विकासन्युज

११ हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा

काठमाडौं । हाल मुलुकभरिका बालगृहमा ११ हजार दुई सय दुई जना बालबालिका संरक्षित छन् । आव २०७९/८० मा ५० वटा बालगृह बन्द भएकामा ५१ बालगृृह थप भई हाल चार सय १८ वटा बालगृह सञ्चालनमा छन् । मुलुकभरि पाँच हजार एक सय ४४ बालक र ६ हजार ५८ बालिका गरी जम्मा ११ हजार दुई सय दुई जना बालबालिका बालगृहमा संरक्षित छन् । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार कोशी प्रदेशका आठ जिल्लामा २९ बालगृह सञ्चालनमा रहेका छन् । मधेस प्रदेशका पाँच जिल्लामा १३ बालगृह सञ्चालनमा रहेका छन् । बागमती प्रदेशका दश जिल्लामा दुई सय ९६ बालगृह सञ्चालनमा छन् जहाँ तीन हजार तीन सय ९९ बालक र चार हजार चार सय १५ बालिकाले अभिभावक पाएका छन् । गण्डकी प्रदेशका छ जिल्लामा ३७ बालगृह सञ्चालनमा रहेका छन् । जसमा पाँच सय ३५ बालक र ६ सय २३ बालिका गरी जम्मा एक हजार एक सय ५८ बालबालिका संरक्षित रहेका छन् । लुम्बिनी प्रदेशमा, सात जिल्लामा १९ बालगृह सञ्चालनमा रहेका छन् । जसमा दुई सय ९१ बालक र दुई सय ५६ बालिका गरी जम्मा पाँच सय ४७ बालबालिका संरक्षित छन् । कर्णाली प्रदेशका पनि ६ वटै जिल्लामा दश बालगृह सञ्चालनमा छन् । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला रहेका १४ बालगृहमा एक सय ७८ बालक र एक सय ३७ बालिका गरी जम्मा तीन सय १५ जना बालबालिकाले आश्रय पाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मुलुकभरि ४३ जिल्लामा सञ्चालित चार सय १७ वटा बालगृहमा दश हजार नौ सय पाँच बालबालिका संरक्षित थिए । परिषद्ले आव २०७९/८० मा सम्बन्धित स्थानीय तहसँगको समन्वय र सहकार्यमा १२ वटा जिल्लाका एक सय २४ वटा बालगृहको अनुगमन गरिएको बताएको छ । सोही आवमा अभिभावक भएका दुई सय ३८ बालक र दुई सय ९० बालिका गरी जम्मा पाँच सय २८ जना बालबालिकाको परिवारिक पुनर्मिलन गरिएको र प्रचलित मापदण्डविपरीत सञ्चालनमा रहेका दुई वटा बालगृहबाट २७ जना बालक र १४ जना बालिकाको उद्धार गरिएको थियो ।

कोदो र फापर खेती गर्ने किसानलाई अनुदान

मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे । भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो खेती गरेको र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कोदो उत्पादन बढाउन पालिकाले २० लाख अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए । यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनले बताए । अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गाँउपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्युनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रति केजी एक सय निर्धारण गरिएको छ ।

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

काठमाडौं । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो । बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहो¥याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो । पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरूको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ ।

अफगानिस्तानलाई पछि पार्दै अफिम खेतीमा विश्वको नम्बर वान देश कसरी बन्यो म्यानमार ?

