कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल
कर्णाली । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रबर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो । अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको बताए । प्रदेशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय समेत स्थापना नगरिएकामा उनले गुनासो गरे । ‘आर्थिक हिसाबले चिया र कफी खेती व्यावसायिकरुपमा हुन जरुरी छ,’ उनले भने । मन्त्री शर्माले खेती प्रवर्द्धनका लागि प्राविधिक जनशक्ति उपलब्ध गराउन विकास बोर्डसँग अनुरोध गरे । कर्णाली प्रदेशसभा सदस्यद्वय विन्दमान विष्ट र घनश्याम भण्डारीले अन्य प्रदेशमा विकास बोर्ड कार्यालय स्थापना, उत्पादन तथा बजारीकरणका काम भइरहँदा कर्णालीमा त्यसो नगरिएकामा आपत्ती प्रकट गरे । बराहताल गाउँपालिका–३, सुर्खेतका कफी कृषक मोहनकुमार आचार्यले प्राविधिक ज्ञान नहुँदा लगाएको कफी मास्नु परेको र फलेको कफी पनि बिक्री नभएको बताए । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कर्णालीमा चिया र कफीको अत्यन्त सम्भावना रहेको बताए। ‘यसको खेतीमा जोड दिन सबै स्थानीय तहको अग्रसरता, प्रदेश तथा सङ्घीय सरकारको समन्वय एवं सहयोग आवश्यक छ,’उनले भने । छलफलको क्रममा चिया तथा कफी विकास बोर्ड कार्यालय प्यूठानका प्रमुख सिपी बस्नेतले सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेका उल्लेख गरे । सिद्धार्थ बहुउद्देश्यीय सहकारीका सचिव तुलारम सिंजालीले चिया तथा कफी खेतीसम्बन्धी कुनै पनि ज्ञान, सीप र जनशक्ति नहुँदा किसानको उत्पादनलाई खेर जान नदिन आफूहरूले खरिद गरेको बताए ।
डा.गोविन्द केसीलगायतका अभियन्ता माइतीघरबाट पक्राउ
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आन्दोलन गर्दै आइरहेका डा. गोविन्द केसीसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा सशस्त्र द्वन्द्वका पीडितलाई न्याय एवं सम्पूर्ण नेपालीको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचलगायत माग राखेर आन्दोलनमा उत्रिएका डा. केसीसहितका प्रदर्शनकारी पक्राउ परेका हुन् । शनिबार दिउँसो सुशासनका लागि अभियानले सरकारलाई दबाबमुलुक कार्यक्रम आयोजना गरेको थियो। सोही अभियानमा सहभागी भएका डा. केसीसहित पुकार बम, शशीविक्रम कार्कीलगायतका प्रदर्शनकारी पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
लमजुङ । लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्ने लगायत कारणले सुन्तला उत्पादनमा कमी आएको हो। बेसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा ६ सयभन्दा बढी सुन्तलाको बोट लगाएकी छन्। उनले एक दशकअघि बर्सेनि ६ देखि ७ लाखसम्म आम्दानी गर्दै आएकी थिइन्। तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ। यस वर्ष मुस्किलले ८० हजारसम्म आम्दानी गरेको उनको भनाइ छ। घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताइन्। जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ। एक दशक अघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक २ करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए। ६/७ वर्षयता १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताए। विगतका वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँसहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरे लगायतका क्षेत्रमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन्। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत आर्थिक वर्षमा जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतिबाट ५२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भएपनि उत्पादन एक सय २५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताए। त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १८० हेक्टर क्षेत्रफलमा १ हजार २४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा दुई सय १३ क्षेत्रफलमा १ हजार ४२४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ। सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ। जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौं, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ।
