सिद्धार्थ इक्विटी फण्ड-२ को इकाई आजदेखि खरिद गर्न सकिने, कति लगानी गर्न पाइन्छ ?
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आज वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष ‘सिद्धार्थ इक्विटी फण्ड-२को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना १२ वर्षे बन्दमुखी प्रकृतिको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिद्धार्थ बैंक र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो । लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण बिक्री नभएमा आवेदन अवधि जेठ ४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ । उक्त फण्डको निष्काशन तथा बिक्री प्रबन्धक पनि सिद्धार्थ क्यापिटल लिमिटेड नै रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि बिक्री, ५ हजार कित्ता आवेदन दिन मिल्ने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज वैशाख २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा वैशाख २४ गते र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
व्यापार नभएपछि छोटी भन्सारहरू बन्द
काठमाडौं । झापाको मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणको लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु ५ वटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालय अन्तर्गत गौरीगन्ज-२ मा आठमौजा छोटी भन्सार, मेचीनगर-२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर-४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर-५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर-७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज-१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए । हाल गौरीगन्ज-२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले बताए । ‘आठमौजा छोटी भन्सार चाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोबार हुन सकेको छैन । अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन्,’ उनले भने । आयात र निर्यात कारोबार हुनका लागि भन्सार कार्यालय मात्र भएर पुग्दैन । क्वारेन्टाइन लगायतका कार्यालय पनि आवश्यक पर्दछ । छोटी भन्सारमा अन्य कुनै पनि सुविधा र सेवा उपलब्ध छैन । पूर्वी प्रवेशद्वार काँकडभिट्टामा मेची भन्सार कार्यालय छ । जहाँ सुक्खा बन्दरगाह, अध्यागमन कार्यालय, क्वारेन्टाइन कार्यालय र प्रविधियुक्त जाँच कक्षहरू रहेका छन् । मेचीनगर-४ मा रहेको बाहुनडाँगी छोटी भन्सार विगत ८ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । ‘के-कस्तो सहयोग आवश्यक पर्छ, हामी जनस्तरबाट दिन तयार छौँ,’ छोटी भन्सार सञ्चालन गर्न आग्रह गर्दै वडाध्यक्ष कार्कीले भने, ‘वि.सं १९९० देखि चल्दै आएको नेपालकै पुरानोमध्येको सीमा बजार हो बाहुनडाँगी । ऐतिहासिक पृष्ठभूमि बोकेको यो भन्सारलाई बन्द गरिँदा हामीलाई दुःख लागेको छ ।’ राणाकाल र पञ्चायतकालमा समेत सीमा नाकाका रूपमा बाहुनडाँगीलाई मान्यता दिइएको स्मरण गर्दै उनले इलाम र झापाका मानिसहरू भारतको नक्सलबारी र कोलकातासम्म आवतजावत गर्ने यो पुरानो भन्सार भएको बताए । उक्त छोटी भन्सारको आफ्नै १३ धुर जग्गामा पुरानो भवनसमेत रहेको छ । हाल भवनको रेखदेख र रङरोगन वडा कार्यालयले गरिरहेको जनाएको छ । ८ वटामध्ये सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकडभिट्टाको मूल भन्सारबाट ७५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ । यहाँको भारततिर फत्तेपुर बजार रहेको छ । नकलबन्दा, सतिघट्टा, महाभारा र गाडागल्ली छोटी भन्सारको जीर्ण अवस्थाको आफ्नै भवन छ । तर, सीमापार भारतीय क्षेत्रमा ठूलो बजार छैन । सशस्त्र प्रहरीले यी सीमा नाकामा सुरक्षा दिँदै आएको छ ।
बलेफीमा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने, विदेशबाट प्रशिक्षार्थी आउने
काठमाडौं । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका-५ मा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ । यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए । यो स्कुलमा ‘रिभर गाइड’ तालिम लिन अन्तर्राष्ट्रियस्तरबाट पनि प्रशिक्षार्थी आउने उनले बताए । नेपालको भोटेकोशी र त्रिशूली नदी विश्वमै जल यात्राका लागि प्रसिद्ध छ । बागमती प्रदेशमा बग्ने त्रिशूली, नारायणी, भोटेकोशी, सुनकोशीजस्ता नदी र मकवानपुरको कुलेखानी ड्यामलाई जल पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न लागिएको पनि मन्त्रालयले जनाएको छ । यसका लागि चालु आर्थिक वर्षमै बजेट विनियोजन गरी काम अघि बढेको छ । यी स्थलमा बर्सेनि साहसिक महोत्सव आयोजना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले यसतर्फ प्रदेश सरकारले काम सुरु गरेको हो ।
केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बाँकी तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।
बुढानीलकण्ठमा यामाहाको १०३औं शोरूम उद्घाटन, ३ एस सुविधा एउटै छानामुनि
