विकासन्युज

जनप्रतिनिधिले ‘दलभन्दा ठूला जनता हुन्’ भन्ने कुरालाई बिर्सनु हुँदैन : सांसद कार्की

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छिन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन् । ‘हामी किन दलभन्दा माथि उठ्न सक्दैनौँ रु दलले गलत कुरा गर्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ’, उनले भनिन्, ‘तर कुनै पनि दलले देश र जनताको हितमा बोल्छ भने एक भएर काम गर्नसक्नुपर्ने हो ।’ दलीय ह्वीपका कारण पनि सांसद स्वतन्त्र निर्णय गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । ‘सातवटा प्राज्ञिक प्रतिष्ठानमा उच्च पदाधिकारीको चयन भइरहँदा ३२  पदाधिकारीमा एकजना महिला पर्नुभएन । योग्य र क्षमतावान महिला नभएका भने होइनन्’, संसदीय अभ्यासको एक वर्षको अनुभूति साट्दै उनले सुनाइन्, ‘त्यही कुरा सदनमा उठाउँदा मेरो पार्टीका सांसदमात्र सहमत हुने र अन्य दलका महिला सांसद त्यसमा समर्थन जनाउन सक्नुहुन्न, किनकि उहाँहरूलाई पार्टीको ह्वीप लाग्छ ।’ अर्कातर्फ उनले संसदभित्रै पनि महिला सांसदपछि पार्न खोजिएको महशुस हुने बताइन् । ‘हामी दुई सय बढी सांसद छौँ । तर काम गर्ने बेला अरु सबै सांसद निरीह भएर बसेको हुन्छ’, उनले भनिन्, ‘अग्रभागमा पुरुषहरूमात्र छन् । महिलाहरू नगन्य छन् । महिलालाई अगाडि आउन दिइएको छैन । त्यही पार्टीको १०–१५ जनाले निर्णय गर्ने र सदन चलाउने हो भने राज्यले दुई सय ७५ जनामा किन खर्च गर्नु ?’ प्रसूति एवं स्त्रीरोग विशेषज्ञका रूपमा ३५ वर्ष सेवा गरेकी डा कार्कीका लागि यो पहिलो संसदीय अभ्यास हो । स्वास्थ्य सेवामा लामो समय बिताएकी  उनी राजनीतिक गतिविधिसँग अभ्यस्त भए पनि यसअघि आफूसँग राजनीतिका लागि समय नभएको जानकारी दिइन् । “मैले राजनीति गर्छु भनेर सोचेको थिइनँ । यो एउटा सुन्दर संयोग थियो”, उनले भनिन् । सरकारी चिकित्सकका रूपमा १५ वर्ष देशका विभिन्न स्वास्थ्य सस्थामा काम गरेकी  डा कार्कीले पछिल्ला समय काठमाडौँ मेडिकल कलेजको प्रधानाध्यापक, प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ प्रसूति एवं स्त्रीरोग विशेषज्ञको भूमिकामा २१ वर्ष काम गरिन् । उनले भनिन्, ‘उक्त कलेज खरिद बिक्रीका क्रममा मैले राजीनामा दिएँ । त्यही बेला नयाँ राजनीतिक पार्टी रास्वपाको उदय हुँदै थियो, उहाँहरूसँग कुराकानीका क्रममा समाज र देशलाई केही दिन सक्छु भन्ने हुटहुटीले जोडेको हो । मेरो राजनीतिक यात्रा त्यहीँबाट सुरु भयो ।’ रास्वपाबाट समानुपातिक सांसद डा कार्कीले विधायिकाको रूपमा पहिलो वर्ष सिकाइ र अध्ययनमा धेरै केन्द्रित भएको जानकारी दिइन्। विधायिकाका लागि अध्ययनशील बानीको विकास अनिवार्य भएको उनको बुझाइ छ । ‘म राजनीति गरेरै यहाँसम्म आएको होइन । तर चिकित्सकीय भूमिकामा मात्र होइन, जनप्रतिनिधिका रूपमा पनि धेरै अध्ययन जरुरत देखेँ । संविधान, प्रतिनिधिसभाका नियमावली, संसदीय अभ्यास र सम्बन्धित प्रचलित ऐन कानुन अध्ययन गर्न समय खर्चिएँ’, उनले बताइन् ‘अध्ययनसँगसँगै संसदीय अभ्यास गर्यौँ र नयाँ पार्टी भएकाले पार्टी विस्तारमा पनि केही समय खर्चिएकै हो ।’ संवादका क्रममा ६५ वर्षीया सांसद कार्कीले एक वर्षको संसदीय अनुभवलाई सिकाइका दृष्टिकोणबाट अर्थपूर्ण रहेको बताइन् । राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यसमेत रहेकी सांसद कार्कीले कानुन निर्माणमा आफूले कुनै पनि प्रयासमा नचुकेको दाबी गरिन् । तर सदनबाट एक वर्षमा एक विधेयकमात्र पास भएकोप्रति भने उनी सन्तुष्ट छैनन् । उनले विशेषत स्वास्थ्य, शिक्षा र भ्रष्टाचार सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएकी छिन् । भ्रष्टाचार नै समस्याको मूल जड भएको उहाँको भनाइ छ । उनले भनिन्, ‘स्वास्थ्य, शिक्षा र रोजगारीको प्रवर्द्धन गर्नुपर्ने राज्य नै भ्रष्टाचारमा लिप्त हो कि भन्ने आशङ्का आमजनतामा उब्जिएको छ । विद्यमान समस्या र चुनौती कसरी समाधान गर्ने भन्नेमा कसैको ध्यान छैनजस्तो देखिन्छ ।’ आमजनतामा सरकार र समग्र नेपाली राजनीतिक दलप्रति अविश्वासको खाडल बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन् । जनभावनाअनुरुप काम गर्न अहिलेको नेतृत्व चुकेको उनको बुझाइ छ । उनले भनिन् ‘जनप्रतिनिधि सबै बसेर विभिन्न समस्या र चुनौतीको समना एवं समाधानका लागि छलफल गर्ने अभ्यास कम छ । तर सदन दलहरूबीचको वक्तृत्वकलाको प्रतिस्पर्धाजस्तो हुँदै आएको छ ।’ उनले संसद्को विभिन्न समयमा जनसरोकारका विषयप्रति सरकारको ध्यानााकर्षण गराउन पनि सम्बोधन हुन नसकेको बताइन् । ‘स्वास्थ्यमा यस्ता धेरै विषय उठाए जुन सुन्दा सामान्य लागे पनि त्यसको गहिरो प्रभाव आममानिसमा परिरहेको छ, त्यस्ता विषयमा राज्य गम्भीर बन्न सकिरहेको छैन’, उनले भनिन्, ‘आफू सरकारमा नहुँदा ‘डेलिभर’ गर्न ग्राहो छ । बोल्दामात्र सरकारले कति विषय सुन्दैन, कतिपय अवस्थामा निरीह महसुस हुन्छ ।’ उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रणालीको विकास गर्नुपर्नेमा जोड दिइन् । सरकारी अस्पतालप्रति जनताको विश्वास आर्जन गर्न स्वयं नेतृत्वले सरकारी अस्पतालबाट सेवा लिनुपर्ने उनको भनाइ छ । ‘यदि हाम्रो स्वास्थ्य संस्था सुधार्नु छ भने देशका शीर्षनेता एवं उच्च पदाधिकारीलाई देशभित्रकै सरकारी अस्पताल जानुपर्ने कानुन निर्माण गर्नुपर्ने कुरा उठाउँदै आएको छु’, उनले भनिन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिको प्रवेशले धेरै कुरा बिग्रिएको उनको धारणा छ । उनले स्वास्थ्यमा दरबन्दी थप्ने, स्वास्थ्यकर्मीको पारिश्रमिकमा मूल्याङ्कन र समीक्षा गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै चिकित्सक एवं स्वास्थ्यर्कीप्रतिको बुझाइमा सकारात्मक सोच आवश्यक भएको बताइन् । ‘स्वास्थ्य संस्था राम्रो हुन चिकित्सकमात्र आवश्यक छ भन्ने बुझेका छौँ । तर स्वास्थ्य संस्था भनेको पियनदेखि सबै स्वास्थ्यकर्मी जरुरत हुन्छ’, उनले भनिन्, ‘चिकित्सा शिक्षाको महँगो शुल्क नघटाउने तर स्वास्थ्यकर्मी र चिकित्सकको पारिश्रमिक एवं सेवा–सुविधालाई नहेरिदिँदा उहाँहरूलाई प्रोत्साहन मिल्दैन ।’ संवादका क्रममा उनले संसदीय तालिका बनाउनुपर्ने बताइन् । ‘हामीले संसद्मा पटक–पटक ‘क्यालेण्डर’को माग गरिरहेका छौँ । यो वर्षमा हामीले के–के काम गर्छौँ, त्यसको तालिका त हुनपर्यो नि’, उनले भनिन्, ‘जनतालाई भेट्न देशका दूरदराज पुगिरहँदा यहाँ सदन सुरु भएको थाहा हुँदैन । कतिपय अवस्थामा बिहान ११ बजे बोलाएर बैठक साँझ ५ बजेसम्म बस्न सक्दैन ।’ महोत्तरीको औरहीमा जन्मिएकी उनले विद्यालयको प्राथमिक शिक्षादेखि उच्च शिक्षा हासिल गर्न र चिकित्सक बन्न धेरै सङ्घर्ष गर्नुपर्यो । ‘छोरीलाई पढाउनु हुँदैन भन्ने त्यो समयबाट चिकित्सा क्षेत्रको उच्च पदाधिकारी तहसम्मको मेरो यात्रा अवश्य पनि सहज थिए’, उनले बताइन् । कक्षा ७ मा अध्ययन गर्दैगर्दा आमाको उपचारका लागि काठमाडौँ आएपछिका दिनको स्मरण गर्दै उनले भनिन्, ‘त्यो समयमा गाउँमा स्वास्थ्यकर्मीको अभावका कारण आमाको उपचारका लागि काठमाडौँ आउन बाध्य भयौँ । काठमाडौँमा मधेसको केटी भनेर भर्ना लिन मानेन । मेरो मामाले पद्मकन्या डिल्लीबजारमा जसोतसो भर्ना गर्दिनुभयो ।’ विद्यालय जीवनमा सधैँ प्रथम भएको उनले देशभित्रै पर्याप्त रोजगारी र सुनिश्चित भविष्यको आधार नबनाएसम्म युवा विदेश पलायन रोक्न नसकिने गुनासो गरिन् । ‘नेताज्यूहरूले जेल गएको आन्दोलनको अनुभव सुनाउनुहुन्छ । उहाँहरूको राजनीतिक कर्मसँगसँगै हामी जनताले भोग्नुपरेका अनुभुति पनि कम छैनन् जस्तो लाग्दछ मलाई’, उनले भनिन्, ‘रोजगारीको अभावमा नेपालीहरू विदेशिन बाध्य छन् । मेरै बालबच्चा बाहिर जान्छन् मैले रोक्न सक्दिनँ । यहाँ रोजगारी र भविष्य सुनिश्चित गर्नसके कसलाई आफ्नो सन्तान बाहिर पठाउन मन हुन्छ ?’ रासस

नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ । गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो । सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । उनले भने, ‘टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।’ यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उनले जानकारी दिए । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन । उनका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उनका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ । गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उनले जानकारी दिए । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ । यसपछि एउटा पुलमात्रै बाँकी रहने छ । गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो । तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उनका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ । विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी)को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । रासस

नेफ्स्कून महासचिवमा सापकोटाको उम्मेदवारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को महासचिव पदमा सन्दीप सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभामा सापकोटाले महासचिवको उम्मेदवारी घोषणा गरेका हुन् । संघको बहालवाला संचालक समेत रहेका सापकोटा विगत २५ वर्ष देखि सहकारी अभियानमा कृयाशील छन । यहि पौषको ७ र ८ गते काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गईरहेको वार्षिक साधारण सभामा देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति आगामी चार वर्षे कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन हुँदै छ । सहकारी अभियान भित्रको मजबुद संगठनको रुपमा स्थापित नेफ्स्कूनको आसन्न निर्वाचनलाई लियर अभियान भित्र भावी नेतृत्वको विषयमा विभिन्न अडकलवाजीहरु चलिरहेका छन् । तीन ठूला राजनैतीक दलहरुको बाहुल्यता रहेको नेफस्कुनमा सबै पार्टीले आआफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । राष्ट्रिय सहकारी विकास वोर्डको कार्यकारी सदस्य सहित राष्ट्रिय युवा परिषदको समेत सदस्य समेत रहेका सापकोटा नेफ्स्कूनको लुम्विनी प्रदेश प्रमुख समेतको जिम्मेवारीमा छन् । पछिल्लो समय साकोस अभियानमा देखिएको अविश्वास र अभियान भित्रको शुद्धिकरण रहेको र राज्यसँग नीतिगत बहस पैरवी र अभियानलाई सहि दिशामा डोर्याउन सक्ने नेतृत्वसँग कार्यगत एकता हुनसक्ने सापकोटाको धारणा छ । नेफ्स्कूनको ३२औं साधारणसभाबाट संघको विनियममा व्यवस्था भए बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहासचिव र कोषाध्यक्ष सहित १९ जनाको संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक सहित तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन हुँदै छ । हाल नेफ्स्कूनमा करिब पाँच हजार बचत तथा ऋण सहकारी संघ संस्था आबद्ध छन् ।

चोभारको मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, कति लाग्छ शुल्क ?