काठमाडौं । संयुक्त राष्ट्रसंघको पछिल्लो सर्वेक्षणअनुसार अफगानिस्तानलाई पछि पार्दै म्यानमार पहिलोपटक सबैभन्दा बढी अफिम उत्पादन गर्ने देश बनेको छ । म्यानमार लाओस र थाइल्याण्डको बीचमा रहेको ‘गोल्डेन ट्रयांगल’ क्षेत्रको एक हिस्सा हो, जुन अवैध लागूऔषध व्यापारका लागि कुख्यात छ। यस क्षेत्रमा दशकौंदेखि अफिम खेती हुँदै आएको छ, जुन हेरोइन तयार गर्नका लागि महत्त्वपूर्ण सामग्री हो। यो युद्धग्रस्त देश अफिम उत्पादनमा अग्रस्थानमा रहनुका कारण तल उल्लेख गरिएको छ । बिग्रदोँ गृहयुद्ध १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि म्यानमारको केन्द्रीय सरकारले जातीय अल्पसंख्यक समूहहरूसँग द्वन्द्वमा संघर्ष गरिरहेको छ। यी जातीय समूहहरू सिमाना छेउका पहाडी क्षेत्रमा बस्छन् । सन् २०२१ मा भएको पछिल्लो सैन्य विद्रोहले देशलाई धेरै भागमा विभाजन गर्यो। लोकतन्त्रको पुनर्स्थापना माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि सेनाले हिंसात्मक कारबाही गरेको छ । थाइल्यान्ड, चीन र भारतको सिमानामा विपक्षी आन्दोलनकारीहरूले लडाकूहरूसँग हात मिलाएर देशको सेनासँग लड्न केही तालिम लिएर फर्केका थिए । यी आन्दोलनकारीहरू मिलेर पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) भनेर चिनिने सशस्त्र समूह बनाए । सत्ताबाट अपदस्थ भएपछि निर्वाचित प्रशासनले राष्ट्रिय एकता सरकार (एनयूजी) गठन गर्‍यो। यसैबीच, करेन, काचिन, करेन्नी र चिनजस्ता केही स्थापित जातीय समूहहरूले आफूलाई एनयूजीसँग पङ्क्तिबद्ध गरे । एनयूजीको लडाईं एकाईलाई पीडीएफ पनि भनिन्छ । तर, थाइल्याण्ड र चीनसँग जोडिएका शैन राज्यका धेरै समूह यस अभियानको हिस्सा बनेनन्। अवैध लागुऔषध उत्पादन गर्ने क्षेत्रका रूपमा विश्वमा चिनिने यो क्षेत्रको शान्तिसुरक्षाको अवस्था पनि बिग्रिएको छ । विद्रोहको करिब तीन वर्षपछि पीडीएफ जातीय सशस्त्र समूहहरूको समर्थनमा एक महत्त्वपूर्ण लडाईं शक्ति भएको छ। जताततै ठूलाठूला द्वन्द्वहरू फैलिरहेका छन् र सेनाको पहुँच देशका केही भागमा मात्रै सीमित छ। यस्तो अवस्थामा सुनौलो त्रिभुजसहित धेरै क्षेत्रको प्रणालीमा त्रुटिहरू छन् । अफगानिस्तानमा अफिम प्रतिबन्ध अप्रिल २०२२ मा तालिबानले अफिम खेतीमा प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको उत्पादन तीव्र गतिमा घटेको छ । अफगानिस्तानमा अफिमसम्बन्धी संयुक्त राष्ट्रसंघको सर्वेक्षणले सन् २०२२ मा अफगानिस्तानमा ६ हजार २ सय टन अफिम खेती भएको देखाएको छ। यो सन् २०२३ मा ९५ प्रतिशतले घटेर ३ सय ३३ टन पुगेको छ । सोही अवधिमा म्यानमारमा अफिम उत्पादन ३६ प्रतिशतले बढेर १ हजार ८० टन पुगेको छ । यद्यपि, यो अफगानिस्तानको ६ हजार २ सय टनभन्दा धेरै कम हो । तर, म्यानमारको अहिलेको अस्थिरताका कारण यहाँ अफिम उत्पादन बढ्दै जाने अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ । अफिमको उच्च मूल्य अफगानिस्तानमा खेतीमा प्रतिबन्धका कारण अफिमको मूल्य बढेको छ । औसतमा अफिम खेती गर्ने किसानलाई एक किलोका लागि ३ सय ५५ डलर भुक्तानी गरिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार यो मूल्य सन् २०२२ को तुलनामा ७५ प्रतिशत बढी हो । जसका कारण धेरै किसान अफिम खेतीतर्फ आकर्षित भइरहेका छन् । त्यो पनि कोरोना महामारीको दोहोरो प्रहार र सैन्य शासकको कुप्रबन्धका कारण म्यानमारको अर्थतन्त्र ओरालो लागेको बेला । विश्वभरि आपूर्तिमा आएको कमीका कारण गोल्डेन ट्रयांगलले पनि अफिमको माग बढाउन मद्दत गरेको छ । किसानसँगको सीमित विकल्प म्यानमारमा अफिमको खेती घटाउने प्रयास भएन भन्ने होइन । किसानलाई नाफा कमाउने उद्देश्यले चिनी, रबर र फलफूलको खेतीलाई प्रवर्द्धन गरिएको भए पनि अफिमभन्दा यी खेती गर्न गाह्रो छ । यी वैकल्पिक बिरुवाहरू दुर्गम क्षेत्रबाट मुख्य बजारमा ल्याउन जटिल थियो । तर, अफिम किन्न क्रेताहरू उनको फार्ममा पुग्छन् । यसबाट किसानको ढुवानी खर्च पनि बचेको छ । म्यानमारले भर्खरैको विद्रोहपछि कम विदेशी लगानी वा अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ। जसका कारण कृषकलाई आम्दानीका अन्य स्रोत पाउन मुस्किल भएको छ । कमजोर मानवअधिकार रेकर्ड र सैन्य जन्टाको जवाफदेहीताको कमीका कारण अफिम र अन्य लागूऔषधको उत्पादन अन्त्य गर्न अन्तर्राष्ट्रिय सहायता म्यानमारमा विरलै पुग्छ। गोल्डेन ट्रयांगल क्षेत्रमा अराजकता गोल्डेन ट्रयांगल क्षेत्र दशकौंदेखि विश्वव्यापी अन्तर्राष्ट्रिय अपराधको केन्द्रबिन्दु बनेको छ। सिन्थेटिक लागूऔषध उत्पादन, अवैध हातहतियारको व्यापार, जुवा, मानव बेचबिखन, अनलाइन ठगीजस्ता सबै गतिविधि यहाँ भइरहेका छन् । यस दुर्गम पहाडी क्षेत्रको सिमाना असुरक्षित छ । यहाँ गस्ती नहुँदा अपराधीलाई कानुनको घेराबाट बच्न सहज हुन्छ । उत्तरी शैन राज्यमा हालैका झडपहरू चीनमा अनलाइन ठगीसँग सम्बन्धित लक्ष्यहरूमाथिको क्र्याकडाउनसँग जोडिएको छ। यी सबै अड्डाहरू म्यानमारभित्रबाट सञ्चालित थिए। अफिम उत्पादन बन्द गर्नु म्यानमारले सामना गरिरहेका धेरै चुनौतीहरूको एउटा भागमात्र हो। विद्रोहपछि मुलुक राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा पतन हुँदै गएको देखिन्छ । वर्तमान सैन्य शासन देशलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ । यस्तो अवस्थामा लागुऔषध समस्यालाई सम्बोधन गर्नु उनीहरूकाे प्राथमिकतामा पर्ने सम्भावना कम छ । सिपाहीहरू र जातीय सशस्त्र समूहहरूसहित धेरै मानिसहरू अवैध लागूऔषध उत्पादनबाट लाभ उठाउँदै छन् । यी मानिसहरूले आफ्नो क्षेत्रमा जाने अफिम व्यापारीहरूबाट कर उठाउँछन् । अस्थिर वातावरणमा अफिम आम्दानीको महत्वपूर्ण स्रोत बनिसकेको अवस्थामा यसको खेती र बिक्रीमा प्रतिबन्ध लगाउने साहस सायदै कसैको होला । को को आंग, बीबीसी हिन्दी

