विकासन्युज

गोकुलेको आरुबोटमा सबस्टेसन निर्माण सुस्त

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसन सुस्त गतिमा भइरहेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको हो । निर्माणको जिम्मा पाएको मुख्य कम्पनीको सक्रियतामा काम नभई पेटी ठेकेदारमार्फत काम गरिएकाले निर्माणले गति लिन नसकेको वडा नं १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताए । उनका अनुसार नेपाल विद्युत् प्राधिकरण, योजना तथा प्राविधिक सेवा विभागको आयोजनामा आवश्यक जग्गा खरिद गरी करिब साढे दुई वर्षअघि काम थालिए पनि जग्गाधनीको अवरोधका कारण एक वर्ष काम रोकिएको थियो । चाइनिज कम्पनीले निर्माणको ठेक्का पाएको जनाउँदै वडाध्यक्ष जिम्बाले पछिल्लो समय पेटी ठेकेदारमार्फत काम गराउँदा कामको प्रगति हुन नसकेको बताए । ठेकेदारको निष्क्रियता, काममा लगाइएका मजदुरको पारिश्रमिक नदिनेलगायत गुनासो आउने गरेका उनको भनाइ थियो । गाउँपालिकाभित्र केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि दैनिकी सहज हुने स्थानीय बताउँछन् । स्थानीय बासिन्दा रिजन मगरले विद्युत् प्रसारण लाइन गाउँमा पुगेपछि पिलपिले उज्यालोमा जीवन गुजार्दै आएका नागरिकले उज्यालोमा दैनिकी चलाउन पाएको बताए । विकट भनेर चिनिएको गाउँमा बिजुली विस्तार भएपछि यहाँका नागरिकलाई मकै पिस्न र तेल पेल्न टाढा जानुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । उनका अनुसार अहिले गाउँमा साना मिल सञ्चालन भएका छन् । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले प्रसारण लाइन विस्तारको काम अगाडि बढाएसँगै निर्माणाधीन सवस्टेशनको काममा भने ढिलाइ भइरहेको बताए । ‘कामलाई छिटो गति दिनका लागि पटकपटक ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काम ढिला भएको जानकारी गराउँदै छिटो काम गराउनका लागि आग्रह गर्दै आएका छौँ,’ उनले भने, ‘निर्माण व्यवसायीका कारण नै कामले गति लिन सकेको छैन ।’ ताकेता गरेपछि दुई/चार दिन काम गरेजस्तो गर्ने र अरू बेला चासो नदिने अवस्थाले काममा बाधा पुर्याइरहेकाे उनको भनाइ थियो । मुख्य ठेकेदार अहिलेसम्म निर्माणाधीन स्थलमा नपुगेको जनाउँदै पालिका अध्यक्ष जिम्बाले पेटी ठेकेदारमार्फत गरिने काममा पनि आधा दर्जनभन्दा बढी ठेकेदार फेरिँदा समस्या थपिएको बताए । सुरुमा बाटोको समस्या देखाएर काम ढिलाइ गरेको भन्दै अहिले सहज हुँदा पनि तीव्रता दिन नसकेको उनले बताए । अध्यक्ष जिम्बाका अनुसार उक्त परियोजनाअन्तर्गत महाभारतको वडा नं ३, ४ र ५ का एक हजार र वडा नं ५ र ७ का एक हजार गरी दुई हजार घरधुरीका नागरिकले बत्ती उपभोग गरिसकेका छन् । बाँकी ठाउँमा काम भइरहेको उनले बताए । अहिले बलिरहेको प्रसारणले विद्युत् मात्रै उपभोग गर्न मिल्ने भएकाले साना तथा मझौला उद्योग सञ्चालनका लागि बढी क्षमताको प्रसारण लाइनका लागि सबस्टेसन निर्माण थालिएको विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख अमृत अधिकारीले गाउँपालिकामा निर्माणाधीन सबस्टेसनको अवलोकन गर्ने क्रममा निर्माण स्थलमा कोही नभेटिएको जानकारी दिए । ‘निर्माण सम्पन्न भएर लाइन जोडिएपछि मात्रै आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले अहिले त्यसको सबै जिम्मा परियोजनाबाट हुन्छ,’ उनले भने । विद्युत् प्राधिकरण, योजना तथा प्राविधिक सेवा विभागका परियोजना प्रबन्धक संगीता कार्कीले काम भइरहेको जनाउँदै पटकपटक जग्गा धनीले विभिन्न माग राखेर अवरोध गरेकाले केही ढिलाइ भएको बताए । उनले ३३ के.भी क्षमताको प्रसारण लाइन विस्तारको काम थालिएको साढे दुई वर्ष भइसकेको भन्दै उक्त सबस्टेसन सम्पन्न गर्न अब ६ महिना मात्रै बाँकी रहेको जानकारी दिए । रासस

सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्छौं : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन् । मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकुल हुने गरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषद्मा पेस गरिएको पनि जानकारी दिए । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी संसद अधिवेशनमा त्यसलाई विधेयकमा सरकारले पेस गर्नेसमेत बताए । ‘नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरुलाई सम्बोधन गर्ने गरी विकासमैत्री ऐनको रूपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो पार्लियामेन्टमा पेस गर्छौं’, उनले भने । विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले उक्त ऐन बनाउने काममा ढिलाई नगर्ने मन्त्री ज्वालाको भनाइ थियो । आफू मन्त्री हुनेवित्तिकै सार्वजनिक सडकसम्बन्धी कानुन र सवारी तथा यातायातसम्बन्धी कानुनलाई नयाँरूपमा अगाडि बढाउन प्रयास गरेको मन्त्री ज्वालाले बताए । ‘यातायात व्यवसायीका सवालहरू, लाइसेन्सका विषयहरू, मजदुरका विषयहरू, यी तमाम विषयहरू यसमा समावेश गर्ने गरी त्यो ऐनलाई हामी छिटोभन्दा छिटो अगाडि बढाउने गरी प्रयास गरिरहेका छौं,’ उनले भने, ‘र, त्यस सम्बन्धमा हामी फाइनल गर्नुभन्दा पहिले हामी व्यवसायी, मजदुरसँग सम्बन्धित संगठन र विज्ञहरूसँग छलफल गर्छौं ।’ मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानुनीरूपमै धेरै विषयहरू सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गरे ।

अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्च अदालतको निर्णय

सङ्खुवासभा । सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । सङ्खुवासभामा निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने निर्णय उक्त अदालतले गरेको हो । अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । अरुण तेस्रो प्रवेश मार्ग (छ्याङ्कुटी–पुखुवा) को जग्गाको मुआब्जा नपाएका जग्गाधनीले वर्षौंदेखि मुआब्जा रकमको माग गर्दै आन्दोलन गर्दै आएका थिए । सर्वोच्च अदालतले विरोधको कार्यक्रम गरी निर्माण कार्यलाई अवरोध नगर्न आन्तरिम आदेश जारी गरेको हो । अरुण तेस्रोका तर्फबाट अधिवक्ताद्वय रमणकुमार कर्ण र विशेष थापाले गरेको बहसको सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतले अरुण तेस्रो निर्माण कार्यमा सहजताका लागि सुरक्षा प्रबन्ध मिलाउनसमेत जिल्ला प्रशासन कार्यालय सङ्खुवासभालाई निर्देशन दिएको छ । अरुण तेस्रो प्रवेश मार्ग सङ्र्घष समितिले मुआब्जा दिन छुट रहेको चार सय ५४ रोपनी जग्गाको मुआब्जा माग गर्दै आन्दोलन गर्ने गरेको छ । खाँदबारी नगरपालिका–४ छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२ दिदिङ्ग सडक खण्डको (२४ दशमलव पाँच किलोमिटर) छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् । गत वैशाख २६ गते छयाङ्कुटी–दिदिङ सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । गत कात्तिक १७ गतेको ५६औं मन्त्रिपरिषद् बैठकले छुट मुआब्जाबापतको ५३ करोड रुपैयाँ सतलज जलविद्युत् निगम (एसएपिडिसी) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को कात्तिक १६ गते बसेको बैठकले एक महिनाभित्र अर्थात् मङ्सिर १८ गतेदेखि मुआब्जा रकम वितरण सुरु गर्ने निर्णय भए पनि हालसम्म मुआब्जा वितरण गरिएको छैन ।