काठमाडौं । यामाहा नेपालले बजार विस्तार गर्ने क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित गणेश चोकमा नयाँ ३ एस शोरूम ‘व्हिलिश ग्यालोर प्रालि सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित एक समारोहका बीच बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले उक्त शोरूमको औपचारिक उद्घाटन गरे । यामाहाको यो देशभरकै १०३औं शोरूम हो । उद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा र एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा शोरूमका सञ्चालक भुवेश खड्काका १०६ वर्षीय हजुरबुवाको उपस्थिति रहेको थियो । नयाँ शोरूममा बिक्री, सेवा र स्पेयर पाट्र्स को सुविधा एउटै छानामुनि उपलब्ध गराइएको छ । यसले बुढानीलकण्ठ र आसपासका ग्राहकहरूलाई यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्न र मर्मत सम्भारका लागि सहज पहुँच पु¥याउने विश्वास गरिएको छ । एमएडब्लू राइड्सका सीईओ अग्रवालले प्रत्येक नयाँ आउटलेटले नेपालभर यामाहाको सञ्जाललाई सशक्त बनाउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता पूरा गर्ने बताए । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित सञ्चालनमा आएको यस शोरूमले स्थानीय राइडरहरूलाई जेन्युइन स्पेयर पाट्र्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्दै यामाहाको विश्वसनीयतालाई थप मजबुत बनाउने लक्ष्य राखेको छ ।
चिपको सट्टा दुईवटा क्यूआर कोड, थप १७ लाख लाइसेन्स छाप्न शुरू
काठमाडौं । लामो समयदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सवारी चालकहरूका लागि राहत मिल्ने भएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको सम्झौताअनुसार छाप्न बाँकी रहेका २९ लाख स्मार्ट लाइसेन्समध्ये १२ लाख थान कार्ड छपाइ सम्पन्न भइसकेको छ । बाँकी १७ लाख लाइसेन्स छपाइका लागि दोस्रो चरणको सम्झौता भई काम तीव्र रूपमा अघि बढिसकेको छ । सुरक्षण मुद्रण केन्द्रका अनुसार सार्वजनिक बिदाको दिन समेत काम गरी दैनिक ४० हजारका दरले कार्ड छापिने भएकाले आगामी असार मसान्तसम्ममा पुराना सबै सकिनेछ । हालसम्म १७ लाखमध्ये करिब ५ हजार कार्ड छापिसकिएको छ भने करिब ५५ हजार कार्ड छपाइको प्रक्रियामा छन् । अहिले छापिरहेका लाइसेन्सहरू पहिलेको तुलनामा निकै सुरक्षित र आधुनिक बनाइएको छ । यसअघिको कार्डमा १८ वटा सुरक्षा फिचर मात्र रहेकोमा अहिले ३९ वटा फिचर थपिएका छन् । नयाँ लाइसेन्समा इन्टेलिजेन्ट क्यूआर, रिडेबल जोन, साधारण आँखाले देखिने, उपकरणको सहायताले देखिने र ल्याबबाट मात्र पहिचान गर्न सकिने विशेष सुविधाहरू छन् । यसपटक कार्डको अगाडि र पछाडि दुईवटा क्यूआर कोड राखिएको छ । अघिल्लो भागको क्यूआर केन्द्रले र पछाडिको क्यूआर ट्राफिक प्रहरी तथा सेवाग्राहीले प्रयोग गर्न सक्नेछन् । यसअघि लाइसेन्समा चिप प्रयोग हुने गरेकोमा अहिले क्युआर प्रविधिमा जोड दिइएको छ । यातायात व्यवस्था विभागका अनुसार छापिएका लाइसेन्सहरू हुलाक सेवा विभागमार्फत सम्बन्धित कार्यालयहरूमा पठाउन सुरु भइसकेको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी लाइसेन्स छाप्न बाँकी यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरको छ । सो कार्यालयको मात्रै करिब ९ लाख लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ । हाल ट्रायल पास गरेका र नवीकरणका लागि राजस्व बुझाएकाहरूको डेटा दैनिक साँझ ६ बजेभित्र केन्द्रमा पठाइने र सोहीअनुसार छपाइ कार्यलाई निरन्तरता दिइएको छ ।
इरान-अमेरिका द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थता, इरानी प्रस्ताव वासिङ्टन पठाइयो
काठमाडौं । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका र इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थताको प्रयास यथावत रहेको बताएका छन् । इरानको आधिकारिक समाचार संस्था आइआरएनए (इर्ना) सँगको अन्तर्वार्तामा राजदूत मोघादामले भने, ‘अमेरिकासँगको द्वन्द्व अन्त्य गर्ने इरानको नयाँ वार्ता योजना हालको प्रक्रियाको मुख्य मध्यस्थकर्ताका रूपमा पाकिस्तानले प्रयास गरिएको छ ।’ पाकिस्तानी नेतृत्वले इरानी प्रस्तावलाई वाशिङ्गटनसमक्ष हस्तान्तरण गरेको छ भने यसको औपचारिक जवाफ आइसकेको छैन । ‘तेहरान आफ्नो स्थिति र मागमा पारदर्शी छ । यो संयुक्त राज्य अमेरिकामा निर्भर छ । यदि उसले इमान्दारीपूर्वक मुद्दाहरू समाधान गर्न र वार्तामा सफलता हासिल गर्न खोज्छ भने उसले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ,’ राजदूत मोघादामले थपे । उनले मध्यपूर्व क्षेत्र र विश्वका सबै समुदाय वार्ताको परिणामको प्रतीक्षामा रहेको र इरानले देशको रक्षाका लागि आवश्यक उपायहरू प्रदान गर्दा कूटनीतिको बाटो पछ्याउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘संयुक्त राज्य अमेरिकाले आफ्नो अत्यधिक र आक्रामक आचरण अन्त्य गर्नुपर्दछ र यसको सट्टा इरानको अधिकारको सम्मान गर्ने दृष्टिकोण अपनाउनु पर्छ ।’