अपारदर्शी प्राधिकरण, कमजोर कर्मचारी
काठमाडौं । समग्र बीमा बजारको नियामक हो नेपाल बीमा प्राधिकरण । जीवन, निर्जीवन, पुनर्बीमा तथा लघुबीमा क्षेत्रको नियमन गर्दै आएको प्राधिकरण भने दिनप्रतिदिन सुस्त बन्दै गएको आभास समग्र बीमा बजारलाई भएको छ । सूचना प्रविधि (आईटी)ले विश्व एउटा ‘ग्लोबल भिलेज’का रूपमा विकसित हुँदै जाँदा नेपाल सरकारले पनि विभिन्न क्षेत्रमा आईटीको प्रयोगलाई बढाउँदै जाने नीति अघि सारेको छ । बैंक तथा वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग व्याप्त छ । बीमा कम्पनीले पनि सो नीतिलाई अनुसरण गर्दै अगाडि बढिरहेका छन् । तर, बीमा बजारको नियामक नेपाल बीमा प्राधिकरण भने उही ‘पुरानो ढर्रा’को कार्यशैलीमा व्यस्त छ । कर्मचारीलाई सूचना प्रविधिमा अभ्यस्त बनाउनु पर्ने बेला प्राधिकरणले कर्मचारीको क्षमता अभिवृद्धि तथा सीप विकासमा न प्राथमिकता दिइरहेको छ नत सो अनुरुपको जनशक्ति नियुक्तमा ध्यान दिइरहेको छ । परिणाम स्वरुप प्राधिकरणले गर्ने काम कारवाहीमा ढिला सुस्तीसँगै बीमा बजारले प्राधिकरणबाट पाउने सेवा सुविधा र नीति निर्देशनमा पनि लामो समय पर्खिनु पर्ने बाध्यता छ । दक्ष कर्मचारीको अभाव, स्रोत साधनको कमी, सूचना प्रविधिको उपलब्धता नभएको तथा प्रयाप्त सूचना नभएको लगायतका कारणहरू देखाउँदै प्राधिकरणले काम कारवाहीमा ढिलासुस्ती भोग्नु परेको गुनासो एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गर्छन् । उनका अनुसार प्राधिकरण सूचना प्रविधिमा आफूहरूभन्दा अगाडि हुनु पर्नेमा उल्टै आफूहरूले सिकाउनु पर्ने बाध्यता रहेको धारणा राख्छन् । ‘नियामक भइसकेपछि हरेक विषयमा हामीभन्दा अगाडि हुनु पर्ने हो, बीमा बजारको विश्व ट्रेण्ड, नेपाली कम्पनीहरूले गरिरहेको काम कारवाहीलाई सूचना प्रविधिमा अभ्यस्त पार्ने र आफू पनि त्यसमा अपडेट हुनु पर्ने भए पनि प्राधिकरण भने यो विषयमा जानकार छैन, नीति निर्देशन पनि पुरानै ढर्राबाट दिन्छ, तत्काल गर्नु पर्ने काम पनि साता दिन लगाउँछ,’ ती सीईओ भन्छन्, ‘प्राधिकरणको जनशक्ति पनि प्रविधिमैत्री छैनन् ।’ जसरी अन्य क्षेत्रका नियामकले आफूलाई अपडेटेड राख्छन्, त्यो विषयमा प्राधिकरण पछाडि रहेको धारणा बीमा कम्पनीहरूका सीईओहरूको छ । बैंकिङ क्षेत्रको नियाक नेपाल राष्ट्र बैंकले वर्षभरि गरेका गतिविधि तथा आय-व्ययको विवरण वार्षिक प्रतिवेदनमार्फत् सार्वजनिक गर्छ । हवाई क्षेत्रको नियामक नेपाल नागरिक उडड्यन प्राधिरणले पनि हवाइ क्षेत्रमा भएका विभिन्न गतिविधि तथा आफ्नो हिसाब-किताबको वार्षिक प्रतिवेदन सार्वजनिक गर्छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि वार्षिक प्रतिवेदन सार्वजनिक गर्छ । तर, बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणलाई वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु एकादेशको कहानी हो । विगतमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने अभ्यास भए पनि प्राधिकरणले पछिल्लो केही वर्षयता भने कुनै पनि हिसाबकिताब सार्वजनिक गर्ने गरेकाे छैन । यस कारण पनि प्राधिकरण अपारदर्शी भएको धारणा कम्पनीहरूको छ । तर, बीमा प्राधिकरण भने जनशक्तिको अभावले सबै काम गर्न नसकेको धारणा राख्छ । बीमा प्राधिकरणको मानव संसाधन तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका सहायक निर्देशक रोशन कुमार महासेठ प्रादेशिक कार्यालयदेखि नयाँ लघुबीमा कम्पनीको लाइसेन्स प्रदान गर्दा पनि प्राधिकरणमा प्रयाप्त कर्मचारी नहुँदा समस्या भइरहेको बताउँछन् । उनका अनुसार प्राधिकरणमा प्रयाप्त जनशक्ति नहुँदा कामहरू प्रभावकारी रूपमा हुन नसकेको हो । जनशक्ति अभावमा प्राधिकरणले बीमा क्षेत्र धानिरहेको उनको भनाइ छ । ‘कर्मचारी प्रयाप्त भएपछि काम प्रभावकारी हुने हो । तर, प्राधिकरणमा प्रयाप्त कर्मचारी नहुँदा एकैजनाले धेरै काम गर्नु पर्ने बाध्यता छ, कर्मचारी अभाव हुँदा बीमा कम्पनीहरूको निरीक्षण गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘टिम ठूलो भएपछि काम गर्न पनि सहज हुन्छ, कैफियत भएर आएका विषय पनि गहनरूपमा अध्ययन गर्न सकिन्छ । तर, अभावमै सबै काम चलिरहेको छ ।’ प्राधिकरणले बागमती प्रदेशबाहेक अन्य सबै प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याइसकेको छ । प्राधिकरणले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक कार्यालय र केन्द्रिय कार्यालय काठमाडौं गरी सातै प्रदेशमा आफ्नो दायरा फराकिलो गरेको हो । तर, ती कार्यालयहरू करारका कर्मचारीको भरमा चलिरहेका छन् । प्राधिकरणका अनुसार केन्द्र र सातै प्रदेश गरी कुल १३६ जना कर्मचारी छन् । जसमध्ये ३८ जना कर्मचारी करारमा भर्ना गरिएका छन् । बीमा प्राधिकरणबाट कर्मचारी बाहिरिने क्रम पनि बढ्दो छ । तर, थपिनेक्रम न्यून । कर्मचारीको सेवा सुविधा न्यून हुँदा कर्मचारीहरू राजीनामा दिएर अन्य क्षेत्रमा प्रवेश गर्नु पर्ने बाध्यता रहेको गुनासो गर्छन् । प्राधिकरणमा कर्मचारीको स्वीकृत दरबन्दी ११४ जनाको हो । तर, ९८ जना स्थायी कर्मचारीले मात्रै प्राधिकरणको काम कारवाही गरिरहेका छन् । ती कर्मचारीमा पनि सूचना प्रविधिको विषयमा ज्ञान नहुँदा काम प्रभावकारी हुन सकिरहेको छैन । प्राधिकरणका एक कर्मचारीका अनुसार प्राधिकरणमा प्रविधि सम्बन्धी ज्ञान भएको कर्मचारीको अभाव हुँदा धेरै काम कारवाहीहरू प्रभावित हुने गरेका छन् । ‘एउटै कर्मचारीले प्रादेशिक कार्यालय पनि हेर्नु परेको छ, लघुबीमा कम्पनी पनि हेर्नु परेको छ,’ ती कर्मचारीले गुनासो गर्दै भने, ‘कामको भारी थपिँदै गएको छ । तर, बीमा कम्पनीहरूको प्रभावकारी निरीक्षण र सर्वसाधारणबाट आउने गुनासा सम्बोधन हुन सकिरहेको छैन ।’ सर्वसाधारणका गुनासो प्रादेशिक कार्यालयले संकलन गरेर केन्द्रले अनुसन्धान गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । गत साउनमा प्राधिकरणको संरचना परिमार्जन गरिएको भए पनि कर्मचारी अभावमा चलिरहेको छ । ‘विगतमा जीवन, निर्जीवन र रिन्स्योरेन्सको शाखा मात्रै थियो, ७ वटा लघुबीमा कम्पनी थपिएपछि त्यो शाखा पनि थप्नु पर्याे,’ उनले भने, ‘ठूला बीमा कम्पनीको संख्या घटे पनि नियमनको दायरा बढेको छ, त्यसलाई प्रभावकारी बनाउन कर्मचारी आवश्यक छ ।’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल कर्मचारीहरूको उत्पादकत्व बढाउन तालिम र मोटिभेसनको आवश्यकता रहेको बताउँछन् । अन्य सरकारी संस्था तथा नियमनकारी निकायमा कर्मचारीहरूलाई विभिन्न तालिमको व्यवस्था भएपनि प्राधिकरणमा भनेजस्तो नरहेको उनको अनुभव छ । तर, नयाँ भवन सम्पन्न भएपछि कर्मचारीको क्षमता विकासमा जोड दिने धारणा उनले राखे । ‘प्राधिकरणको आफ्नै भवन बनिरहेको छ, निर्माण सम्पन्न भएपछि कर्मचारीहरूलाई विभिन्न तालिममा पठाएर भएपनि सेवा गुणस्तर गर्छाैं, त्यसपछि सेवा छिटो छरितो हुन्छ,’ उनी भन्छन्, ‘आईटीमा कर्मचारी अभाव छ, अब प्राधिकरणमा भएका कर्मचारीलाई तालिम दिएर भएपनि दक्ष बनाउने योजना छ, कर्मचारी दक्ष भएपछि अन्य काम पनि समयमै सक्छौं, अहिले दक्ष कर्मचारीको अभाव भएकै कारण धेरै काम गर्न नसकिएको हो ।’ ‘प्राधिकरणमा सेवा सुविधा राम्रो नै छ, प्राधिकरणबाट छाडेर जाने भनेको राष्ट्र बैंक मात्रै हो, अन्य क्षेत्र जाने कतै छैन,’ उनले भने, ‘तर, कर्मचारीको बढुवा हुने बाटो चाहिँ खोलि दिनुपर्छ, एउटै पदमा बस्यो भने वृत्तिविकास हुँदैन, माथिल्लो व्यवस्थापनले त्यो हेर्नुपर्छ, एउटै कर्मचारी सधैं एउटै ठाउँमा बसेर काम गर्नु भएन, त्यसले पनि उसलाई निरुत्साहित बनाउँछ ।’ उनका अनुसार तल्लो तहमा प्रयाप्त कर्मचारी भएपनि माथिल्लो तहमा कर्मचारी आवश्यक छ । आफूसँग भएको कर्मचारीलाई दक्ष बनाउने योजना प्राधिरणको छ । प्राधिकरणका अनुसार पदपुर्तीका लागि अर्थमन्त्रालयसँग बारम्बार ताकेता गरेपनि सहमति दिन मानेको छैन । