ब्यालेन्ससिट बिग्रिने चिन्तामा बैंकर, दोस्रो त्रैमासमा पनि रिकभरीको समस्या

<p>काठमाडौं । बैंकरहरूलाई दोस्राे त्रैमासमा पनि ब्यालेन्स सिट बिग्रिने चिन्ता बढेको छ । अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा दोस्रो त्रैमासको वित्तीय विवरण पनि खासै उत्साहजनक नआउने बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा जुटेका बैंकरहरू दोस्रो त्रैमास पनि निराशाजनक नै रहेको उनीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूले चालू [&hellip;]</p>

काठमाडौं । बैंकरहरूलाई दोस्राे त्रैमासमा पनि ब्यालेन्स सिट बिग्रिने चिन्ता बढेको छ । अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा दोस्रो त्रैमासको वित्तीय विवरण पनि खासै उत्साहजनक नआउने बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा जुटेका बैंकरहरू दोस्रो त्रैमास पनि निराशाजनक नै रहेको उनीहरूको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही कारण दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा बैंकरहरू व्यस्त छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश कम्पनीहरूको वित्तीय विवरण नकारात्मक रहेकाले निराश बनाएको थियो ।

दोस्रो त्रैमास कस्तो आउला भन्ने चासो सबैमा छ । बैंकरहरू भने चालू आर्थिक वर्षको दोस्रो त्रैमास पनि खासै उत्साहप्रद नरहेकाे बताउँछन् । पहिलो त्रैमासको जस्तै दोस्रो त्रैमासमा पनि बैंकहरूको नाफामा सुधार हुन नसकेको उनीहरूको धारणा छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जा प्रवाह भने शून्यजस्तै भएकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसकेको बैंकरहरूको दाबी छ । लगानीयोग्य रकमको प्रयाप्तता भए पनि अघिल्ला वर्षको तुलनामा धेरै राम्रो प्रगति विवरण नआउने उनीहरूको भनाइ छ । अघिल्ला वर्षहमा जथाभाबी लगानी बिस्तार गरेकाले केही बैंकहरूको खराब कर्जाको अनुपात पनि बढ्ने सम्भावना अझै देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल दोस्रो त्रैमास चुनौतीपूर्ण रहेको बताउँछन् । पछिल्लो समय तरलता प्रयाप्त भए पनि कर्जाको माग शून्य रहेको उनको भनाइ छ । अर्थतन्त्र सुधारोन्मुख भए पनि अझै चलायमान नहुँदा रिकभरीमा समेत दबाब परेकाले दोस्रो क्वार्टर पनि चिन्ताजन आउने उनको अनुमान छ ।

‘दोस्रो त्रैमास पनि पहिलो त्रैमासजस्तै हुन्छ, अहिले पनि रिकभरी हुन सकिरहेको छैन, अझै पनि बिजनेसले पिकअप लिन नसक्दा कारोबार पनि कम छ,’ उनले भने, ‘अर्थतन्त्र चलायमान भएको भए पहिलाभन्दा बिजनेस बढ्थ्याे र रिकभरी पनि राम्रो हुने थियो ।’

अझै पनि जग्गाको कारोबार हुन नसकिरहेको उनले बताए । ‘जग्गा किन्नेभन्दा बेच्नेमात्रै छन्,  धेरै ऋणीहरूले जग्गा बेचेर भुक्तानी गर्छु भन्छन्,’ उनले भने, ‘तर, कारोबार नहुँदा तिर्न सकिरहेका छैनन्। पुँजी बजारमा पनि खासै उत्साहजनक वातावरण छैन । सहकारी क्षेत्र आफै धराशयी बनेको हुँदा बिजनेस चलायमान नभएर  सबै ठप्पजस्तै छ ।’

पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जा साढे ३ प्रतिशत थियो । विगतमा पहिलो त्रैमासको तुलानामा दोस्रो त्रैमास राम्रो हुने गर्दथ्यो । तर, पछिल्लो समय भने ठ्याक्कै उल्टाे भएकाे डीसीईओ ढकाल बताउँछन् । अर्थतन्त्रले नै पिकअप लिएपछि मात्रै सबै सहज हुँदै जाने उनको धारणा छ ।

