उनले अध्यक्षबाट बिदा भएर जानु भन्दाअघि दीर्घकालीन वा महत्वपूर्ण निर्णय गर्ने बताउँदै उनले त्यसमा सबैको सहयोगको अपेक्षा गरेका छन् । बोर्डको निर्देशनअनुसार काम नगर्ने कम्पनीहरुलाई तत्काल कारबाही गर्ने मनसायमा आफू रहेको उनको भनाई छ । ‘३० वर्षको अवधिमा ८८ वटा कम्पनीलाई कारबाही गरें । एकैपटक यति धेरै कम्पनीलाई कारबाही गरेको यो पहिलो पटक हो । आगामी दिनमा पनि वित्तीय विवरण पठाउन ढिला गर्ने कम्पनी स्वतः कारबाहीमा पर्नेछन्,’ अध्यक्ष हमालले भने ।
एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण भित्रियो
कटारी । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार कुल विप्रेषणमध्ये सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ । ‘कुल भित्रिएको विप्रेषणमध्ये १४ प्रतिशतमात्रै बचत देखियो, एक दशमलव सात प्रतिशत ऋण लगानी भएको छ’, उनले भने, ‘शून्य दशमलव पाँच प्रतिशत व्यवसाय र ८४ प्रतिशत अनुत्पादक क्षेत्र अर्थात् मोबाइल तथा टिभीलगायतमा खर्च भएको देखियो ।’ वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पुनःएकीकरण (रेमी) परियोजनासमेत सुरु भएको छ । नेपाल सरकारको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुँदै यो परियोजना कोशी प्रदेशको १० वटा स्थानीय तहमा सुरु भएको छ । स्वीजरल्याण्ड सरकारको सहयोगमा ‘हेल्भेटास नेपाल’मार्फत सुरु भएको यो परियोजना उदयपुरको आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा सुरु भएको हो । नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले विदेशबाट फर्किएकालाई आर्थिक, सामाजिक, राजनीतिक समस्या समाधानका लागि रेमी परियोजनाले काम गर्ने बताए । ‘परियोजनाको सुरुआती चरण सुरु भएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘वडा नं ५ र ७ मा धेरैजना विदेश जाने गरेको पाइएकाले त्यहाँबाट परियोजना सुरुआत गरेका छौँ ।’ परियोजना संयोजक जयन्ती तामाङले विदेशबाट फर्किएकाहरू मनोसामाजिक, आर्थिक, सामाजिक र राजनीतिकरूपमा कसरी समाजमा एकीकरण गर्न सकिन्छ भन्ने क्षेत्रमा काम सुरु भएको बताए । नगरपालिकाभित्र विप्रेषण भित्रिएको देखिए पनि यसको सही सदुपयोग नहुँदा समाजमा एकीकरण भई फर्किएकाहरू बास्न नसक्ने अवस्थाको अन्त्यका लागि परियोजनाले काम सुरुआत गरेको हो । रासस
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं । सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौं महागरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा अन्तिम टुंगो नलागेसम्म काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले सो आदेश दिएको हो । उच्च अदालत पाटनको अन्तरिम आदेशसँगै काठमाडौं महानगरले सुर्तिजन्य पदार्थको बेचबिखनमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नहुने भएको छ ।