अमेरिकाको ऋण पुग्यो ३४ हजार अर्ब डलर
काठमाडौं । पाकिस्तानको गरिबीबारे सबैलाई थाहा छ। आफ्ना गल्तीका कारण पाकिस्तान ऋणको बोझमा डुबेको छ । तर, के तपाईंलाई थाहा छ पाकिस्तान मात्रै होइन, विश्वकै शक्तिशाली राष्ट्रमध्येको एक ‘सुपरपावर’ अमेरिका पनि ऋणको बोझले दबिएको छ । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । अमेरिकाले तिर्नुपर्ने ऋण रकमले पाकिस्तान गरिबीबाट बाहिर निस्किन र देशको मुहार बदल्न सक्छ । अमेरिका यस्तो देश हो जसले अरू देशलाई ऋण दिन्छ । तर, त्यहाँका हरेक नागरिक ऋणको बोझले थिचिएका छन् । अमेरिकाका अगाडि धेरै देश झुकेका छन्, तर पनि उनीहरूको ऋण ३४ हजार अर्ब डलर पुगेको छ । अमेरिकामा धेरै वर्षदेखि ऋण थियो जुन निरन्तर बढ्दै गएको छ । यो समयमा ऋण रेकर्ड उच्चस्तरमा पुगेको छ । विश्व महाशक्ति अमेरिका अरूलाई ऋण दिँदा आफैं ऋणको जालमा फसेको छ । कोरोना भाइरस महामारीपछि अमेरिकाको ऋणको बोझ झनै बढेको छ । हालै अमेरिकी वित्त विभागले एक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा ऋण रकम ३४ हजार अर्ब डलर पुगेको उल्लेख छ । यस्तो कर्जाले आर्थिक तनाव बढाउने पनि बताइएको छ । यसबाट सरकारको काम प्रभावित हुनेछ । पछिल्लो तीन वर्षमा अमेरिकाको ऋण १ सय खर्ब डलरले बढेको छ । अमेरिकाले ऋणको ब्याज दैनिक १ अर्ब ८ करोड डलर ब्याज मात्रै तिर्नुपर्छ । कुल ऋण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) को १ सय २३ प्रतिशत पुगेको छ । यसअघि सन् २०२० मा अमेरिकाले आफ्नो ऋणमा दैनिक ९० करोड डलरमात्र ब्याज तिर्नुपर्ने थियो । तर, अहिले दैनिक ब्याज भुक्तानी १ अर्ब ८ करोड डलर पुगेको छ । यदि यो गतिमा ऋण बढिरह्यो भने केही वर्षमा अमेरिकाको ऋण यसको अर्थतन्त्रको दोब्बर हुनेछ । एजेन्सी
वायुसेवा निगम सुधार्न मन्त्री किराती प्रयासरत
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरव गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४०औं पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्री किरातीले कमजोर अवस्थामा रहेको निगमलाई सुधार्ने उद्घोष गरेका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेको ६ दिनपछि अर्थात् माघ ९ गते निगमको मुख्यालयमा पुगेर निगमको समग्र अवस्थाबारे जानकारी लिँदै उनले भनेका थिए, ‘निगमको धुमिलिएको शाखलाई उचो बनाउन भगिरथ प्रयास गर्नेछु ।’ त्यतिमात्रै हैन हरेकजसो सार्वजनिक कार्यक्रममा पर्यटनमन्त्रीको यही उक्ति दोहोरिने गथ्र्यो । यही पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठबन्धन सरकार बनेको एक महिनापछि पर्यटनमन्त्री बनेका किराती आफूले बोलेका र प्रतिबद्धता जनाएका काममा लागि परेका छन् । चुनौतीबीच निगम सुधार्ने सम्भावनाको खोजी निरन्तर चलिरहेकै छ । वायुसेवा निगमको सुधारका लागि विभिन्न पहलकदमी भएका छन् । केही नीतिगत र रणनीतिक कार्यक्रम पनि अघि बढाइएका छन् । पर्यटन मन्त्रालयले गठन गरेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय सुधार तथा अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले मेहनतका साथ निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि सुझावसहितको प्रतिवेदन पर्यटनमन्त्री किरातीलाई बुझाइसकेको छ । सोही आधारमा पर्यटनमन्त्री किरातीले निगमको विद्यमान अवस्थालाई सुधार्न प्रयास गरिरहेका छन् । प्रतिवेदन कार्यान्वयनका गठन गरिएको समितिले तीव्रताका साथ काम गरिरहेको मन्त्रालयले जनाएको छ । ‘विगतमा अध्ययन समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्ति थियो, त्यसलाई हामीले अन्त्य गरेका छौँ’, रासससँगको कुराकानीमा पर्यटनमन्त्री किरातीले भने। वायुसेवा निगमको पुनःसंरचनाका लागि ‘म्यानेजमेन्ट कन्ट्रयाक’ समिति पनि गठन गरिएको उनले जानकारी दिए । मन्त्री किरातीले भने, ‘कानुनीरुपमा धेरै सुधार गर्नुपर्नेछ, संसद्को हिउँदे अधिवेशनमा धेरै विषयलाई सम्बोधन गरेर जानेछौँ ।’ युरोपेली संघ (इयु) ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको मन्त्री किरातीको भनाइ छ । इयुको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको छ । मन्त्री किरातीले वायुसेवा निगमलाई सुधार्न विभिन्न प्रयास भइरहेको बताए । तर, निगमको अहिलेको अवस्थामा ल्याउन सरकार, राजनीतिक नेतृत्व सरोकारवाला निकायको पनि उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे । तीन जहाज खरिद गरिँदै वायुसेवा निगमले आन्तरिक उडानका लागि तीन ट्वीनअटर जहाज खरिद अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री किरातीले तीन जहाज खरिदका लागि अन्तिम चरणमा पुगेको र केही दिनभित्रै निर्णय हुने जानकारी दिए । उनका अनुसार त्यसैगरी अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउन पनि आवश्यक प्रक्रिया अघि बढाइएको छ । विगत १२ वर्षदेखि ग्राउण्डेड ट्वीनअटर जहाज मर्मतको प्रक्रिया अगाडि बढाइएको छ । तीन जहाज ल्याएपछि दुर्गम क्षेत्रका २२ विमानस्थलमा उडान सेवा दिने गरी जहाज खरिद गर्न लागिएको निगमले उल्लेख गरेको छ । ग्राउण्डेड चिनियाँ जहाज बिक्रीका लागि टेन्डर आह्वान गरिएको छ । निगमको आम्दानी बढ्यो वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढी वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरक्षिण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा नौ अर्ब १० करोड ९८ लाख रुपैयाँ थियो । आव २०७/७९ मा १६ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक क’ल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रहेको छ । विवरणमा एक वर्षको अवधिमा निगमले २२ अर्ब रुपैयाँ कमाएको छ । यतिखेर वर्तमान सरकारको एकवर्षे कार्यकालको कामको समीक्षा भइँरहदा मुलुकको संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेर मन्त्री किराती सुशासन, पारदर्शिता कायम गर्दै केही देखिने गरी कामको सुरुआत गरेका छन् । अपेक्षित काम गर्न सकिएन प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हालैको बैठकमा मन्त्री किरातीले खुलेर आफ्ना भावना व्यक्त गरे । ‘काम नगरिकन कुर्सीमा बसु या विवादित भएर पनि काम अगाडि बढाउने भन्ने प्रश्न तेर्सिएको छ, भने जति काम गर्न नसकेकामा लज्जित पनि छु’, मन्त्री किरातीले भने , ‘एउटा काम गर्न थाल्नुपर्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र धाउनैपर्छ, महालेखा परीक्षकको कार्यालयलाई जवाफ दिनैपर्यो । अनि अड्डा अदालत पुग्नैपर्छ, समितितिर पनि जवाफ दिनैपर्छ । काम चाही कहिले गर्ने आफैँलाई प्रश्न गरिरहेको छु ।’ मन्त्री किरातीले मुलुकको हवाई क्षेत्रको सुधारका लागि पनि विभिन्न प्रयास गरेका छन् । मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा अभिवृद्धि र नियमन तथा व्यवस्थापकीय कार्यमा प्रगति गरेको छ । सम्पदा संरक्षण र प्रवद्र्धनका सकारात्मक उपलब्धि भएको छ । मन्त्रीको सक्रियतामा सम्पदा सरसफाइ अभियान प्रभावकारी रुपमा सम्पन्न भएको छ । ४१ मुलुकसँग हवाई सेवा सम्झौता पर्यटन मन्त्रालयका अनुसार नेपाल तथा रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । स्वीट्जरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अघि बढाइएको छ । यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ४१ पुगेको छ । नेपालले इयुसँग पनि बहुपक्षीय हवाई सम्झौता गरेको छ । अन्य केही मुलुकसँग पनि द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले उल्लेख गरेको छ । एक वर्षका उपलब्धि सरकारको एक वर्षे कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’बाट राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अघिल्लो वर्ष पुस १७ गते उद्घाटन भएको थियो । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यको शिलान्यास भएको थियो । नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण कार्य शिलान्यास भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्नेसम्बन्धी कार्ययोजना बनाउनुका साथै भारतसँग अन्तर्राष्ट्रिय उडान सहजीकरण गर्न द्विपक्षीय प्राविधिक छलफलका लागि कूटनीतिक प्रक्रिया अघि बढाइएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । विसं २०७९ माघ २० गतेदेखि वायुसेवा निगमबाट आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइन प्रविधिमार्फत काट्न सकिने गरी अनलाइन टिकेटिङ सेवाको सुरुआत गरिएको । जुम्ला, रुकुम, रारा तथा सिमिकोट विमानस्थल विस्ताररस्तरोन्नतिका लागि जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइएको छ । तुम्लिङ्टार तथा सुर्खेत विमानस्थलमा एटीआर–७२ विमानबाट सेवा सञ्चालन सुरु गरिएको छ । तीन महिने बृहत् सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । १० लाख बाह्य पर्यटक भित्रिए नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७६ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर संख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । जुगल हिमशृङ्खलामा पर्ने ६ नयाँ हिमाल आरोहणका लागि खुला गरिएका र सोसहित हालसम्म कूल चार सय १९ हिमाल आरोहणका लागि खुला गरिएका छन् । रासस
