विकासन्युज

ब्यालेन्ससिट बिग्रिने चिन्तामा बैंकर, दोस्रो त्रैमासमा पनि रिकभरीको समस्या

काठमाडौं । बैंकरहरूलाई दोस्राे त्रैमासमा पनि ब्यालेन्स सिट बिग्रिने चिन्ता बढेको छ । अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा दोस्रो त्रैमासको वित्तीय विवरण पनि खासै उत्साहजनक नआउने बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा जुटेका बैंकरहरू दोस्रो त्रैमास पनि निराशाजनक नै रहेको उनीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही कारण दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा बैंकरहरू व्यस्त छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश कम्पनीहरूको वित्तीय विवरण नकारात्मक रहेकाले निराश बनाएको थियो । दोस्रो त्रैमास कस्तो आउला भन्ने चासो सबैमा छ । बैंकरहरू भने चालू आर्थिक वर्षको दोस्रो त्रैमास पनि खासै उत्साहप्रद नरहेकाे बताउँछन् । पहिलो त्रैमासको जस्तै दोस्रो त्रैमासमा पनि बैंकहरूको नाफामा सुधार हुन नसकेको उनीहरूको धारणा छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जा प्रवाह भने शून्यजस्तै भएकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसकेको बैंकरहरूको दाबी छ । लगानीयोग्य रकमको प्रयाप्तता भए पनि अघिल्ला वर्षको तुलनामा धेरै राम्रो प्रगति विवरण नआउने उनीहरूको भनाइ छ । अघिल्ला वर्षहमा जथाभाबी लगानी बिस्तार गरेकाले केही बैंकहरूको खराब कर्जाको अनुपात पनि बढ्ने सम्भावना अझै देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल दोस्रो त्रैमास चुनौतीपूर्ण रहेको बताउँछन् । पछिल्लो समय तरलता प्रयाप्त भए पनि कर्जाको माग शून्य रहेको उनको भनाइ छ । अर्थतन्त्र सुधारोन्मुख भए पनि अझै चलायमान नहुँदा रिकभरीमा समेत दबाब परेकाले दोस्रो क्वार्टर पनि चिन्ताजन आउने उनको अनुमान छ । ‘दोस्रो त्रैमास पनि पहिलो त्रैमासजस्तै हुन्छ, अहिले पनि रिकभरी हुन सकिरहेको छैन, अझै पनि बिजनेसले पिकअप लिन नसक्दा कारोबार पनि कम छ,’ उनले भने, ‘अर्थतन्त्र चलायमान भएको भए पहिलाभन्दा बिजनेस बढ्थ्याे र रिकभरी पनि राम्रो हुने थियो ।’ अझै पनि जग्गाको कारोबार हुन नसकिरहेको उनले बताए । ‘जग्गा किन्नेभन्दा बेच्नेमात्रै छन्,  धेरै ऋणीहरूले जग्गा बेचेर भुक्तानी गर्छु भन्छन्,’ उनले भने, ‘तर, कारोबार नहुँदा तिर्न सकिरहेका छैनन्। पुँजी बजारमा पनि खासै उत्साहजनक वातावरण छैन । सहकारी क्षेत्र आफै धराशयी बनेको हुँदा बिजनेस चलायमान नभएर  सबै ठप्पजस्तै छ ।’ पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जा साढे ३ प्रतिशत थियो । विगतमा पहिलो त्रैमासको तुलानामा दोस्रो त्रैमास राम्रो हुने गर्दथ्यो । तर, पछिल्लो समय भने ठ्याक्कै उल्टाे भएकाे डीसीईओ ढकाल बताउँछन् । अर्थतन्त्रले नै पिकअप लिएपछि मात्रै सबै सहज हुँदै जाने उनको धारणा छ । ‘जग्गाको कारोबार बढ्न थाल्यो, नयाँ व्यवसाय विस्तार तथा नयाँ योजनामा लगानी र नयाँ उद्योग खुल्न थाल्यो भने अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धन र रेमिटेन्स ग्रोथ हुँदा केही आशा देखाएको छ । पर्यटन फस्टाएर जान सक्ने देखिन्छ । विदेशीहरू घुम्न आइरहेका छन्, यसले अरु अर्थतन्त्रलाई पनि पुस गर्छ कि भन्ने अपेक्षा छ । तर, यो वर्ष अझै गाह्रो अवस्था नै छ ।’ डीसीईओ ढकालका अनुसार ६ महिनामा बैंकहरूको नाफाको भोलुम बढे पनि वृद्धिदर भने खासै उत्साहजनक हुँदैन । अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो सहज नै रहेको उनले बताए । बैंकहरूसँग पर्याप्त तरलता भए पनि माग शून्य रहेको उनले बताए । ‘तरलता पनि राम्रो छ, सीडी रेसियो ८०/८१ प्रतिशत छ, बैंकहरू कर्जा दिन तयार छन्, तर कर्जाको माग छैन, कर्जाको माग नहुनुले अर्थतन्त्र चलायमान छैन भन्ने सन्देश दिन्छ,’ उनले भने, ‘कर्जाको माग नभएकाे ब्याज तिर्न गाह्रो भएकाले पनि हो, आम्दानीको स्रोत बढ्यो भनेमात्रै ऋणीहरूले कर्जाको साँवा ब्याज तिर्छन् ।’ उनका अनुसार कतिपय व्यवसायीसँग ब्याज तिर्न सक्ने क्षमता भए पनि तिर्न मानिरहेका छैनन् । किनभने विभिन्न किसिमका अभियानहरूले कर्जा तिर्नु पर्दैन, मिनाह हुन्छ भन्ने हल्ला फैलाएपछि तिर्न सक्ने क्षमता भएका व्यक्तिले पनि तिर्न मानिरहेका छैनन् । नबिल बैंकका डीसीईओ आदर्श बजगाईं पनि दोस्रो क्वार्टर खासै राम्रो नआउने बताउँछन् । अधिकांश सबै बैंकको प्रोभिजनिङ बढेका कारण नाफामा असर गर्ने उनको भनाइ छ । साथै, निर्माण व्यवसायीहरूलाई सरकारले भुक्तानी नगरेका कारण पनि समस्या आएको उनले बताए । ‘पुस मसान्तसम्म पैसा आएर केही सेटल होला भन्ने आशा थियो तर, सरकारले ठेकेदारहरूको पैसा दिएको छैन, त्यसैले पुस मसान्तमा डाउनग्रेड हुने धेरै चान्स छ, डाउनग्रेड भएपछि ६ महिनासम्म अपग्रेड गर्न नपाउने प्रावधान छ, यसले झन् अर्थतन्त्रमा नराम्रो प्रभाव पार्ने देखिन्छ,’ उनले भने । दोस्रो त्रैमासमा बैंकको खराब कर्जा अझै बढ्नसक्ने उनको भनाइ छ । व्यवसायीहरूले कर्जाको ब्याज तिर्न अर्थतन्त्र चलायमान हुनुपर्ने उनले बताए । यदि अर्थतन्त्र चलायमान नभएको खण्डमा सरकारले सहयोग तथा अनुदान दिनुपर्ने हुन्छ । तर, सरकारसँग पैसा नै नभएको बेला गाह्रो हुने उनले बताए । ‘रेमिटेन्सले मात्रै सबै धान्न सक्दैन, अर्थतन्त्र चलायमान नभएसम्म ऋणीहरूले पैसा तिर्नै सक्दैनन्,’ उनले भने, ‘राष्ट्र बैंकको तथ्यांकमा बाह्य क्षेत्रमात्रै सकारात्मक छ ।’