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अध्ययन प्रतिवेदनले प्राधिकरणमा १४६ जना कर्मचारी आवश्यक रहेको देखाएको थियो । उक्त प्रतिवेदनले प्राधिकरणमा कर्मचारीको संरचना कस्तो र कस्ता कर्मचारी आवश्यक पर्छन् भनेर औल्याएको थियो । तर, उक्त प्रतिवेदन प्राधिकरणले थन्क्याएर राखेको छ । आइएमई लाइफका सीईओ कबि फुयाल भने प्राधिकरण विगतको तुलनामा सुधार हुँदै गएको बताउँछन् । ‘प्राधिकरणले गर्ने हरेक काम कारवाही विगतको तुलनामा स्मार्ट छ । तर, कम्पनीले गर्ने लगानीका विषयमा भने प्राधिकरण स्पष्ट भएर नीति निर्देशन जारी गर्नुपर्छ,’ सुझाव दिँदै भने । बीमा ऐन, २०७९ को दफा १५९ अनुसार प्राधिकरणले आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हुन्छ । ‘प्राधिकरणले आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र वार्षिक प्रतिवेदन विवरण नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ,’ बीमा ऐनको दफा १५९ मा भनिएको छ ।’ प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईंले प्राधिकरणले वार्षिक प्रतिवेदन सार्वजनिक नगर्नु ऐनको वर्खिलाप भएको बताउँछन् । उनी आफू अध्यक्ष हुँदा पनि प्रतिवेदन सार्रवजनिक गर्ने वा नगर्ने विषयमा मतभेद भएको धारणा राख्छन् । आफू अध्यक्षबाट बाहिरिएपछि प्राधिकरणले प्रतिवेदन सार्वजनिक गर्न नसक्नु बिडम्वना भएको बताउँछन् । ‘म अध्यक्ष हुने बेला पनि वार्षिक प्रतिवेदन बनाउन ठूलो समस्या हुन्थ्यो, म राष्ट्र बैंकबाट आएको हुनाले धेरै कुरामा जानकार थिएँ, कर्मचारीहरूलाई पनि धेरै कुरा सिकाउँथे, आफै पनि बस्नु पर्थ्याे, कर्मचारीबाट आउटपुट निकाल्न गाह्रो हुन्थ्याे, प्राधिकरणमा जनशक्ति भएपनि दक्ष जनशक्ति छैनन्, कमजोर छन्,’ पूर्व अध्यक्ष चापागाईंले अनुभव सुनाउँदै भने । उनका अनुसार प्राधिकरणको उद्देश्य एकातर्फ र जनशक्तिको नियुक्ति अर्कैतिर छ । धेरै कामहरू छलफल मात्रै हुने कार्यान्वयन नहुने रोग प्राधिकरणमा रहेको उनको भनाइ छ । प्राधिकरण स्रोत यसअघिका वर्षका वार्षिक प्रतिवेदन पनि अब एकमुष्ट रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको बताउँछ । ‘हामी सरकारलाई बुझाउनका लागि प्रत्येक वर्ष प्रतिवेदन बनाउँछौं तर त्यो सार्वजनिक गर्न लायक हुँदैन, अब हामी राम्रोसँग बनाएर छुटेका वर्षको प्रतिवेदन बनाउँदैछौं, दक्ष जनशक्तिको अभाव भएर नै प्रतिवेदन सार्वजनिक नभएको हो,’ प्राधिकरण स्रोतले भन्यो ।
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गराउँदै कोशी प्रदेश सरकार
मोरङ । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अौपचारिक रूपमा बालबालिकाको निःशुल्क उपचार सेवाको सोमबार शुभारम्भ गरिन् । यो सेवा प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधि प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको सचिव डा देवकोटाले बताइन् । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरु गरेको उनले जानकारी दिइन् ।
सङ्घीय सरकारले तीन करोडभन्दा कमका योजनामा लगानी गर्दैन : प्रधानमन्त्री
पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले तीन करोड रुपैयाँभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गरेका छन् । उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि तीन करोडभन्दा माथिको योजनामा मात्रै सङ्घीय सरकारले लगानी गर्ने बताए । वीरगञ्जको नगरसभागृहमा सोमबार आयोजना गरिएको प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकको उद्घाटन सभामा प्रधानमन्त्री दाहालले सबैको सल्लाहमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताए । सरकारले एकपक्षीय ढङ्गले ल्याउने नीति तथा कार्यक्रमले काम नगरेको भन्दै उनले अब नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिबीच बृहत् छलफल र बहसबाट प्राप्त रायसुझावकै आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने बताए । सरकारले पहिले पुराना योजनालाई पूरा गर्ने अनि मात्र नयाँ योजनामा लगानी गर्ने निर्णयमा पुगेकाले आगामी आवको बजेट पुराना योजनालाई सम्पन्न गर्ने दिशातर्फ उन्मुख हुने प्रधानमन्त्रीको भनाइ थियो । उनले पुराना योजना सम्पन्न नहुँदै नयाँ योजना ल्याएका कारण ऋणको भार मात्र थपिएको र आम जनताले विकासको अनुभूति नगरेको बताए । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भए पनि आम जनताले विकासको अनुुभूति गर्न नसकिरहेकाले सरकार अब उत्पादन र रोजगार सृजनालाई मुख्य कार्ययोजनामा समेट्ने उनले बताए । ‘सरकारले चाँडै देशभित्रका रुग्ण उद्योगलाई सञ्चालन गर्ने तयारीमा जुटेको छ’, उनले भने, ‘पहिलो चरणमा विराटनगरको जुटमिल, हेटौँडाको कपडा कारखाना, गोरखकाली टायर उद्योग, बुटवल धागो उद्योगलाई सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ ।’ उनले केही उद्योग सरकारी-निजी साझेदारी ढाँचामा सञ्चालन गर्ने र केहीको सञ्चालन नेपाली सेनालाई दिने गरी तयारी भइरहेको बताए । उनले त्यस्ता उद्योग सञ्चालन गर्न सके उत्पादन र रोजगार दुवै बढ्ने बताए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारलाई बदनाम गराउने प्रयास भइरहेको समेत बताउँदै उनले सरकारले राम्रो काम गर्दा पनि सामाजिक सञ्जालमा गतल ढङ्गले प्रचारप्रसार भइरहेको गुनासो व्यक्त गरेका हुन् । प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटा र मातृका यादवलगायत वक्ताहरुले समाजिक सञ्जालको दुरुपयोग गरी सरकारविरुद्ध भइरहेका गलत प्रचारलाई चिर्न सञ्चारकर्मीले भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस सेन्टरका विभिन्न प्रदेश तथा जिल्लाका पदाधिकारीलाई प्रधानमन्त्रीले सम्मान गरेका थिए । रासस
गुडविल फाइनान्सको अध्यक्षमा दिलीप मुनकर्मी, सञ्चालकमा तीन जना निर्वाचित
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको अध्यक्षमा दिलीप कुमार मुनकर्मी निर्वाचित भएका छन् । सोमबार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाबाट नवनियुक्त सञ्चालकसहित बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष मुनाकर्मी सेयर बजारका विश्लेषक समेत हुन् । उक्त सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गरेको छ । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सञ्चालकमा चयन भएका हुन् ।
लगानी सम्मेलन अगावै दर्जन कानुन संशोधन गर्न सुझाव
काठमाडौं । आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मेवारी पाएका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित सुझाव कार्यदलले यस्तो सुझाव दिएको हो । मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्तावसहित कार्यदलले आज मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सुझाव पेश गरेको छ । औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लगायत ऐनका व्यवस्था संशोधनको सुझाव दिइएको छ । भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३, नागरिक उड्ययन ऐन २०५३ का व्यवस्थामा पनि संशोधन गर्न सुझाव दिइएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ र वन नियमावली, २०७९ मा पनि संशोधनको आवश्यकता औंल्याइएको छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहजीकरणका लागि संशोधन गर्नुपर्ने कानूनलाई मन्त्रिपरिषद्बाट निर्णयपछि केहि नेपाल ऐनलाई संधोधन गर्न बनेको विधेयकमार्फत संसद्मा लगिने तयारी भइरहेको छ । सुझाव कार्यदलमा निजी क्षेत्रका छाता संस्थाको पनि प्रतिनिधित्व थियो । ‘स्वदेशी एवं विदेशी लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारण हो’, समितिका सदस्य एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘नीतिगत सुधारका लागि पेस भएको संसोधन प्रस्ताव पारित भै कार्यान्वयन भएमा स्वदेशी एवं विदेशी निजी क्षेत्र आकर्षित हुने अपेक्षा गर्न सकिन्छ ।’ नेपालमा विदेशी लगानी अपेक्षित आउन सकिरहेको अवस्था छैन भन्दै यसका कारणहरु के के हुन् भनेर पत्ता लगाई निजी क्षेत्रले ती समस्याको समाधानका लागि आवश्यक कानुनको संशोधन गर्न विगतदेखि नै सुझाव दिएको र प्रस्तावित कानुनको संशोधनबाट वैदेशिक लगानीको वातावरण बन्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए । लगानी सम्मेलनलाई लक्षित गरी कानुनी सुधारको सुझाव पेस गर्न निजी क्षेत्रको सहभागितामा सरकारले यो कार्यदल बनाएको थियो । लगानी प्रोत्साहित गर्न अहिले यो कार्यदललाई निरन्तरता दिनुपर्ने सुझाव पनि निजी क्षेत्रले दिएको छ । कार्यदलमा विभिन्न विषयगत मन्त्रालय र लगानी बोर्डका सह सचिव एवं अधिकारीहरु सदस्य छन् । नेपालमा लगानीका लागि के-कस्ता कानुनी बाधा अड्चन छन् भनेर पहिचान गर्ने र त्यसलाई फुकाउन ऐन तथा नियमावलीमा संशोधनको सुझाव दिइएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ‘कानुनी सुधारका लागि तीनमहले सुझाव तयार पारेर प्रतिवेदन बुझाइएको छ । विद्यमान ऐन, कानुनमा के कस्ता प्रावधान छन् र त्यसमा कस्तो संशोधन आवश्यक छ भनेर विस्तृत खुलाइएको छ’, उनले भने, ‘लगानी सम्मेलनका लागि गठित कार्यान्वयन समितिलाई प्रतिवेदन बुझाइएको हो । कार्यान्वयन समितले थप स्पष्टतासहित निर्देशक समितिमा छलफलका लागि लैजानेछ ।’ सरकारले लगानी सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । रासस
लक्ष्मी टेक्नोप्लाष्टले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । लक्ष्मी टेक्नोप्लाष्टले सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका १४ लाख कित्ताले हुन आउने १४ करोड रकम बराबरको साधारण सेयरमा अंकित मुल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्न लागेको छ । कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । लक्ष्मी टेक्नोप्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लक्ष्मी टेक्नोप्लाष्ट लिमिटेड वि.सं. २०७२ असोज १८ गते प्राइभेट कम्पनीको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।
तातोपानी कुण्डबाट एक करोड आम्दानी, विद्यालयलाई वार्षिक १८ लाख पारिश्रमिकका लागि सहयोग
मनाङ । विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ । यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ । चिकित्सकबाट नै प्रमाणित गरी यस तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने सेवाग्राही बढ्दै गएका छन् । प्राकृतिक चिकित्सालयका रुपमा ख्याति कमाउँदै आएको यस तातोपानी कुण्डको पानीमा नुहाउँदा वा डुब्दा रोग निको हुने गरेको छ । चितवनको कसराचोकका ६७ वर्षीया रमा कुमारी पौडेल पहिलो पटक तातोपानीमा डुब्न आएको बताउँछिन् । उनी भन्छिन्, ‘जीउ दुख्ने भएर तातोपानीमा डुब्न आएको हो । यहाँ डुब्दा बिस्तारै निको हुँदै गएको छ ।’ सबैले यहाँको तातोपानी नुहाउँदा निको हुन्छ भन्ने थाहा पाएर आएको उनी बताउँछिन् । त्यस्तै कास्की पोखराका ६६ वर्षीया पुञ्जमाया पुन मगर भन्छिन्, ‘म वर्षेनी यहाँको तातोपानीमा डुब्न आउँछु । यहाँ डुबेपछि शरीरमा हुने छाला चिलाउन छोड्छ । यहाँ नआएको समयमा त म बस्नै नसक्ने बन्छु ।’ छोरीले यहाँसम्म ल्याइदिने र कति बस्ने हो बसिसकेपछि लिन आउँछ अनि घर जाने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘वर्षको एक पटक यहाँ आएर तातोपानीमा डुबेपछि आनन्द हुन्छ । नत्र छालामा केही देखिदैन तर चिलाउने हुन्छ । यहाँ डुबेर निको हुन्छ । त्यसैले म त वर्षको एक पटक समय मिलाएर आउने गर्छु ।’ तातोपानीमा डुबेर फर्किएपछि भने निको हुने उनको भोगाइ छ । यहाँको पानीमा निको पार्ने शक्ति भएको उनी बताउँछिन् । पुन मगर भन्छिन्, ‘अस्पताल गएर पनि निको नभएको छालाको समस्या यहाँको तातोपानीले निको हुन्छ ।’ उनी जस्तै बाग्लुङ तमानखोला गाउँपालिका–६ भिमबहादुर रसाइली र झकबहादुर रसाइली पनि तातोपानीमा डुब्दा र नुहाउँदा निको हुन्छ भनेर नै यहाँको कुण्डमा डुब्न वार्षिक रुपमा आउने गरेका बताउँछन् । उनी भन्छन्, ‘यहाँबाट टाढा भए पनि वर्षमा एक पटक तातोपानी आउँछौं । मर्केको, सड्केको दुखाई निको हुन्छ । हामी त बुढा भैसक्यौं । यहाँ नुहाउँदा राम्रो भएको छ ।’ उनीहरु जस्तै देशका विभिन्न स्थान र भारतबाट पनि यहाँको तातोपानी कुण्डमा डुब्न आउने गरेका छन् । यहाँको तातोपानीमा डुब्दा विभिन्न रोग पनि निको हुने गरेका सेवाग्राही बताउँछन् । शिक्षामा लगानी प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाउँदै आएको सिङ्गा तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा सेवाग्राहीबाट शुल्क लिने गरिन्छ । कुण्डमा डुब्नका लागि लिइएको प्रवेश शुल्क शिक्षा र पूर्वाधारमा लगानी गर्दै आएको छ । प्रवेश शुल्कवापत लिइएको रकम तातोपानी कुण्ड व्यवस्थापन समितिले शिक्षा र पूर्वाधार निर्माणमा लगानी गर्दै आएको समितिका सचिव कुमार केसीले जानकारी दिए । उनका अनुसार समितिले सामुदायिक विद्यालयका शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउदै आएको छ । सरस्वती माध्यमिक विद्यालयका छ शिक्षकलाई पारिश्रमिक उपलब्ध गराइरहेका तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्काले जानकारी दिए । तातोपानी कुण्डको आम्दानीबाट सरस्वती माध्यमिक विद्यालयमा वार्षिक १८ लाख रुपैयाँ पारिश्रमिकका लागि सहयोग हुने गरेको उनले बताए । ‘तातोपानी कुण्डको आम्दानीबाट सरस्वती माध्यमिक विद्यालयमा शिक्षक राखिएको छ’, समिति अध्यक्ष खड्काले भने, ‘शिक्षकलाई तलब खुवाउनका लागि वार्षिक १८ लाख रुपैयाँ विद्यालयलाई दिने गरिएकामा यो पुस महिनाबाट मासिक एक लाख रुपैयाँ दिने निर्णय भएको छ ।’ मङ्सिरसम्म निजी स्रोतबाट छ शिक्षकलाई तलब खुवाउदै आइरहेकामा यस महिनादेखि दरबन्दीका शिक्षक आए पछि तीन जनालाई मात्र तलब खुवाउनुपर्ने भएकोले घटाइएको उनले बताए । यसले आम्दानीलाई शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको छ । प्रवेश शुल्कबाट एक करोड रुपैयाँ बढी आम्दानी तातोपानी कुण्डमा स्नान वा डुब्न प्रवेश लिइएको प्रवेश शुल्क यहाँ राम्रो आम्दानीको स्रोत बनेको छ । गत आर्थिक वर्ष २०७९/८० मा तातोपानी कुण्डले एक करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिए । प्रवेश शुल्कलगायत विभिन्न शीर्षकबाट प्राप्त सो आम्दानी शिक्षा, पूर्वाधार निर्माण, कर्मचारीको तलवभत्ता, नगरपालिकालाई कर लगायतमा खर्च हुने गरेको उनले बताए । कुण्डबाट भएको आम्दानीले यहाँको पूर्वाधार विकास गरी व्यवस्थित गर्नुका साथै नगरपालिकाको आन्तरिक आम्दानी बन्दै गएको छ । कुण्डबाट संङ्कलन राजश्व कार्यालयलाई १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० बुझाउने गरेको छ । त्यस्तै यसबाहेकको रकमले कुण्ड व्यवस्थापन, यहाँको पूर्वाधार निर्माण, कर्मचारीलाई पारिश्रमिक र विद्यालयको सहयोगमा खर्च हुने गरेको उनले बताए । कुण्ड हालसम्म पनि नोक्सानमा नै रहेको तर सामाजिक कार्यमा भने लगानी गरिरहेको उनले बताए । कुण्डको आम्दानीबाट यहाँको पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको सचिव केसीले बताए । यस वर्ष आठ लाख रुपैयाँको लागतमा तातोपानीमा नुहाउन आउने महिला र पुरुषका लागि कपडा फेर्ने अलग–अलग कोठा निर्माण गरिएको उनले बताए । २० लाख रुपैयाँको लागतमा प्राचिनकालीन कलात्मक प्रवेशद्धार (गेट) निर्माण गरिएको छ । तातोपानीमा पूर्वाधार निर्माणका लागि यस वर्ष पर्यटन बोर्डबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले बताए । १८ हजार २०८ सेवाग्राहीद्वारा स्नान गत आर्थिक वर्षमा १८ हजार दुई सय आठ सेवाग्राहीले यस कुण्डमा स्नान गरेका थिए । सेवाग्राहीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कवापत ६२ लाख ९७ हजार रुपैयाँ र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ । यस कुण्डमा स्नान गरी निको भएर सहयोगवापत चार लाख १६ हजार रुपैयाँ, मन्दिरको भेटी पाँच लाख ३० हजार रुपैयाँ, आजीवन सदस्यताबाट रु।तीन लाख आठ हजार र विभिन्न बैङ्कमा मौज्जाद रकमको ब्याजबाट १७ हजार रुपैयाँ आम्दानी भएको अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार कुण्डमा एक पटकमा तीन सय ५० देखि चार सय जनासम्मले स्नान गर्न मिल्ने गरी कुण्डको व्यवस्थापन गरिएको छ । सात दिनसम्म स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० रुपैयाँ प्रवेश शूल्क तोकिएको छ । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियसको तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि प्रयोग भइरहेको सचिव केसीले बताए । उनका अनुसार यहाँको पानीमा बिरे नूनको सुगन्ध आउने पानी संकलन गरिएको छ । यो पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत रोग निको हुने जनविश्वास छ । मनोरञ्जन र उपचार एकसाथ आजकल म्याग्दी जिल्लाका तातोपानी कुण्ड मनोरञ्जन र प्राकृतिक उपचारको आकर्षणको स्थल बन्दै गएको छ । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डमा बाह्य तथा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेका छन् । यहाँका कुण्डमा पर्यटकको आगमनसँगै कुुण्डलाई व्यवस्थित बनाउनतर्फ केन्द्रित गरेको छ । मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्ड पछिल्लो समय राउन्ड धौलागिरी र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकका लागि गतिला मनोरञ्जन स्थल पनि बनेका स्थानीयवासी बताउँछन् । पर्यटकले धेरै दिनसम्म हिमाली क्षेत्रमा पदयात्रा गर्दा युरिक एसिड, बाथ, ढाड दुख्ने, घुँडा दुख्ने, छालाको समस्या, यात्रामा हुने घाउ खटिराको उपचार गर्न आउने गर्दछन् । पर्यटकले म्याग्दीमा पुगेपछि तातोपानीमा डुबुल्की मार्दै शरीरमा आएका समस्या समाधान हुने गरेको उनीहरुको भनाइ छ । मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा डुबेपछि चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोग निको भएर फर्किने गर्दछन् । दीर्घकालसम्म समस्याको रुपमा रहने यस्ता रोग निको हुने भएपछि यस्ता प्रकारका समस्या भएका बिरामी आउने गरेको समितिका सचिव केसीले बताए । त्यसैगरी उत्तरी म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य पर्यटन र मनोरञ्जनको हब बनेको छ । मनाङ जिल्लाको थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ, जोमसोम हुँदै म्याग्दीको भुरुङ तातोपानी आइपुग्ने बित्तिकै विदेशी पर्यटक तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटक त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मार्ने गरेका पाइन्छन् । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोग, प्यारालाइसिस जस्ता रोग निको हुने जनविश्वासले गर्दा पर्यटक तातोपानीमा नुहाउन आकर्षित हुने गरेका हुन् । भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा विकास भएको छ । भुरुङ तातोपानीबाट केही पर्यटक शिख घारको उल्लेरीको उकालो चढ्दै म्याग्दीको घोडेपानीमा रहेको पुनहिलतर्फ जान्छन् भने केही कालीगण्डकीको किनार किनारै म्याग्दीको सदरमुकाम बेनी निस्केर ढोरपाटन जाने पनि गर्दछन् । अन्नपुर्ण पदयात्रामार्गअन्तर्गत पर्ने म्याग्दीको घोडेपानीमा पर्यटकको लागि आकर्षणको केन्द्र बिन्दु मानिन्छ । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिन्छ । भुरुङ तातोपानीको आसपासमा मात्रै पाँच वटा तातोपानीका मुहान छन् । स्थानीय आफूलाई पायक पर्ने तातोपानीको मुहानमा नै नुहाउने गर्दछन् । तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ । भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर व्यवस्थित बनाइएको छ । मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानी तप्तकुण्डमा तीर्थाटन पर्यटकले समेत नुहाउने गर्दछन् । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटक पुग्ने गर्दछन् । