विकासन्युज

पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

काभ्रेपलाञ्चोक । साहसिक खेल-पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३० किलोमिटर नजिकको जिल्ला काभ्रेपलाञ्चोक अहिले पाराग्लाइडिङको गन्तव्यका रुपमा विकसित भएको छ । काभ्रेपलाञ्चोकको दुई पर्यटकीय स्थान फुल्चोकी र धुलिखेलमा यसको व्यावसायिक उडान थालिएको छ । तत्कालीन अवस्थामा सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित पाराग्लाइडिङ व्यवसाय अन्यौलमा परिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पहिलोपटक पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको थियो । कुशादेवी क्षेत्रमा तीन वर्षअघि ‘विहावर क्षेत्र पर्यटन महोत्सव’ का क्रममा फुल्चोकीस्थित गुर्दुम डाँडाबाट पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको क्षेत्र रहेकाले मन्त्रालयको अनुमतिमा व्यावसायिक उडान थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गत कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको उद्घाटन गरेपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी-विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भइरहेका छन् । मन्त्रालयले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत वर्षको साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएपछि उसले पाराग्लाइडिङ उडानको तयारी थालेको थियो । फुल्चोकीमा मन्त्री किरातीले सहासिक खेल–पर्यटनमा यस क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको भरपुर उपयोग गर्न स्थानीय तहलाई सुझाव पनि दिएका थिए । यस स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ अनुमति पाएपछि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको कामसँगै यस अवधिमा अन्य तयारी गरिएको प्रालिले जनायो । प्रालिका अध्यक्ष छविलाल हुमागाईंका अनुसार अनुमति पाएपछि पनि विभिन्न तयारी गर्न करिब एक वर्ष लागेको थियो । ‘प्राधिकरणले अनुमति दिए पनि करिब एक वर्षको प्राविधिक प्रक्रियालगायतको काम सकेर व्यावसायिक रुपमा सञ्चालन थालिएको हो’, उनले भने ।मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएपछि फुल्चोकी क्षेत्र साहसिक खेल-पर्यटन ‘हब’उन्मुख भएको हो । कुशादेवी क्षेत्रमा चार वर्षअघि नै विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछिका अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । पटक-पटकका उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले प्रालिले त्यस क्षेत्रमा पाराग्लाइडिङ उडानको अनुमति पाएको जनाइएको छ । विविध कारण प्याराग्लाइडिङ सञ्चालनमा केही ढिलाइ भएको बताउँदै हुमागार्इंले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपरान्ह ४ बजेसम्म उडान अनुमति पाएको जानकारी दिए । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी-विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर, प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुन्द्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ पाराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । पाराग्लाइडिङ उडानका लागि स्थानीय तीन युवालाई यस विषयमा अध्ययन गराइएको छ । “पाराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नाका साथै यस क्षेत्र पर्यटनले प्रचारात्मक हुनेछ’, पनौती-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । उनका अनुसार पाराग्लाइडिङ उडान सुरु भएपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । फुल्चोकी क्षेत्रलाई सहासिक खेल–पर्यटनका रुपमा विकास गर्न आफूहरु नगरको योजनामा समावेदश गरी लागिपरेको वडाध्यक्ष अधिकारीले बताए । उनका अनुसार साइक्लिङ ट्रेल रुटमा खेलहरु आयोजना भइरहने छन् भने थप साहसिक खेल पाराग्लाइडिङले अनुमति पाउँदा स्थानीय हर्षित भएका छन् । यसअघि पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालक समेतको सहभागिता रहेको थियो । पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष यस क्षेत्रमा साइकल रुट निर्माण गरिएको थियो । यस क्षेत्रमा २०७८ चैतबाट त्यस रुटमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना थालिएको हो । यस साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेलरुट तय गरिएको छ । यस ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए । त्यसयता आन्तरिक तथा बाह्य पर्यटकहरु साहासिक साइकल यात्राका लागिसमेत यो रुट रोज्ने गरेका छन् । नेपाल पर्यटन बोर्डले पनि पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई मान्यता दिँदै प्रचारमा ल्याएको छ । यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक-क्लाइम्बिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय स्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको हो । बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्यान्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न आग्रह गर्दै आएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देवीस्थान डाँडाबाट गत असार अन्तिम साता व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरियो ।विश्व बजार पाराग्लाइडिङ प्रालिले देवीस्थानबाट धुलिखेल नगरपालिका-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा ५५ सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । यस व्यावसायिक रुपमा पाराग्लाइडिङ उडानको पूर्वमन्त्री एवं काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने पाराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताएका थिए । ‘देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको पाराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमा समेत वृद्धि हुनेछ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि सो प्रालिलाई औपचारिक रुपमा मनोरञ्जनात्मक उड्डयन सञ्चालनको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको बताउँदै आवश्यकता र मौसमका आधारमा पाराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार पोखरामा सञ्चालन भएका पाराग्लाइडिङ कम्पनीहरुको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गरिएको हो । धुलिखेलमा एकै पटकमा छवटा उडान भर्न सकिनेछ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानबापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको कार्कीले बताए । साहसिक पर्यटकीय मनोरञ्जन प्राप्त हुने पाराग्लाइडिङको व्यावसायिक उडानले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू बताउँछन् । उनका अनुसार पर्यटकीय स्थान धुलिखेललाई पालाग्लाइडिङले विश्वमा बजारमा थप परिचित बनाएको छ । देवीस्थानबाट गरिएको पाराग्लाइडिङको उडानबाट नेपालका ३३ वटा हिमाल प्रत्यक्ष रुपमा देख्न सकिन्छ । सगरमाथादेखि कञ्चनजङ्गा, माछापुछ्रे हिमाल सहजै देख्न सकिने पाइलट महेन्द्रबहादुर भट्टराईले बताए । उनका अनुसार टेक अफ, फ्लाइङ र ल्यान्डिङसहित सुरक्षित उडानका लागि धुलिखेल सहज र सरल पाइन्छ । करिब आधा घण्टामा विभिन्न दृश्यसहित काभ्रेपलाञ्चोक जिल्लाका धार्मिक स्थल नमोबुद्धदेखि पलाञ्चोक भगवतीस्थानसम्म, पाँचखाल, नमोबुद्ध, धुलिखेल, बनेपालगायत क्षेत्रको सहज अवलोकन गर्न सकिन्छ । धुलिखेलमा पाराग्लाइडिङका लागि हाल दैनिक पाइलटहरु रामकृष्ण अधिकारी, विकास अधिकारी, सुमन थापा, विष्णु तिमल्सिनाले उडान भर्ने गरेका छन् । पोखरामा नियमित व्यावसायिक उडान गरिरहेका थिए । अहिले भट्टराईसहित पाँचजना पाइलटले धुलिखेलमै नियमित उडान गरिरहेका हुन् । सञ्चालक किरण कार्कीलगायत युवाले पोखरामा सञ्चालित पाराग्लाइडिङ कम्पनीको सहकार्यमा रु एक करोडभन्दा बढी लगानी गरी धुलिखेलमा व्यावसायिक उडान सुरु गरेका हुन् । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देवीस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कहरुले धुलिखेलमा घुम्न आउने र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । धुलिखेलमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन पाराग्लाइडिङ निकै महत्वपूर्ण क्षेत्र भएको क्षेत्रीय होटल सङ्घ (हान) का महासचिव ज्योत्सना सैँजुको भनाइ छ ।’यहाँ आएका पर्यटकहरुलाई फरक प्रकारको मनोरञ्जन दिन र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न पाराग्लाइडिङको व्यावसायिक उडानले सहयोग पुग्ने अपेक्षा गर्दैछौँ’, उनले भने । काभ्रेपलाञ्चाककै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि केही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । यस क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ । विशेषगरी काभ्रेपलाञ्चोकमा अधिकांश पहाडी भू-भाग रहेकाले साहसिक खल प्याराग्लाइडिङ प्रवद्र्धनका लागि प्रचुर सम्भावना देखिन्छ । रासस

