विकासन्युज

११ वर्षमा अल्ट्राबाईट इन्टरनेशनल, उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने दृढ संकल्प

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल अल्ट्राबाइट इन्टरनेशनल प्रालि स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ। सन् २०१४ मा सुरु भएको यस कम्पनीले एसईओ ९सर्च इन्जिन अप्टिमाइजेसन०, वेब डिजाइन र डेभलपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अगमेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल मिडिया म्यानेजमेन्टजस्ता आधुनिक सेवा प्रदान गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ । कम्पनीले नेपालमै मात्र नभई विदेशका व्यवसाय र संस्थाहरुसम्म सेवा पुर्याउँदै प्राविधिक दक्षता र ग्राहक विश्वासलाई प्रमुख आधार बनाएको कम्पनीको दाबी छ ।  यस यात्रामा अल्ट्राबाइटले विभिन्न व्यवसायिक वेबसाइट, अनलाइन समाचार पोर्टल र संस्थागत प्लेटफर्म तयार गरी सूचना प्रविधि क्षेत्रको विश्वसनीय नामको रुपमा आफूलाई स्थापित गरेको छ । कम्पनीले विकास गरेको अल्फाओक्टो डट कम निकै प्रभावकारी र लोकप्रिय छ । यो एउटा नवीनतम बिजनेश अटोमेशन सिस्टम हो । यो एउटा डिजिटल प्लेटफर्म हो जसले सीआरएम, एचआर म्यानेजमेन्ट, लिड म्यानेजमेन्ट सिस्टम, अपोइन्टमेन्ट सिस्टमजस्ता सुविधा प्रदान गर्छ । यसले विभिन्न स्रोतबाट डेटा संकलन गरेर विश्लेषण गर्छ, त्यसपछि एसएमएस, इमेल र टेलिमार्केटिङमार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँछ ।छोटकरीमा अल्फाओक्टो व्यवसायको लागि सम्पूर्ण डेटा, सीआरएम र मार्केटिङ समाधान हो ।  कम्पनीले यस प्रडक्टमा विशेष अफर समेत ल्याएको छ । ११ औं स्थापना दिवसको अवसरमा १२ महिनाको लागि १३ ग्राहकको लागि नि: शुल्क दिने जनाएको छ । अफरमा सहभागी जनाउन सकिने कम्पनीले जनाएको छ । स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहक वर्ग, कर्मचारी तथा सरोकारवाला निकायहरूमा हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराईले आगामी दिनमा सेवा र सुविधाहरूमा नवीनता ल्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी कम्पनीले ग्राहक र सेवा प्रयोगकर्ताहरूको आवश्यकता तथा उद्देश्यलाई मध्यनजर राखेर नयाँ प्रोडक्टहरूको विकासमा जोड दिने जनाएको छ । प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो र उत्कृष्ट कम्पनीको रूपमा आफूलाई स्थापित गर्ने दृढ संकल्पसहित सबै सरोकारवालाप्रति कम्पनीले आफ्नो कृतज्ञता प्रकट गरेको छ ।

सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय रुपैयाँ बढेको हो । त्यसैगरी आज चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।  

ढुंगा खस्न थालेपछि मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । तीन दिन लगाएर खुलाइएको नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहानैदेखि ढुंगा खस्ने क्रम नरोकिएपछि यातायात आवागमन पुनः अवरुद्ध भएको छ । आज बिहान सुख्खा पहिरोसँगै ढुंगा खस्न थालेपछि सवारी साधनहरु रोकिएका छन्  भने यात्रुहरु अलपत्र परेका छन् ।  डिभिजन सडक कार्यालय चितवनका सवइन्जिनियर  सुजन थापा मगरका अनुसार यो पूर्ण पहिरो नभई माथिबाट साना/ठूला ढुंगा खस्ने क्रम (रफल) हो । उनले हिजो दिनभर दुईतर्फी सञ्चालनमा आएको सडक आज बिहानै सुख्खा पहिरोका कारण प्रभावित बनेको बताए ।  ‘आज बिहान एकछिन वान वे चलाइएको थियो तर ढुंगा खस्ने क्रम नरोकिएपछि अहिले एकछिनका लागि रोकिएको छ,’ थापाले भने ।  सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको तर माथिबाट लगातार ढुंगा खस्ने कारणले समस्या भइरहेको उनले बताए ।  ढुंगा खस्न रोकिएपछि मात्र गाडीहरुलाई पालैपालो वान वे र त्यसपछि टु वे सञ्चालनमा ल्याउने योजना रहेको छ ।   