लगानीको वातावरण सहज गर्न ५ वटा कानुन खारेज र तीन वटा नयाँ बनाउनुपर्छ : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले ५ वटा कानुन खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरुको कानुनहरुको अनुसन्धनात्मक अन्वेषणबाट ५ वटा कानून खारेज गर्नुपर्ने औंल्याएको हो । त्यस्तै परिसंघले तीन वटा नयाँ कानुन ल्याउनुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विद्यमान संशोधन गर्नुपर्ने १८ वटा ऐन तथा १० वटा नियमावली र एक/एक वटा कार्यविधि तथा आदेशहरुको दफाहरुसमेत उल्लेख गरी सुधारका लागि सरकारलाई सुझाव दिइएको बताए । उनले औद्योगिक व्यवसायिक ऐन, २०७६, औद्योगिक व्यवसायिक नियमावली, २०७८, आयकर ऐन, २०५८, कम्पनी ऐन, २०६३, भूमि सम्बन्धी ऐन, २०२१, वन ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७, विशेष आर्थिक क्षेत्र ऐन, २०७५ लगायत रहेको बताए । परिसंघले समग्र आर्थिक विकासलाई टेवा प्रदान गर्न सुझावलाई सरकारले गम्भीर रुपमा लिइ विद्यमान कानुनमा सुधार एवं नयाँ कानून ल्याउन विशेष प्राथमिकता दिने विश्वास गरेको बताए । अध्यक्ष अग्रवालले नेपाल सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनअघि नै यी कानुनमा सुधार गर्नुपर्नेमा जोड दिए । उनले कानुनमा सुधारसँगै स्वदेशी तथा विदेशी लगानीकर्तालाई सकारात्मक उर्जा प्रदान गर्नुका साथै नेपाल सरकारलाई समेत छिटो कानून बनाउन सहयाग पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष अग्रवालले परिसंघको अनुसन्धानले देखाएको निष्कर्षसहितको प्रतिवेदन सरकार, सम्बन्धित मन्त्रालयर राजनीतिक दलका शीर्ष नेताहरुसमक्ष बुझाउने पनि बताए ।

