काठमाडौं । बचतकर्ताको साढे १२ करोड रुपैयाँ अपचलन तथा ठगी गरेको आरोपमा रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका अध्यक्ष कठायत र सञ्चालक विनोद कुमार ओझालाई पक्राउ गरेको प्रहरी उपरीक्षक तथा प्रवक्ता नबराज अधिकारीले जानकारी दिए ।
डोटीको शिखर नगरपालिकाका ३१ वर्षीय कठायत र काभ्रेको धुलिखेल नगरपालिकाका ३५ वर्षिय ओझालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्त अधिकारीले बताए । विभिन्न ठाउँमा शाखा कार्यालय खोलेर सञ्चालनमा भइरहेको उक्त सहकारीले निक्षेपकर्ताको करिब १२ करोड ३५ लाख ४८ हजार रुपैयाँ फिर्ता गर्न नसकेपछि उजुरी परेको थियो । बचतकर्ताको रकम सहकारीका अध्यक्ष कठायत र सञ्चालक ओझाले अपचलन गरेको आरोप बचर्तकर्ताहरूले लगाएका छन् ।
रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको तिनकुनेमा छ भने शाखा कार्यालय जोरपाटी र भक्तपुरमा छन् । शाखा कार्यालयका सदस्यहरूले निक्षेपकर्ताहरूलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई बचत जम्मा गर्न लगाउने गरेको प्रवक्ता अधिकारीको भनाइ छ ।
साथै, निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक तथा वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिने गरेका थिए ।
तर, बचतकर्ताहरुले आफूले जम्मा गरेको साँवा, ब्याज पटक–पटक फिर्ता माग्दा नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी रकम उपलब्ध गराइदिन आवश्यक पहल गर्न बचतकर्ताहरूले उजुरी दिएका थिए । सोही आधारमा अध्यक्ष कठायत र सदस्य ओझालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।