टाटा मोटर्स फन कार्निभल, जुनसुकै ब्राण्डका पुराना गाडी साट्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुरु गरेको टाटा मोटर्स फन कार्निभलमा जुनसुकै ब्राण्डका गाडी साटफेर गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । ग्राहकले कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन, टियागो इभीलगायत गाडी साट्न सक्नेछन् । ग्राहकको बदलिँदो जीवनशैली र नवीन सवारीप्रतिको रूचिलाई लक्षित गरेर मेला सञ्चालन गरिएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाभित्र टाटा मोटर्स शोरुम थापाथली, वेस्टर्न मोटर्स् महाराजगञ्ज, जेबी मोटर्स बालकुमारी, सिप्रदी ट्रेडिङ राधेराधे, भक्तपुर तथा उपत्यकाबाहिर इटहरी र धनगढीमा सुरु मेला पुस २२ सम्म चल्नेछ । मेलामा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न अफरसमेत राखिएका छन्। मेलामा ग्राहकलाई टाटा मोटर्सका नयाँ तथा आधुनिक डिजाइनका गाडी टेस्ट ड्राइभ सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ । गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, इभी गाडीका लागि निःशुल्करूपमा फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्न सक्नेछ ।
चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् द। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा संकलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए । विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्वीटर र टोपी उपलब्ध गराइएको हो । ‘विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन, अहिले पोसाकमा एकरुपता आएको छ,’ उनले भने । प्रध्यानाध्यापक महतले पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थालेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एकरएक थान ऊनीको टोपी उपलब्ध गराएका छन् । त्यस अवसरमा प्रध्यानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उनीहरूको सामाजिक कार्यप्रति प्रशंसा गरे ।
बेवारिसे अवस्थामा पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेको ढुंगेधारा (फोटो फिचर)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तयार भएको ढुंगेधाराको अवस्था नाजुक बनेको छ । धाराको संरक्षण नहुनु तथा अधिकांश संरचनामा खिया लागेसँगै उक्त धारा भत्कने अवस्थामा पुगेको हो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेपश्चात् धारो सञ्चालनमा आएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ढुङ्गेधाराको उद्घाटन गर्दै गरेको दृश्य निकै तामझामका साथ वि.सं. २०७७ चैत २० गते भण्डारीले उद्घाटन गरेको ढुंगेधारा तीन वर्ष नपुग्दै जीर्ण बन्न पुगेको हो । ढुंगेधाराको मर्मतका लागि मेलम्ची खानेपानी आयोजनाको शाखालाई पहल गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । ‘मेलम्चीको पानी नै काठमाडौंमा हाल नआएकाले ढुंगेधारामा पानी आउन छाडेको हो, त्यसको मर्मतका लागि हामीले पहल गरिरहेका छौं, तर मर्मत चाहिँ हुन सकेको छैन,’ उनले भने । मेलम्चीको पानी आउँदा २४औं घण्टा धाराबाट पानी वितरण गर्ने लक्ष्य राखी धारा निर्माण गरिएको थियो । तर, धारामा पानी आउन थालेकाे केही महिनापछि नै ढुंगेधाराबाट पानी आउन छाडेको थियो । प्राविधिक समस्याका कारण पानी नआएको राईले बताए । सबै सर्वसाधारणको पहुँच पुग्ने ठाउँ भृकुटीमण्डप नै भएकोले त्यहाँ ढुंगेधारा निर्माण गरिएको थियो । ‘त्यो धारामा डेडिकेटेड लाइनबाट पानी जोडिएको छैन, शाखा लाइनबाट पानी जोडिएको छ,’ उनले भने, त्यसैले पानी आए पनि धारामा चाैबिसै घण्टा पानी दिन सम्भव नहुन पनि सक्छ ।’ लाखौं रुपैयाँ रकम खर्च गरेर बनाएको ढुंगेधारा अहिले बेवारिसे अवस्थामा देख्न सकिन्छ ।