काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गरेका छन् ।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शुन्यमा झारिएको समेत बताए ।
गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरुले पैसाको चलखेल गरेर सरुवा, बढुवा गरेको सुन्न पाउने अवस्थाको आफूले अन्त्य गरेको उनको भनाई थियो । उपप्रधानमन्त्री श्रेष्ठले अबको ५० वर्षपछि छानविन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताए ।
‘म त के दावा गर्छु भने राजनीतिक हस्तक्षेप करिवकरिव भन्छु म हन्ड्रेड पर्सेन्ट त कसरी भनुँ ? फेरि यो सरकार भनेको पनि म मात्रै होइन, गृहमन्त्री मात्रै होइन, त्यो के हो भने प्रमोशन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शुन्यमा झारिएको छ, गृह मन्त्रालयको कुनै अधिकारीले, प्रहरी कर्मचारीको कुनै अधिकारीले प्रमोशन गर्दा पैसा लियो, सरुवा गर्दा पैसा लियो भन्ने सुन्न पाउनुहुन्न अहिले तपाईले, यो कुरा पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले अहिले प्रहरी संगठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको बताए ।