उडानका क्रममा विमानको झ्याल फुटेपछि…

वासिङ्टन । अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ । ‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ः०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षितरूपमा फर्काइएको थियो,’ सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा) मा लेखेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ । विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो । ‘यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाईमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महसुस गरिएन,’ उनले सीएनएनसँग भने । अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएकोे चर्को आवाजले उनलाई ब्यूँझाएको थियो । ‘मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ,’ गुयेनले न्युयोर्क टाइम्ससँग भने, ‘त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको शिशा थिएन ।’ जब मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचें, ‘म मृत्युको मुखमा जाँदैछु,’ उनले थपे । राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताएका छ । ‘६ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको घटना विरलै हुने भए तापनि हाम्रो विमानका चालक दललाई तालिम दिइएको थियो र स्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तयार पारिएको थियो ।’ बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको ‘फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)’ ले जनाएको छ । फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो। बोइङले थप जानकारी संकलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको छ ।

जाजरकोट भूकम्प : रुकुम पश्चिममा १० हजार अस्थायी आवास निर्माण

रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । अझै पनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन् । दुई महिनाको अवधिमा जिल्लाभर दश हजार चार सय २३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए । उनका अनुसार जिल्लाभर सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ मात्र निर्माण भएका छन् । त्यस्तै आठबीसकोट नगरपालिकामा तीन हजार १४, चौरजहारी नगरपालिकामा दुई हजार दुई सय ८९, त्रिवेणी गाउँपालिकामा नौ सय ३८ र बाँफीकोट गाउँपालिकामा एक सय १७ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवाले जानकारी दिए । हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६ सय आठ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजारका दरले ५९ करोड २ लाख रुपैयाँ पठाइएको छ । स्थानीय विपद् कोषबाट भने २१ हजार एक सय १५ लाभग्राहीले २५ हजारका दरले ५२ करोड ८१ लाख रुपैयाँ प्राप्त गरेका छन् । हालसम्म जिल्लाभर २७ हजार ६ सय ८२ लाभग्राहीको प्रहरीले लगत संकलन गरेको छ । संकलनको काम अझै जारी रहेकाले लाभग्राहीको सङ्ख्या साढे ३० हजार पुग्न्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।

सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ । प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनौटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन थालिएको महानगरपालिकाले जनाएको छ। यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ । महानगरले अन्य विद्यालयमा पनि उक्त कार्यक्रम विस्तार गरिरहेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । सल्लाहकार श्रेष्ठका अनुसार छनौटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने मुख्य समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त तालिम प्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्नेछन् । श्रेष्ठले भने, ‘उक्त समयमा विद्यार्थी नै ट्राफिकको पोसाकमा ट्राफिककै काममा खटिनेछन्, जसले गर्दा विद्यालय क्षेत्रमा हुने सडक दुर्घटना कम गर्न मद्दत गर्नेछ ।’ सहयोगका लागि खटिएका विद्यार्थीले तोकिएको समयभित्र ट्राफिकको भूमिका निर्वाह गर्नेछन्। विद्यार्थीले ट्राफिक लाइट प्रयोग गर्ने, ट्राफिक कोन, सेफ्टी ज्याकेट, प्याटन लाइटसहित जान र आउनका लागि संकेत गरेर अन्यलाई सहयोग गर्नेछन् । उक्त कार्यक्रम कामपामा सञ्चालनमा रहेका ८९ वटै सामुदायिक विद्यालयमा सञ्चालन गर्ने भनिए पनि पूर्वप्राथमिक विद्यालयमा साना बालबालिकालाई यस किसिमको कार्यक्रममा सहभागी गराउन नसक्ने जनाइएको छ । त्यसका लागि कामपाले पहिलो चरणमा ४० विद्यालयमलाई छनोट गरेको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा महानगरले २० लाख रुपेयाँ विनियोजन गरेको छ। यसैबीच कामपाले विद्यालय अगाडि ३६ स्थानमा सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारीसमेत गरेको छ । यसअघि बबरमहलमा सो प्रणाली जडान गरिसकेको कामपाले अब २६ सामुदायिक विद्यालय र १० निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको श्रेष्ठले जानकारी दिए । यस वर्ष ३६ विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकता हेरी दुर्घटनाको जोखिम रहेका विद्यालयमा सो व्यवस्थ गरिने छ । हाल कामपामा ८९ सामुदायिक र पाँच सय चार निजी विद्यालय सञ्चालित छन् ।

रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । पर्यटकीय मार्गका रूपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो । रामग्राम नगरपालिका–६ पोखरापालीबाट वडा नं १५ घिनाहा चोकसम्म दुई लेनमा सडक विस्तारको काम सुरु भएको नगर प्रमुख धनपत यादवले बताए । उनका अनुसार बुद्धकालीन पुरातात्विक तथा ऐतिहासिक स्थल पण्डितपुरसम्म जोड्ने गरी ४१ करोड ८६ लाख रुपैयाँको लागतमा सडक विस्तारको काम सुरु भएको छ । विश्व बैङ्कको ऋण सहयोग र सङ्घीय सरकारको अनुदानमा विस्तार हुन लागेको पाँच दशमलव ७८ किलोमिटरको उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको नगर प्रमुख यादवले जानकारी दिए । ठूलो लगानीमा सुरु भएको पण्डितपुरबाट परासीसम्म सडक विस्तारले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । यादवले उक्त क्षेत्रमा धेरै किसानको बसोबास रहेकाले सडक विस्तार भएसँगै कृषि उपजको बिक्री वितरणमा सहज हुने बताए । सडक क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको सडकको दुवै छेउमा नाला, फुटपाथसहित साढे १२ मिटर चौडाइको हुनेछ । हाल जीर्ण अवस्थामा रहेको उक्त सडक निर्माणपछि सदरमुकाम परासीसँग सुविधासम्पन्न सडकको सिधा सम्पर्क स्थापित हुनाका साथै पुरातात्विक स्थलको प्रवद्र्धनमा पनि सहयोगी हुने अपेक्षा गरिएको छ । पुरातात्विकस्थल पण्डितपुरको विकास र प्रवर्द्धनका लागि सडक उपयोगी हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुरसम्म पुर्याउन सकिने नगर प्रमुख यादवले बताए । पण्डितपुर बुद्धको मावलीका रूपमा परिचित छ । त्यस स्थानमा केही हप्ताअगाडि पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा बुद्धकालीन सहरको ठूलो संरचना जमिनमुनि फेला परेको थियो । पण्डितपुरसम्म पुग्न करिब तीन किमी विस्तार गर्नुपर्ने जनाउँदै नगर प्रमुख यादवले बाँकी सडक अर्को चरणमा निर्माण गरिने उल्लेख गरे ।

संसारकै धनी अर्बपति महिला बनिन् फ्रान्सकी मेयर्स, मुकेश अम्बानी पछि धकेलिए

काठमाडौं । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई पछि पार्दै विश्वकै धनी महिला अर्बपति सूचीको १२औं स्थानमा पुगेकी छन् फ्रान्सकी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स । उनी १ सय अर्ब अमेरिकी डलर सम्पत्ति आर्जन गर्ने विश्वकै पहिलो महिला बनिन् । भारतीय व्यापारी मुकेश अम्बानी विश्वका धनीहरूको सूचीमा १३औं स्थानमा छन् । उनको सम्पत्ति ९७ अर्ब डलर छ । जसको अर्थ फ्रान्कोइस बेटेनकोट मेयर्ससँग मुकेश अम्बानीभन्दा धेरै सम्पत्ति छ । फ्रान्कोइस बेटेनकोट मेयर्स कस्मेटिक कम्पनी लोरियलको सञ्चालक समिति उपाध्यक्ष हुन् । यससँगै उनी लोरियलको होल्डिङ कम्पनी टेथिसकी अध्यक्ष पनि हुन् । ब्लूमबर्ग बिलिनायर्स इन्डेक्सद्वारा प्रस्तुत रिपोर्टअनुसार फ्रान्कोइसको कस्मेटिक्सको सम्पत्ति बढेर १ खर्ब १० अर्ब डलर पुगेको छ। यो वर्ष उनको सम्पत्ति २८ अर्ब ६० करोड डलरले बढेको छ । लोरियलको स्थापना सन् १९०९ मा उनका मावली हजुरबुबा यूजीन पाल लुइस शूएलरद्वारा गरिएको थियो । लोरियल कम्पनीमा सेयरको कुरा गर्दा मेयर्स र उनको परिवारको ३४ प्रतिशतभन्दा बढी सेयर छ । उनी १९९७ देखि लोरियलको सञ्चालक समितिमा छिन् । यसअघि उनकी आमा लिलियन बेटेनकोर्ट विश्वकै धनी महिला थिइन् । लिलियनको मृत्युपछि, मेयर्स अध्यक्ष भएकी हुन् । मेयर्स आफ्नो देशमा सम्पत्तिको हिसाबले दोस्रो स्थानमा छिन्। फ्रान्सका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्ट विश्वकै दोस्रो धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलिनायर्स इन्डेक्सको रिपोर्टअनुसार उनको सम्पत्ति बढेर १ खर्ब ७९ अर्ब अर्ब डलर पुगेको छ ।