‘जग्गाको कारोबार बढ्न थाल्यो, नयाँ व्यवसाय विस्तार तथा नयाँ योजनामा लगानी र नयाँ उद्योग खुल्न थाल्यो भने अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धन र रेमिटेन्स ग्रोथ हुँदा केही आशा देखाएको छ । पर्यटन फस्टाएर जान सक्ने देखिन्छ । विदेशीहरू घुम्न आइरहेका छन्, यसले अरु अर्थतन्त्रलाई पनि पुस गर्छ कि भन्ने अपेक्षा छ । तर, यो वर्ष अझै गाह्रो अवस्था नै छ ।’

डीसीईओ ढकालका अनुसार ६ महिनामा बैंकहरूको नाफाको भोलुम बढे पनि वृद्धिदर भने खासै उत्साहजनक हुँदैन । अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो सहज नै रहेको उनले बताए । बैंकहरूसँग पर्याप्त तरलता भए पनि माग शून्य रहेको उनले बताए ।

‘तरलता पनि राम्रो छ, सीडी रेसियो ८०/८१ प्रतिशत छ, बैंकहरू कर्जा दिन तयार छन्, तर कर्जाको माग छैन, कर्जाको माग नहुनुले अर्थतन्त्र चलायमान छैन भन्ने सन्देश दिन्छ,’ उनले भने, ‘कर्जाको माग नभएकाे ब्याज तिर्न गाह्रो भएकाले पनि हो, आम्दानीको स्रोत बढ्यो भनेमात्रै ऋणीहरूले कर्जाको साँवा ब्याज तिर्छन् ।’

उनका अनुसार कतिपय व्यवसायीसँग ब्याज तिर्न सक्ने क्षमता भए पनि तिर्न मानिरहेका छैनन् । किनभने विभिन्न किसिमका अभियानहरूले कर्जा तिर्नु पर्दैन, मिनाह हुन्छ भन्ने हल्ला फैलाएपछि तिर्न सक्ने क्षमता भएका व्यक्तिले पनि तिर्न मानिरहेका छैनन् ।

नबिल बैंकका डीसीईओ आदर्श बजगाईं पनि दोस्रो क्वार्टर खासै राम्रो नआउने बताउँछन् । अधिकांश सबै बैंकको प्रोभिजनिङ बढेका कारण नाफामा असर गर्ने उनको भनाइ छ । साथै, निर्माण व्यवसायीहरूलाई सरकारले भुक्तानी नगरेका कारण पनि समस्या आएको उनले बताए ।

‘पुस मसान्तसम्म पैसा आएर केही सेटल होला भन्ने आशा थियो तर, सरकारले ठेकेदारहरूको पैसा दिएको छैन, त्यसैले पुस मसान्तमा डाउनग्रेड हुने धेरै चान्स छ, डाउनग्रेड भएपछि ६ महिनासम्म अपग्रेड गर्न नपाउने प्रावधान छ, यसले झन् अर्थतन्त्रमा नराम्रो प्रभाव पार्ने देखिन्छ,’ उनले भने ।

दोस्रो त्रैमासमा बैंकको खराब कर्जा अझै बढ्नसक्ने उनको भनाइ छ । व्यवसायीहरूले कर्जाको ब्याज तिर्न अर्थतन्त्र चलायमान हुनुपर्ने उनले बताए । यदि अर्थतन्त्र चलायमान नभएको खण्डमा सरकारले सहयोग तथा अनुदान दिनुपर्ने हुन्छ । तर, सरकारसँग पैसा नै नभएको बेला गाह्रो हुने उनले बताए ।

‘रेमिटेन्सले मात्रै सबै धान्न सक्दैन, अर्थतन्त्र चलायमान नभएसम्म ऋणीहरूले पैसा तिर्नै सक्दैनन्,’ उनले भने, ‘राष्ट्र बैंकको तथ्यांकमा बाह्य क्षेत्रमात्रै सकारात्मक छ ।’

Share News