लाखमा थालेको रद्दी कागज कम्पनी बन्यो ८ अर्बको, १० अर्बको कारोबार लक्ष्य

काठमाडौं । नयाँदिल्ली निवासी पुनम गुप्तालाई पढाइ सकेपछि स्कटल्याण्डमा जागिर पाउन निकै समस्या पर्यो । जब पुनम जागिर खोज्दै थिइन्, तब उनले रद्दी कागज देखिन् र त्यसमा अनुसन्धान गर्न थालिन् । जागिरको अन्तर्वार्ता दिन एक कार्यालयबाट अर्को कार्यालय जाँदै गर्दा पुनमले धेरै ठाउँमा फोहोरका कागजको थुप्रो देखेकी थिइन् । यसपछि उनले पेपर रिसाइकल गर्ने सोच बनाइन् । धेरै अनुसन्धान गरेपछि पुनमले पेपर रिसाइक्लिङ व्यवसाय सुरु गर्ने योजना बनाइन् । दिल्लीको लेडी श्रीराम कलेजबाट अर्थशास्त्रमा एमबीए गरेकी पुनमले सन् २००२ मा पुनीत गुप्तासँग विवाह गरेकी थिइन् । यसपछि पुनम पनि श्रीमानसँग स्कटल्याण्ड गइन् । अहिले पुनम आफ्नो परिवारसँग स्कटल्याण्डमै बस्छिन् । पूनम बेलायतमा जागिर खोज्दै थिइन् । पुनमसँग बेलायतमा काम गरेको कुनै अनुभव थिएन । त्यसैले उनले त्यहाँ सजिलै काम पाउन सकेकी थिइनन् । पुनमले स्कटल्याण्ड सरकारको योजनाअन्तर्गत १ लाखको फन्ड प्राप्त गरेकी थिइन् । यही कोषबाट उनले आफ्नो व्यवसाय सुरु गर्ने योजना बनाइन् । करिब २० वर्षअघि करिब १ लाख रुपैयाँमा सुरु भएको पुनमको बिजनेस पीजी पेपर अहिले ८ अर्ब रुपैयाँभन्दा बढीको कम्पनी बनेको छ । पुनमले विश्वका धेरै देशबाट रद्दी कागज किनेर रिसाइकल गरी राम्रो गुणस्तरको कागज उत्पादन गर्दै विभिन्न देशमा बेच्ने गर्छिन् । पुनम यसअघि युरोपेली र अमेरिकी कम्पनीबाट मात्रै रद्दी कागज किन्ने गर्थिन् । तर, अहिले उनले विश्वका २१ देशबाट रद्दी कागज किन्ने गरेकी छिन् । यससँगै पुनमको रिसाइकल पेपर व्यवसायले केही समयदेखि गति लिइरहेको छ र आगामी आर्थिक वर्षसम्ममा पीजी पेपरले १० अर्ब रुपैयाँको कारोबार गर्ने आशा छ । एजेन्सी

कुन भिटामिनको कमीले हड्डी कमजोर हुन्छ ?