काठमाडौं । काटमाडौंको चोभार स्थित मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ । तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ । जिपलाइन खेल्दा गरिने अनुभुति अनुसार पहिलो चरणलाई एड्भेञ्चरु, दोस्रोलाई डेयर डेभिल्सु र तेस्रोलाई द फनु नामाकरण गरिएको छ । लोकप्रिय नायिका वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरेकी छन् । उनले ३ चरणको जिपलाइनमा अन्यत्र भन्दा फरक र रोचक अनुभव लिएको बताइन् । जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । जेबी एड्भेन्चरले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृती लिएपश्चात जिपलाइन सञ्चालनमा ल्याउन ल्याएको कम्पनीका निर्देशक पञ्चलाल महर्जनले जानकारी दिए । दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सक्छन् । जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३०बजेसम्म सञ्चालन हुने उनको भनाइ छ । १ सय किलोग्राम तौल भएकासम्मले जिपलाइन खेल्न मिल्ने महर्जनले जानकारी दिए । कति लाग्छ शुल्क  ? कम्पनीले जिपलाइनको पुरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउनेछ । तर पूरै नगरेर एक स्टेप मात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ । टेण्डम (जोडी) जिपलाइनको मज्जा १ हजार ५ सय रुपैयाँमै लिन सकिन्छ । विद्यार्थी (परिचय पत्र सहित) र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् । कसरी पुग्ने ? एकान्तकुनाबाट मेडिसिटी हस्पिटल हुँदै २ किलोमिटरको दूरीमा मन्जुश्री पार्क पुग्न सकिन्छ । सार्वजनिक सवारीमा जाँदा रत्नपार्क वा लगनखेलबाट दक्षिणकाली जाने गाडी चडेर जान सकिन्छ । रिङरोडको बल्खुबाट जान पायक पर्नेले सिधै बल्खु गएर ३ किलोमिटर दक्षिण जाँदा पनि पुगिन्छ । बल्खुबाट सार्वजनिक सवारी सहजै पाइन्छ । एड्भेन्चर हब बनाउने भावी योजना ?  कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ । जिपलाइन पनि सोही अन्तर्गतको परियोजना भएको महर्जन बताउँछन् । उनले भने, ‘हामीले जिपलाइन सञ्चालन गरिसकेपश्चात क्रमश: अन्य गतिविधि पनि लञ्च गर्छौं । जसका लागि तयारी भइरहेको छ । यो ठाउँलाई एडभेञ्चर हब बनाउने हाम्रो लक्ष्य हो ।’ कम्पनीले चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरु गर्ने महर्जनले बताए ।

इटहरी इन्टरनेसनल कलेजकाे दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२३मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्प्युटिब र बिए (अनर्स) बिजनेस प्रशासनका २०० जना विद्यार्थी सहभागी भएका थिए । दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावकको पनि उपस्थिति थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह पूरा गर्ने ४८ जना र बिएससी (अनर्स) कम्प्युटिब तह पूरा गर्ने १५२ जना विद्यार्थी गरी जम्मा २०० विद्यार्थी दीक्षित भएका थिए । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्ष आइएनजी छात्रवृत्तिका लागि सारीका दाहाल र स्रिजा पोखरेल सम्मानित भएका थिए । वार्षिक दीक्षान्त समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो । आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे । डा. ब्लोइसीले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।

