विकासन्युज

आजसम्म सेयरधनी बने कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश पाउने

काठमाडौं । कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको आज सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आजसम्म कारोबार भइ कायम सेयरधनीहरूले यी दुई कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।  कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज २४ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको छ । यस्तै, यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान १० बजे ललितपुरमा वार्षिक साधारण सभा बोलाएको छ । 

स्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न मन्त्री कुलमानको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग अन्तर्गत दुई सडक खण्डको आज अवलोकन गरेका छन् । विस्तारित दुई खण्ड सूर्यविनायक-धुलिखेल तथा धुलिखेल-खावा सडक खण्डको अनुगमन गरी चाडपर्वमा यात्रा सहज बनाउन उनले निर्देशन दिए ।  मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरी चाडपर्वलाई ख्याल गर्दै आवागमनलाई सहज बनाउन निर्देशन दिए । ‘सडकमा खाल्डाखुल्डी पुरेर भए पनि यात्रा सहज बनाउन निर्देशन दिनुभएको छ । हामी सोहीअनुसार तयारी गर्दैछौँ,’ मन्त्री घिसिङको भनाइ उद्धृत गर्दै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने । उनका अनुसार विस्तारित अरनिको राजर्मागका राजमार्गको क्षतिग्रस्त सडकमा खाल्डाखुल्डी पुरेर यात्रा सहज गराउन हाल आवश्यक जनशक्तिसहित उपकरण प्रयोग गरिएको छ । घिसिङले चालु आर्थिक वर्षभित्र सडक बिस्तार कार्य सम्पन्न गर्न र त्यसका लागि बजेट अभाव हुन नदिन मन्त्रालयले पहल गर्ने बताए । यसैबीच वर्षाका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल सडक खण्डमा स्तरोन्नतिको काम भदौदेखि पुनः सुरु गरिएको छ । बनेपा नगरपालिका-१० स्थित जनागाल क्षेत्रमा कालोपत्रे गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सडक कालोपत्र गर्नका लागि ‘सिटिबी’को काम भइरहेको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको हो । जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ ‘सिटिबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । यसअघि असार र साउन महिनामा मनसुनका कारण बिस्तार कार्य रोकिएको उनको भनाइ छ । बनेपाको पुलबजार क्षेत्रमा भने करिब ६ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध गरेपछि बिस्तार कार्य रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गरिरहेका छन् । अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन । हाल बनेपाको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माणकार्य भइरहेको छ । पुल बजारबाहेक सूर्यविनायकदेखि धुलिखेलसम्मका अन्य स्थानमा भने छोटो खण्ड-खण्डमा काम भइरहेको खनालले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा पर्खाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ भने केही दिनमै सडक कालोपत्रका लागि तयारी भइरहेको छ । धुलिखेलको २८ किलो भन्ने स्थानमा एक घर हटाउन तथा केही स्थानमा विद्युतको हाइटेन्सन लाइनका पोल सार्न बाँकी रहेको जनाइएको छ । विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भई विस्तारको काम भइरहेको छ । हाल दुई खण्डमध्ये सूर्यविनायक-साँगा खण्डको ३७ प्रतिशत र साँगा-धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिए । साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समय सीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने उनले बताए । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडक खण्ड बिस्तार कार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि ४ लेनमा सडक बिस्तार थालिएको हो । 

विद्युत् लाइन काटेर १ करोड २७ लाख रुपैयाँ  बक्यौता सङ्कलन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता रकम सङ्कलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् काटेर १ करोड २७ लाख १५ हजार ७८६ रुपैयाँ सङ्कलन गरेको हो । उक्त अवधिमा १ हजार ५२ सेवाग्राहीको लाइन काटिएको थियो । सोमध्ये ७०८ जनाले बक्यौता भुक्तानी गरेपछि पुनः जोडिएको छ । सो अवधिभरिको ६६ लाख २७ हजार ३३१ रुपैयाँ बक्यौता बापतको रकम उठ्न बाँकी रहेको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।  आव २०८०/८१ मा १ हजार ४३६ जना सेवाग्राहीको लाइन काटेर २ करोड ६८ लाख ४५ हजार ७ सय रुपैयाँ सङ्कलन गरिएको केन्द्रले जनाएको छ । रेग्मीका अनुसार सो अवधिमा १ हजार २७३ सेवाग्राहीको लाइन पुनः जडान गरिएको थियो भने ३ करोड ५० लाख ५६ हजार ६७४ रुपैयाँ बक्यौता उठ्न बाँकी थियो । केन्द्रले आव २०८१/८२ मा ५ करोड ३६ लाख ५१४ विद्युत् युनिट बिक्री गरेको छ । आव २०८०/८१ मा ५ करोड ४० लाख ५९ हजार २१२ विद्युत् युनिट बिक्री भएको थियो । गत आवमा ०.८४ प्रतिशतले कमी आएको हो । केन्द्रले विद्युत् बिक्री गरी आव २०८१/८२ मा ५९ करोड ५८ लाख ६९ हजार ४७९ रुपैयाँ सङ्कलन गरेको केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा ५३ करोड ९४ लाख ३३ हजार ९३६ रुपैयाँ सङ्कलन भएको थियो ।  चार्जिङ स्टेसनतर्फ १४ ग्राहक सङ्ख्या रहेकामा ७ लाख १ हजार २८६ युनिट विद्युत् बिक्री भएको रेग्मीले बताए । सोबापत ५३ लाख ३३ हजार ९२९ रुपैयाँ बिक्री भई ५४ करोड ११ लाख ९२५ रुपैयाँ सङ्कलन भएको थियो । केन्द्रमा एक वर्षको अवधिमा २ हजार ५०३ ग्राहक थपिएका छन् । थपिएकासहित जिल्लाभर कूल ५३ हजार भन्दा बढी सेवाग्राही पुगेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार घरेलुग्राहक २ हजार २५६, व्यापारिक ३१, गैरव्यापारिक ३७, औद्योगिक ३७, यातायात (इभी) १०, खानेपानी ४१, सिँचाइ २६, धार्मिक तथा सांस्कृतिक १६, अस्थायी बत्ती १४ र सडक बत्ती ३५ गरी दुई हजार ५०३ सेवाग्राही सङ्ख्या थपिएको छ । थपिएका सहित केन्द्रको कार्यक्षेत्रभित्र घरेलुग्राहक ५१ हजार ७५, व्यापारिक ३५५, गैरव्यापारिक ५६७, औद्योगिक ७८१, यातायात (इभी) ११, खानेपानी २३२, सिँचाइ ३८२, धार्मिक तथा सांस्कृतिक २१९, अस्थायी बत्ती १६, सडक बत्ती २०८, सामुदायिक १ र आन्तरिक १३ ग्राहक पुगेका केन्द्रले जनाएको छ । 

