काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद १६ हजार ६३५ रुपैयाँसहित शनिबार काठमाडौं महानगरपालिका-१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित लिइएको छ ।
यसैगरी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट लागुऔषध ट्रामाडोल २९० ट्याब्लेटसहित सोही नगरपालिका-६ नारायणटार बस्ने ३० वर्षीय अशोक लामासहित तीन जनालाई पक्राउ गरिएको छ ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट लागुऔषध स्पास्मो ४९ ट्याब्लेटसहित भारत बिजनोरका ३० वर्षीय जमसेद आलम, कैलारी गाउँपालिका-५ मनिकापुरबाट चरेस जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज चौधरीलगायत दुई जनालाई पक्राउ गरिएको समाचार कक्षले जनाएको छ ।
कैलालीकै धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित सोही उपमहानगरपालिका-३ बस्ने ३५ वर्षीय किसन बुडालसहित आठ जना र लम्कीचुहा नगरपालिका-१ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ डेरा गरी बस्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुलसहित कास्कीको पोखरा महानगरपालिका-३० बस्ने २९ वर्षीय कृष्ण आलेलाई पक्राउ गरिएको छ ।
यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्ता चौधरिया गाउँबाट ब्राउनुसगर जस्तो देखिने पदार्थ ७७० मिलिग्रामसहित सोही गाउँपालिका-३ नौवस्ता बस्ने ३३ वर्षीय इन्द्रबहादुर थारू र ४१ वर्षीय धु्रवकुमार थारूलाई पक्राउ गरिएको छ ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही नगरपालिका-६ बस्ने २८ वर्षीय मिलन कार्की ढोली, सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय रोहन राजवंशी, सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय मनिष उप्रेती र झापा गाउँपालिका-४ बालुबाडी नयाँ टोलबाट ब्राउनसुगरसहित सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय समीर प्रसाईलाई पक्राउ गरिएको छ ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका-८ चारकुनेबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७७० मिलिग्रामसहित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-९ बस्ने २७ वर्षीय श्यामकुमार रजकलाई पक्राउ गरिएको छ ।
यसैगरी, ललितपुरको गोदावरी नगरपालिका-३ शान्तिवनबाट ट्रामाडोल १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २८ वर्षीय उदय तामाङलाई पक्राउ गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट पनि खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सबै जना शनिबार पक्राउ परेका र उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।