बसाइँसराइले रित्तिदै गाउँ : बढ्यो बाँदर आतङ्क

ढोरपाटन । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् । सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् । विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन् । दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन् । सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ । गाउँमा बस्ने बूढापाकाले काम गर्न सक्न छाडेपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन् । यसका कारण बाँदरलगायतका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन् । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ । बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन् । केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन् । गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको काठेखोला गाउँपालिका–१ का लक्ष्मण थापाले बताए । पाँच वर्ष पहिलेसम्म जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उहाँको भनाइ छ । हरेक वर्ष गाउँबाट बजार झर्नेको सङ्ख्या बढ्दै गएको र उनीहरूलाई गाउँमै रोक्न सक्ने योजना सरकारले ल्याउन नसकेको उहाँको गुनासो छ । विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको उनले बताए । रोजगार सिर्जना गरी बजार झरेकालाई गाउँमै फर्काउन सके बाँदर नियन्त्रण हुने थापाको भनाइ छ । बाँदर धपाउन अनेक जुक्ति लगाए पनि नसकेको उनले बताए । ‘पहिले–पहिले मान्छेहरूले गाउँ भरिन्थ्यो, एउटै घरमा १०–१२ जनासम्म मान्छे बस्थे, गाउँमै खेतीपाती गर्ने, वनजङ्गलमा पुगेर घाँस दाउरा गर्थे र पो बाँदर आउँदैनथ्यो, अहिले गाउँ सुनसान छ, बूढाबूढीमात्रै छन्, सुनसान ठाउँमा बाँदर, बाघ र भालु आउने नै भए’, उनले भने, ‘अब सरकारले गाउँमा बजारको जस्तो सेवा सुविधा दिनेगरी काम गर्नुपर्छ, बजार झर्नबाट रोक्न सकेमात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र बाँदरमात्रै होइन, अब गाउँ जङ्गली जनावरको बासस्थानका बन्ने छ ।’ जैमिनी –५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौँको नोक्सानी व्यहोर्नुपरेको बताए। धेरै मान्छे बसाइँसराइ गरी अन्तै गएपछि गाउँमा अहिले थोरै सङ्ख्यामा मात्रै मान्छे रहेको उनको भनाइ छ । गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेर नै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोखे । बालीनाली जोगाउन एक–दुईजना कुरुवा अनिर्वाय राख्नुपर्ने उनले बताए । आजभोलि बाँदर निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई समेत नटेर्ने सुवेदी बताउँछन् । उनले भने, ‘हिउँदबर्खा बाह्रै महिना बाँदर लाग्छ, कुरुवा नबस्ने हो भने एकैछिनमा सबै बाली नष्ट गरिदिन्छ, बारीमा गयो बारीमै, घरमा आयो घरमै बाँदरको आतङ्क निकै बढ्यो, बूढाबूढीलाई कोपार्न, चिर्थोनसमेत आउने गरेको छ, बाँदरले हामीलाई निकै समस्या बनायो, सुरुसुरुमा बाँदर धपाउने बन्दुक पट्काउँदा डराउँथे, अहिले त डराउनै छाडे, घरको आँटीमै आएर बस्छ, अन्नपात निकालेर खाइदिन्छ, साँझ आउदा केही बाँकी राख्दैन ।’ जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । जैमिनी, काठेखोलालगायत जिल्लाभर बाँदर आतङ्क बढ्दो छ । बाँदर नियन्त्रणका लागि काठेखोला गाउँपालिकाले पनि जङ्गलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ९तिलक० ले जानकारी दिए । पछिल्लो केही वर्षयता बाँदरले धेरै किसान र ग्रामीण भेगका धेरै नागरिकलाई दुःख दिइराखेको भन्दै यस समस्या समाधान गर्नतर्फ गाउँपालिका गम्भीर भएर लागेको सुनाए । ‘बाँदर आतङ्क रोक्नका लागि पालिकामा धेरैपटक छलफल भएको छ, अहिले यसरी बाँदर आतङ्क बढेको मान्छेहरूले गाउँ छाड्नु प्रमुख कारण हो, अब गाउँपालिकाले जङ्गलमा फलफूलको बिरुवा रोप्ने र जङ्गलमै बाँदर भुलाउने खालको योजना बनाएका छौँ’, उनले भने, ‘विज्ञहरूसँग पनि बहस गरिरहेका छौँ, सुझाव लिइरहेका छौँ, ढिलोचाँडो उपाय निस्किन्छ, त्यसपछि हामीहरू नियन्त्रणमा लाग्छौँ ।’ रासस

शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

फाइल फोटो वराहक्षेत्र । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने वराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एक मात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकताअनुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकारले जानकारी दिए । उनले भने, ‘हामीले वर्षौँदेखि प्राथमिक तह ९प्रावि० दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ ।’ कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । ‘हामीले सकी नसकी पढाउन त पढाइरहेकै छौँ’, उनले भने, ‘राज्यले पर्याप्त दरबन्दी नदिँदा अदक्ष शिक्षकबाटै भए पनि काम चलाइरहनुपरेको छ । यो हाम्रो बाध्यता हो ।’ वराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ श्रीलङ्का टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ दुई हजारभन्दा बढी जनसङ्ख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलङ्का टापुभरिमा तीनवटा सामुदायिक विद्यालय छन्, यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ । जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८÷७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि ९आधारभूत० दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए । उनले भने, ‘आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।’ वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताएका छन् । उनले भने, ‘दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिकसत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ ।’ सप्तकोशी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोशीमा डुङ्गा चढेर जानुपर्छ । वर्षात्का समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकारी दिए । उनले तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको बताए । उनले भने, ‘किसानले मेहनतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोशी नदीमा झोलुङ्गे पुलको आवश्यकता छ । रासस

एनएमबि बैंकले डाक्यो २८औं साधारणसभा, मुख्य एजेण्डा के के छन् ?

काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।