विज्ञापन संघको अध्यक्षतामा बन्यो १४ सदस्यीय कार्यसमिति

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सुदिप थापा निर्विरोध चयन भएका छन् । संघको २४औं वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो । जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचित भएका हुन् । संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती चयन भएको छ । जसमा प्रथम उपाध्यक्षमा उजय शाक्य निर्विरोध निर्वाचित हुँदा द्धितिय उपाध्यक्षमा पंकज लाल प्रधान, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका हुन् । यस्तै कार्यसमिति सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मि, आरसि सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका हुन् । संघका पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण पनि आईतबार नै गरिसकेका छन् ।

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प, ह्वील एलाइनमेन्टमा ५० प्रतिशत छुट

काठमाडौं । सीजी मोटोकर्पले पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले जाडो मौसमले सवारी साधनमा पार्न सक्ने प्रभावलाई मध्येनजर गर्दै उक्त सर्चिस क्याम्प आयोजना गर्ने भएको हो । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट पाउने छन् । साथै, लक्की ड्रमार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज जित्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा ५० प्रतिशत, पाट्र्स र एसोसरिजमा १० प्रतिशत र लेबर चार्जमा २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । विन्टर सर्भिस क्याम्प सुजुकी नेपालभरका सर्भिस सेन्टरमा संचालन हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

बेदकोट । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ’, उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’ हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए । ‘भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौंं पठाएका छौँ’, उनले भने, ‘दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।’ कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । रासस

नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजको नयाँ संस्करण जारी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको नयाँ संस्करण सुरू भएको छ । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजको यो संस्करणमा सहभागीहरूले आ आफ्ना प्रस्तुतिहरू दिइरहेका छन् । नेक हल्ट प्राइजका क्याम्पस निर्देशक सुवास खनालका अनुसार प्रतियोगिताले युवा विद्यार्थीहरूमा रहेको नविनतम सोच, खोज र आइडियालाई प्रस्फुटन गराउन र इन्टरनेशनल एक्सपोज प्राप्त गर्न टेवा दिइरहेको छ । नेकमा भइरहेको प्रतियोगितामा विद्यार्थीहरुले दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो र समाजमा सकारात्मक प्रभाव पार्ने विषयहरूलाई प्रस्तुत गर्नेछन् । हल्ट प्राइज नेक क्याम्पस निर्देशक खनालका अनुसार कलेज स्तरीय प्रतियोगिताका विजेताले भारतको मुम्बईमा हुने एसिया रिजनल प्रतियोगितामा भाग लिनेछन् । त्यहाँ उत्कृष्ट भए ग्लोवल प्रतिष्पर्धामा भाग लिँदै उत्कृष्ट हुनेले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

सीआर भण्डारी बने ‘वर्ष उत्कृष्ट’ कर्मचारी, रोकायालाई टिम च्वाइस अवार्ड

काठमाडौं । देशविकास आर्थिक साप्ताहिक पत्रिकाको १८औं वार्षिकोत्सवबाट सीआर भण्डारी ‘इम्प्लोई अफ दि एअर’ अर्थात् वर्षभरिको उत्कृष्ट कर्मचारीकारूपमा पुरस्कृत भएका छन् । विकास मिडिया प्रालिले आइतबार आयोजना गरेको १८औं वार्षिकोत्सव कार्यक्रममा उनी मेडल र १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका हुन् । विगत डेढ वर्षदेखि विकास मिडिया प्रालिमा कार्यरत भण्डारीलाई मिडियाले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो । उनले बैंक तथा वित्त क्षेत्रमा कलम चलाउँदै आएका छन् । यस्तै, विकास मिडियाले कार्यक्रममा टीम च्वाइस अवार्ड पनि प्रदान गरेको छ । विकास मिडियामा कार्यरत कर्मचारीहरूबीच भोटिङमार्फत् चयन हुने अवार्ड संस्थाका सहसम्पादक सन्तोष रोकायाले प्राप्त गरेका छन् । कर्मचारीहरूले रोकायालाई बढी मत दिएर पुरस्कृत गराएका हुन् । उनले मेडलसहित नगद १० हजार रुपैयाँ प्राप्त गरे । विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले कर्मचारीको क्षमता विकास तथा सीप अभिवृद्धिमा संस्थाले कुनै कम्प्रमाइज नगरेर काम गर्ने बताए । उनले विकास मिडियाले विगत १७ वर्षको अवधिदेखि संस्थागत अभ्यास गरेर मिडिया इन्ड्रष्टिका रूपमा एउटा पायोनियर संस्थाको रूपमा स्थापित हुनुमा कर्मचारीको ठूलो भूमिका रहेको बताए । विकास मिडिया प्रा.लि.द्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिक १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । संस्थाले यो अवसरमा अब्बल व्यवस्थापकको थिममा म्यागेजिन पनि प्रकाशन गरेको छ । म्यागेजिनमा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रको नेतृत्व तहमा रहेर अब्बल काम गरिरहेका व्यवस्थापकहरूको प्रोफाइल समेटिएको छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी पनि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।