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए, ५० लाख ७१ हजार सलामी दस्तुर

काठमाडौं । सन् २०२५ को चालु शरद याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं (८ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । शरद याममा सगरमाथाबाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही ९ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।  विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको (८ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन् ।  शरद यामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथ प्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि-४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए ।  यसपालि आरोहण टोली  मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पद मार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् । गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत ३६ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका ५ जनाको हिउँ पहिरोमा पुरिएर ज्यान गएको थियो । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ ।  अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए । 

तातोपानी र केरुङ नाकामा रोकिए ४ हजार ५ सय कन्टेनर, दसैँको सामान बेच्न समस्या

काठमाडौं । नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । नेपाल-चीन जोड्ने प्रमुख २ नाका वर्षात्का कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौं कन्टेनरका सामान नाकामा रोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले दसैँमा नेपाल-चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएका बताए । गत असार २४ गते नेपाल-चीन सिमानामा बग्ने लेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाउनुका साथै पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । मितेरी पुल नबन्दा अहिले पनि उक्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन । साथै विगत एक महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि अवरुद्ध भएको छ । राजधानी काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी जोड्ने अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा उक्त बाटोसमेत सञ्चालन हुन नसक्दा सामान नाकामा रोकिएका निवर्तमान अध्यक्ष कार्कीले बताए ।  राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दुवै नाका बन्द भएपछि लत्ताकपडा र कच्चा पदार्थ नआउँदा उद्योगी व्यवसायी मर्कामा परेका बताए । उनका अनुसार हाल तातोपानी नाकामा ३ हजारभन्दा बढी र केरुङ नाकामा १ हजार ५०० भन्दा बढी कन्टेनर सामग्रीसहित रोकिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँको नजिक बाटो बन्द हुँदा व्यवसायीको चिन्ता बढेको धारणा राखे ।  ‘जेनजी प्रदर्शनका कारण समयमा नाकाबाट सामान ल्याउन नसक्दा व्यवसायीहरू समस्यामा परेका छन्,’ उनले भने । दसैँमा सामान नआउँदा व्यवसाय सञ्चालनमा समस्या भइरहेको व्यापारीको भनाइ छ । समान अभाव हुनुका साथै भएका सामान महँगोमा खरिद गर्नु परिरहेको ग्राहकले गुनासो गरेका छन् । काठमाडौंको कीर्तिपुरबाट न्युरोडमा सामान किन्न आएका हीराकाजी महर्जनले यसपटक गत वर्षको तुलनामा लत्ताकपडा महँगो भएको बताए । दसैँ अगाडि काठमाडौँको महाबौद्ध, असन, न्युरोड, कलङ्की, चाबहिल, कोटेश्वर, बानेश्वरलगायत क्षेत्रमा लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्दछ ।

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।  नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ ।  यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ ।

२६.३३ अर्बको पेट्रोलियम पदार्थ आयात हुँदा ११.१८ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको २ महिनाको तुलनामा चालु आवको २ महिनामा उक्त नाका हुँदै १ अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै १ अर्ब २९ करोड रुपैयाँ बढी राजस्व समेत सङ्कलन भएको छ । ‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन  आयात हो,’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने । गत आवको २ महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ९ अर्ब ८९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको २ महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । चालु आवको २ महिनामा ११ अर्ब ९१ करोड रुपैयाँको १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड रुपैयाँ मूल्यको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।  चालु आवको २ महिनामा ६ अर्ब ८२ करोड रुपैयाँको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले ४ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा भने ६ अर्ब ४० करोड रुपैयाँको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा ३ अर्ब ९९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  त्यस्तै चालु आवको २ महिनामा ५ अर्ब १२ करोड रुपैयाँको ४ करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।  गत आवको सोही अवधिमा भने ५ अर्ब ३६ करोड रुपैयाँको ४ करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्याँस आयात हुँदा १ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

स्थानीय वायुको आंशिक प्रभाव, कोशी र बागमती प्रदेशमा भारी वर्षा

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा साधारणतया मौसम बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।  कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका तथा तराईका भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।  कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।  कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।