विकासन्युज

प्रधानमन्त्री कार्कीले गरिन् कतारका प्रधानमन्त्रीसँग टेलिफोन संवाद, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग आज टेलिफोन वार्ता गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले कतारमा रहेका तीन लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट कतारी प्रधानमन्त्री थानीलाई धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताएकी थिइन् । उनले नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तरराष्ट्रिय कानुन, जेनेभा अभिसन्धि र मानवीय कानुनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा जोड दिइएको बताएकी छन् । कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन् । प्रधानमन्त्री कार्कीले दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरिन् । टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको परिस्थितिप्रति ऐक्यबद्धता व्यक्त गर्दै कतारको सार्वभौम भूमिमा खासगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरिन् । साथै उनले कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन् । कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थानीले नेपाल र कतारबीचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गरेका थिए ।

महिला मतदाताको उत्साह : ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा काठमाडौंका विभिन्न मतदान केन्द्रहरूमा महिला मतदाताको उपस्थिति निकै उत्साहजनक देखिएको छ । बानेश्वरकी सीता श्रेष्ठ अरू बेला बिहानै घरधन्दा र खाना पकाउन व्यस्त हुन्थिन्, तर बिहीबार उनी एक कप चियाकै भरमा मतदान केन्द्र पुगिन् । 'पहिला भोट हाल्ने अनि मात्र खाना खाने भनेर निस्किएँ, यो हाम्रो लागि उत्सव र अधिकार दुवै हो,' उनले भनिन्  । सीता जस्तै धेरै महिलाहरूले घरको कामभन्दा मतदानलाई प्राथमिकता दिएका छन् । मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा मतदान गर्न पोखरादेखि काठमाडौंसम्म आइपुगेकी अनिता मानन्धरका लागि यो निर्वाचन विशेष छ । 'जेन्जी' प्रदर्शनपछिको राजनीतिक मुहार परिवर्तन गर्ने अठोटका साथ उनी आफ्नो माइती क्षेत्रमा मत खसाल्न आइपुगेकी हुन्। सोही केन्द्रमा ९३ वर्षीया वृद्धा कौशिला तिमल्सिनाले बिहान ७:०५ बजे मतदान गरेर प्रक्रियाको सुरुवात गरेकी थिइन् । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सहज बनाउन सुरक्षाका लागि राखिएका डोरीसमेत काटेर बाटो सजिलो बनाइएको पर्यवेक्षक हरिओम महेताले जानकारी दिएका छन् । डिल्लीबजारस्थित पदमकन्या माध्यमिक विद्यालयमा पहिलोपटक मतदान गरेकी धनु राईको अनुभव झनै रोचक छ। वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले आफूले मत हाल्न नपाए पनि श्रीमतीलाई अनिवार्य मतदान गर्न आग्रह गरेका थिए । धनुले मतदानपछि औँलामा लगाइएको नीलो रङको तस्बिर खिचेर ह्वाट्सएपमार्फत श्रीमान्लाई पठाउँदै आफ्नो नागरिक कर्तव्य पूरा गरेको खुसी साटेकी छिन्। शङ्खमूलको स्वप्नवाटिका स्कुलमा भेटिएकी गोरखाकी शिक्षिका प्रतीक्षा श्रेष्ठ पनि सही नेतृत्व चयन गर्ने अधिकार गुमाउन नहुने भन्दै काठमाडौं आएकी हुन् । 'हाम्रो एक मतले देश बन्छ' भन्ने विश्वासका साथ उनी जस्ता धेरै सचेत महिलाहरूले मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । काठमाडौंका अधिकांश केन्द्रहरूमा महिलाहरूले आफ्नो मतको अधिकार प्रयोग गर्दा परिवारका अन्य सदस्यहरूले समेत उत्साह थपेको पाइएको छ । रासस 