एनआईसी एशियाको सञ्चालकमा खड्का नियुक्त, ग्रहण गरे सपथ

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । यस संस्थाको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कमल खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको हो । उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । साथै, नव नियुक्त सञ्चालक कमल खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत रहेका कमल खड्का एनआईसी एशिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत थिए । साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

त्रिवि उपकुलपतिका लागि अनुभवको मापदण्ड हटाएर विज्ञापन प्रकाशन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर प्रधानमन्त्री दाहालले सो विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभर रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको स्मरण गराए । विश्वविद्यालयले आज प्रकाशित गरेको विज्ञापनले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै प्रधानमन्त्री दाहालले त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को विज्ञापन निकाल्न निर्देशन दिएका हुन् । शुक्रबार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने उल्लेख थियो । सोही सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र अन्य योग्यलाई अयोग्य बनाउनेप्रति आफ्नो चासो रहेको भन्दै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्णरूपले खुला गरी अर्को विज्ञापन प्रकाशित गर्न मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्नसक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

आँखुखोला जलविद्युतको सञ्चालक समितिमा ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १६ औं वार्षिक साधारणसभा शुक्रबार बैभव पार्टी प्यालेस मैतीदेवीमा भव्य र सभ्यरुपले सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा बिहीबार राति उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ ।

अवैधरूपमा सञ्चालित क्रसर उद्योगमा ताला

तनहुँ । बन्दीपुर गाउँपालिकाभित्र अनुमति नलिइ चलाइएका अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ । बन्दीपुर गाउँपालिका–६ साराङ्घाट नमुना ग्रिट एण्ड क्रसर उद्योगमा बन्दीपुर गाउँपालिकासहितको टोलीले ताला लगाएको हो । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, वडाध्यक्ष बलबहादुर गुरुङलगायत वडाका जनप्रतिनिधि, नेपाल प्रहरीसहितको टोलीले बिहीबार क्रसर उद्योगमा ताला लगाएका हुन् । उक्त क्रसर उद्योगले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएकाले ताला लगाएर बन्द गरेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । यसअघि पनि पटकपटक गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले उक्त क्रसर उद्योग बन्द गराएको थियो । रातको समयमा लुकीछिपी चोरी निकासी गरेको पाएपछि उद्योग बन्द गरिएको अध्यक्ष थापाले बताए । ‘उक्त उद्योगलाई कानुनी दायरामा ल्याएर गाउँपालिकाको आम्दानी बढाउन लागेका हौँ’, उनले भने, ‘यसमा गाउँपालिकाको कुनै मिलेमतो छैन, कानुनसम्मत हुनुपर्छ भनेर लागेका हौँ ।’ उक्त उद्योगमा पटकपटक सिल गरे पनि आसपास क्षेत्रमा कुनै बस्ती नभएको र एकान्त स्थानमा भएकाले रातको समयमा चोरीनिकासी गर्ने गरेको उनले बताए । अवैधानिकरुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि विद्युत् कटान गरिएको थियो । केही दिनअघि टिपर र डोजरको चाबी खोसेरसमेत राखिएको अध्यक्ष थापाले जानकारी दिए । आज शुक्रबार कार्यपालिका बैठक भएकाले यस विषयमा निचोडमा पुग्ने योजना बनाइएको छ । उनले भने, ‘जनप्रतिनिधि निर्वाचित भएर आएदेखि सञ्चालनमा रोक लगाउँदै आएका छौँ ।’ रासस

१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले वार्षिक नौ खर्ब आर्जन गर्ने