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुई पटक १०–१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि निको भएको बिरामीले बताउने गरेका छन् । स्वदेश तथा विदेशका महँगा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको उनीहरु बताउँछन् । प्राकृतिक चिकित्सालयको चर्चा म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न रोग निको हुने विश्वास छ । चर्मरोग, चोटपटक, ग्याट्राइटिक, गानोगोलादेखि प्यारालाइसिस जस्ता रोग निको भएको विगत तीन वर्षदेखि वर्षको एक पटक नियमित रुपमा तातोपानीमा डुब्न आउने गर्नुभएका बागलुङ ढिकीचौरका धर्मदत्त गौतमले बताए । देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्य बताए । लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका सेवाग्राही पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताउँछन् । सेवाग्राहीले खुट्टा दुख्ने, युरिकएशिड हुने र चिसोमा शरीर करकरी खाने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको सेवाग्राहीको भनाइ छ । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने सेवाग्राही बताउँछन् । हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा सेवाग्राही म्याग्दीका तातोपानी कुण्डमा डुब्न आउने गरेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए । पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधार विस्तार तथा विकास गरिरहेको उनले बताए । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ । पोषिलो कोशेली असला माछा तातोपानी कुण्डमा डुब्न आउने सेवाग्राहीलाई म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा पोषिला खुराक बनेका छन् भने जिल्लामा आउने पर्यटकलाई गतिलो कोसेली बनेको छ असला माछा । म्याग्दी नदीमा पाइने असला माछा कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा पर्ने गरेका छन् । बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारको रुपमा उपयोग गर्दछन् । घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा असला माछा लिएर जाने गरेका छन् । अन्यत्र पाइने माछाको स्वादभन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि पर्यटकको रोज्ने गरेका पाइन्छ । ताजा माछाप्रति केजी रु।एक हजार पाँच सयमा बिक्री हुने गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने सेवाग्राहीको भीड बढेको छ । कुण्डमा चलहपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका पाइन्छन् । असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताए । ‘माछा कम पाइन्छ । माग भने ह्वात्तै बढेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु छ । मागअनुसारको माछा पु¥याउनै सकिएको छैन’, उनले भने, ‘माछा कमै पाइने भएकाले कोसेलीको रुपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे पर्छ ।’ चिकित्सकद्वारा प्रमाणित म्याग्दीको सिङ्गास्थित प्राकृतिक चिकित्सालयको तातोपानी नुहाउँदा विभिन्न रोगबाट ग्रसित बिरामी निको हुने गरेका छन् । यहाँको तातोपानीमा नुहाउन उपयुक्त भए/नभएको चिकित्सकद्वारा नै प्रमाणित गरिएको छ । यहाँको तातोपानीलाई पानी विश्लेषण प्रयोगशालामा लगेर नै अमेरिकन पब्लिक हेल्थ सोसाइटी, स्ट्यान्डर्ड मेथडस् फर द एक्ज्यामिनेसन अफ वाटर एण्ड वेस्ट वाटर, वल्र्ड हेल्थ अर्गनाइजेसन गाइडलाइन भ्यालु २००६ (विश्व स्वास्थ्य संगठन), नेसनल ड्रिङ्किङ वाटर क्वालिटी क्ट्याण्डर्डस् २०६२ नेपाल र विभिन्न चिकित्सकद्वारा प्रमाणित गरिएको छ । मानिसलाई आवश्यक पर्ने पौष्टिक तथा औषधिय पदार्थ यहाँको तातोपानीमा मिश्रण रहेको चिकित्सकले प्रमाणित गरेका समितिका सचिव केसीले बताए । यहाँको पानीमा अपिरियन्स, टबिडिटी, पिएच, पानीको रङ्ग, तापक्रम, इलेक्ट्रिकल कन्डक्टिभिटी, टोटल डिस्सल्भ्ड सोलिडस्लगायतका २० वटा शारीरिक, रासायनिक र तत्वको प्रयोगशालाबाट प्रमाणिकरण गरिएको समितिले जनाएको छ । २०७८ साउन १३ गतेदेखि २० गतेसम्म ललितपुर पाटनढोकास्थित एमएस मल्टि स्कोप सोलुसन प्रालिले तातोपानीलाई प्रयोगशाला सर्वेक्षण र अध्ययनपश्चात प्रमाणित गरिएको हो । मानव शरीरलाई आवश्यक पर्ने तत्वको मिश्रणले गर्दा यहाँको तातोपानीमा नुहाउँदा विभिन्न रोगबाट निको हुने भएको प्रयोगशालाले प्रमाणित गरेको छ । रासस