मतदानमा बैंकरको पनि उत्साहपूर्ण सहभागिता, कुन सीईओले कहाँबाट खसाले मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीबार) देशभर मतदान भइरहेको छ । ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अन्तर्गत प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भइरहेको छ । प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दलका उम्मेदवारले ६१ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गरिरहेका छन् । यस प्रणालीअन्तर्गत ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। आयोगका अनुसार देशभर उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसैबीच विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले मतदान गरिसकेको जानकारी दिए । कोइराला झापा क्षेत्र नम्बर-१ भद्रपुरका मतदाता हुन् । उनले भद्रपुर नगरपालिकास्थित भगवती प्रावि मतदान स्थलबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । नबिल बैंकका सीईओ मनोज ज्ञवालीले काठमाडौंको क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले टोखा नगरपालिकास्थित फैमालचुली मतदानस्थलबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा शान्तपूर्ण वातावरणमा मतदान भइरहेको उनको भनाइ छ ।  ‘सबै अनुशासित भएर लाइन लागेर मतदान गरिरहनु भएको छ । चुनावमा तिक्तताको वातावरण केही छैन । फरक-फरक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सौहार्द रूपमा मत मागिराख्नु भएको देखिन्छ । अहिले पनि मतदानस्थलमै छु,’ उनले भने ।  एनएमबि बैंकका सीईओ गोविन्द घिमिरे भक्तपुर क्षेत्र नम्बर-२ का मतदाता हुन् । उनले मध्यपुर ठिमी नगरपालिकास्थित युनिक स्कुलमा रहेको मतदानस्थलबाट मत खसालेको जानकारी दिए । उत्साहपूर्ण माहोलमा मतदान भइरहेको उनको भनाइ छ ।  नेपाल बैंकका सीईओ तीलकराज पाण्डेय काठमाडौं क्षेत्र नम्बर-१ का मतदाता हुन् । उनले नेपाल दूरसञ्चार कम्पनीको तालिम केन्द्र बबरमहलस्थित मतदान स्थलबाट आफ्नो मताधिकार प्रयोग गरेको बताए । मतदानस्थलमा शान्त भएर मतदाताहरूले मतदान गरिरहनु भएको उनले बताए । उनले भने, ‘सबै मतदाताहरू परिवक्क भएर हो कि अत्यन्तै सिभिलाइजेन देखिनु हुन्छ ।’ कुमारी बैंकका सीईओ रामचन्द्र खनाल काठमाडौं क्षेत्र नम्बर-७ का मतदाता हुन् । उनले नागार्जुन नगरपालिका-१ स्थित बालविकास मावि मतदानस्थलबाट मतदान गरेको जानकारी दिए ।  एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ काठमाडौं क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले बिहानै बुढानीलकण्ठ नगरपालिकास्थित भद्रकाली प्राथमिक विद्यालयको मतदान स्थलमा पुगेर मतदान गरेको जानकारी दिए । यस्तै, प्रभु बैंकका सीईओ सुनम शर्माले काठमाडौं क्षेत्र नम्बर २ का मतदाता हुन् । उनले पनि आफूले मतदान गरिसकेको जानकारी दिए । सानिमा बैंकका सीईओ पवनकुमार आचार्यले ललितपुर क्षेत्र नम्बर-३ मतदाता हुन् । उनले लगनखेलस्थित महालक्ष्मी मन्दिर मतदानस्थलबाट मतदान गरेको बताए ।  ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी काठमाडौं क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले पनि मतदान गरिसकेको जानकारी दिए ।

कास्कीमा ४ बजेसम्म खस्यो करिब ५२ प्रतिशत मत

काठमाडौं । कास्कीमा ४ बजेसम्म ५१.७४ प्रतिशत खसेको छ । बिहीबार देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदा कास्कीमा कुल मतदाताको ५१. ७४ प्रतिशत मत खसेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कास्कीमा कुल मतदाता १ लाख ५९ हजार ६६६ जना रहेका छन् । महिला ८४ हजार ६४५ र पुरुष ७५ हजार २० जना तथा अन्यमा १ जना मतदाता रहेका छन् ।

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।      गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।  

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २:३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ । कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ । प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए । कर्मचारीका लागि समानुपातिकतर्फ र कारागारका रहेका कैदीबन्दीलाई मतदानका लागि अस्थायी मतदान केन्द्र समेत राखिएको छ ।

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ः०० बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंकाअनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत मत खसेको छ । त्यसैगरीमा मुगुमा ५५ दशमलव ४२, हुम्लामा ५२ दशमलव ९१, रुकुमपश्चिममा ५० दशमलव ६१, जाजरकोटमा ४९ दशमलव ७५, जुम्लामा ४७ दशमलव ६७, कालीकोटमा ४२ दशमलव ६४, सल्यानमा ३८ दशमलव ४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईले जानकारी दिए । उनका अनुसार सुर्खेत क्षेत्र नं १ मा ४८ दशमलव २५, क्षेत्र नं २ मा ४६ दशमलव ११, दैलेख क्षेत्र नं १ मा ३७ दशमलव ३३ र क्षेत्र नं २ मा ३५ दशमलव २७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा कर्णाली प्रदेशमा अहिलेसम्म चार लाख ६८ हजार ४२५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।       जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिका–९ को हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५००२ क १८२७ नम्बरको मोटरसाइल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकमा सवार सोही नगरपालिका—५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमा नै  मृत्यु भएको हो ।      दुर्घटनामा सोही स्थानका १८ वर्षीय मौषम चौधरी र २३ वर्षीय अशोक चौधरी घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरन्जन थापाले जानकारी दिए ।