काठमाडौंं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । बर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ । मुलुकको चुलिँदो व्यापार घाटालाई कम गर्ने उपयुक्त माध्यमका रुपमा  बिजुली व्यापारलाई लिइएको छ । नेपालको प्रचूर ऊर्जा क्षेत्रमा प्रविधि र लगानी जरुरी छ । कानुनी एवम् संरचनागत सुधार जरुरी रहेको विषयलाई निजी क्षेत्रले प्राथमिकतामा राख्दै आएको छ । भौतिक विकास निर्माणमा खासगरी, वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्ति तथा कानुनी उल्झन बेहोर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका शब्दका प्रसारण लाइनको एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना निर्माण गर्नु सरह छ । निर्माणाधिन प्रसारण लाइनहरु अधिकांश समस्यामा छन् । कतै निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, कतै स्थानीयको अवरोध, अन्तर सरकारी निकायबीच समन्वयनको अभाव पनि नेपालको ऊर्जा क्षेत्रको साझा समस्याका रुपमा चित्रित छ । बिहीबार नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको भारत भ्रमणका क्रममा उक्त सहमतिपत्रको प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनका भारतीय समकक्षी डा एस जयशङ्करको उपस्थितीमा दुई देशका ऊर्जा सचिवले सहमतिपत्र आदान प्रदान गरेका थिए । सहमतिपत्रमा भने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितीमा सिंहदरबारमा हस्ताक्षर भएको थियो । उक्त सहमतिसँगै नेपालले सहज रुपमा आफ्नो उत्पादन भारतीय बजारमा पठाउनका लागि मार्गप्रशस्त भएको छ । ऊर्जामन्त्री बस्नेतले बिहीबार भएको सहमतिलाई एउटा ‘ब्रेक थ्रू’को संज्ञा दिँदै अब कार्यान्वयन पक्षलाई सबल बनाउनुपर्ने बताए । चरम ऊर्जा सङ्कटबाट पार पाएर नेपाल पछिल्ला दिनमा ऊर्जा निर्यात गर्ने देशका रुपमा स्थापित भएको छ । पछिल्लो एक वर्षमा दैनिक झण्डै सात सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सफल भएको छ । सरकारको सार्थक पहलका कारण ऊर्जा क्षेत्रले गुणात्मक फड्को मारिरहेको सन्दर्भमा बजारको सुनिश्चिततासँगै लगानी विस्तार हुने निजी क्षेत्रको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीका अनुसार बिहीबार दुई देशबीच भएको सम्झौता ऐतिहासिक हो । ‘असाध्यै महत्वपूर्ण सम्झौता भएको छ । यसले लगानी विस्तारका लागि मार्गप्रशस्त भएको छ । अब सरकारले नीतिगत रुपमा रहेका समस्या समाधान गरेर थप सहज वातावरण बनाइदिनुपर्छ’, उनले भने, ‘बर्षाका समयमा कोटाका आधारमा बिजुली उत्पादन गर्ने आयोजनाले समेत अब राहत पाउनेछन् ।’ एक वर्षमा बिजुली बिक्री गरेर रु १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यसले पनि नेपालको बिजुली बिक्रीबाट उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन हुने अनुमान गर्न सकिन्छ । बङ्गलादेशले पनि नेपालको बिजुली लैजाने सहमति गरिसकेको छ । बिहीबारको सहमतिपछि त्रिपक्षीय साझेदारीका लागि पनि मार्गप्रशस्त भएको छ । नेपाल, भारत र बङ्गलादेशबीच उच्चस्तरीय कार्यदल निर्माण गरेर जाने विषयमा तीन वटै देश सहमत भइसकेका छन् । तत्कालका लागि भारतीय संरचनाको प्रयोग गरेर बङ्गलादेश बिजुली निर्यात गर्न सकिने भएको छ । त्यस्तै, उच्च क्षमताको प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल जारी छ । त्यसले पनि छिट्टै सार्थकता पाउने छ । दुई देशबीच भएको सम्झौताको अवधि २५ वर्षको छ । प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ । क्षेत्रीय व्यापारलाई अझै वृद्धि गर्दै, दुई मुलुकबीच विद्यमान, कार्यान्वयनमा रहेका र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनलाई प्रयोग गरिने भएको छ । हाल ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा छ । सो प्रसारण लाइनबाट हाल आठ सय मेगावाट बिजुली आयात निर्यात गर्न सकिन्छ । सो प्रसारण लाइनको क्षमता वृद्धि गरेर एक हजार मेगावाट बराबर बनाउने सम्बन्धमा सहमति भइसकेको छ । सन २०२५ को मेसम्ममा न्यू-बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सो प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । भारतीय कम्पनी सतलज विद्युत निगमले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइनको क्षमता पनि नेपालले उपयोग गर्न पाउनेछ । यसअघि नै प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेका चार सय केभी क्षमताका दोदोधारा-बरेली र इनरुवा-पूर्णीया प्रसारण लाइन निर्माण हुनेछ । सन २०२८ सम्म ती प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सरकारले सन २०३५ सम्म कूल २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने रणनीतिक कार्ययोजना तयार पारिसकेको छ । सो कार्ययोजनामा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखको छ । सोही लक्ष्यअनुसार सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने लक्ष्य लिएको मन्त्री बस्नेतको भनाइ छ । प्राधिकरणले नौ हजार एक सय ६४ मेगावाट क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता गरिसकेको छ । ऊर्जा मन्त्रालयका अनुसार हरेक वर्ष एक हजार मेगावाटको हाराहारीमा उत्पादन क्षमता थप हुनेछ । प्राधिकरणलगायतका सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना अगाडि बढाइएको छ । त्यसमा बुढीगण्डकी, एक हजार दुई सय मेगावाट, चार सय १० मेगावाटको नलगाड, छ सय ३५ मेगावाटको दुधकोशी, एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुणलगायतका आयोजना छन् । रणनीतिक महत्वको परियोजनाका रुपमा रहेको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको पनि अध्ययन शुरु भएको छ । कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजनाको अध्ययन आगामी तीन वर्षमा पूरा हुनेछ । विगत एक वर्षमा मात्र करिब दुई हजार एक सय ६९ मेगावाट बराबरको जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता भएको छ । यी सबै आयोजना सम्पन्न गर्नेगरी नीतिगत, संरचनागत सुधार गर्ने सरकारको प्रष्टोक्ति छ । सरकारले अगाडि सारेको सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने रणनीतिक कार्ययोजना कार्यान्वयनका लागि अन्तर सरकारी निकायबीच छलफल जारी छ । त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याएर कार्यान्वयनमा लगिने ऊर्जामन्त्री बस्नेतको भनाइ छ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट पनि नेपालले झण्डै दुई सय मेगावाट बिजुली प्राप्त गर्छ । सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती, चार सय ५० मेगावाट क्षमताको सेती नदी– ६ आयोजनालाई पनि भारतीय कम्पनी एनएचपीसीले अगाडि बढाउँदैछ । यस आधारमा बिजुली उतपादनका हिसाबले आगामी दिनहरु नेपालका लागि थप स्वर्ण हुने अनुमान गर्न सकिन्छ । ऊर्जा क्षेत्रका जानकारका अनुसार (हाल भारतलाई बिक्री गरिएको मूल्यलाई आधार मान्दा) प्रतियुनिट रु १० मा बिजुली बिक्री गर्ने हो भने झण्डै रु नौ खर्ब बराबरको निर्यात गर्न सकिन्छ । वार्षिक रुपमा १० हजार मेगावाट बराबरको बिजुली निर्यातका लागि नेपालको कूल उत्पादन २५ हजार मेगावाटभन्दा बढी हुनुपर्नेछ । सरकारले तय गरेको लक्ष्यअनुसार काम भए सन् २०३५ सम्म आवश्यक बिजुली उत्पादन हुनसक्छ । ‘सरकारले योजनाबद्ध रुपमा नै सोच विचार गरेर नै लक्ष्य निर्धारण गरेको छ । अब हामीले यसमा दिनरात नभनेर काम गर्नैपर्छ । हामी सफल हुन्छौ’, ऊर्जामन्त्री बस्नेतले भने । त्यसो त नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता पनि भएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ग्रीड अवधारणामा पनि यसअघि नै सहमति जनाइएको छ । नेपालले के कति बिजुली बिजुली उत्पादन गर्ने रु आन्तरिक रुपमा कति खपत गर्नेलगायतका विषयमा स्पष्ट दृष्टिकोण बनाएर कार्यान्वयन गर्दै निर्यातलाई पनि प्राथमिकतामा राख्नुपर्ने दृष्टिकोण पनि यस क्षेत्रका जानकारहरुले सार्वजनिक गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पनि बजार सुनिश्चित भएकाले अब व्यापक मात्रामा लगानी विस्तार गरेर उत्पादनमा लाग्नुपर्ने बताएका छन् । उनले बिहीबार भएको सम्झौतामा समावेश १० हजार मेगावाट न्यूनतम सीमा भएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले बिहीबार नै दुई देशबीचको सम्झौतालाई विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा हुने प्रष्ट पारेका छन् । ऊर्जा क्षेत्रमा लगानी विस्तार, पूर्वाधार निर्माण तथा विदेशी लगानी भित्र्याउने सवालमा राजनीतिक दलबीच पनि मतैक्य भएकाले एकाध वर्षभित्र नेपालले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सक्छ । सङ्घीय संसदमा विधेयक विचाराधिन अवस्थामा छ । त्यसलाई शीघ्र पारित गरेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने सरकारको तयारी छ । यस्तै, प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सहभागी गराउने सरकारको तयारी छ । पछिल्लो पुस्ताको ऊर्जाका स्रोतका रुपमा परिचित ग्रीन हाइड्रोजनलाई पनि प्राथमिकतामा राखिएको छ । जलविद्युत् आयोजनाबाटै ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने प्रशस्तत सम्भावना छ । सरकारले त्यसका लागि नीतिगत प्रबन्ध गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । रासस

एनआईसी एशियाले निर्माण गर्यो श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन

काठमाडौं । एनआईसी एशिया बैंकले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका सातै वटा प्रदेशमा विभिन्न विद्यालयहरु छनौट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढ्ने क्रममा सुदूरपश्चिम प्रदेशमा यस बैंकले विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हो । यस नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । उक्त पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देबेन्द्र प्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख श्री सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिर सिंह भण्डारी लगायत स्थानीय निकाय एवं विद्यालयका पदाधीकारीहरुको उपस्थितिमा समुद्घाटन भयो । यस भवन निर्माण पश्चात् विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरी त्यहाँबाट विद्यार्थीलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा सहज पहुँच भई विद्यार्थीहरुको शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।