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख । जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए । 'संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ', उनले भने । नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको लागतमा उक्त भवन बन्दै छ । भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको प्रमुख विश्वकर्माले बताए । अस्पताल भवन निर्माणको सम्पूर्ण प्राविधिक पक्ष हेर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी निर्माण कम्पनीको लापरवाहीले भवन समयमै नबनेको आरोप छ । निर्माणमा संलग्न कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानुनी अल्झन तथा रुख कटानको समस्याले समयमै भवन निर्माण कार्यले गति लिन नसकेको बताए । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गत वर्ष जेठभित्र भवन निर्मार्ण गरिसक्नुपर्ने सम्झौता रहेको बताए । उनले भवन निर्माण गर्न पटक पटक म्याद थप गर्न नसकिने बताए ।

एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट

काठमाडौं । चाडपर्वको अवसरमा एनएमबि बैंकले ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ । उक्त सहकार्यअन्तर्गत एनएमबि बैंकका ग्राहकले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गरेमा प्रत्यक्ष ५ हजार रुपैयाँसम्म छुट पाउनेछन् । यो छुट कुजु नेपालका याडिया शोरुमहरूमा मात्र उपलब्ध हुनेछ र चाडपर्वको अवधिसम्म सीमित रहनेछ । छुट लिन ग्राहकले भुक्तानी अघि शोरुमलाई जानकारी गराउनुपर्ने र एनएमबि बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । बैंकले यस योजनाले ग्राहकलाई फाइदा दिलाउने मात्र नभई वातावरणमैत्री र दिगो सवारीसाधनप्रति आकर्षण बढाउने विश्वास लिएको छ । साथै, नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याइरहने बैंकले जनाएको छ ।

निजी क्षेत्रलाई  उठाउन ‘रिफाइनान्सिङ’को व्यवस्था चाहिन्छ : दीपक मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकारसँघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थाबाट उद्योगीलाई उठाउनको रिफाइनान्सिङ आवश्यक रहेको बताएका हुन् ।   अहिलेको समस्या भूकम्प तथा कोभिड–१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न आग्रह गर्दै उनले भने ‘यो समस्या फरक छ । सरकारले  पुनरोत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक छ ।’    अहिलेको समस्या समाधान गर्नको लागि राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको उनले बताए । ‘मैले देखेको अहिलेको समस्या दुई प्रकारको छ । एउटा देशमा भएको पैसा विदेश पलायन भइरहेको छ ।’ उनी भन्छन्, ‘दोस्रोमा हाम्रो काम गर्न दक्ष युवा विदेश पलायन भइरहेका छन् । यसलाई सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक छ ।’  ११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएको भन्दै उनले नेपालको जनशक्ति  घट्दो अवस्थामा रहेको बताए  । यसलाई रोक्न सरकारले कदम चाल्न आवश्यक रहेको तर्क गरे ।   ‘उपेन्द्र महतोको घरमा तोडफोड गर्ने आन्दोलनकारीले यत्रो सम्पत्ति कहाँबाट आयो ? तोडफोड गरे,’ उनले थपे ‘ व्यवसायीले सरकारलाई कर तिरेर कमाएको सम्पत्तिमा यसरी नकारात्मक टिप्पणीले नेपालमा व्यवसायी सुरक्षित छैन भन्ने देखाउँछ ।’   मल्होत्राले उद्योगी देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै  सरकारले  पहिलो प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए ।