काठमाडौं । बलियो शरीरका लागि बलियो हड्डी धेरै महत्वपूर्ण छ । जब हड्डी बलियो हुन्छ, तब हामी स्वस्थ महसुस गर्छौं । यसले जोर्नी दुखाइबाट पनि राहत दिन्छ । भिटामिन डी, भिटामिन के र अन्य पोषक तत्व हड्डीका लागि आवश्यक हुन्छ । यी पोषक तत्वले हड्डी बलियो बनाउँछ । तर, कहिलेकाहीँ सन्तुलित आहार नलिँदा हड्डी र जोर्नी दुख्ने गर्छ । यस्तो अवस्थामा अक्सर मानिसको मनमा प्रश्न आउँछ कि आखिर कुन भिटामिनको कमीले हड्डी कमजोर हुन्छ ? हड्डी कमजोर हुनुको कारण के हो? कुन भिटामिन जोर्नी र हड्डीका लागि राम्रो छ ? भिटामिन डी भिटामिन डी हाम्रो हड्डीका लागि धेरै महत्वपूर्ण छ । भिटामिन डीले हड्डी बलियो बनाउन मद्दत गर्छ । वास्तवमा, भिटामिन डीले शरीरमा क्याल्सियम अवशोषित गर्ने काम गर्छ । शरीरमा भिटामिन डीको कमी हुँदा हड्डी कमजोर हुन थाल्छ । यस्तो अवस्थामा हड्डीको दुखाइले तपाईंलाई सताउन सक्छ । त्यसैले भिटामिन डी प्राप्त गर्न बिहानको सूर्यको किरण लिन सकिन्छ । यसबाहेक भिटामिन डीको सप्लिमेन्ट पनि लिन सकिन्छ । साल्मन माछा, सुन्तला, गाईको दूध र च्याउमा पनि भिटामिन डी उच्च हुन्छ । भिटामिन के भिटामिन केको कमीले पनि हड्डी कमजोर हुन सक्छ । भिटामिन के हड्डी बलियो बनाउनका लागि आवश्यक भिटामिन हो । शरीरमा भिटामिन केको कमी हुँदा हड्डी र जोर्नीमा दुखाइ हुन थाल्छ । यदि तपाईंलाई हड्डी दुख्ने समस्या छ भने तपाईंले हड्डी बलियो बनाउन भिटामिन केयुक्त खानेकुरा सेवन गर्न सक्नुहुन्छ । क्याल्सियम अधिकांश मानिसले आफ्नो जीवनमा कुनै न कुनै समयमा क्याल्सियमको कमीको सामना गर्नुपर्ने हुन्छ । शरीरमा क्याल्सियमको कमीका कारण हड्डी कमजोर हुन थाल्छ । त्यसैले हड्डीलाई स्वस्थ बनाउन क्याल्सियम लिनुपर्छ । हड्डीको कमजोरी हटाउन क्याल्सियमयुक्त खानेकुराको सेवन सुरु गर्न सक्नुहुन्छ । ब्रोकाउली, साल्मन माछा, हरियो तरकारी र फलफूलमा क्याल्सियम प्रशस्त हुन्छ । आफ्नो नियमित आहारमा क्याल्सियम समावेश गरेर हड्डी बलियो बनाउन सकिन्छ । प्रोटिन प्रोटिन आहार हाम्रा लागि धेरै महत्वपूर्ण छ । प्रोटिनले मांसपेशी बलियो बनाउँछ, साथै हड्डीका लागि पनि प्रोटिन आवश्यक हुन्छ । यदि तपाईंको हड्डी कमजोर छ, तपाईंलाई जोर्नी दुख्ने समस्या छ भने तपाईले प्रोटिनयुक्त खाना समावेश गर्न सक्नुहुन्छ । मूंगफली, फर्सीको बियाँ, पनिर र दूधमा प्रोटिन उच्च मात्रामा पाइन्छ । एजेन्सीको सहयोगमा

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका थारु महिला

दाङ । बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारु महिला । तुलसीपुर बजारका चोकचोकमा किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् । चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुन् तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी । उनी व्यावसायिरूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर बनेकी छन् । ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषिकर्मबाट राम्रो आम्दानी भएको छ,’ उनी भन्छिन् । गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषि उपज बेचेर आत्मनिर्भर भएकी छन्। दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उहाँको कृषि आम्दानीले थेगेको छ । पाँचदेखि कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक दुईदेखि साढे दुई लाख रुपैयाँसम्म बचत गर्दै आएको सुनाइन् । बचत रकमबाट नै उनले मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आएकी छन् । ५३ वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राखेकी छन् । १५ कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेडा फलाउने उनी धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउँछिन् । उनले गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेको बताइन् । तुलसीपुर १६ की ४० वर्षीया राजपति चौधरी पनि १२ कट्ठा जमिनमा व्यावसायिकरूपमा सागसब्जी लगाएर गरेर आत्मनिर्भर बनेकी छन् । उनले वार्षिक साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन् । सागपात बेचेर नै उनले आफ्ना दुई छोराछोरीलाई कृषि प्राविधि पढाएकी छन् । परिश्रमअनुसार पर्याप्त प्रतिफल प्राप्त हुने कृषिकर्ममा नै आफ्ना सन्तानलाई लगाउने आफ्नो सोच रहेको उनले बताइन् । रासस

३२ करोडमा बन्यो चाँगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

भक्तपुर । चाँगुनारायण नगरपालिकाको नयाँ भवन सञ्चालनमा आएको छ। नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको शुक्रबार उद्घाटन गरेका हुन् । चाँगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको हो । त्यस अवसरमा नगरप्रमुख खत्रीले नगरको विकासमा नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताए । नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड, केन्द्र सरकारबाट सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।