१७ हजारको जागिरले युवालाई विदेशिन बाध्य बनाएको छ : सागर पाण्डे

काठमाडौं ।  ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् । जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । सरकारले समेत यो क्षेत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए । अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरुका लागि भिसा फ्रि गर्नुपर्नेमा जोड दिए । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पीडा एक खालको भएपनि त्यो भन्दा बढी क्षति नभएमको संरचनाहरु समेत पीडामा रहेको बताए ‘हाम्रो ठाउँबाट पनि सच्चिनुपर्छ ’ ‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा नीजि क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउछौं,’ अध्यक्ष पाण्डेले भने । नेपालमा गुणस्तरीय रोजगारीका अवसर नहुँदा युवाहरु विदेशिने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्था रहेको बताउँदै त्यही भएर युवाहरु विदेशीने गरेको उनको भनाई थियो । ‘नेपालमा जब भएन भन्छौं, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौं । यस्तो अवस्थामा युवाहरु नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाईबहिनीहरु कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’ राज्यका संयन्त्रहरुले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उनको भनाई छ । राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे । ‘भ्रष्टाचार अन्त्यका लागि आर्थिक पारदर्शिता’  हिजो सरकारी संयन्त्रहरुमा रहेको भ्रष्टाचार अहिले नीजि क्षेत्रमा समेत व्याप्त भइरहेको बताए । ‘भ्रष्टाचारको कुरा गर्दा हिजोसम्म सरकारी संयन्त्रमा थियो । अहिले बैंकमा पनि सरेको छ । हुँदाहुदै नीजि क्षेत्रका बैंकमा समेत सरेको छ,’ पाण्डेले भने ।   जेनजी आन्दोलनको माग नै भ्रष्टाचारको अन्त्य भएको बताउँदै त्यसको अन्त्यका लागि आर्थिक कारोबारमा पारदर्शीता हुनुपर्ने बताए । भ्रष्टाचार निकै व्याप्न भएको बताउँदै अहिलेका बच्चाहरु कुनै सरकारी कार्यालयमा गएर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘मेरो बच्चा कुनै काममा लागि एक दिन सरकारी कार्यालय गयो भने एकै दिनमा थाकेर अर्कोदिनदेखि जाँदैन ।’ बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रमा बृद्धि भइरहेको तथ्यांक आउने गरेको प्रति असहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताए । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको बताए । उक्त तथ्यांकका आधारमा प्रत्येक वर्ष २५ हजारले मात्रै बृद्धि भइरहेको बताए । नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरुमा समेत नेपालको तुलानामा निकै बढी पर्यटक आउने गरेको उनले बताए । पर्यटक बढाउनका लागि राज्यले शान्ति सुरक्षाको प्रत्याभूति, सडक तथा हवाई पुर्वाधारको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

६० प्रतिशत गाडी दशैँमा बिक्री हुन्थे, आन्दोलनले स्वाट्टै घट्यो: अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै  अध्यक्ष चौधरीले दसैं, तिहार लगायत  चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरबदल गर्न आग्रह गरेका हुन् ।  राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’ को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरे ।   राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेको छ । यसअघि विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोल तथा डिजेलजन्य इन्धनबाट चल्ने  गाडीमा ५० प्रतिशत ऋण लिन सक्ने व्यवस्था रहेको थियो । अटो व्यवसायीहरूले ८० प्रतिशत पुर्याउन माग गर्दै आएका छन् ।   ‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । अहिलेको सबैभन्दा ठुलो चुनौती राजस्व संकलन देख्छु,’ अध्यक्ष चौधरी भन्छन् ‘अटो क्षेत्रले सबैभन्दा बढी राजस्वमा योगदान दिँदै आएको छ । दशैँको समयमा कुल अटो बजारको ६० प्रतिशत बिक्री  हुने गरेकोमा आन्दोलनले  घट्दा राजस्व पनि घट्छ ।’  चौधरीले थपे ‘गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनु पर्नेछ ।’  चौधरीले नेपालमा विद्युतीय गाडी (इभी) को संख्या बढेको बताउँदै व्यवसायीले चार्जिङ स्टेसन राख्न नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर दिन माग गरे । आन्दोलनका कारण अटो हब रहेको थापाथली  पूर्ण रुपमा  क्षति भएको भन्दै  उत्तरी नाकाबाट आउने केरुङ र तातोपानी नाकाबाट गाडी ल्याउन नसकिने अवस्था रहेको बताए । ‘कोरला नाकाबाट केही गाडी आएका छन् तर पानी पर्ने बित्तिकै रोकिन्छ । सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ, ’ उनले भने ।  चौधरीका अनुसार नेपालमा अटो उद्योगको दुई पांग्रे र चार पांग्रेमा लगानी भइरहेको छ । नेपालमा ब्याट्री, टायर, केही स्पेयर पार्टस् समेत उत्पादन हुन थालेका छन् । एसेम्बल उद्योगले केही रोजगारी दिएका छन् ।  नेपालमै उत्पादन हुने ब्याट्री टायर लगायतका उद्योगलाई एसेम्बलसँग जोड्ने नीति बनाउन  सरकारसँग उनले आग्रह गरे ।